कीवर्डहरू -

टुटल बन्द भएको छैन्, परिस्कृत भएर आउँदैछ: शिक्षित भट्ट

टुटल बन्द भएको छैन्, परिस्कृत भएर आउँदैछ: शिक्षित भट्ट

काठमाडौं । लोकप्रिय नेपाली राइड शेयरिङ एप टुटल केही समयदेखि निस्क्रिय छ । वेबसाइट बन्द अवस्थामा छ भने आधिकारिक फेसबूक पेज पनि गत मेदेखि अपडेट भएको छैन् ।

प्लेस्टोरमा टुटलको एप त छ तर यो ‘रेस्पिोन्सिभ’ अवस्थामा छैन । सडकमा टुटलका राइडहरु देखिन छाडेका छन् । पुराना राइडहरु कोही अफलाइन राइड त कोही अन्य राइड शेयरिङ प्लेटफर्ममा स्विच भईसकेका छन् । यस्तो अवस्थमा अहिले सामाजिक सञ्जालमा टुटल कम्पनी नै बन्द भईसकेको अड्कलबाजी भईरहेका छन् ।

टुटल बन्द भएको हो वा होइन भन्ने विषयमा हालसम्म कम्पनीले कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन । तर यदि टुटल बन्द भएको हो भने यसले नेपालको स्टार्टअप उद्यमशिलताको क्षेत्रलाई ठूलो असर पुर्याई नवउद्यमीलाई हतोत्साही बनाउने विज्ञहरु बताउँछन् ।

सन् २०१७ मा स्टार्टअप उद्यमी शिक्षित भट्टले सुरुवात गरेको टुटल अहिले पाँचौं वर्षमा पुगिसकेको छ । टुटलले आफ्नो स्थापनाकाल देखि नै विभिन्न कानुनी वाधा र नीतिगत झमेला झेल्दै आएको थियो ।

टुटलले सर्वसाधारणको सुरक्षित र सहज यातायातमा पुर्याएको योगदान र अथक कानुनी लडाईँको लामो रस्साकस्सीपछि  नेपालमा राइड शेयरिङ संस्कृतिले कानुनी मान्यता पाएको थियो ।

त्यसैको जगमा नेपालमा विस्तारै बंगलादेशबाट सुरु भएको बहुराष्ट्र्रिय राइड शेयरिङ कम्पनी पठाओले पनि आफ्नो सेवा सुरु गर्न पायो । साथै नेपालकै विभिन्न घरेलु राइड शेयरिङ सेवाहरु पनि सुरु हुन थाले जुन हाल काठमाडौंबाहेक विस्तारै मोफसलमा पनि फैलिन थालेको छ ।

यससँगै हाल अमेरिकाको राइड शेयरिङ एप इनड्राइभ पनि नेपालमा खूब लोकप्रिय बन्दै गईरहेको छ । तर एकपछि अर्को राइड शेयरिङ सेवाको उत्पतिका कारण टुटल आफै भने विस्तारै छायाँमा पर्दै जान थाल्यो ।

कूल राइड शेयरिङमा पठाओले उल्लेखनीय हिस्सा ओगट्न थाल्यो । अझ इनड्राइभको आगमन पछि त पठाओको हिस्सा समेत खोसिन थालेको राइड शेयरिङ कम्पनीहरु बताउँछन् ।

एकपछि अर्को राइड शेयरिङ कम्पनी अगाडी आउन थालेपछि आफ्नो गुमेको साख फिर्ता ल्याउन हाल टुटलको टिम आफ्नो विजनेस मोडालिटीमा काम गरिरहेको टुटलका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक शिक्षित भट्ट बताउँछन् ।

टुटल बन्द भएको भनी बजारमा चलेको हल्लालाई खारेज गर्दै भट्टले आईसीटी समाचारसँग आन्तरिक ‘मेन्टेनेन्स’ का लागि केही समय सेवा अवरुद्ध गर्नु परेको बताएका छन् ।

उनले करिब ३ हप्ता पछि टुटल पुन सञ्चालनमा आउने बताएका छन् । भट्टले टुटलले परिस्कृत गर्न खोजेको मोडालिटीको बारेमा विस्तृतरुपमा बताउन चाहेनन् तर कम्पनी पहिलेभन्दा फरक तरिकाले बजारमा आउने संकेत दिएका छन् ।

यसअघि पनि पहिलो निषेधाज्ञापछि आफ्नो आन्तिक ‘मेन्टेनेन्स’ का लागि कम्पनीले तीन महिनासम्म सेवा अवरुद्ध गरेको थियो ।