बिहीबार, ५ जेठ, २०७९
Thursday, 19 May, 2022

अर्बन बगैँचाः अब आईओटीमार्फत अटोमेट हुन्छ हावामा हुने खेती

काठमाडौं । काठमाडौंका सबै जसो घरमा देखिने एउटा समान कुरा भनेको कौसी खेती हो । यहाँका हरेक घरका छत र बरण्डाहरु हरियो सागसब्जी तथा फलफूलका बोटविरुवाले ढाकिएकै हुन्छन् । 

तर काठमाडौं जस्ता शहरमा कौंसी खेती गर्न त्यति सजिलो छैन । खेतीका लागि विरुवालाई आवश्यक पर्ने माटो जुटाउन सबैभन्दा अप्ठ्यारो कुरा हो । माटो, न अरुको भूमि खनजोत गरी निकाल्न सकिन्छ न त कतै किन्न नै पाइन्छ ।

यसैगरी छत र बरण्डाको सिमित क्षेत्रफलमा कौसी खेती गरेर पनि ताजा खुराकको आवश्यकता पुरा गर्न नै गाह्रो हुन्छ । यसैले धेरैका लागि यो सौखमै सिमित हुन्छ । 

तर यसको फाइदा र आवश्यकतालाई बुझेर चुनौतीलाई सम्बोधन गर्न विज्ञान प्रविधिले कृषिमा नयाँ तथा अत्याधुनिक विधिहरु पनि विकास गरेको छ । तीनैमध्ये एक हो ‘सोयललेस फार्मिङ’ । 

अहिले नेपालमा विभिन्न सोयललेस फार्मिङ विधिहरु अप्नाएर कृषि अभ्यास भईरहेका छन् । जसमा हाईड्रोपोनिक्स, एक्वापोनिक्स र एरोपोनिक्स रहेका छन् । 

हाईड्रोपोनिक्समा माटोको सट्टा पानीमा पानीमै आवश्यक मलखाद्य तथा पोषण तत्वलाई सन्तुलित राखी विरुवालाई उमार्ने गरिन्छ । त्यसभन्दा एक तह विकसित स्वरुप हो एक्वापोनिक्स जसमा पानीमा भित्र जलजीवको खेती गर्दै पानीमाथि तरकारी तथा फलफूलका विरुवाहरु हुर्काइन्छ । त्यसपछिको अर्को विकसित स्वरुप भनेको एरोपोनिक्स हो यस विधिमा माटो, पानीमा होइन तर हावामा खेती गरिन्छ ।

सुन्दा अपत्यारिलो लाग्ने यस विधिलाई सन् १९८० को दशकमा रिचर्ड जे स्टोनर नाम गरेका व्यक्तिले नासासँगको सहकार्यमा विकास गरेका थिए । जमिन, माटो र पानीको अभाव भएको काठमाडौं जस्तो शहरमा एरोपोनिक्स विधि सबैभन्दा उत्कृष्ट ठहर भएको छ । 

त्यसो त विज्ञानले एक तहमाथि बढेर फगोपोनिक्स अर्थात् तुवालोमा खेती गर्ने विधि पनि विकास गरिसकेको छ तर नेपालमा यसको अभ्यास भएको छैन । 

हाल नेपालमा एरोरुट्स जस्तो कम्पनीले व्यवसायिक स्तरमा नै एरोपोनिक्स विधिलाई अगाडी बढाएर सोयललेस खेती गर्न सहयोग गरिरहेको छ ।  

यद्यपी परम्परागत विधिसँग अभ्यस्त धेरैका लागि एरोपोनिक्स त्यत्ति सजिलो छैन । गमलामा माटो सुक्दा पानी चाहिन्छ भनेर थाहा हुन्छ तर हावामा झुलेको जरामा पानीको अभाव छ भनेर थाहा पाउन एकदमै गाह्रो कुरा हो ।

एरोपोनिक्स आफैमा एकदमै संवेदनशिल विधि हो । यस्तामा विरुवालाई कुन समय के दिने, कति दिने यी सबै कुराहरु थाहा नहुँदा र समय तालिका अनुसार काम गर्न नसक्दा विरुवाहरु मर्ने, ओईलिने समस्या पैदा हुन सक्छ । 
हालसम्म अभ्यास भईरहेको मेनुअल विधि धेरै झन्झटिलो र अप्ठ्यारो छ । यहीँ समस्यालाई आईओटी अर्थात् इन्टरनेट अफ थिङ्स मार्फत अटोमेट गरी एरोपोनिक्स फार्मिङलाई सहज बनाउन अवर्तन टेक्नोलोजीले २०१८ देखि काम गरिरहेको छ । 

No photo description available.

काठमाडौं इन्जिनियरिङ कलेजको इलेक्ट्रिकल इन्जिनियरिङ संकायका विद्यार्थी कृष्ण शर्मा र उनका दुई कम्प्युटर इन्जिनियर साथी रोहित रत्न स्थापित र सन्जिब शाक्यले केही फरक गर्ने सोचका साथ २०१५ मा अवर्तन टेक्नोलोजीको सुरुवात गरेका थिए । 

अर्वतन टेक्नोलोजीमार्फत यी युवाहरुले २०१८ सम्म विभिन्न व्यवसायिक संस्थाहरुलाई आरएण्डडी तथा विभिन्न चरणमा आईओटी सोल्युसन प्रदान गर्दै आईरहेको थियो । यसबीच २०१८ बाट आफै पनि कुनै फरक क्षेत्रमा नयाँ आईओटी प्रोडक्ट बनाएर काम गरौं भन्ने हुटहुटीले २०१८ देखि यी युवाहरुले एरोपोनिक्सलाई अटोमेट गर्ने आईओटी सिस्टममा अध्ययन तथा अनुसन्धान गर्न थाले जसलाई उनीहरुले अर्बन बगैँचाको नाम दिए ।

 अर्बन बगैँचाको आरएण्डडी पुरा भई प्रोटोटाइप बनाएपछि २०१८ को एभ्रेष्ट ह्याकाथनमा यी युवाहरु सहभागी भएका थिए । 

‘त्यसै वर्ष हामीले हाम्रो यो अवधारणाको पहिलो सार्वजनिक परिक्षण गर्ने मौका पायौं,’ अवर्तनका संस्थापक सदस्य कृष्ण शर्मा भन्छन्, 

त्यसबेला उनीहरुले त्यस्तो प्रविधि नेपालमा आयो कसैले माग गर्लान् भनी प्रश्न गर्दा सहभागीहरुले एकदमै राम्रो प्रतिक्रिया दिएका थिए । र उनीहरु शिर्षस्थ ५ इनोभेटिभ प्रोजेक्टको रुपमा चयन पनि भएका थिए । 

के हो अर्बन बगैँचाको अवधारणा ?

अवर्तन टेक्नोलोजीको अर्बन बगैँचा पनि आधारभूतरुपमा एरोपोनिक्स फार्मिङ नै हो । तर यी युवाहरुले अर्बन बगैँचामार्फत संवेदनशिल एरोपोनिक्स फार्मिङलाई आईओटी सोल्युसन प्रदान गरेका छन् । जसकारण एरोपोनिक्सलाई मेनुअलबाट अटोमेट गर्न सम्भव हुनेछ । 

खुल्ला भागमा हुने यस्तो खेतीमा विरुवालाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व, पानी, औषधी हावाकै माध्यमबाट ‘इन्फ्युज’ अर्थात् लगाईने गरिन्छ । यसमा विरुवाहरु एउटा सपोर्ट फ्रेममा राखिएका हुन्छन् जसको जरा खुल्ला हावामा झुण्डिन्छन् । 

हावाबाटै सबै पोषण तथा आवश्यक तत्वहरु प्रवाह गर्नुपर्ने हुँदा यसलाई कुन बेला के चाहिन्छ सबै कुराको मिहिन र नियमित निगरानी आवश्यक हुन्छ । त्यसमाथि सम्पूर्ण विरुवाहरुको आआफ्नो जीवन प्रणाली र पोषण आवश्यकता हुन्छ । यीनमा मौसमी भिन्नता पनि हुन्छ । यी सबै मिलाउन मोनिटरिङ आवश्यक पर्छ । यसरी फरक विरुवाको फरक आवश्यकतालाई व्यवस्थापन गर्न मेनुअलरुपमा एकदमै जटिल र झन्झटिलो छ । तर अर्बन बगैंचा एउटा यस्तो आईओटी प्रणाली हो जसले एरोपोनिक्स खेतीका सम्पूर्ण अवस्थाहरुको लाइभ मोनिटरिङ गरी सिस्टम पूर्णरुपमा अटोमेट गरिदिन्छ । 

यसका लागि अर्वतन टेक्नोलोजीले आफ्नै एउटा एप बनाएको छ । उक्त एपलाई कृषकले प्रयोग गरेर सहजरुपमा एरोपोनिक्स फार्मिङ गर्न सक्छन् । 

कृषकले एपमा लग इन गरे आफूसँग भएका सम्पूर्ण प्रजातीका विरुवाहरुलाई एपमा भिन्न भिन्नरुपमा सेट गर्न सक्छन् । एकपटक सेटअप गरिसकेपछि सिस्टमले विरुवालाई आफै मोनिटर गरेर त्यसलाई चाहिने विभिन्न पोषक तत्व आवश्यकता र समयानुसार हावामा ‘डिफ्युज’ गरिदिन्छ । जसको हरेक नोटिफिकेसन कृषकलाई जान्छ । 
कुनै विरुवामा पानी वा पोषक तत्व चाहिएको छ भने पनि एपले नोटिफाई गर्छ । यस्तै एरोपोनिक्स खेती प्रणालीमा पोषक तत्वहरुका लागि छुट्टै ट्यांक हुन्छ । यदि ट्यांकमा पोषक तत्व सकिएको छ भने पनि युजरलाई एपले नोटिफिकेसन दिन्छ । यस एपबाट टाढा बसेर पनि आफ्नो फार्मको सबै कुरा निगरानी र नियन्त्रण गर्न सकिन्छ । 
तर अवर्तनले अहिलेसम्म यस एपलाई प्लेस्टोरमा सार्वजनिक गरेको छैन । यसअघि नै २०१९ मै सिस्टम र एप एकसाथ सार्वजनिक गर्ने टिमको योजना महामारी र निषेधाज्ञाका कारण विफल भयो ।

अहिले पुन सम्पूर्ण सिस्टम विकास गरेर २०२२ बजारमा जाने योजना त टिमले बनाएको छ । तर राष्ट्रबैंकले एलओसी बन्द गरेको कारण चीनबाट सामाग्री मगाउन अप्ठ्यारो भईरहेको कृष्ण बताउँछन् । एलओसी नखुलेसम्म कहिलेसम्म योजना स्थगित हुने भन्ने कुरा अनिश्चित छ । तर यो चाढै बाहिर ल्याउन सकिनेमा उनीहरु आशावादी छन् ।

नेपालमा एरोपोनिक्स अहिले कमर्शियल स्तरमा मात्र गर्ने गरिन्छ । सबैभन्दा धेरै कौसी खेती हुने काठमाडौंमा एरोपोनिक्सको महत्व र आवश्यकता जति धेरै भए पनि कसैले यसलाई ‘रेसिडेन्सियल’ तहसम्म लगेका छैनन् । अर्बन बगैँचामार्फत एरोपोनिक्सलाई स्केल डाउन गरेर सिस्टम, एप र खेतीलाई घर घर पुर्याउने पनि उनीहरुको लक्ष्य छ । यसैले अहिले टिम एरोपोनिक्सको इनडुअर फार्मिङमाथि पनि परिक्षण गरिरहेको छ । 

त्यसपछि युथ फाउण्डेसन भन्ने एनजीओले हाम्रो परियोजनामा रुची देखाएर बोलाउनु भएको थियो तर त्यसबेला हाम्रो सिस्टम तयार नभएको कारण हामीले उनीहरुसँग साझेदारी गर्न पाएनौं ।

इसबीच २०१८ सीजीले नेपाल सोसल विजनेस च्याप्टरले स्मार्ट सिटी च्यालेन्ज भनेर प्रतिस्पर्धा रन गरेको थियो । त्यसमा जितेर २ महिना लामो इन्क्युबेसनमा पनि बस्न पाएका थियौं । यसरी हुँदा हुँदै हामी अहिले वाल्जी ल्याएका हौं । २०२० मा सार्वजनिक गर्ने योजना थियो । तर महामारीका कारण ब्रेक लाग्यो । 

२०१९ आउने बेलासम्म टिम भंग भएको थियो । तर अहिले पुन टिम विस्तारी बन्दैछ । आर्किटेक्चर, विजनेस र इन्जिनियरिङ क्षेत्रबाट गरी ५जनाको टिम छ । 

अर्बन बगैँचालाई अन्तराष्ट्र्रिय स्तरमा पनि लैजाने अवर्तन टेक्नोलोजीको तयारी छ । यसका लागि उनीहरुले यसको नेपाली नामलाई वाल्जीमा परिणत समेत गरेका छन् ।

‘दक्षिण एशियाभन्दा बाहिर यो बगैँचा शब्द अरुका लागि अप्ठ्यारो लाग्ने रहेछ, यसैले हामीले अहिले वाल्जीको नामबाट यसलाई देशबाहिर लैजाने तयारी गरेका छौं ।’ कृष्णले आईसीटी समाचारलाई सुनाए । 

अर्बन बगैँचालाई सब्सक्रिप्सन मोडलमा बजारमा वितरण गर्ने उनीहरुको योजना छ । 

सम्बन्धित समाचार