कीवर्डहरू -

नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ओटीटी प्लेटफर्मले अब अनुमति लिनुपर्ने (नियमावलीसहित)

नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ओटीटी प्लेटफर्मले अब अनुमति लिनुपर्ने (नियमावलीसहित)

अब नेटफ्लिक्स, अमजेन प्राइम, सोनी लिभ, हट स्टार जस्ता ओभर दी टप (ओटीटी) प्लेटफर्मले नेपालमा सेवा सञ्चालन गर्न अनुमति लिनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

योसँगै सरकारले ओभर दि टप (ओटीटी), भिडियो अन डिमान्ड (भिओडी) र अनलाइन टेलिभिजन सेवालाई कानूनी दायरमा ल्याएको छ । नियमावलीले युट्युबलाई पनि कानूनी दायरामा ल्याएको छ ।

ओटीटी प्लेटफर्मले अब नेपालमै क्यास सर्भर राख्नुपर्ने छ । ओटीटी प्लेटफर्मले सर्भर नराखे मन्त्रालयले इजाजत नदिने नियमावलीमा उल्लेख गरिएको छ ।

ओटीटीहरुले आफ्नो वेबसाइटमा गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नम्बर राख्नुपर्ने र ग्राहककोे गुनासो ३० दिनभित्र सम्बोधन गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

ओटीटीमार्फत सेवा दिने कम्पनीले प्रशारित समाग्रीको अभिलेख (ब्याकअप) कम्तीमा ६० दिनका लागि सुरक्षित राख्नुपर्नेछ । त्यस्तो अभिलेख सरकारले मागेका बेला दिनुपर्नेछ ।

ओटीटी सेवा प्रदायकले आफ्ना कार्यक्रमहरुलाई तीन भागमा विभाजन गर्नुपर्नेछ । बालबालिका र सबै उमेर समूहलाई उपयुक्त हुने कार्यक्रमलाई ‘यू’ रेटिङ दिनुपर्ने छ ।

१० वर्षदेखि १८ वर्षसम्मका लागि उपयुक्त हुने कार्यक्रमलाई ‘आर’ र १८ वर्षभन्दा माथिका लागि मात्रै उपयुक्त हुने कार्यक्रमलाई ‘ए’ रेटिङ दिनुपर्ने छ । ओटीटीहरुले इजाजतपत्रका लिन एक करोड रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

यसअघि ओटीटी प्लेटफर्मलाई नियमन गर्ने कानुन थिएन् । कानुन नभएपनि नेपालमा नेटफ्लिक्स, अमेजन प्राइम, सोनी लिभ जस्ता ओटीटी प्लटफर्म सञ्चालन भइरहेका थिए, जसले गर्दा करोडौं रूपैयाँ विदेशीने गरेको थियो । तर अब यी प्लेटफर्म कानुनी दायरामा आयसँगै सरकारलाई राजस्व प्राप्त हुनेछ ।

अब अनुमति नलिएर सेवा सञ्चालन गर्ने प्लेटफर्मलाई सरकारले बन्द गराउन सक्ने छ । त्यस्तै नियमावलीमा अनलाइन टेलिभिजनको सञ्चालनको लागि पनि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । इजाजतपत्रका लागि ५ लाख रूपैयाँ तिर्नुपर्नेछ । साथै भीओडी सेवा सञ्चालनको लागि २ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

हेर्नुहोस् नियमावली