कीवर्डहरू -

सकारात्मक सोच र परिवारको सहकार्यले ब्रोडवे इन्फोसिस सफल भएको होः राजु अधिकारी (अन्तर्वाता)  

सकारात्मक सोच र परिवारको सहकार्यले ब्रोडवे इन्फोसिस सफल भएको होः राजु अधिकारी (अन्तर्वाता)  

ब्रोडवे इन्फोसिस बिहीबारदेखि १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्थापना भएको ब्रोडवे  आईटी ट्रेनिङको क्षेत्रमा आज बलियो ब्राण्डको रूपमा स्थापित भएको छ ।

१५ वर्षको अवधिमा धेरैलाई रोजगारीका लागि सहयोग गरेको छ । अझ भनौं हजारौंको भरोसाको केन्द्रबिन्दु बनेको छ ब्रोडवे । तीनकुनेको चारवटा कोठाबाट सुरू भएको ब्रोडवे आज अमेरिकासम्म विस्तार भएको छ ।

१५ वर्ष एउटा कम्पनीका लागि सानो समय होइन् । यो लामो समय हो । १५ वर्षको यात्रा कस्तो रह्यो, के के चुनौती देखिए र भावी योजना बारे ब्रोडवे इन्फोसिसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजु अधिकारी सँग आईसिटी समाचारका लागि स्नेहा झा ले गरेको कुराकानीको सम्पादित अंशः


ब्रोडवे इन्फोसिस १५ औं वर्षमा प्रवेश गरेको छ । १५ वर्षको यात्रा कस्तो रह्यो ?

१५ वर्षमा धेरै उतारचढावहरु आए । कुनै पनि संस्थाका लागि १५ वर्षको समय लामो हो । १५ वर्ष पूरा गर्नु सहज थिएन् र असफल हुने छुट पनि थिएन् । किनकी ब्रोडवेमा हामी चार दाजुभाई सलंग्न रहेको छौं ।

त्यस कारण असफल भए चारै जनाको करियर बिग्रिन्छ भनेर कहिले पनि असफल हुन्छौँ भन्ने सोच आएन् । समयले पनि साथ दियो । आजको सफलतामा हाम्रो विद्यार्थी, अभिभावक र सरोकारवालाको भूमिका पनि उत्तिकै छ ।

धेरै थाक्छन र छोडछन् तर तपाईहरु चार दाजुभाइ नै निरन्तर ब्रोडवेमा हुनुहुन्छ । यो रिस्क हो कि सफलताको सुत्र ?
दुई वटै हो । यसलाई रिस्कका साथै सफलताको सूत्र पनि मान्न सकिन्छ । हाम्रो सम्पूर्ण टिमको लक्ष्य नै एउटै छ । परिवारका सबै दाजुभाई एउटै काममा लाग्दा चुनौती त पक्कै पनि थियो तर चार जनालेसँगै काम गरेकाले ब्रोडवेले यहाँसम्म आइपुगेको हो ।

हाम्रो सफलताको सूत्र भनेको चार जनाको सहभागिता नै हो । त्योसमयमा केही खतराहरु पक्कै पनि थिए तर हामीले ती चुनौतीलाई पार गर्दै अघि बढ्यौं । सधैँ सकारात्मक सोच राख्यौँ, जसले गर्दा हाम्रो प्रतिफल पनि सकारात्मक रहन गयो  ।

\"\"

१५ वर्षसम्म कम्पनीको सिईओ तथा संस्थापकको रूपमा काम गर्दा कस्तो चुनौतिहरू व्यहोर्नु पर्‍यो ?

सन् २००८ को जुलाईमा हामीले ब्रोडवे इन्फोसिसको स्थापना गरेका थियौँ । त्यो समयमा तिनकुनेमा चार ओटा कोठाबाट चार जना दाजुभाई र दुई जना अरु महिला स्टाफ राखेर कम्पनी सुरु गर्यौँ । त्यो समयमा एउटा मात्रै कम्युटर ल्याब थियो । मान्छेहरुले तिनकुनेमा प्रशिक्षण केन्द्र चल्दैन भनेर भन्थे ।

अफिसको भाँडा नौ हजार रुपैयाँ थियो, जुन हामीलाई कतिपय महिना भुक्तानी गर्न पनि गाह्रो पर्ने गर्दथ्यो । कहिलेकाहीँ साँच्चिकै कम्पनी चल्दैन् की भनेर डर पनि लाग्ने गर्दथ्यो । तर भाग्यवश मैले त्यही समय एक लिडरशीप प्रशिक्षण लिने मौका पाए, जहाँ भनिएको थियो, तपाईले टेबलमा बलुन राखिदिनु भयो भने त्यो आँफै उड्दैन् ।

त्यसलाई उचित हावा दिएमा मात्रै त्यो माथि जान सक्छ । त्यसलाई हामीले कम्पनीमा पनि लागु गर्यौँ र आफ्नो कम्पनीलाई हावा दिने काममा लाग्यौँ, जसले गर्दा कम्पनी अगाडि बढ्न थाल्यो ।

अरूले सिर्जना गर्न खोजेको नकारात्मकताबाट सक्दो प्रभावित भएनौँ । हामीलाई थाहा थियो, ‘अध्यारो पछि अवश्य उज्यालो हुन्छ ।’ त्यसकारण कहिले पनि धेरै आत्तिएनौँ ।

नेपालमा अहिले डिजिटल सीपको ग्याप छ  । इन्डस्ट्री र एकेडेमिया पनि आफ्नै तालमा चलिरहेका छन् । तपाईहरुले त्यो ग्यापलाई पूरा गर्ने प्रयास गर्नुभएको छ । तर यो समस्याकै रुपमा देखिएको किन होला ?

हाम्रो टिम र क्षमताले भ्याएसम्म एकेडेमीया र उद्योगबीचको दूरी कम गर्न काम गरिरहेका छौं । हामीले सुरु नगरेको भए त्यो दूरी अझै बढ्थ्यो होला । विकास वा परिवर्तन एकैछिनमा हुँदैन् । सात आठ वर्ष अघिसम्म ग्याप धेरै थियो तर अहिले कम भएको छ । एकेडेमिक क्षेत्रले पनि प्रशिक्षणमा धेरै चासो देखाउन थालेको छ ।

कलेज, विश्वविद्यालय र सरकारी कार्यालय यसका लागि छुट्टै बजेट राख्न थालेका छन् । उद्योगको माग अनुसार हामीले कक्षाहरू सञ्चालन गरिरहेका छौं । डिजिटल सीपको दूरी कम गर्न अरू उपायहरु पनि निकाल्न सकिन्छ । यस्तो दूरी एशियाली देशहरुमा मात्रै छ भन्ने सोच्छौँ, तर वास्तविक्ता त्यस्तो होइन् ।

यो समस्या विश्वका विकसित देशमा पनि छ । त्यस कारण नेपालमा देखिएको दूरी कम गर्न केही समय लाग्छ तर यो सम्भव छ ।

\"\"

नेपालका दक्ष जनशक्तिहरू विदेशी छन् । के ब्रेनड्रेन मुख्य समस्या हो हाम्रो यो क्षेत्रमा ?

हामी उच्च शिक्षाको लागि बाहिर गएर पढ्छौं । विदेश गएर सिकेको ज्ञान नेपालमा प्रयोग गर्नु राम्रो हो । तर नेपालमै योग्य मानिस बनेर बाहिर गयौँ भने त्यो देशका लागि चुनौती हुन सक्छ । यो नेपालकै मात्रै नभएर अन्य देशका लागि पनि चुनौतीको रुपमा छ ।

यसलाई रोक्न सरकारले नेपालमै काम गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने हुन्छ र योसँगै न्युनतम तलब पनि दिन सकेमा विद्यार्थीहरु आफै नेपालमा काम गर्न आकर्षित हुनेछन् । ब्रेनड्रेनलाई कम गर्न सरकारले नीतिगत सुधार पनि गर्नुपर्छ ।

१५ वर्षमा देशहरू विकसित भएका छन् । तर हामी कहाँ छौ ? कस्तो छ देशको विकासक्रम र प्रविधिको रफ्तार ?

हाल प्रविधिको विकासक्रम गतिशील छ । गाउँको कुनाकाप्चासम्म सामाजिक सञ्जालको पहुँच पुगेको छ । प्रविधिको क्षेत्रमा मैले राम्रै परिवर्तन भईरहेको देख्छु । तर विकासको सूचक धेरै रहेका छन्, जसमा स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार जस्ता थुप्रै पक्षहरु छन् । समग्र विकासलाई हेर्ने हो भने हामी अझै पनि केही सुस्त नै छौँ ।

तर आईसिटीलाई हेर्ने हो भने हामी अन्य देशको जस्तै रफ्तारमा गईरहेका छौँ । प्रविधिले कसैलाई पनि पक्षपात गरेको छैन् । प्रविधिको कुन रूपले प्रयोग गर्छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीले प्रगति भएको छैन् भनेर नकारात्मक धारणा मात्रै राख्नुभन्दा काम गर्नमा बढि ध्यान गर्नुपर्छ । देश विकासका लागि मानसिक रुपमा सकारात्मक हुनु पनि एउटा राम्रो पक्ष हो ।

कोभिडको कारण हाम्रो शिक्षण सिकाइ डिजिटलबाट भयो । यसले कसरी फाइदा पुर्‍यायो ?

कोभिडले सरकारको डिजिटल नेपाललाई धेरै टेवा पुर्‍याएको छ । केही वर्षमा हुने प्रविधिको विकास केही समयमै भएको छ, यो नै ठूलो सफलता हो । कोरोनाका कारण आफ्नो परिवारको सदस्य गुमाए, जसको दुःख शब्दमा बयान गरेर सम्भव छैन् । तर प्राविधिक पक्षमा हेर्दा भने देशले फड्को मानेकै हामीले बुझ्नुपर्छ ।

अहिले आएर मान्छेहरुले गाउँगाउँमा पनि जूम भन्ने प्रविधि बुझिसकेका छन् । कोरोनाका कारण हामीले पनि अनलाइनबाटै कक्षा दिन थाल्यौं । अहिलेका विद्यार्थीहरुलाई पनि धेरै सिकाउनै पदैन्, जसकारण हामीले भौतिक तथा अनलाइन दुवै रुपबाट कक्षा सञ्चालन गर्न सकिरहेका छौँ ।

अनलाइनबाट पढ्ने जुन ट्रेण्ड बाहिरको देशमा थियो त्यो पनि विस्तृत भयो र हाम्रै देशमा पनि अब धेरैले अनलाइनमार्फत पढ्सक्ने भएका छन् । यसले गर्दा डिजिटल साक्षरता पनि वृद्धि भएको छ ।

ब्रोडवेको आगामी योजनाहरु के छन् ?

म वर्तमानमा बाँच्ने व्यक्ति हो । समयसँगै परिवर्तन गर्दै जानुपर्छ भन्नेमा विश्वास गर्छु । परिवर्तनलाई सहजै अपनाउन सक्छौँ भन्नेमा हामीलाई विश्वास छ । त्यसले गन्तव्यमा पुग्नमा धेरैनै सहयोग पर्याउँछ । ७७ वटै जिल्लामा कम आय स्रोत भएको र पढ्न चाहेर पनि पढ्न नसकेको विद्यार्थीहरुलाई कम मूल्य वा निःशुल्क तालिम दिने योजना बनाएका छौं ।

त्यसअनुसार हामीले प्रणालीको विकास गरिरहेका छौँ । यसले गर्दा कम शुल्कमा विद्यार्थीहरुले आईटी प्रशिक्षण लिन सक्नेछन् । देश र विदेशमा पनि सेल्स सेन्टर निर्माण गरेर अघि बढ्ने योजना छ ।

विभिन्न टेकजायन्टहरु नेपालमा आए र सीप भएका म्यानपावर खोजेमा त्यस्तो म्यानपावर पनि दिने प्रशिक्षण दिने योजना बनाएका छौँ । अहिलेका लागि हामी गुणस्तरीय प्रशिक्षणमा केन्द्रित रहेका छौँ । तुरुन्तैको योजना भनेको हाम्रो प्रशिक्षणलाई सर्वसुलभ बनाउन नै रहेको छ ।

वार्षिकोत्सवको अवसरमा केही अफर ल्याउनु भएको छ ?

हाम्रा लागि हरदिन उत्सव हो । वार्षिकोत्सवको अवसरमा हरेक कोर्समा ३० प्रतिशत छुट दिएका छौँ । ३० प्रतिशत भनेको कम होइन् । त्यस कारण सबै भाईबहिनीलाई यो अवसर लिनका लागि आग्रह गर्दछु ।

\"\"

आइटी क्षेत्रमा ब्रोडवेको आवश्यकता किन छ । विद्यार्थीहरु कसरी सहजरुपमा सीप विकासका लागि सहभागी हुन सक्छन् ?

ब्रोडवे इन्फोसिसको आफ्नै एप तथा साईट छ, जसबाट विद्यार्थीहरुले केही प्रश्न वा जिज्ञासा रहेमा बुझ्न सक्नुहुन्छ । अनलाइनबाटै एडमिसन गर्न सक्नुहुनेछ । भौतिक रुपमा पढ्न सेन्टरमा आउनुपर्ने हुन्छ । यसका साथै अनलाइन अध्ययनको समेत व्यवस्था गरेका छौं ।

भुक्तानीका लागि विभिन्न वालेट तथा पेमेन्ट गेटवेसँग सहकार्य गरेका छौँ । हामीले आईटीका ७०-८० कोर्षमा तालिम प्रदान गरिरहेका छौं । विद्यार्थीहरुले कोर्षको पहुँच पाउन कुर्नै पर्दैन् । मैले आज एउटा कुनै नयाँ कोर्ष पढ्न खोजे भने महिनौँ दिन त्यसका लागि पर्खिनु पर्दैन् र मैले सहजै कुनै पनि कोर्सको पहुँच पाउन सक्छु ।

हामीले समयलाई एकदमै मूल्यवान ठान्ने हुँदा कुनै पनि विद्यार्थीले कम्तीमा पनि ६ ७ दिनमा नयाँ कोर्स पढ्न जान सक्नुहुन्छ । यसले धेरै समय बचत हुन्छ । हामीले ब्रोडवेलाई सबैको कम्पनी भएको देख्न चाहन्छौँ ।

विस्तारै आइटी कम्पनीहरु आईपीओमा गइरहेका छन् ? ब्रोडवेको योजना के छ ?

मैले तपाईलाई अघि पनि भने । हाम्रो वरिपरि जस्तो परिवर्तन आएपनि हामी त्यसलाई छोडैदनौँ । बजारको माग अनुसार अघि बढछौँ । यदी कम्पनीलाई पब्लिक बनाउने दिन आएमा हामी पक्कै पनि त्यसमा काम गर्नेछौँ र यस कम्पनीलाई सबैको कम्पनी बनाउनमा भूमिका निर्वाह गर्नेछौँ ।