कीवर्डहरू -

दिदीबहिनीले सुरू गरेको ‘बिहे नेपाल’, जसले खोजिदिन्छ तपाईलाई सुहाउँदो जीवनसाथी

दिदीबहिनीले सुरू गरेको ‘बिहे नेपाल’, जसले खोजिदिन्छ तपाईलाई सुहाउँदो जीवनसाथी

मोबाइल एपबाटै जीवनसाथी खोज्ने भन्दा तपाईलाई अनौठो र अचम्म लाग्छ होला । एपबाटै जीवनसाथी खोज्ने चलन नेपालमा नयाँ भएपनि विदेश तिर भने पूरानो भइसक्यो ।

शादी डटकम, टिन्डर जस्ता एपहरू जोडी खोजिदिने प्लेटफर्मका रूपमा लोकप्रिय छन् । पछिल्लो समय नेपाली युवा पुस्तामा पनि यस्ता डेटिङ प्लेफर्म लोकप्रिय हुन थालेका छन् ।

हुन पनि हो, यस्ता डेटिङ एपबाट आफुले पहिले नै कुरा गरेर आफुलाई सुहाउँदो जोडी खोज्न सकिन्छ । सन् २०१३ मा अमेरिकामा भएको एक अध्ययनले अनलाइनबाट भेट भएका जोडी अधिक सन्तुष्ट र कम सम्बन्ध बिच्छेद हुने गरेको देखाएको थियो ।

यस्तैमा नेपालमा पनि अनलाइनबाटै जीवनसाथी खोज्ने संस्कृति बसाल्न ‘बिहे नेपाल’ एप सुरू भएको छ । २ महिना अघि सार्वजनिक भएको बिहे नेपाल अहिले युवापुस्ताको आकर्षणमा छ, जसको प्रतिफल स्वरूप छोटो समयमै बिहे नेपाल ३६ हजार बढीले प्रयोग गर्न थालिसकेका छन् ।

\"\"

बिहे नेपाल एप एन्ड्रोइड आईओएस दुवैमा उपलब्ध छ । बिहे नेपाल एप दुई दिदी बहिनी श्रद्धा कटुवाल र श्रेया कटुवालले सुरू गरेका हुन् । श्रद्धाले न्युजिल्याण्डबाट सिभिल र आर्किटेक्ट इन्जिनियरमा मास्टर्स गरेकी छन् भने श्रेयाले नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) सफ्टवेयर इन्जिनियर अध्ययन गरेकी छन् ।

श्रेयाको कलेज प्रोजेक्टको रूपमा सुरू भएको जीवनसाथी खोजिदिने आईडियाले आज एक स्टार्टअपको रूपमा जन्म पाएको छ । नेपाली समाजमा डेटिङ र जीवनसाथी खोजिदिने एपको आवश्यकता महशुस गरेपछि कलेज प्रोजेक्टलाई नै स्टार्टअपको रूपमा सुरू गरेको बिहे नेपालकी सह-संस्थापक श्रेया कटुवालले बताइन् ।

अहिले दुबै दिदीबहिनी यसैमा लागेका छन् । आफ्नो भविष्य पनि बिहे नेपालमै देखेका छन् । कलेज प्रोजेक्टलाई स्टार्टअपको रूपमा सुरु गर्ने योजना आउँदा उनीहरूमा यो चल्छ भन्ने विश्वास थियो । किनकी अन्तर्राष्ट्रिय रूपमा डेटिङ एप निकै नै चर्चित थिए । तैपनि बजार अध्ययन गर्नुपर्‍यो ।

‘हामीले बजार अध्ययन गर्ने नयाँ जुक्ति निकाल्यौं। बिहे नेपाल एपको बेटा टेस्टिङ सार्वजनिक गर्ने र त्यसबाट अध्ययन गरेर यसलाई अगाडि बढाउने,’ बिहे नेपालकी अर्की सह-संस्थापक श्रद्धा कटुवालले भनिन्, ‘बेटा टेस्टिङमा राम्रो प्रतिक्रिया पाएपछि बिहे नेपाल आधिकारिक रूपमा सुरू भएको हो ।’

बिहे नेपालको बेटा टेस्टिङमा २५ सय ३ हजार प्रयोगकर्ता जोडिएका थिए । एप आधिकारिक रूपमा सार्वजनिक भएसँगै आएको प्रतिक्रिया उनीहरू अझै हौंसिएका छन् । यसलाई अझै व्यापक बनाउने आँट र विश्वास बढेको छ ।

बिहे नेपाल ४० लाख लगानीमा सुरू भएको हो । अहिले ४० लाख बढी लगानी भइसकेको श्रद्धाले बताइन् । उनीहरूले रावा सफ्टवेयरबाट कमाएको रकम र बचत गरेको रकम बिहे नेपालमा लगानी गरेका छन् । परिवारबाट पनि राम्रो सपोर्ट पाएको उनीहरूको भनाइ छ ।

बिहे नेपालबाट जीवनसाथी खोज्न सुरूमा अकाउन्ट बनाउनु पर्छ । त्यसपछि अकाउन्ट बनाएर खोज्न सकिन्छ । दुबै जना एसेप्ट भएपछि कुराकानी गर्न मिल्छ । फोन नम्बर, इमेल जस्ता व्यक्तिगत विवरणहरू यसमा हाइड गरिएको हुन्छ ।

एपलाई अझै रमाइलो बनाउन अफरहरू पनि ल्याउने तयारी कम्पनीको छ । एप प्रयोग गर्ने एक महिला प्रयोगकर्ताको बिहे नेपालबाटै भेटाएको एक केटासँग इंगेजमेन्ट पनि भइसकेको छ । बिहे नेपालमा पुरूषको तुलनामा महिलाहरू अलि कम छन् ।

अप्रत्यक्ष रूपमा महिलाहरूले सोध्ने गरेपनि प्रत्यक्ष रूपमा एपमा आफ्नो प्रोफाइल बनाउन हिच्किचाइरहेका छन् । प्रोफाइल बनाएर निर्धक एप प्रयोग गर्न उनीहरूको आग्रह छ । बिहे नेपाल एप अहिले देश विदेशका नेपालीहरूले प्रयोग गरिरहेका छन् ।

\"\"

एपमा अहिले फेस भेरिफिकेसन सुविधा थप भएको छ । फेक प्रोफाइलको गुनासो आएपछि त्यसलाई कम गर्न बिहे नेपालले फेस भेरिफिकेसन सुविधा थप गरेको हो । आफ्नो प्रोफाइलमा राखेको फोटो फेस भेरिफिकेसनबाट प्रमाणित गर्नुपर्नेछ ।

बिहे नेपालको विश्वसनीयता बढाउन ‘सक्सेस स्टोरी’ पनि देखाउने योजना रहेको श्रेयाले जानकारी दिइन् । बिहे नेपालले भीआईपी क्लब पनि ल्याउँदै छ । प्रयोगकर्ताको माग अनुसार भीआईपी क्लब ल्याउन लागेको कम्पनीको भनाइ छ । भीआईपी क्लबमा प्रमाणित प्रमाणपत्र समेत राख्नुपर्नेछ ।

भीआईपी क्लबमा आवद्ध हुनुले सामान्य प्रयोगकर्ताको भन्दा थप सुविधा पाउने छन् । भीआईपी क्लबको शुल्क ४९ हजार तोकिएको छ, जुन एक पटक मात्र तिर्नुपर्छ । त्यसपछि जीवनभर भीआईपीको क्लबको सदस्य बन्न सकिन्छ ।

पछिल्लो समय नेपालमा सम्भावना छैन् भन्दै लाखौं युवापुस्ता विदेशिएका छन् । यस्तो हुनुको पछाडि ‘ब्रेन ड्रेन’ मुख्य कारण भएको श्रद्धाको बुझाइ छ । ‘नेपालको बल र बुद्धि दुबै बाहिर गइरहेको छ । त्यो सुन्दा सारै दुख लाग्छ,’ उनले आइसिटी समाचारसँग भनिन् ।

विकास भइसकेको देशमा भन्दा पनि नेपाल जस्तो विकासशील देशमा अवसर बढी भएको श्रेया बताउँछिन् । नेपालमै काम गर्न सकिने र नेपालमै अधिक सम्भावना रहेको दिदीबहिनीको भनाइ छ ।