कीवर्डहरू -

अनलाइनबाटै होटल बुकिङ गर्न मिल्ने ‘होटल संसार’, पर्यटन क्षेत्रलाई नै डिजिटाइज गर्ने योजना

अनलाइनबाटै होटल बुकिङ गर्न मिल्ने ‘होटल संसार’, पर्यटन क्षेत्रलाई नै डिजिटाइज गर्ने योजना
संस्थापकः उद्धव अधिकारी

नेपाल पर्यटकीय सम्भावानाले भरिपूर्ण देश हो । प्राकृतिक स्रोत र सम्पदाका हिसाबले विश्वमा हामी धनी देश हौं । तर पनि नेपालको पर्यटन क्षेत्रको विकास जति हुनुपर्ने हो, त्यत्ति भएको छैन् ।

यसैबीच पर्यटन क्षेत्रलाई नै डिजिटलाइज गर्ने उद्देश्यले २०७७ असारमा शुरू भएको प्लेटफर्म हो, होटल संसार । होटल संसार एउटा ओटीए (अनलाइन ट्राभल एजेन्ट) प्लेटफर्म हो ।

नेपालमै तयार पार्न सकिने सिस्टम पनि विदेशबाटै ल्याएर प्रयोग गरेको देखेपछि होटल संसारको आईडिया आएको होटल संसारका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) उद्धव अधिकारी बताउँछन् । अधिकारीले झण्डै दुई दशक समय सूचना प्रविधि क्षेत्रमा बिताइसकेका छन् ।

\"\" यो अवधिमा उनले देश तथा विदेशका विभिन्न परियोजनामा काम गरिसकेका छन् । सो समयमा नेपालमै विकास गर्न सकिने धेरै परियोजनाहरू पनि विदेशबाट ल्याएर प्रयोग गरेको देखेपछि उनलाई होटल संसारको आइडिया आएको हो । यसले पलायन भइरहेको नेपाली पुँजी केही हदसम्म भएपनि रोक्ने अधिकारीको भनाइ छ ।

‘नेपालका होटलहरूले विदेशी सफ्टवेयर प्रयोग गरिरहेका थिए । कुनै समस्या पर्दा इमेलमा सम्पर्क गर्नुपर्थ्यो । अन्य पहुँच खासै थिएन,’ उनले आइसिटी समाचारसँग भने, ‘त्यो सबै कुरालाई बुझेर नेपालमा नै नेपाली प्रडक्ट बनाउने सोचसहित होटल संसारको अवधारणा आएको हो ।’

अहिले होटल संसारको वेबसाइट र मोबाइल एपबाट होटल बुकिङ गर्न सकिन्छ । यसमा होटलको रेटिङ र ग्राहकको प्रतिक्रिया पनि राखिएको छ । होटल संसार पूर्ण रूपमा नेपालमै बनेको र नेपालको पहिलो ओटीए प्लेटफर्म भएको अधिकारीले बताए ।

होटल संसारबाट होटल बुक गर्दा एटिएम कार्ड, वालेट, भिसा र मास्टरकार्डबाट पैसा तिर्न सकिन्छ । होटल संसारमा आफ्नो होटल आवद्ध गराउनका लागि अनलाइनबाटै पनि रिचआउट गर्न सकिन्छ ।

त्योसँगै देशका मुख्य शहरमा आफ्नै एजेन्टहरू पनि छन् । एजेन्टमार्फत पनि होटल आवद्ध गराउन सकिन्छ । यदि तपाईले अनलाइनबाटै रिचआउट गर्नुभयो भने होटल संसारको एजेन्ट तपाईकहाँ आएर कानूनी प्रक्रिया पुरा गरेपछि होटल संसारमा होटल आवद्ध हुनेछ । कम्पनीले होटलका लागि छुट्टै एपको समेत व्यवस्था गरेको छ ।

होटल संसारमा हाल देशका मुख्य शहरका १ हजारबढी होटलहरू आवद्ध भइसकेको सीईओ अधिकारीले जानकारी दिए । मुख्यतयाः यसमा टुरिष्ट स्ट्याण्डर्डका होटलहरू आवद्ध भएका छन् ।

\"\"

होटल संसार अहिले आधिकारिक रूपमा सार्वजनिक भइसकेको छैन् । अबको केही समयमै आधिकारिक रूपमा लञ्च गर्ने कम्पनीको योजना छ ।

अहिले ५ हजारबढी एप डाउनलोड भएको छ । एप एन्ड्रोइड आईओएसमा उपलब्ध रहेको छ । दैनिक २५-३० वटा होटल बुकिङ भइरहेको छ । कम्पनीले होटल बुकिङ गरेवापत १० प्रतिशत होटलसँग कमिसन लिने उनी बताउँछन् ।

होटल संसारमा ६ जना संस्थापक रहेका छन् । अहिलेसम्म उनीहरूले ३ करोडभन्दा बढी लगानी होटल संसारमा गरिसकेका छन् । अहिले कम्पनीमा २५ जनाले रोजगारी पाएका छन् । आफुहरूको योजना नेपालको पर्यटन इकोसिस्टममै काम गर्ने रहेको उनले बताए ।

‘नाम होटल संसार भएपनि हामीले पर्यटन इकोसिस्टमा काम गर्न खोजिरहेका छौं,’ उनी भन्छन्, ‘होटल संसारपछि हामी च्यानल म्यानेजर लिएर आउँदै छौं । त्यसमा अहिले काम भइरहेको छ ।’

साथै पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी कामहरू पनि होटल संसारबाटै गर्न मिल्ने गरी सरकारसँग सहकार्य गर्ने कम्पनीको योजना छ ।