काठमाडौं । ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा रचना गरिएको 'मिराकल अफ माइन्ड' एप नेपाली भाषामा उपलब्ध हुने भएको छ । बालुवाटारस्थित टी-२१ प्यालेसमा आयोजना हुने एक विशेष ध्यान कार्यक्रममा यसको औपचारिक शुभारम्भ हुने बताइएको छ । अन्तर्राष्ट्रिय योग दिवस (२१ जून २०२६) को अवसरमा उक्त एप सार्वजनिक गर्न लागिएको हो ।
'मिराकल अफ माइन्ड' सद्गुरुद्वारा विशेष रूपमा रचना गरिएको एक शक्तिशाली एवं निर्देशनसहित ध्यान गर्ने एप हो, जसले मानिसहरूलाई नियमित ध्यान अभ्यासमा स्थापित गराउन मद्दत गर्दछ । एक योगी, रहस्यद्रष्टा र दूरदर्शी सद्गुरुले विगत चार दशकदेखि मनुष्यको चेतनामाथि उठाउनका लागि रूपान्तरणकारी अभियानको नेतृत्व गर्दै आउनुभएको छ ।
'मिराकल अफ माइन्ड' किन ?
नयाँ अध्ययनले भनेअनुसार, हाल विश्वभरि लगभग १.२ अर्ब मानिसहरू मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन्- जुन सन् १९९० को तुलनामा झण्डै दोब्बर हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को तथ्यांकले लगभग १० प्रतिशत नेपाली वयष्कहरूले आफ्नो जीवनभरिमा मानसिक स्वास्थ्य समस्याको सामना गर्ने देखाएको छ ।
समग्र अनुमानअनुसार, लगभग ३९ लाख नेपाली वयष्कहरू यसको चपेटामा परेका छन्, जसमा डिप्रेसन र चिन्ता प्रमुख हुन् । यस्तो अवस्थामा, ध्यान अहिलेको समयको माग र आवश्यकता बनेको छ । 'मिराकल अफ माइन्ड' एपमा ७ मिनेटको सरल ध्यान उपलब्ध छ, जसको माध्यमले तपाईंले आफूमा शान्ति र एकाग्रता स्थापित गर्न सक्नुहुन्छ ।
मानसिक स्वास्थ्यका चुनौतीहरू उर्लिंदै गएको यस जटिल समयमा सद्गुरुले विश्वलाई 'मिराकल अफ माइन्ड’ उपलब्ध गराउनुभएको छ, ताकि कम्तीमा ३ अर्ब मानिसहरूलाई आफ्नो मनको अपरिचित क्षमता पहिचान गर्न सक्षम बनाउन सकियोस् ।
२६ फेब्रुअरी २०२५ मा सार्वजनिक भएको यस एपलाई सुरूको १५ घण्टामै १० लाख मानिसहरूले डाउनलोड गरेका थिए, जसले नोभेम्बर २०२२ मा सोही सङ्ख्या प्राप्त गर्न ५ दिन लगाएको ओपन एआईको च्याट जीपीटीको रेकर्डसमेत तोडेको छ ।
सार्वजनिक भएको २४ घण्टाभित्रै 'मिराकल अफ माइन्ड' अमेरिका, क्यानडा, यूके, अस्ट्रेलिया, सिङ्गापुर, जर्मनी र भारत लगायत २० राष्ट्रमा ट्रेन्डिङमा रहन सफल भएको थियो । भारतमा यो एप आईओएस एप स्टोरको 'हेल्थ एन्ड फिट्नेस' विधामा पहिलो स्थानमा पुगेको थियो ।
आईसीटी समाचार