कीवर्डहरू -

साइबर सुरक्षा बारे जागरूक गराउन भिडियो प्रतियोगिता आयोजना गरेका हौंः निर्देशक राय 

साइबर सुरक्षा बारे जागरूक गराउन भिडियो प्रतियोगिता आयोजना गरेका हौंः निर्देशक राय 

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना गरेको । विभिन्न संस्थासँगको सहकार्यमा प्राधिकरणले भिडियो प्रतियोगिता आयोजना गरेको हो ।

यसैसन्दर्भमा अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिताका विषयमा नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाका निर्देशक तथा साइबर सुरक्षा टास्क फोर्सका संयोजक विजय कुमार राय सँग आइसिटी समाचार ले गरेको कुराकानीको सम्पादित अंशः


प्राधिकरणले अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना गरेको छ । शुरूमा यो प्रतियोगिताको बारेमा जानकारी दिनुस् न ?

नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको सयुक्त आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषदको समन्वय र नेट फर गुड एलाइन्सको सहकार्यमा अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना गरिएको छ ।

फेब्रुअरी ८ मा मनाइने सुरक्षित इन्टरनेटको अवसर पारेर यो भिडियो प्रतियोगिता आयोजना गरिएको हो । साइबर सुरक्षाको बारेमा बालबालिकालाई जागरूक गराउने उद्देश्यले हामी यो भिडियो प्रतियोगिता आयोजना गरेका हौं ।

यस प्रतियोगितामा कसरी सहभागी जनाउन सकिन्छ ?

यस प्रतियोगितमा २ मिनेटसम्मको भिडियो पठाएर सहभागी जनाउन सकिन्छ । भिडियो पठाउनका लागि ६ वटा थिम छनोट गरिएको छ ।

अनलाइन बाल सुरक्षा, डिजिटल साक्षरता, अनलाइन बाल सुरक्षामा बाल क्लब, स्थानीय तह, सरकारको भूमिका, अनलाइन संसारमा अवसर र राम्रा अभ्यास, आर्टिफिसियल इन्टेलिजेन्स र अवसर, विकासमा सूचना, सञ्चार तथा प्रविधि जस्ता विषयमा भिडियो बनाइ पठाउन सक्ने छन् ।

यस प्रतियोगितामा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका सातै प्रदेशका बालबालिकाहरू सहभागी हुन सक्ने छन् ।

सहभागी हुन चाहनेले भिडियो कसरी पठाउने ?

भिडियो एमपीफोर फर्म्याटमा हुनुपर्नेछ । भिडियो पठाउन हामीले सातै प्रदेशका लागि छुट्टै इमेलको व्यवस्था गरेका छौं ।

विद्यार्थीहरूले आफ्नो प्रदेश अनुसारको इमेलमा भिडियो पठाउन सक्नेछन् । भिडियो फागुन २ गतेसम्म पठाउन सकिने छ ।

यसमा सहभागी हुनेलाई के फाइदा हुन्छ ?

सहभागीले प्रमाणपत्र पाउने छन् । उक्त प्रमाणपत्र हामी भर्चुअल माध्यमबाट प्रदान गर्नेछौं । हरेक प्रदेशबाट प्रत्येक विषयमा एक-एक जना विजेता छनोट गर्ने तयारी छ । विजेतालाई हामी एउटा कार्यक्रमको आयोजना गरी केही इन्टेन्सीभसहित पुरस्कृत गर्नेछौं ।

पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै जाँदा यसबाट हुने अपराधका घटना पनि बढ्दै गएका छन् । प्राधिकरणले यसमा कसरी काम गरिरहेको छ ?

सुरक्षित इन्टरनेट प्रयोगका लागि जनचेतनाको नै मुख्य भूमिका हुन्छ । ब्रोडब्याण्ड पेनिट्रेसन १०० प्रतिशतभन्दा पनि माथि पुगिसकेको छ । अहिले धेरैजसो कामहरू मोबाइल एपबाटै हुन्छन् ।

अहिले त झन बालबालिकको पढाइ पनि अनलाइनबाटै हुन थालेको छ । मोबाइल र इन्टरनेटको सही प्रयोग भयो भने त्यसबाट हुने फाइदा धेरै छन् । तर त्यसको सही प्रयोग भएन भने त्यसका बेफाइदा पनि छन् । त्यसको सही प्रयोग लागि जनचेतना फैलाउनु जरूरी छ । त्यसकारण हामीले यस्तो खालको कार्यक्रम आयोजना गरेका हौं ।

बेला बेलामा प्राधिकरणले जनचेतना सम्बन्धि कार्यक्रम आयोजना गरिरहेको हुन्छ । हामीले वेबसाइटबाट पनि जनचेतनामूलक सन्देश पनि प्रवाह गरिरहेका हुन्छौं ।

साथै अनलाइन मिडिया, रेडियो, टेलिभिजन लगायतका माध्यमबाट पनि जनचेतनामूलक सन्देश प्रसारण गरिरहेका हुन्छौं ।

अन्त्यमा तपाईले भन्नुपर्ने केही छ ?

हामीकहाँ इन्टरनेटको पहुँच राम्रै पुगेको छ । मोबाइल डिभाइसहरू छन् । मोबाइल डिभाइस भनेको धेरै शक्तिशाली डिभाइस हो । त्यसको प्रयोग राम्रोसँग गर्न जान्नुपर्छ ।

राम्रोसँग चलाउन जान्नुपर्छ । राम्रोसँग जानिएन भने हाम्रो व्यक्तिगत कुराहरू त्यसबाट सार्वजनिक हुन सक्छन् । हामी साइबर आक्रमणको शिकार हुन सक्छौं । त्यसबाट बच्नका लागि हामी आफै जागरूक हुनुपर्छ । जसले गर्दा अनलाइनमा सुरक्षित रहन सकिन्छ ।

यो पनि पढ्नुहोस्ः अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुँदै, कसरी हुने सहभागी ?