कीवर्डहरू -

स्टार्टअप तथा आइडिया फेस्टः यस्ता छन् प्रदेश एकबाट चयन भएका ७ स्टार्टअप र आईडिया

स्टार्टअप तथा आइडिया फेस्टः  यस्ता छन् प्रदेश एकबाट चयन भएका ७ स्टार्टअप र आईडिया

काठमाडौं । लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा बैशाख ५ गते विराटनगरमा प्रदेश स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना भएको थियो । उक्त कार्यक्रममा एक नम्बर प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाहरु सहभागी थिए ।

विराटनगर, धरान, ईटहरी लगायत प्रदेश नम्बर एकका धेरै ओटा प्रमुख शहरबाट प्रतिधित्व गर्ने नवप्रवर्तनमुखी प्रविधिमा आधारित आईडिया र स्टार्टअपहरुबीच कार्यक्रमकै अर्को आईडिया पिचिङ सेसनमा प्रतिस्पर्धा गराइएको थियो ।

उक्त प्रतिस्पर्धाबाट ७ ओटा कम्पनी उत्कृष्ट भएर ‘आईडिया इन्कुबेसन’ का लागि छनौट भएका छन् । छनौट हुने सात कम्पनी यस प्रकारका छन् ।

१. क्विकर फूड

\"\"

क्विकर फूड, स्टार्टअप एण्ड आईडिया फेस्ट २०२२ विराटनगरको पिचिङ सेसनबाट विजेता भएको स्टार्टअप । क्विकर फूड अनलाइन फूड तथा ग्रोसरी डेलिभरी गर्ने ईकमर्श स्टार्टअप हो ।

विराटनगरका युवा क्षितिज गौतमले २०१९ मा क्विकर फूडको सुरुवात गरेका हुन् । फूड डेलिभरीबाट सुरु भएको क्विकर फूडले पहिलो चरणको लकडाउन पछि भने ग्रोसरी तथा तरकारी डेलिभरीको समेत सेवा थालेको हो ।

कम्पनीले यो तरकारी डेलिभरीको सेवा अहिले बीटुबी मोडलमा साना किराना पसलहरुलाई पनि प्रदान गर्न थालेको छ ।

हाल विराटनगरको अनलाइन खाद्य डेलिभरी सेवा बजारमा क्विकर फूडको ७५ प्रतिशत हिस्सा छ । कम्पनीको ३० हजारभन्दा धेरै ग्राहक छन् जसमा ६ हजार सक्रिय ग्राहक रहेका छन् ।

कम्पनीको वेबसाइट तथा उपभोक्ता र डेलिभरी राईडरका लागि दुई छुट्टै मोबाइल एप्लिकेसन छ जुन हालसम्म ५० हजार पटक डाउनलोड भइसकेको छ ।

देशको पूर्वी क्षेत्रका मूख्य शहरहरु धरान, ईटहरी, दमक र विर्तामोडलाई केन्द्रित गरेर चाढै नै विस्तार गर्ने कम्पनीको योजना छ । निकट भविष्यमा ५० हजार सक्रिय उपभोक्ता बनाउने पनि कम्पनीको लक्ष्य छ ।

२. क्युरा हेल्थ

\"\"

प्रदेश नम्बर १ को उत्कृष्ट ७ स्टार्टअपमध्ये पर्न सफल क्युरा हेल्थ टेलि हेल्थ सर्भिसमा आधारित कम्पनी हो । सफ्टवेयर इन्जिनियर आयुष भगत र उनका साथीहरुले डेढ वर्ष अघि विराटनगरमा क्युरा हेल्थको सुरुवात गरेका हुन् ।

क्युरा हेल्थ हाल विराटनगर लगायत काठमाडौं र पोखरामा पनि सञ्चालनमा छ । क्युरा हेल्थको एप एन्ड्रोइड र एप्पल प्ले दुबै प्लेटफर्ममा उपलब्ध छ ।

यस एपमार्फत नेपालभरका अग्रणी चिकित्सकहरुसँग अडियो तथा भिडियो कलमार्फत टेलिमेडिकल परामर्श लिन सकिन्छ ।

साथै यस एपमार्फत घरमै नमुना संकलन गरी ल्याब परीक्षण, अपोइन्टमेन्ट बुकिङ, अस्पतालहरुको ओपीडी पूर्जा अनलाइन काट्ने तथा मोबाइलमार्फत रिपोर्ट प्राप्त गर्न सकिने सुविधा पाउन सकिन्छ ।

एपमार्फत सेवा लिएका विमारीहरुले आफ्नो स्वास्थ परिक्षण तथा सम्पूर्ण हिस्ट्री रकेर्डहरु एपको क्लाउड ब्याकअप सर्भरमार्फत पाउन सक्छन् ।

३. ब्लड कनेक्ट

\"\"

प्रदेश नम्बर एकको अर्को उत्कृष्ट ७ स्टार्टअप एण्ड आईडियामध्ये पर्न सफल ब्लड कनेक्ट आप्तकालिन समयमा रगत खोज्न सहयोग गर्ने एप हो ।

कृतज्ञ रेग्मी र उनका साथीहरुले २०२१ देखि धरानमा सुरु गरेको यस एपले रगत आवश्यक भएको समय रगत दाता, ब्लड बैंक खोज्न सहयोग गर्दछ ।

यस एपमार्फत आफ्नो स्थान र रगत समूहका आधार दातासँग जोडिन सकिन्छ । एपमार्फत आफू बसेको ५० किलोमिटर क्षेत्रफल भित्रको सोही रगत समूहको दातासँग जोडिन सकिन्छ ।

एपमार्फत रक्त दान गर्ने व्यक्तिहरुलाई भर्चुअल सर्टिफिकेट समेत दिने व्यवस्था छ ।

४. हेल्लो एम्बुलेन्स

\"\"

एम्बुलेन्स जस्तो आपतकालिन बाहनको असमान वितरणबाट उत्पन्न भएको समस्यालाई प्रविधिको माध्यमबाट निरुपण गर्न सहयोग गर्ने एप हो हेल्लो एम्बुलेन्स ।

गोकर्ण बास्कोटा र साथीहरुले यो सामुदायिक सेवाको आईडिया विकास गरेका हुन् । विराटनगरमा सम्पन्न प्रदेश स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्टबाट हेल्लो एम्बुलेन्स प्रदेशको उत्कृष्ट सात आईडियामा पर्न सफल भएको हो ।

यस एपमार्फत आफूवरीपरी छरिएर रहेका एम्बुलेन्सहरुको तथ्यांक, सम्पर्क नम्बर तथा अन्य विस्तृत विवरण प्राप्त गर्न सकिन्छ ।

आपतकालिन समयमा यो एपको प्रयोग गर्दा आफू वरीपरीको ३० किलोमिटर क्षेत्रफलभित्रको एम्बुलेन्सहरुबारे सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ । एपमा एम्बुलेन्सको सम्पूर्ण जानकारी तथा तथ्यांक पनि अद्यावधिक भईरहन्छ ।

५. क्रिप्स मिडिया ल्याब

\"\"

इन्टरनेट वास्तविक तथा भ्रामक सूचनाहरुको सागर हो । यी प्रत्येक सूचना तथा जानकारीलाई प्रमाणीकरण गरेर आफ्नो हितमा प्रयोग गर्नु एउटा व्यक्तिलाई धेरै समय आवश्यक पर्छ ।

यहीँ समस्यालाई पहिचान गरी कन्टेन्ट तथा इन्फर्मेसन फिल्ट्रेसन तथा समराइजेसनको अवधारणा बोकेर अन्जनी कुमार ठाकूरले क्रिप्स मिडिया ल्याब आईडियामा काम सुरु गरेका छन् ।

यसले इन्टरनेट तथा सञ्चार माध्यमहरुमा भएका लामा र धेरै ठूला सूचनाहरुलाई संकलन गरी एआई एल्गोरिदमको मद्दतबाट संक्षिप्त र सटिक जानकारी उपभोक्तामाझ पस्किने काम गर्दछ । साथै यसले पाठकलाई एआईमा आधारित पर्सनलाइज्ड रिडिङ एक्सपिरियन्स समेत प्रदान गर्दछ ।

भ्रामक र प्लेजरिज्म सामाग्रीहरुबाट बचेर वास्तविक र सत्य तथ्यमा आधारित सामाग्रीहरु मात्र प्रदान गर्ने यो आईडिया प्रदेश नम्बर १ को उत्कृष्ट ७ आईडिया तथा स्टार्टअपमा पर्न सफल भएको छ ।

६. स्टिम स्किल

\"\"

आधारभूत तहदेखि नै सूचना प्रविधि युगको अत्यावश्यक सिप कोडिङ सिकाउने प्लेटफर्म हो स्टिम स्कूल । २०२२ देखि विराटनगरमा दिपक शाहले सुरु गरेको स्टेम स्किलले परम्परागत पाठ्यक्रममा समावेश नभएको फाउण्डेसनल कम्प्युटर कोडिङ स्किल विद्यार्थीहरुलाई सिकाउँछ ।

स्टेम स्किलले विद्यालयहरुमा वर्कसप दिनका साथै कोडिङ इन्सटिच्यूसन तथा स्कूल कोडिङ सेन्टर समेत स्थापना गरी अन्तराष्ट्र्रिय स्तरको के एट करिकुलममा आधारित कोडिङ सिप प्रदान गर्दछ ।

कोडिङ सिप भएका व्यक्तिहरुले यस प्लेटफमार्फत जोडिएर पार्ट टाइम कोडिङ ट्युटरको काम गरी आम्दानी समेत गर्न सक्छन् ।

७. ट्रेड नेपाल अनलाइन

\"\"

ट्रेड नेपाल अनलाइन स्थानीय बस्तु तथा सामाग्रीलाई अन्तराष्ट्र्रिय स्तरमा प्रवद्र्धन गर्न सहयोग गर्ने उदेश्य लिएर जन्मिएको अनलाइन मार्केट प्लेस तथा ईकमर्श स्टार्टअप हो ।

विकल्प न्यौपाने र उनका अग्रजले २०२० मा स्थापना गरेको ट्रेड नेपाल अनलाइनले नेपाली स्थानीय ब्राण्डहरुको विश्वव्यापी प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

यस प्लेटफर्मको आफ्नो वेबसाइट र एप छ । जसमा स्थानीय उत्पादकहरुले आफ्नो ब्राण्ड रजिस्टर गर्ने, फोटो अपलोड गरेर सामाग्री बिक्री तथा ब्राण्ड प्रवद्र्धन गर्न सक्छन् ।

यस प्लेटर्फममा ग्रोसरी आईटम, होम डेकोरेसन, हेल्थ हाईजिन, कृषिजन्य सामाग्री तथा विद्युतीय सामाग्री सबे पाउन सकिन्छ ।

अनलाइम डेलिभरीको सुविधा दिने ट्रेड नेपालले उत्पादक तथा कृषकहरुसँग प्रत्यक्ष सहकार्य गर्ने हुँदा यस प्लेटफर्ममा उपलब्ध बस्तुहरुको मूल्य पनि तुलनात्मकरुपमा बजार मूल्यभन्दा कम हुन्छ । कम्पनीले स्वदेशी बाहेक विदेशी ब्राण्डका बस्तुहरु पनि आयात गर्ने गर्दछ ।

यसरी प्रदेश स्तरीय प्रतिस्पर्धाबाट उत्कृष्ट ७ मा छनौट भएका सबै कम्पनीलाई काठमाडौंमा ल्याएर ‘आईडिया इन्क्युबेसन’ का साथै सम्भावित लगानीकर्ताहरुसँग सम्पर्क सहजीकरणको सुविधा समेत प्रदान गर्ने आयोजकको भनाई छ ।