कीवर्डहरू -

गल्ली गल्ली खोज्न सकिने नेपालमै बनेको म्याप ‘गल्ली म्याप्स’

गल्ली गल्ली खोज्न सकिने नेपालमै बनेको म्याप ‘गल्ली म्याप्स’

कुनै नयाँ जानु पर्‍यो भने हामी सुरूमा गूगल म्याप्स प्रयोग गर्छौं । गूगल म्याप्सले देखाएको बाटो अनुसार उक्त ठाउँमा पुग्छौं । चिरपरिचित ठाउँमा पुग्न उपयुक्त भएपनि ‘गल्ली गल्ली’ पुग्न भने गूगल म्याप उपयुक्त छैन् ।

त्यसकारण कुनै सामान घरमै मगाउनु पर्‍यो भने अनेक झन्झट व्यहोर्नु पर्छ । तर अब भने यस्तो झन्झट व्यहोर्न नपर्ने भएको छ ।

यस्तै समस्याहरूलाई निराकरण गर्न नेपालको आफ्नै म्याप ‘गल्ली म्याप्स’ तयार भएको छ । अहिले बेटा परीक्षणमा सिमित रहेको गल्ली म्याप्स एक महिनाभित्रै पूर्ण रूपमा सञ्चालनमा आउने गरी तयारी अगाडि बढाइएको छ ।

गूगल म्याप्समा नदेखिने गल्लीहरू म्यापिङ गरेर गल्ली म्याप्स निर्माण भएको एयरलिफ्ट टेक्नोलोजी प्रालिको प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक राज विक्रम महर्जनले बताए ।

‘अहिले विश्वभर नै गूगल म्याप लोकप्रिय छ । गूगल म्याप नेपालका लागि उपयुक्त छैन्,’ उनले आइसिटी समाचारसँग भने, ‘तर गल्ली म्याप्स नेपालका लागि उपयुक्त हुने गरी नेपालीले बनाएको हो ।’

गल्ली म्याप्समा घर नम्बर खोज्न सकिन्छ । घर वा ठाउँलाई ३६० डिग्रीबाट हेर्न सकिन्छ । घरमा पीन गरेर आफ्नो लोकेसन अरूलाई शेयर गर्न पनि सकिन्छ ।

भारत, रूस लगायतका देशले गूगल म्याप्सको विकल्पमा आफ्नै म्याप बनाएका छन्, जुन त्यहाँ लोकप्रिय छन् । भारतमा मुभ म्याप्स, रूसमा यान्डेक्स म्याप्स र कोरियामा ककाओ म्याप्स छन् । नेपालको पनि आफ्नै म्याप्स हुनुपर्छ, अरूको भर पर्नुहुँदैन् भनेर गल्ली म्याप्सको अवधारणा आएको छ ।

नेपालको आफ्नै म्याप हुनुपर्ने आवश्यकता पहिले देखि नै थियो तर त्यो समय ‘लकडाउन’ जुरेको महर्जन बताउँछन् । कोरोना महामारी रोक्न सरकारले अत्यावश्यक बाहेकका सबै सेवामा निषेध गर्‍यो । त्यसपछि होम डेलिभरी सेवा लोकप्रिय हुन थाल्यो । तर वास्तविक लोकेसन नहुँदा घरमै सामान पुग्न अनेक समस्या आउथ्यो ।

राजसहित अन्य २ जना सहसंस्थापक रहेको कम्पनी एयरलिफ्ट टेक्नोलोजीले लकडाउन अगाडि स्थानीय तह, इन्जिनियरिङ कन्सलटेन्सी लगायतलाई ड्रोन म्यापिङ सेवाहरू दिइरहेका थियो । लकडाउनमा यस्तो समस्या देखिएपछि राजको मनमा आयो नेपालको आफ्नै म्याप बनाउने ।

‘हामीसँग ड्रोन म्यापहरू थियो । त्यसलाई किन प्रयोग नगर्ने ? मैले आफैले आफैलाई प्रश्न गरे । उक्त प्रश्नको जवाफ स्वरूप गल्ली म्याप्स सुरू भयो,’ उनी भन्छन् ।

यसमा स्थानीय तहले दिएको घरनम्बर खोज्न सकिन्छ, जुन गूगल म्यापमा छैन् । गूगल म्यापमा धेरै गल्लीहरू र बाटोहरू मिसिङ छन् । त्यसले गर्दा मान्छे हिड्ने बाटोमा गाडीको नेभिगेसन देखिएको हुन्छ । त्यस्ता समस्या गल्ली म्यापले समाधान गर्ने उनको दावी छ ।

यसमा गल्लीलाई गल्ली र भर्‍याङलाई भर्‍याङ नै भनेर देखाइने तथा नेभिगेसन पनि ‘प्रोपर’ हुने उनले जानकारी दिए  ।

गल्ली म्यापमा अहिले काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका, कागेश्वरी नगरपालिकाको घर नम्बर उपलब्ध छ । छिट्टै ललितपुर महानगरपालिका र अन्य नगरपालिकाको घर नम्बर उपलब्ध हुँदैछ ।

ललितपुर महानगरको डेटा राखेपछि गल्ली म्यापलाई पूर्ण रूपमा सञ्चालनमा तयारी कम्पनीको छ  । ‘बेटा टेस्टिङ गर्न थालेको चार महिना पूरा भएको छ । त्यो भन्दा अगाडि हामी प्रोटोटाइपमै थियौं,’ उनले सुरूवाती दिन सम्झिदै भने, ‘प्रोटोटाइप बन्न १ वर्ष लाग्यो । चारदेखि पाँच महिना बजार अनुसन्धानमै लगायौं । अबको एक महिनामा पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं ।’

गल्ली म्यापको सुरूवात काठमाडौं उपत्यकाबाट भएपनि विस्तारै अन्य शहरमा पनि जाने योजना छ । महर्जनका अनुसार अबको ६ महिनामा काठमाडौं उपत्यका बाहिर जाने तयारी गरिएको छ ।

चार महिनाको बेटा परीक्षणमा प्रयोगकर्ताको प्रतिक्रिया राम्रो पाएको उनी बताउँछन् । ‘युआई सजिलो बनाउन र एप कसरी प्रयोग गर्ने बारे पनि एपमा राख्न प्रयोगकर्ताको सुझाव दिएका छन् । त्यसअनुसार एपमा सुधार भइरहेको छ,’ उनले भने ।

\"\" सह-संस्थापक राज विक्रम महर्जन


गल्ली म्यापबाट अहिले कुनै आम्दानी भएको छैन् । ३ जनाबाट सुरू भएको गल्ली म्यापको टिम नै ९ जना पुगिसकेको छ । कम्पनीको अन्य सेवाहरूबाट आएको पैसा अहिले गल्ली म्याप्समा लगानी भइरहेको छ । गल्ली म्याप्समा अहिलेसम्म ३५ लाख खर्च भइसकेको छ ।

गल्ली म्याप्सले प्रारम्भिक आम्दानीको स्रोत स्वरूप ई-कमर्स कम्पनीलाई म्याप बिक्री गर्ने योजना भएको राजले बताए । त्यसमा एपीआई, एसडीके र प्लगिन इन्टिग्रेट गरेको केही शुल्क उनीहरूले लिनेछन् ।

तर भविष्यमा एडभरटाइजिङलाई पनि आम्दानीको स्रोत बनाउने गल्ली म्यापको योजना छ । यस अन्तर्गत ३६० इमेजमा कम्पनीको लोगो राखिने छ ।

गल्ली म्याप्स एप अहिलेलाई एनड्रोइड मा उपलब्ध छ । आईओएसमा ल्याउने कम्पनीको तयारी छ । प्रयोगकर्ताले यसमा लोकेसन राख्न र एडिट गर्न सक्ने छन्, जुन सुविधा एपको नयाँ भर्सनमा आउँदै छ ।

अहिले कम्पनीले ३६० डिग्री म्यापिङ आफै गरिरहेको तर भविष्यमा प्रयोगकर्तालाई पनि दिने योजना रहेको उनी सुनाउँछन् ।

यस बाहेक भविष्यमा गल्ली म्याप्समा रिपोर्टिङ फिचर उपलब्ध हुनेछ । फुटपाथमा कसैले सामानहरू राखेको छ भने गल्ली म्यापको रिपोर्टिङ फिचरबाट फोटो खिचेर सम्बन्धित निकायलाई पठाउन सकिने उनले बताए  ।

‘विदेशी म्यापबाट नेपाललाई मुक्त बनाउने उद्देश्य अनुसार गल्ली म्याप तयार भएको छ,’ उनी भन्छन्, ‘नेपालको जनशक्ति प्रयोग गरेर नेपाललाई सुहाउँदो एप बनाउने भिजन लिएर काम गरिरहेका छौं ।’

स्थानीय सरकारबाट अझै सपोर्टको अपेक्षा उनीहरूले गरेका छन् । विशेष गरी घर नम्बरिङको कुरामा सपोर्ट चाहिएको छ । घर नम्बरिङमा प्रविधिको प्रयोग गरेर स्थानीय तहलाई आफुहरूले पनि सपोर्ट गर्न सक्ने उनले बताए ।

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रममा पनि जाने उनले मौका पाएका थिए । त्यो कार्यक्रमले धेरै सहयोग गरेको उनको भनाइ छ । उनले अगाडि भने, ‘नबिल बैंकको सामाजिक उद्यमशीलता ट्रेनिङ नेपाललाई सुहाउँदो कार्यक्रम हो ।’