कीवर्डहरू -

यस्ता छन् विश्वमा धेरै प्रयोग गरिने दश सामाजिक सञ्जाल

यस्ता छन् विश्वमा धेरै प्रयोग गरिने दश सामाजिक सञ्जाल

आज जुन ३० अर्थात सामाजिक सञ्जाल दिवस । हरेक वर्ष जुन ३० मा सामाजिक सञ्जाल दिवस मनाउँदै आइएको छ । अहिले सामाजिक सञ्जालले विश्वका हरेक कुनाका मानिसलाई एकअर्कासँग जोडिरहेको छ ।

यसले मान्छेलाई जोड्न मात्रै नभएर रोजगारीको स्रोतको रुपमा पनि काम गर्दै आएको छ । पहिलो पटक सामाजिक सञ्जाल दिवस सन् २०१०, ३० जुनमा म्यासेबलले मनाएको थियो ।

सामाजिक सञ्जालले विश्वव्यापी सञ्चारमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको देखाउने उद्देश्यले सामाजिक सञ्जाल दिवसको सुरुवात गरिएको थियो ।

त्यसपछि हरेक वर्ष जुन ३० लाई सामाजिक सञ्जाल दिवसको रुपमा मनाइने चलन रहेको छ । राम्रो आर्थिक स्रोत बन्नलाई पनि सामाजिक सञ्जालले सहयोग गर्दै आएको छ ।

बफर नामक वेबसाईटले सन् २०२२ मा मासिक सक्रिय प्रयोगकर्ताको आधारमा सबैभन्दा चर्चित सामाजिक सञ्जालको सूची बनाएको थियो । सो सूची अनुसार सबैभन्दा अगाडि फेसबुक रहेको छ ।

फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता २.९ अर्ब रहेका छन् । त्यस्तै दोस्रो स्थानमा युट्युब, तेस्रोमा ह्वाट्सएप, चौथौंमा इन्स्टाग्राम छन् । युट्युबका २.२ अर्ब, ह्वाट्सएपका २ अर्ब र इन्स्टाग्रामका २ अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन् ।

त्यस्तै पाँचौं स्थानमा रहेको फेसबुक मेसेन्जरका १.३ अर्ब, छैटौं स्थानमा रहेको विच्याटका १.२६ अर्ब, सातौं स्थानमा रहेको टिकटकका १ अर्ब, आठौं स्थानमा रहेको सिना वेइबोका ५७ करोड ३० लाख, नवौं स्थानमा रहेको क्युक्युका ५३ करोड ८९ लाख र दसौँ स्थानमा रहेको टेलिग्रामका ५५ करोड  मासिक सक्रिय प्रयोगकर्ता छन् ।