कीवर्डहरू -

हामी डिजिटल रूपान्तरणको दोस्रो चरणमा छौं, अबको समय डेटा एक्सचेञ्जको होः डा. अभिजित गुप्ता

हामी डिजिटल रूपान्तरणको दोस्रो चरणमा छौं, अबको समय डेटा एक्सचेञ्जको होः  डा. अभिजित गुप्ता

गत शनिबार माघ २९ गते सूचना प्रविधि कम्पनी योङ माइन्ड्स आफ्नो १५ औं वार्षिकोत्सव मनाएको थियो । वेबसाइट बनाउने कामबाट शुरू भएको कम्पनीले अहिले सरकारी निकायका अधिकांश सिस्टम विकास गरेको छ ।

अहिले योङ माइन्ड्स आफुलाई सफ्टवेयर कम्पनी भन्दा पनि आइसिटी कम्पनी भन्न रूचाउँछ र त्यसअनुसार काम पनि गरिरहेको छ । १५ औं वार्षिकोत्सवको अवसरमा योङ माइन्ड्सका संस्थापक निर्देशक डा. अभिजित गुप्ता सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अंशः


१५ वर्षको यो यात्रालाई कसरी संस्मरण गर्नुहुन्छ ?

हामी स्क्र्याचबाट उठेका हौं । सानैदेखि नेपालमै केही गर्नु पर्छ भन्ने योजना थियो । त्यसैअनुसार सन् २००८ मा मैले योङ माइन्ड्स कम्पनी स्थापना गरेको थिए । वेबसाइट बनाउने र आउटसोर्सिङ गर्ने सानो कामबाट हाम्रो यात्रा शुरू भएको हो ।

आज हामी नेपालको अग्रणी आइसिटी कम्पनी हौं । नेपाल सरकारको अधिकांश निकायसँग काम गरेका छौं । देश बाहिर हङकङ र अष्ट्रेलियामा कार्यालय स्थापना गरेर हामीले काम गरिरहेका छौं । १५ वर्षे यात्रा एउटा राम्रो अनुभव रह्यो ।

कस्ता कस्ता प्रोजेक्टमा तपाईहरूले काम गर्नुभएको छ ?

हामीले सानो एप्लिकेसनदेखि लिएर ठूलो इन्टरप्राइजेज एप्लिकेसनसम्ममा काम गरेका छौं । विभिन्न सरकारी निकायका लागि आवश्यक सिस्टम बनाएका छौं ।

सफ्टवेयर तथा वेब एप्लिकेसन, डेटा ड्रिभन एप्लिकेसन, वृहत डेटा बेस एप्लिकेसन, सेक्युरिटी र इन्फ्रास्टक्रचर अडिट, ग्याप एनालाइसिस, निड एसिसमेन्ट, गभर्मेन्ट इन्टरप्राइज आर्किटेक्ट अडिट लगायतका प्रोजेक्टमा काम गरेका छौं । अहिले आएर हामी टिपिकल वेबसाटइट, सफ्टवेयर कम्पनीभन्दा पनि आइसिटी कम्पनी भनेर अगाडि बढेका छौं । त्यसअनुसार फरक फरक डोमेनमा काम गरिरहेका छौं ।

हामी डिजिटल रूपान्तरणको कुन अवस्थामा छौं ?

हामी डिजिटल रूपान्तरणको दोस्रो चरणमा छौं । अब यसलाई चरणमा कसरी विभाजन गर्ने कुरा पनि हुन्छ । मेरो विश्लेष्ण अनुसार शुरूवाती दिनमा बढी पेपरमा आधारित थियौं । अब हामी एप्लिकेसन ओरियन्टेड छौं । सबै कुरा सिस्टमबाट हुन्छ ।

अहिले आएर सबै पब्लिक एजेन्सीहरूसँग आ-आफ्नो एप्लिकेसन छ । मैले किन फेज टु (दोस्रो चरण) भनेभन्दा अब चाहिँ सरकारले नागरिकलाई दिने सेवा डिजिटल्ली होस् भन्ने तिर पहल गरिरहेको छ ।

डेटा एक्सेचेन्जको कुरा फेज टुमा शुरू भएको पाइन्छ । जस्तै उदाहरणको रूपमा नागरिक एपलाई लिन सकिन्छ । हाम्रो कम्पनी पनि यस्तै सेवा दिन सधै तत्पर छ ।

नागरिक एप परियोजनालाई चाहिँ मैले एकदमै सराहनीय काम भन्छु । यो समाजको लागि ठूलो योगदान हो । नागरिक एपबाटै सबै कुरा गर्न सकिने भएपछि त्यसले धेरै सजिलो बनाएको छ । अबको समय भनेको डेटा एक्सचेन्जको हो । त्यसकारण अहिले हामी फेज टुमा छौं भन्न मिल्छ होला ।

सूचना प्रविधिको क्षेत्रमा कस्ता कस्ता चुनौती छन् ?

शुरूवाती दिनमा विद्युत, इन्टरनेट लगायतको समस्या थियो । अहिले त्यो धेरै हदसम्म समाप्त भएको छ । अर्को ठूलो समस्या भनेको जनशक्तिलाई नेपालमै राख्न नसक्नु हो । अरू एजेन्सीभन्दा हाम्रोमा अलि कमै छ । किनभने आधारभूत मानव संसाधन (एचआर)का सिद्धान्तलाई पछ्याउने प्रयास हामीले गरेका र्छौं ।

ट्यालेन्टलाई कामको राम्रो अनुभव र ग्रो गर्ने लगायतका वातावरण सिर्जना गरिरहेका छौं । फरक फरक डोमेनमा काम गर्ने भएकाले पनि हामीलाई अलि चुनौती नै महशुस हुन्छ । फरक फरक डोमेनमा काम गर्दा नयाँ कुरा पनि सिक्न पाइन्छ र मोनोटोनस पनि हुँदैन् ।

कोभिडको समयमा बजारमा निस्केका विद्यार्थीको आधारभूत सीपमै कमजोरी छ । भर्खर जोइन गरेको पाराको छ । हामीले भोगेको मुख्य समस्या हो, यो । एक त उहाँहरूको कलेज पनि भएन । अनलाइन कक्षा पनि विद्यार्थीले त्यति ध्यान दिएर पढ्दैनन् । १-२ वर्षसम्म यसले दुख दिन्छ जस्तो लाग्छ हामीलाई ।

हामीले एनसीआईटी कलज, सीआईटी कलेज, केसीसी कलेजसँग मिलेर पनि काम गरिरहेका छौं । इभेन्ट, मोटिभेसन र प्रोजेक्टमा समेत सहयोग गरिरहेका छौं । अर्को कुरा मार्केटमा एउटा मापदण्ड छैन् ।

अहिले सूचना प्रविधि विभागले गभर्मेन्ट इन्टप्राइजेज आर्किटेक्चर (जीईए) निकालेको छ । हामी आफै पनि जीईएको परामर्शदाता हौं । यो लागु हुँदै गयो एउटा मापदण्ड बन्छ, बजारमा गुणस्तरीय सफ्टवेयर आउँछन् र सरकारले पनि गुणस्तरीय सफ्टवेयर कार्यान्वयनमा ध्यान दिन्छ ।

ट्यालेन्टलाई नेपालमै राख्न के गर्नुपर्ला ?

ट्यालेन्टलाई नेपालमै राख्न एउटा वातावरण नै सिर्जना गर्नुपर्छ । अहिलेको नयाँ पुस्ताले क्वालिटी अफ लाईफ अर्थात गुणस्तरीय जीवन खोजिरहेको छ । क्वालिटी अफ लाइफ दिन सकियो भने ट्यालेन्टलाई यही राख्न सकिन्छ ।

हामी पनि अहिले त्यसैमा केन्द्रित छौं । त्यस्तै शिक्षा क्षेत्रमा पनि थोरै परिवर्तन गर्नुपर्छ । शिक्षालाई अनुसन्धान र अभ्यासमा आधारित बनाउनु पर्छ ।

क्वालिटी अफ लाइफको वातावरण यहाँ तयार नहुन्जेलसम्म ट्यालेन्ट राख्न गार्‍हो देख्छु म । यो फरी एकजनाको काम मात्र होइन्, सबैले आ-आफ्नो डोमेनबाट काम गर्नुपर्छ ।

तपाईहरूका आगामी योजनाहरू के के छन् ?

विभिन्न प्रडक्टमा काम गरेका थियौं, त्यसमा निरन्तरता दिन सकेनौं, सेवामा बढी केन्द्रित थियौं । अबको १ वर्षमा हामी केही प्रडक्टहरू सार्वजनिक गर्दैछौं ।

हामीले सिंगापुरमा पनि कार्यालय खोल्दै छौं । केही वर्ष देखिको योजना थियो, कोरोनाले केही ढिला भयो । अब त्यतातिर पनि पहल गर्दै छौं । सानो सानो एप्लिकेसन र प्रोजेक्टका लागि छुट्टै युनिट खडा गर्दै छौं ।

अन्त्यमा भन्नुपर्ने केही छ ?

अहिलेको जमाना सहकार्य (कोलाबोरेसन) को हो । कुनै प्रोजेक्टमा मिलेर काम गर्नुपर्नेछ वा केही सहयोग गर्नुपर्ने छ भने हामी तयार छौं । हाम्रो सूचना प्रविधि उद्योगलाई अझ वृद्धि गर्नुपर्छ ।

यहाँको रिसोर्सलाई पनि ग्रुम गर्नुपर्छ । आईटीका प्रयोगकर्तालाई पनि ग्रो गर्नुपर्छ । हामीसँग कोही मिलेर काम गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ ।