कीवर्डहरू -

बीआईटी शुरू भइसक्यो, अर्को वर्षदेखि एमआईटी पनि शुरू गर्दै छौंः प्रमुख पौडेल (अन्तर्वाता) 

बीआईटी शुरू भइसक्यो, अर्को वर्षदेखि एमआईटी पनि शुरू गर्दै छौंः प्रमुख पौडेल (अन्तर्वाता) 

२०७६ सालदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बीआईटी कोर्ष पढाउन शुरू गरेको छ । बीसीएभन्दा पहिले नै कार्यक्रम स्वीकृत भएपनि २ वर्षअघि मात्रै यो कोर्ष पढाउन शुरू गरियो । अहिले त्रिविका १२ वटा आंगिक कलेजमा मात्र बीआईटी कोर्ष पढाइ हुन्छ ।

यसै सन्दर्भमा बीआईटी कोर्ष के हो ? किन यसको आवश्यकता पर्‍यो ? अरू कोर्ष भन्दा के फरक छ ? निजी कलेजले कहिले सम्बन्धन पाउँछन् ? लगायतका विषयमा त्रिविको विज्ञान तथा प्रविधि संकाय अन्तर्गतको कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी केन्द्रिय विभागका प्रमुख नवराज पौडेल सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अंशः


त्रिविले बीएससी सीएसआईटी र बीसीए हुँदा हुँदै बीआईटी कोर्ष सुरु गर्‍यो ? किन आवश्यक पर्‍यो बीआईटी ?

बीसीए चाहिं त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत पढाइ हुने विषय हो । बीएससी सीएसआईटी र बीआईटी विज्ञान तथा प्रविधि संस्थाबाट चलेको कोर्ष हो ।

हामीले हेर्ने सीएसआईटी र बीआईटी हो । सीएसआईटी भनेको कम्प्युटर साइन्सको अनुसन्धानमा केन्द्रित हुने कोर्ष हो । बीआईटी भनेको अप्लाइड टाइपको कोर्ष हो ।

रिसर्चमा लाग्ने विद्यार्थीका लागि सीएसआईटी कोर्ष पहिले नै थियो । त्यस्तो अवस्थामा विभिन्न संघ, संस्थालाई आईटी सपोर्ट पनि चाहिन्छ, त्यसकारण हामीले बीआईटी कोर्ष ल्याएका हौं ।

यो कोर्ष शुरू ढिला भएपनि बीसीएभन्दा पहिला नै पास भएको कार्यक्रम हो । विविध कारणले सञ्चालन गर्न ढिला भयो । हामीले अर्को वर्षदेखि एमआईटी कार्यक्रम पनि शुरू गर्दैछौं ।

बीआईटी कोर्ष कस्तो छ ? के के विषय पढ्न सकिन्छ र कस्ता विद्यार्थीले पढ्न सक्छन् ?

आईटी कार्यक्रममा धेरै जसो कुराहरू साझा हुन्छन् । तर पनि यसमा कम्प्युटर साइन्ससँग सम्बन्धित कोर्षहरू हामीले राखेका छैनौं ।

अप्लाइड टाइपका कोर्ष राखेर बीआईटीको कोर्ष डिजाइन गरेका छौं । बीआईटी पढ्न जुनसुकै ब्याकग्राउण्डबाट पनि आउन सकिन्छ । तर १०० अंकको गणित र अंग्रेजी पढेको हुनुपर्छ ।

कुन कुन कलेजलाई सम्बन्धन दिनु भयो ?  निजी कलेजले कहिले पाउँछन् ?

अहिलेसम्म त्रिविका १२ वटा आंगिक कलेजले सम्बन्धन पाएका छन् । अमृत साइन्स क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, पाटन बहुमुखी क्याम्पस, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, सिद्धार्थ साइन्स क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस, रामसागर बहुमुखी क्याम्पस जनकपुर, पद्मकन्या क्याम्पस काठमाडौं र ठाकुरराम बहुमुखी क्याम्पसमा बीआईटी पढाई हुन्छ ।

निजी कलेजले कहिलेदेखि पाउने, नपाउने त्यो भन्न मैले मिल्दैन् । त्यो विश्वविद्यालयको माथिल्लो निकायले गर्ने काम हो । हामीले कोर्ष बनाउने हो । कार्यक्रम बनाइसकेपछि निजी कलेजले पनि विस्तारै पाउलान् । एक साइकल चाहिँ आंगिक क्याम्पसमा हेरौं भन्ने हाम्रो योजना हो ।

सीएसआईटी र बीआईटीमा खास के फरक छ ? कस्ता विद्यार्थीले कुन कोर्ष पढ्ने ?

मैले अगाडि पनि भनिसके कम्प्युटर साइन्समा रिसर्च गर्ने बढी रूचि छ भने उहाँहरूका लागि सीएसआईटी उपयुक्त कोर्ष हो । यदी होइन म सफ्टवेयर उद्योगमा काम गर्छु, आईटीमा सपोर्ट गर्छु भन्ने चाहना छ भने त्यस्तो विद्यार्थीले बीआईटी पढ्दा हुन्छ ।

आईटीमा रूचि राख्ने, भोलि आईटी उद्योगमा गएर काम गर्न चाहने र आईटीसँग सम्बन्धित सपोर्ट गर्न चाहने विद्यार्थीले बीआईटी कोर्ष पढ्न सक्छन् । अहिले सबै क्षेत्रमा आईटीको प्रयोग हुन्छ । यो कोर्ष पढेपछि विद्यार्थीलाई धेरै अवसरका ढोका खुल्छन् ।

बीआईटी कोर्ष पूर्वाञ्चल विश्वविद्यालयले पनि सञ्चालन गरिरहेको छ । पूर्वाञ्चल विश्वविद्यालय र त्रिविको बीआईटी कोर्षमा के फरक छ ?

त्यो कुरा मलाई ठ्याक्कै थाहा छैन् । पूर्वाञ्चल विश्वविद्यालयमा बीआईटी छ भन्ने पनि तपाईहरूले भनेर थाहा पाए । सुन्न त सुनेको हो । कुनै विश्वविद्यालयमा बीसीए, कुनैमा बीआईटी कार्यक्रम छ भनेर सुनेको हो ।  तर पनि ठ्याक्कै भन्दा उहाँहरूको कार्यक्रमसँग तुलना गरेको छैन् ।

अन्तर्राष्ट्रिय बडीहरूले बनाएको डकुमेन्ट रिफर गरेर हामी पाठ्यक्रम डिजाइन गर्छौं । त्यो डुकुमेन्टका आधारमा आईटी प्रोग्राम कस्तो हुनुपर्ने, सीएसआईटी प्रोग्राम कस्तो हुनुपर्ने त्यो डकुमेन्टमा लेखेको हुन्छ । त्यसरी डिजाइन गर्छौं । अरू विश्वविद्यालयको आईटी कस्तो छ मैले ठ्याक्कै भन्न सकेन् ।

विदेशी विश्वविद्यालयको आईटी कार्यक्रम पनि नेपालमा सञ्चालन छन् । विदेशी र हाम्रोमा फरक छ । विदेशीको ३ वर्षे हो भने हाम्रो चार वर्षे हो । मैले अगाडि नि भने आईटी प्रोग्रामका धेरै जसो विषय साझा नै हुन्छन् । कार्यक्रम फरक बनाउने भनेको ४-५ वटा विषयले मात्रै हो ।

नेपालमा अहिले आईटी शिक्षाको अवस्था कस्तो छ ? सुधार गर्न के के गर्नुपर्ला ?

नेपालमा अहिले आईटी शिक्षाको अवस्था म राम्रो देख्छु । आईटीमा विद्यार्थीको चाप पनि हामीले हेर्न सक्छौं । अवसर भएर नै विद्यार्थीहरू आईटीमा आकर्षित भइरहेका छन् । उच्च शिक्षामा पनि अवसर छ ।

सीएसआईटी र बीआईटी विद्यार्थीको आकर्षण उत्तिकै छ । सरकारीदेखि निजी क्षेत्रसम्म यसको अवसर छ । आईटी शिक्षा भनेको लोकल शिक्षा होइन् यो विश्वभर एउटै हुन्छ । त्यसकारण नेपालमा पढ्नु र बाहिर पढ्नु केही फरक छैन् । अवसर छ भन्दैमा पढेर मात्रै हुँदैन्, विद्यार्थीले मिहिनेत पनि गर्नुपर्छ ।

डिमाण्डअनुसार विद्यार्थीले आफुलाई इम्प्रुभमेन्ट गर्नुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अवसर प्रशस्तै छन् ।  हामीले २-३ वर्षमा बीआईटी र सीएसआईटीको कोर्ष रिभाइज गर्छौं । कतिपय कोर्षहरू ८-१० वर्षमा पनि रिभाइज भएका छैनन् । आईटी भनेको यस्तो कोर्ष हो, जुन परिवर्तन भइरहन्छ ।

त्यसकारण हामी परिवर्तित प्रविधि अनुसार कोर्ष रिभाइज गर्छौं । तर पनि यो कोर्षमा विद्यार्थीले राम्रो प्रोजेक्ट वर्क गर्न सक्नुपर्छ जस्तो लाग्छ । इन्टर्नसीपका लागि राम्रा राम्रा कम्पनीहरू छैनन् । नेपालको आईटी उद्योग इन्टर्नसीप गर्ने हिसाबमा कम भएको हो की ? मलाई महशुस भइरहेको छ ।

आईटी उद्योगलाई ग्रो बनाउने गरी सरकारले काम गर्नुपर्छ । बाहिरका कामहरू नेपालमा ल्याएर गर्दा नेपालको अर्थतन्त्रलाई पनि राम्रो हुन्छ होला । सुधार्नु पर्ने कुरा एउटा पाठ्यक्रममा हो, त्यो भइरहेको छ ।

अर्को उद्योगमा हो । राम्रो राम्रो कम्पनीमा विद्यार्थीले इन्टर्नसीपको अवसर पाए भने त्यो राम्रो हुन्छ । विदेशका बहुराष्ट्रिय कम्पनीलाई नेपालमा आएर काम गर्न सरकारले वातावरण बनाउनु पर्छ ।

आंगिक कलेजमा बीआईटीको शुल्क कति छ ?

त्रिविले ठ्याक्कै शुल्क तोकेको त छैन् । तर मैले हेर्दा खेरी ३ देखि ४ लाखसम्म लाग्ने गरेको छ । चारभन्दा बढी छैन् ।

त्रिविले केही वर्षदेखि धेरै कलेजलाई सम्बन्धन दिइरहेको छ । यो डिमाण्ड हो की के हो ? शिक्षाको गुणस्तरीयता कसरी मापन गर्नुभएको छ ?

एउटा कुरा केहो भने मैले थाहा पाए अनुसार विगत १० देखि त्रिविले कलेजलाई सम्बन्ध दिएको छैन् । बरू त्रिविले आंगिक क्याम्पसमा थप्दै गएको छ । जति कलेज थिए ति १० वर्ष अगाडिका कलेज हुन् ।

त्रिविले अहिले आफ्नो कलेजहरूलाई प्रमोट गरिरहेको छ । विगत १० वर्षदेखि सीएसआईटीका लागि नयाँ कलेजलाई सम्बन्धन दिएको छैन् । त्यस्तै बीआईटीका लागि पनि निजी कलेजलाई सम्बन्धन दिएको छैन् ।

त्रिविको सम्बन्धनमा निजी कलेजले लिने शुल्क कसरी निर्धारण हुन्छ ? कलेज अनुसार फरक शुल्क हुन्छ नि ?

निजी कलेजले लिने शुल्क एकदमै महंगो छ । अनि कलेज अनुसार फरक फरक पनि छ । नियमण गर्ने पार्टमा त्रिविले केही काम गर्नुपर्छ जस्तो लाग्छ ।

अहिलेको अवस्थामा त्रिविले यो विषयका लागि यति शुल्क लिनुपर्छ भनेर तोकेको छैन् । त्यो नहुँदा केही समस्या आऐको जस्तो लाग्छ ।

त्रिविका आंगिक कलेजले ३-४ लाखमा पढाएको अवस्था छ भने निजी कलेजले १६-१७ लाख लिएको अवस्था पनि छ । अथोरिटी लेभलबाटै कोर्षको शुल्क तोकि दिनुपर्छ जस्तो लाग्छ मलाई ।