कीवर्डहरू -

हिमाली क्षेत्रमा फ्रि वाईफाई परियोजनाले सहज बनाएको पदयात्रा पर्यटन

हिमाली क्षेत्रमा फ्रि वाईफाई परियोजनाले सहज बनाएको पदयात्रा पर्यटन

काठमाडौं । सगरमाथा आधारशिविर अर्थात् ईबीसीको १५ दिने पदयात्रा सम्पन्न गरेर साम्दे शेर्पा भर्खरै काठमाडौं आईपुगेका छन् । पेशाले ‘ट्रेक गाईड’ उनी सन् २००५ देखि निरन्तर यहीँ पेशामा आवद्ध छन् ।

उनले नटेकेका हिमाल विरलै छन्, भन्छन्, ‘हिमाली पदयात्रामा रोमाञ्चकता र अप्ठ्यारा दुबै हुन्छन्’

करिब १७ वर्ष देखि हिमश्रृंखलाहरुको यात्रा गर्दै आईरहेका अनुभवी गाईड साम्देलाई अप्ठ्यारो यस मानेमा पर्छ की पदयात्राको अवधिभर उनी आफ्नो परिवारजन र विश्वसँग नै सम्पर्क विच्छेदनको अवस्थामा पुग्छन् ।

उनका अनुसार हिमाली क्षेत्रमा पदयात्रा गर्दा धेरै अप्ठ्याराहरु आउँछन्, हिमपहिरो जस्ता प्रकोप जुनैबेला आईपर्न सक्छन्, त्यस्तो बेला परिवारजनलाई धेरै दिनसम्म आफ्नो अवस्थाबारे नियमित जानकारी गराउन नसक्दा यात्रा तनावपूर्ण र कष्टकर बनिदिन्छ ।

व्यक्तिगत समस्या त छदैँ छ । तर साम्दे जस्ता गाईडका लागि पदयात्री पाहुनाहरुको जिम्मेवारीले निम्त्याउने अर्को झनै अप्ठ्यारो समस्या छ ।

‘कहिलेकाँही क्लाइन्ट बिमारी पर्दा अफिससँग सम्पर्क गर्न कुनै माध्यम नै हुँदैन त्यस्तो बेला झनै आपत पर्छ ।’ उनी सुनाउँछन् ।

फोन नेटवर्क भएका ठाउँमा भए त समस्या हल हुन्छ तर नभए चहिँ यात्राको दुर्भाग्य नै त्यहीँ हुन्छ ।

अझ नयाँ तथा एकल पदयात्रीका लागि त यो सबैभन्दा ठूलो चुनौती बनिदिन्छ ।

वर्षेनी धेरै संख्यामा पर्यटकहरु बाटो बिर्सिएर हराईरहेका हुन्छन् । यस्तो बेला अफलाइन म्याप डाउनलोड गरेर प्रयोग त गर्छन् तर त्यसले पनि खुल्ला आकाश नदेखिने खोँचहरुमा राम्रोसँग काम गर्दैन ।

अफलाइन म्यापले दिशा त देखाउँछ तर दूरी राम्रोसँगग देखाउँदैन ।

हिमाल आरोहीका लागि अत्यन्तै आवश्यक मौसमी अपडेट पनि इन्टरनेट नहुँदा पहुँच पाउन गाह्रो हुने फोटोपत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठ बताउँछिन् ।

पदयात्रा पर्यटनका लागि विश्वमै चर्चित गन्तव्य बनेका नेपालका हिमाली क्षेत्रमा अझै विश्वसनीय सञ्चारका लागि फोन तथा इन्टरनेटको पूर्वाधार विकास भईसकेको छैन ।

दूरसञ्चार कम्पनीहरुले एकाध ठाउँमा टावर पुर्याएका छन् जसको कभरेज पनि सिमित छ । तर मोबाइल डेटा इन्टरनेट पुर्याउन सकेका छैनन् ।

यस्तो अवस्थामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत अहिले दुईओटा हिमाली क्षेत्रको रुटमा फ्रि वाईफाई विस्तारको परियोजना अगाडी बढाएको छ । जसमा पहिलो चरणमा ईबीसीको ‘ट्रेक रुट’ र दोस्रोमा अन्नपूर्ण सर्किट ‘ट्रेक रुट’ रहेका छन् । यसैबीच प्राधिकरणले तेस्रो मनासलु हिमालका लागि पनि भर्खरै वल्र्डलिंक कम्युनिकेसनलाई टेण्डर अवार्ड गरेको छ ।

ईबीसीमा वाईफाई विस्तारको ठेक्का पाएको एभ्रेष्टलिंक कम्युनिकेसनले गत चैतमा (१ महिना अगाडी) फ्रि वाईफाई विस्तारको काम सम्पन्न गरिसकेको छ भने अन्नपूर्ण सर्किटमा पनि सबै काम लगभग सकेर अनुगमन भईरहेको प्राधिकरणको पूर्वाधार विकास शाखाका उपनिर्देशक अच्युतानन्द मिश्र बताउँछन् ।

अहिले एभ्रेष्टलिंकले लुक्लादेखि सुरु हुने ईबीसीसम्मको रुटमा पर्ने फाक्दिङ, मोन्जो, नाम्चे, तेङबोचे, पाङबोचे, दिङबोचे, फेरिचे, लोबुचे र गोरछेप हुँदै सगरमाथा आधारशिविरसम्म फ्रि वाईफाई विस्तार गरेको छ ।

यो पदमार्गमा एभ्रेष्टलिंकले अविछिन्नरुपमा इन्टरनेट विस्तार गरेको छ ।

त्यसो त उच्च हिमाली क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आईरहेको कम्पनी एभ्रेष्टलिंकले २०१५ मा दर्ता भए लगत्तै ईबीसी रुटमा इन्टरनेट सेवा दिन थालेको हो ।

त्यसबेला एभ्रेष्टलिंकले रेडियो फ्रिक्वेन्सीबाट कनेक्ट गरेर ती क्षेत्रमा इन्टरनेट प्रदान गर्दथ्यो । जसले गर्दा मूल्य एकदमै महंगो थियो ।

पर्वतारोही श्रेष्ठ भर्खरै कञ्चनजंघा हिमालको आरोहण गरेर काठमाडौं फर्किन् । सन् २०१८ मा ईबीसी जाँदा २० हजार रुपैयाँमा एभ्रेष्टलिंकको ६ जीबी डेटा खरिद गर्नुपरेको नमिठो अनुभव छ उनको ।

‘६ जीबी डेटाका लागि २०१८ मा ईबीसीमा २० हजार तिरेँ, तर १ हप्ता नि राम्रोसँग पुगेन ।’ पूर्णिमाले आईसीटी समाचारसँग भनिन् ।

तर अहिले अवस्था बदलिएको एभ्रेष्टलिंकका महाप्रवन्धक मनिष देवान बताउँछन् । प्राधिकरणको परियोजना अन्तर्गत एभ्रेष्टलिंकले अहिले इन्टरनेटको प्रविधि पूर्वाधार नै परिवर्तन गरी प्रति एमबी औसत १६ पैसामा डेटा बिक्री गरिरहेको उनको भनाई छ ।

अहिले एभ्रेष्टलिंकले रेडियो फ्रिक्वेन्सी प्रविधिलाई विस्थापन गरी अप्टिकल फाईबर र वाईफाई हट्सपट एन्टेना रुटमा विस्तार गरेको छ ।

कम्पनीले लुक्लादेखि आधारशिविरसम्म ठाउँ ठाउँ वाईफाई हट्सपटको एन्टेना राखेको छ । र ती एन्टेनालाई जोडेर अविछिन्न इन्टरनेट प्रदान गर्न लुक्लादेखि गोरछेपसम्मै फाइबर ब्याकबोन बिछ्याएको छ । तर तराईदेखि लुक्लासम्म इन्टरनेटको फाईबर ब्याकबोन विस्तार गर्न सम्भव नभएको कारण त उक्त ग्याप एरियामा रेडियो फ्रिक्वेन्सीको माध्यमबाट इन्टरनेट ल्याएको छ ।

यसरी पूर्णरुपमा प्रविधि नै परिवर्तन गर्दा इन्टरनेट सेवा अझै गुणस्तरीय बनेको महाप्रवन्धक देवान दावी गर्छन् । ‘पहिले भएको रेडियो फ्रिक्वेन्सी कनेक्सनमार्फत एन्टेना सबैतिर पुर्याएर सेवा विस्तार गर्न त सजिलो थियो । तर हावापानी, हिमालको अस्थिर मौसममा यो प्रविधि एकदमै संवेदनशिल हुन्छ र त्यसैले विश्वासनीयता र गुणस्तरर्यता कम थियो ।’ देवानले आईसीटी समाचारसँग भने ।

अहिले मूल्य पनि सस्तो र गुणस्तर पनि राम्रो भएको देवान बताउँछन् । एभ्रेष्टलिंकले दुई प्याकेजमा पदयात्रीहरुलाई डेटा बिक्री गर्दछ । एउटा २९ सय ९९ रुपैयाँको २० जीबीको प्याकेज छ जसमा प्रति एमबी शूल्क १४ पैसा पर्दछ । यसैगरी दोस्रो १९ सय ९९ सय रुपैयाँको १० जीबीको प्याकेज रहेको छ सोको मूल्य प्रति एमबी १९ पैसा पर्छ ।
तर साम्दे एभ्रेष्टलिंककै डेटा खरिद गर्दा पनि गुणस्तरीय भने नपाएको बताउँछन् ।

‘अहिले इन्टरनेट सस्तो भएको हो, तर गुणस्तर भने खासै छैन । बफरिङ भई नै रहन्छ,’ अझ फ्रि वाईफाई भनिएपनि यसपाली जाँदा कतै पनि निशूल्क इन्टरनेट चलाउन नपाएको उनले बताए ।

परियोजना जारी गर्दा फ्रि वाईफाई भनेर विज्ञापन गरिए पनि यो वास्वतमा फ्रि वाईफाई नभएको उपनिर्देशक मिश्र बताउँछन् ।

‘केही समय निशूल्क दिएपछि यो इन्टरनेट सशूल्क नै हो ।’

प्राधिकरणले उक्त परियोजनामा फ्रि वाईफाई शब्द नै गलत चयन गरेको देवान बताउँछन् ।

‘यो फ्रि वाईफाई होइन, वास्तवमा यसलाई वाईफाई एक्सेस इन एभ्रेष्ट बेस क्याम्प भन्नुपर्ने हो । यो नाम नै गलत हो ।’ देवानले भने ।

उच्च हिमाली क्षेत्रमा पूर्वाधार विकास तथा इन्टरनेट सञ्चालन खर्च एकदमै महंगो हुने भएको कारण डेटा निशूल्क गर्न नसकिने देवान बताउँछन् ।

एभ्रेष्टलिंकले अहिले रजिस्टर तथा लगइनका लागि छोटो समय निशूल्क इन्टरनेट दिन्छ त्यसपछि भने एभ्रेष्टलिंकको कार्ड किनेर सोही कार्डमा भएको युजर नेम र पासवर्ड प्रयोग गरी इन्टरनेट प्रयोग गर्नुपर्दछ । यस्ता कार्ड सो रुटभरीका प्रत्येक होटलहरुमा उपलब्ध हुने देवान बताउँछन् ।

सञ्चालन खर्च

ईबीसी रुटमा इन्टरनेट विस्तार गर्न सञ्चालन खर्च एकदमै महंगो हुने देवान बताउँछन् । हिमाली क्षेत्रमा ब्याण्डविथको माग धेरै हुने भएको कारण पूर्वाधार विस्तार गर्दा प्रयोग हुने एन्टेना पनि सामान्य भूगोलको भन्दा एकदमै प्रिमियम हुन्छन् ।

देवानका अनुसार यहाँ अन्य ठाउँमा जसरी जमिनमाथिबाट फाइबर तान्न मिल्दैन । अति महंगो डाईरेक्ट बरियल फाईबर प्रयोग गर्नुपर्छ जसलाई डक्टिङ, पाईपिङ गरी बिछ्याउने काम एकदमै महंगो हुन्छ ।

‘जाडो याममा काम गर्नै गाह्रो हुन्छ । कतै बिग्रियो भने पनि जनशक्ति ल्याउन, लजिस्टिकल्ली पुग्न, सामान पुर्याउन गाह्रो हुन्छ ।’ उनले भने ।

‘सामानहरु अगाडी नै स्टक राख्नपर्छ । बोकेर सामान ल्याउन सम्भव हुँदैन हेलिकप्टरबाट ढुवानी गराउँदा त्यत्तिकै महंगो पर्न जान्छ ।’

सामान्य भूगोलमा भन्दा खर्च बेसी भए पनि प्राधिकरणसँगको सहकार्यले अहिले इन्टरनेट विस्तार तथा कभरेजलाई राम्रो बनाउन ठूलो सहयोग पुर्याएको भन्दै डेटा सकेसम्म अझै सस्तो बनाउँदै लैजाने एभ्रेष्टलिंकको योजना रहेको देवानले बताए ।

अन्नपूर्ण सर्किट क्षेत्रमा पनि कम्पनीले आफ्नो तहबाट सम्पूर्ण काम सकिसकेको देवान बताउँछन् ।

अन्नपूर्ण सर्किटमा इन्टरनेट विस्तार गर्न कम्पनीले पाँचओटा जिल्ला भएर काम गरेको छ । जसमा लम्जुङको बाहुन डाँडादेखि मनाङको मूख्य क्षेत्र र मुस्ताङको थोरोङ्ला हुँदै म्याग्दी झर्ने रट छ । मनाङ क्षेत्रमा सम्पूर्ण काम सकिसकेको छ भने अहिले मुस्टाङमा अन्तिम चरणको अनुगमन हुन बाँकी छ ।

हिमाली क्षेत्रमा पर्यटक मात्र नभएर उक्त परियोजनाले हिमाली जनजीवनमा समेत लाभ पुर्याएको देवान बताउँछन् ।
‘पहिले खुम्बु क्षेत्रका स्थानीय बासिन्दा महंगो मोबाइल किनेर घरमै थन्काउँथे । चलाउनलाई कनेक्सन नै थिएन,’ वाईफाईले स्थानीय स्तरमा ल्याएको परिर्वतनबारे सुनाउँदै देवान भन्छन्, ‘अहिले त इन्टरनेट भएर सोसल मिडिया पनि चलाउन थालेका छन् । यसले डिजिटल साक्षरतामा पनि सहयोग गरेको छ । अहिले त वेदर रिपोर्ट हेर्ने देखि, खाना बनाउने तरिका, संसारको सबै कुरा उनीहरुले मोबाइलमै हेर्न थालेका छन् ।’

पदमार्गीलाई पनि आफू वरिपरी डुलेको ठाउँमा लाइभ गरी आफन्तजनलाई देखाउन पाउनु ठूलो खुशीको कुरा भएको उनी मान्छन् ।

साम्दे पनि पछिल्लो विकासदेखि खुशी त छन् तर सन्तुष्ट भने छैनन् ।

नेपालका अझै कति त्यस्ता हिमाली क्षेत्रमा साम्दे पुगिसकेका छन् जहाँ इन्टरनेट त के फोन नेटवर्कसम्म पाउन धौ धौ हुन्छ ।

३ हजार मिटरभन्दा उच्च क्षेत्रमा अल्टिच्यूडका लक्षणहरु देखिने हुँदा ती सकेसम्म ३ हजार नत्र ४ हजार मिटरभन्दा माथिको क्षेत्रमा इन्टरनेट विस्तार गरिनुपर्ने उनी बताउँछन् ।

‘उचाईमा क्लाइन्ट एकदमै धेरै बिमारी पर्छन् । त्यस्ता क्षेत्रमा इन्टरनेट फोन नेटवर्क राम्रो हुनपर्ने हो तर विरलै ठाउँमा मात्र भेटिन्छ भेटिए पनि विहान घाम लाग्दा मात्र मज्जाले चल्छ, मौसम बिग्रिए पछि सबै ठप्प हुन्छ ।’

ती क्षेत्रमा इन्टरनेट पुगिदिए पर्यटन प्रवद्र्धनमा अझ राम्रोसँग हुने उनी बताउँछन् ।