कीवर्डहरू -

सरकारी सूचना खोज्न अब भौँतारिनु नपर्ने, अब सबै सेवा एउटै पोर्टलमा

सरकारी सूचना खोज्न अब भौँतारिनु नपर्ने, अब सबै सेवा एउटै पोर्टलमा

काठमाडौं । सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी नागरिकसम्म सहज र व्यवस्थित रूपमा पुर्‍याउने उद्देश्यले सरकारले राष्ट्रिय पोर्टल सञ्चालनमा ल्याएको छ ।

nepal.gov.np मार्फत नेपाल सरकार तथा विभिन्न सरकारी निकायबाट जारी हुने सूचना, समाचार, विज्ञप्ति, कार्यक्रम, नीति तथा सेवासँग सम्बन्धित विवरण एउटै प्लेटफर्मबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।

सरकारका विभिन्न निकायले आ–आफ्नो माध्यमबाट सार्वजनिक गर्दै आएका महत्वपूर्ण सामाग्रीलाई एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको हो । यसबाट नागरिकलाई आवश्यक सरकारी सूचना खोज्न र सम्बन्धित सेवाबारे जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ ।

पोर्टलमा शिक्षा, खेलकुदलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित समाचार, सूचना तथा पछिल्ला गतिविधिका विवरणसमेत प्राप्त गर्न सकिनेछ। सरकारी निकायबाट सार्वजनिक हुने सामाग्रीलाई एकै ठाउँमा समेटिएकाले नागरिकले सूचना प्राप्त गर्न विभिन्न कार्यालय वा छुट्टाछुट्टै माध्यममा निर्भर हुनुपर्ने अवस्था कम हुने जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारी सूचना तथा सेवासम्बन्धी विवरण आवश्यक पर्ने नागरिकले राष्ट्रिय पोर्टल nepal.gov.np प्रयोग गर्न सक्नेछन् ।