कीवर्डहरू -

इन्ड्राइभ दर्ता प्रक्रियाको अन्तिम चरणमा छः पवित नन्दा (अन्तर्वाता)

इन्ड्राइभ दर्ता प्रक्रियाको अन्तिम चरणमा छः पवित नन्दा (अन्तर्वाता)

पछिल्लो समय नेपालमा राइड शेयरिङ प्लेटफर्मको रूपमा इन्ड्राइभ लोकप्रिय हुँदै गइरहेको छ । 

तर नेपालमा सेवा सुरू गरिसकेको करिब दुई वर्ष हुँदा समेत सरकारबाट अझै विदेशी लगानीको अनुमति पाउन सकेको छैन् । 

अहिलेलाई नेपालमा इन्ड्राइभबाट हुने कारोबारमा कम्पनीले कुनै कमिसन लिने गरेको छैन् । शतप्रतिशत रकम नै ड्राइभरलाई प्राप्त हुन्छ । 

इन्ड्राइभको दर्ता प्रक्रिया कहाँ पुग्यो ? नेपालमा आगामी योजनाहरू के के छन् ? भौतिक कार्यालय छ की छैन् ? प्रयोगकर्तालाई कसरी सेवा दिइरहेको छ ? लगायतका विषयमा इन्ड्राइभकी दक्षिण एशिया जन सम्पर्क प्रबन्धक पवित नन्दासँग आईसीटी समाचारका लागि स्नेहा झाले गरेको कुराकानी ।

इन्ड्राइभले नेपालमा दर्ता प्रक्रिया सुरू गरेको धेरै समय भइसकेको छ । इन्ड्राइभ नेपालमा दर्ता भएको छ की छैन् ? 

दर्ता प्रक्रियाको अन्तिम चरणमा छौं । यो वर्षको सुरूवातमा सरकारबाट अनुमति पाउने आशा छ । हाम्रो तर्फबाट विदेशी लगानीका लागि सबै आधिकारिक कागजातहरू बुझाइसकेका छौँ । सरकारले ती कागजातहरुलाई विश्लेषण गरिरहेको छ । अब छिट्टै सरकारबाट अनुमति पाउछौं भन्ने अपेक्षा गरेका छौं । 
इन्ड्राइभले स्टार्टअपहरूमा लगानी गर्नका लागि न्यू भेञ्चर डिभिजन खडा गरेको छ ।

स्टार्टअपले लगानी पाउने प्रक्रिया कस्तो छ ? 

न्यू भेन्चर्समार्फत हामी स्टार्टअपहरूसँग काम गर्न जाँदैछौं । इनड्राइभले यो अभियानले स्टार्टअपहरुलाई विश्वव्यापी विस्तार गर्न मद्दत गर्नेछ । न्यू भेञ्चरनबाट इन्ड्राइभ जस्तै मूल्य मान्यता भएका सूचना प्रविधिमा आधारित कम्पनीमा लगानी हुनेछ ।  

यदी तपाईलाई पनि लगानीको आवश्यकता छ भने भेन्चर्स डट इन्ड्राइभ डटकममा गएर आवेदन दिने सकिने छ । त्यसपछि हामी टिमले प्रतिक्रिया दिनेछ । 

इन्ड्राइभले अरोरा टेक अवार्ड र अन्डरडग टेक अवार्ड पनि आयोजना गर्दै आएको छ । यो कस्तो खालको अवार्ड हो ? 

अंडरडग अवार्ड स्टार्टअपहरूका लागि हो भने अरोरा टेक अवार्ड मूलत महिला उद्यमीहरूलाई प्रोत्साहन गर्नका लागि हो । प्रत्येक वर्ष आयोजना हुँदै आएको अन्डरडग र अरोरा अवार्डमा विश्वभरबाट आवेदन आउँछन् । अवार्डका लागि नेपालबाट पनि आवेदन प्राप्त भएको छ । प्राप्त आवेदनबाट जुरी टिमले विजेताको छनौट गर्छ । विजेताले इन्ड्राइभबाट फन्डिङ पाउँछन् । 

यस बाहेक भर्खरै अल्टरनेटिभ फिल्म अवार्ड सञ्चालन गरेका थियौं र त्यसमा पनि नेपाल सहभागी थियो ।  नेपालबाट एक विजेता पनि बन्न सफल भएको थियो । 

null

नेपालमा इन्ड्राइभले सेवा सुरू गरेको २ वर्ष भइसकेको छ । यो दुई वर्षे यात्रालाई कसरी संस्मरण गर्नुहुन्छ ? 

दुई वर्षे यात्रामा नेपाली प्रयोगकर्ताबाट अथाह माया पाएका छौं । धेरैले इन्ड्राइभ प्रयोग गरिरहनु भएको छ । नेपालमा राइड हेलिङको आवश्यकता महशुस गरेर इन्ड्राइभ नेपाल प्रवेश गरेका हो । इन्ड्राइभमा राइडर तथा सेवाग्राही दुबैले आफ्नो यात्राको मूल्य आफ्नै तोक्न सक्छन् । यो सेवा नेपालमै नौलो थियो । अहिले हामीले नेपालमा कमिसन लिएका छैनौं । रोजगारी सिर्जनामा सहयोग गरिरहेका छौं ।

ड्राइभहरूले इन्ड्राइभमार्फत सेवा दिएर जीवनयापन गरिरहनु भएको छ । आधिकारिक रूपमा अनुमति पाएपछि हाम्रो सेवालाई झन विस्तार गर्ने योजना छ । अहिले काठमाडौं, पोखरा र भरतपुर इन्ड्राइभको सेवा छ ।   

नेपाल जनसंख्याको हिसाबले सानो देश हो । त्यसमध्ये धेरै राइड शेयरिङ सेवाको प्रयोग काठमाडौंमा हुने गरेको छ । यहाँ पनि एक दर्जन बढी राईड शेयरिङ प्लेटफर्म छन् । यो प्रतिस्पर्धालाई इन्ड्राइभले कसरी हेरिरहेको छ ?  

हामी प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिन्छौं । हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौं । इनड्राइभ नेपाल र अन्य राइड हेलिङ एप्लिकेसन भन्दा धेरै फरक छ । विश्वका अन्य भागहरूमा पनि इनड्राइभ एक फरक नै प्लेटफर्मको रुपमा प्रख्यात रहेको छ । हाम्रो सञ्चालनको मोडल नै फरक छ ।

ड्राइभर र यात्रुले यात्राको शुल्क आफै निर्णय गर्छन्, त्यहाँ कुनै अल्गोरिदममा आधारित निश्चित मूल्य तोक्ने सिस्टम छैन । यो सबै चालक र यात्रुहरू मिलेर गरिरहेका छन्, जसले हाम्रो प्लेटफर्मलाई धेरै फरक बनाउँछ । त्यसैले मानिसहरूले प्रयोग गर्न र ड्राइभ गर्न रुचाउँछन् । हाम्रो लागि नेपाल धेरै महत्त्वपूर्ण बजार हो ।

इनड्राइभको नेपालमा अधिकारिक रुपमा भौतिक कार्यालय सञ्चालनमा छ की छैन् ?

नेपालमा भौतिक कार्यालय राख्ने हाम्रो योजना छ । नेपाल सरकारबाट अनुमति पाएपछि भौतिक कार्यालय स्थापना गर्छौं । तर अहिले पनि काठमाडौंमा अहिले एउटा टिम छ, जसले रिमोट्ली काम गरिरहेका छन् । यो टिमले प्रयोगकर्ताका गुनासाहरू सम्बोधन गर्ने काम गर्दै आएको छ । 

इन्ड्राइभ बहुराष्ट्रिय कम्पनी हो । कम्पनीको आफ्नै सामाजिक उत्तरदायित्त्व पनि हुन्छ । सामाजिक उत्तरदायित्त्व इन्ड्राइभले नेपालमा के के गरिरहेको छ ?  

नेपालमा हामी संस्थागत सामाजिक उत्तरदायीत्व (सीएएआर) अन्तर्गत हामी शिक्षा र खेलकुदको क्षेत्रमा काम गर्छौं । शिक्षामा हामीसँग बिगिन आइटी भन्ने परियोजना छ, जुन मूल रूपमा विपन्न बालबालिकाहरूलाई मद्दत गर्ने कार्यक्रम हो । यसमा हामी सरकारी विद्यालयहरू र एनजीओ सँग काम गर्ने गर्दछौँ । यदी नेपालमा पनि कुनै एनजीओ वा कुनै सरकारी विद्यालयले यसका लागि आवेदन दिन चाहेमा बिगिन आइटी डटकममार्फत सम्पर्क गर्न सक्नुहुन्छ ।

योसँगै हामीले भर्खरै काठमाडौँ म्याराथनमा पनि प्रायोजकका रूपमा सहभागी भएका थियौं । यो म्याराथनमा दौडका लागि विभिन्न शहरहरूका सहभागीहरूलाई तालिम पनि दियौं । यसैगरी हामीसँग अन्डरडग टेक अवार्ड, अरोरा टेक अवार्ड, अल्टरनेटिभ फिल्म अवार्डहरू छन् र यी सबै कुरा नेपालका लागि पनि उपलब्ध छन् । यसमा जो कोही वेबसाइटमा गएर भाग लिन सक्नुहुनेछ ।  

अन्त्यमा, इन्ड्राइभका आगामी योजनाहरू के के छन् ? 

नेपालमा धेरै काम गर्ने हाम्रो योजना छ । अनुमति पाएपछि बाँकी काम सुरू गर्छौं । हाम्रो मार्केटिंग ३६० अभियानको साथ सुरु गर्नेछौं । हालै आईसीटी अवार्डसँग समेत सहकार्य गरेका थियौं । यसैगरी थप गतिविधिहरूमा भाग लिने छौं । नेपालका विभिन्न जिल्लाहरूमा इन्ड्राइभ पुर्‍याउने योजना छ ।