काठमाडौं । शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति अन्तिम मनोनयन (र्यापअप) प्रक्रियाका लागि काठमाडौं महानगरपालिकाले आवेदन खुला गरेको छ ।
महानगरपालिकाको छात्रवृत्ति परीक्षा समितिले पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका तथा अन्तिम मनोनयन प्रक्रियामा सहभागी हुन चाहने परीक्षार्थीलाई विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गरी अनलाइन आवेदन दिन आग्रह गरेको हो ।
महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थामा यस वर्ष ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरिएको छ । तीमध्ये पहिलो मनोनयन सूचीबाट ३ हजार ५१ जना र दोस्रो मनोनयन सूचीबाट २३० जना गरी कुल ३ हजार २८१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् ।
अब बाँकी रहेको १ हजार ५७६ कोटाका लागि अन्तिम मनोनयन प्रक्रिया अघि बढाइएको परीक्षा समितिका संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए ।
संस्थागत शिक्षण संस्थामा पहिलो र दोस्रो मनोनयन सूचीबाट तोकिएको समयभित्र भर्ना भएका विद्यार्थीको विवरण अद्यावधिक भएपछि रिक्त रहेका विषयगत तथा संस्थागत सिटका आधारमा अन्तिम मनोनयन गर्न लागिएको हो ।
महानगरपालिकाका अनुसार आवेदन बिहीबार बिहान १० बजेदेखि खुला भएको छ । इच्छुक परीक्षार्थीले असार ८ गते साँझ ५ बजेसम्म अनलाइन आवेदन बुझाउनुपर्नेछ ।
आवेदन दिने प्रक्रिया
परीक्षार्थीले इन्ट्रान्स डट जीओभी डट एनपी (entrance.gov.np) मा गएर यसअघि प्रयोग गरेकै सिम्बोल नम्बर, जन्ममिति र इमेल वा मोबाइलमा प्राप्त पासवर्ड प्रयोग गरी आवेदन दिन सक्नेछन् । आवेदकले आफूले अध्ययन गर्न चाहेको कुनै एक विषय छनोट गर्नुपर्नेछ ।
यसअघि छनोट गरेको विषयभन्दा फरक विषयसमेत रोज्न सकिनेछ । साथै, रिक्त सिट भएका शिक्षण संस्थामध्ये आफूले चाहेका सबै वा प्राथमिकता क्रमअनुसार संस्थाहरू छनोट गरी पुनः आवेदन ९रि–अप्लाई० गर्न सकिने महानगरले जनाएको छ ।
महानगरपालिकाले रिक्त रहेका शिक्षण संस्थाको विवरण यकिन गरेर मात्र विषय र संस्था छनोट गर्न आग्रह गरेको छ । अन्तिम मनोनयन विद्यार्थीहरूको एकमुष्ट योग्यता क्रम (ओभरअल मेरिट) का आधारमा विषयगत रूपमा गरिनेछ ।
यसअघि भएका प्रक्रिया
छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ सूचीबाट ३ हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका थिए । योग्यता क्रमको अन्तिम सूचीमा रहेका ३ हजार ७३५ विद्यार्थीमध्ये पहिलो मनोनयन सूचीमा नाम परेका विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना हुन समय दिइएको थियो ।
पहिलो सूचीबाट भर्ना हुनेमध्ये विज्ञान विषयमा १ हजार ९०१ जना, व्यवस्थापनमा १ हजार १११ जना, कानुनमा ३४ जना र मानविकीमा ५ जना विद्यार्थी रहेका थिए । भर्ना भएका विद्यार्थीको विवरण सफ्टवेयरमा अद्यावधिक गरेपछि रिक्त सिटका आधारमा दोस्रो म्याचिङ सूचीमा ४८६ जना विद्यार्थीको नाम प्रकाशित गरिएको थियो ।
दोस्रो सूचीमा विज्ञानतर्फ ३२३ जना, व्यवस्थापनतर्फ १४५ जना, कानुनतर्फ १५ जना, मानविकीमा १ जना र शिक्षातर्फ २ जना विद्यार्थी सिफारिस भएका थिए । तीमध्ये २३० जना विद्यार्थी मात्र भर्ना भएका छन् ।
छात्रवृत्ति छनोटका लागि जेठ १७ गते परीक्षा सञ्चालन गरिएको थियो । त्यसको प्रारम्भिक योग्यता सूची जेठ १८ गते र अन्तिम योग्यता सूची जेठ २१ गते प्रकाशन गरिएको थियो ।
जेठ १८ देखि २० गतेसम्म पुनर्योग तथा विवरण सच्याउने अवसर दिइएकोमा ३३१ जना परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । पुनर्योगका क्रममा ओएमआर उत्तरपुस्तिकालाई कम्प्युटर प्रणाली र म्यानुअल दुवै माध्यमबाट परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ ।
आईसीटी समाचार