कीवर्डहरू -

आईटी शिक्षामा रहेको कोटा प्रणाली हटाउन काम गरिरहेका छौः सञ्चार सचिव डा. अर्याल 

आईटी शिक्षामा रहेको कोटा प्रणाली हटाउन काम गरिरहेका छौः सञ्चार सचिव डा. अर्याल 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आईटी शिक्षमा रहेको कोटा प्रणाली हटाउन काम गरिरहेको बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा बोल्दै सविव अर्यालले यस्तो बताएका हुन् ।

‘आइटी शिक्षामा रहेको कोटा प्रणालीलाई हटाउन काम गरिरहेका छौं,’ उनले भने, ‘त्यसमा शिक्षा मन्त्रालयसँग पनि काम गरिरहेका छौं ।’

पूर्वाधार निर्माण, ह्युमन रिसोर्स डेभलपमेन्ट र डेटा सेन्टर विकास लगायतमा पनि काम गरिरहेको उनले जानकारी दिए । जीआईडीसीको डेटा क्षमताले नधानेको भन्दै नेपालगंज र ललितपुरमा थप डेटा सेन्टर बनाउन लागेको उनले बताए ।

पहुँच वृद्धिसँगै गुणस्तरीय सेवामा पनि ध्यान दिनुपर्नेमा अर्यालको जोड छ । अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ९० प्रतिशत काम डिजिटलबाटै हुने गरेको समेत अर्यालले जानकारी दिए ।

निजी क्षेत्रको सहकार्य अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ । अर्यालका अनुसार कोरोना महामारीले आइसिटीका लागि अवसर दिएको छ । केही वर्षमा हुने डिजिटल  परिवर्तन केही समयमै भएको उनको धारणा छ ।

ट्याक्स होलिडे,  सार्वजनिक खरिद ऐन सुधार लगायत अन्य सहुलियत जस्ता कुरामा मन्त्रालय छलफल गर्न तयार रहेको उनले बताए ।

एउटै चिठी लिएर दशतिर दौडिनु पर्ने अवस्था अन्त्य गर्न लागेको अर्यालको भनाइ छ । ‘साउन १ गतेदेखि सिंहदरबारभित्र कम्तिमा ६ वटा मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अन्तर्गतका निकायमा सुरू गर्दैछौं,’ उनले भने, ‘आगामी आर्थिक वर्षभित्र केन्द्रका सबै मन्त्रालयमा लागु गर्छौं । यसले एउटा चिठी लिएर दशतिर जानु पर्दैन्  ।’

डिजिटल नेपाल फ्रेमवर्क राम्रो फ्रेमवर्क भएको बताउँदै सचिव अर्यालले फ्रेमवर्क भित्र भएका कम्पोनेन्टलाई परियोजनाको रूपमा लगेर एकीकृत अवधारणामा सञ्चालन गर्ने बताए । डिजिटल नेपाल फ्रेमवर्क सुधार गर्ने कुरामा पनि आफुहरूको ध्यान गएको बताए ।

फ्रेमवर्कका कतिपय कुराहरू परिवर्तन गर्नुपर्ने उनले पनि स्विकार गरे । डुइङ डिजिटलभन्दा पनि बिइङ डिजिटल हुन उनले जोड दिए ।