काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधिको इतिहास धेरै लामो छैन् । तर छोटो समयमै नेपालले यस क्षेत्रमा धेरै उपलब्धि हासिल गरिसकेको छ । सूचना प्रविधिलाई यति माथि ल्याई पुर्याउन आजसम्म धेरै व्यक्तिहरुको योगदान छ ।
यस्ता व्यक्तिहरुको योगदानलाई समाज र सरकारले विभिन्न समयमा सराहना पनि गर्दै आईरहेको छ । तर कति व्यक्ति यस्ता पनि छन्, जो लामो समयदेखि यस क्षेत्रमा आवद्ध रहे पनि पर्दा पछाडी नै रहँदै आएका छन् ।
तीनै व्यक्ति मध्ये एक हुन् सञ्जय लामा । लामा विगत २० वर्षदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय छन् । आईसीटी क्षेत्रमा उनको परिचय र विज्ञताका धेरै आयामहरु छन् ।
उनी एक कुशल प्रोग्राम, डेभलपर, उद्यमी, प्राज्ञिक, परामर्शदाता, अनुसन्धानकर्ता तथा सामाजिक अभियन्ता हुन् । आईटीलाई आफ्नो प्यासन, प्रोफेसन र भिजन बनाएर अगाडी बढिरहेका लामा यति धेरै परिचयहरुमाझ आफूलाई आईसीटीको ‘प्राकएकेडेमिसियन’ भनेर चिनाउन रुचाउँछन् ।
प्राकएकेडेमिसियन अर्थात् प्राक्टिकल एकेडेमिसियन लामा, लामो समयदेखि अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटीहरुमा आईटी विषयको अध्यापन गर्दै आईरहेका छन् । साथै उनी विभिन्न समय गेष्ट लेक्चररको रुपमा समेत आफ्नो ज्ञान र अनुभव विद्यार्थीहरुसँग साझा गर्न नेपाल आइरहने गरेका छन् ।
उनी हाल अष्ट्रेलियाको इन्टरनेश्नल इन्सिट्युट फर एजुकेसन आइआइई र सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट एससीसीएममा अध्ययापन गरिरहेका छन् ।
यसबाहेक उनी आफै आईटी उद्यमशिलतामा समेत संलग्न छन् । हाल अष्ट्रेलियामा उनको आफ्नै टेक इनोभेटर्स नामको आईटी कम्पनी सञ्चालनमा छ ।
बौद्ध जोरपाटीमा जन्मिएका लामाको बाल्यकालदेखि नै प्रविधिमा ठूलो रुची थियो । अरुणीमा स्कूलबाट प्रवेशिका तहको पढाई पुरा गरी उनले प्रविणता तहको पढाई आईटी विषयमा नोबल एकाडेमीबाट पुरा गरे ।
त्यसबेला नेपालमा इन्टरनेट र कम्प्युटर लगायत उपकरणहरुको एकदमै विरलै पाइन्थ्यो । तर पढाई र रुची एउटै क्षेत्रमा भएको हुँदा उनले सन् २००० तिरै वेबमा संलग्न हुने मौका पाए ।
कुरा सन् २००४ तिरको हो । उनी नोबल कलेजमै स्नातक तहमा अध्ययनरत थिए । त्यसबेला एउटा कलेज स्तरीय प्रतिस्पर्धामा उनले एउटा एमआइएस अर्थात् म्यानेजमेन्ट इन्फोर्मेसन सफ्टवेयर बनाएर प्रस्तुत गरेँ । त्यसबेला नेपालका लागि एमआईएस सफ्टवेयर नेपालका लागि नौंला कुरा जस्तै थियो ।
उक्त सफ्टवेयर बनाएको कारण उनी प्रतिस्पर्धामा पनि प्रथम भए । पछि सोही सफ्टवेयरलाई नोबल कलेजले समेत प्रयोग गर्यो । साथै स्नातक तहको पाँचौं सेमेस्टरदेखि कलेजमै काम गर्न उनी अनुबन्धित समेत भए ।
लामा पुराना दिनको स्मरण गर्दै सुनाउँछन्, ‘त्यहीँ समयदेखि आईसीटी क्षेत्रमा मेरो करियर सुरु भएको थियो । पछि म ईकान्तिपुरमा समेत संलग्न भए । त्यहाँ रहँदा मैले विश्व कप क्रिकेट लाइभ गर्ने, संविधान सभा चुनावको लाइभ कभरेज गर्न मिल्ने जस्ता सिस्टमहरु समेत बनाउने अवसर पाएँ ।’
त्यसबेला नेपालमा सञ्चार माध्यमहरु भर्खरै छापा र विद्युतीय माध्यमबाट अनलाइन माध्यमतिर जाँदै थियो । त्यसैबेला लामाले धेरै अनलाइन पोर्टलहरु निर्माण गरी सञ्चार माध्यमको रुपान्तरणकारी क्षणमा योगदान दिए । यसैले उनी २०१४ मा अनलाइन संघ नेपालको संस्थापक अध्यक्ष समेत बने ।
त्यसबेला उनले भर्खरै आफ्नो स्नातक तह पुरा गरेका थिए । विभिन्न सरकारी तथा निजी क्षेत्रले समेत उनलाई आईटी विशेषज्ञ तथा परामर्शदाताको रुपमा नियुक्त गरेको थियो ।
यसैले उनले त्यहीँ समय नेपालमा आफ्नो आईटी कम्पनी ग्लोबल इनोभेटर्स पनि सुरु गरे ।
आफैले कम्पनी सुरु गरेपछि सफ्टवेयर, न्युजपोर्टल, वेबसाइट बनाउने, आईटी परामर्श दिने लगायतका कामहरु तिब्र रुपमा अगाडी बढिरहेको थियो । तर स्नातक मात्र पुरा गर्न पाएका लामाको कार्य व्यस्तताका कारण पढाईले निरन्तरता पाउन सकिरहेको थिएन ।
पढाईमा पहिलेदेखि नै अब्बल लामाले कामलाई बीचमा थाती राखेरै अध्ययन गर्ने सोच बनाए । २०१२ मा अष्ट्रलियन सरकारको लिडरसिप अवार्डबाट छात्रावृति आएर उनी क्युन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा स्नातहकोत्तर गर्न अष्ट्रेलिया पुगे ।
उनले त्यहाँ आफ्नो स्नातहकोत्तरको अध्ययन पुरा गर्दै गोल्ड मेडलिस्ट विद्यार्थीको रुपमा क्युन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा इतिहास कायम गर्न समेत सफल भए ।
लिडरसिप अवार्डबाट अष्ट्रेलिया पुगेको हुँदा त्यहाँको बसाईमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रममा सहभागी हुने मौका उनलाई मिल्यो ।
विश्वमा जहाँ रहेँ पनि आफ्नो राष्ट्र काल्याणलाई ध्यानमा राख्ने लामाको बानी छ । आफूले कलेज दिन ताका इन्टर्नसिप गर्दा समेत सधै नेपाली कम्पनीलाई अष्ट्रेलियाली कम्पनीसँग कसरी जोड्न सकिन्छ भन्ने सोचका साथ काम गरेको उनी बताउँछन् ।
अष्ट्रेलियाबाट सिकेको सिप र ज्ञानलाई नेपाली भूमिका सदुपयोग गर्ने उदेश्यले उनी २०१३ को अन्त्यतिर नेपाल फर्किए । नेपाल फर्किदाँ लामाको ग्लोबल इनोभेटर्स कम्पनी निस्क्रििय भईसकेको थियो । यसैले उनले विभिन्न संस्था र समुदायमा संलग्न हुँदै आईसीटीको क्ष्ँेत्रमा काम गर्न थालेँ ।
त्यसबेला उनले टीआइटीआइ नामको अर्धसरकारी संस्थामा विज्ञको रुपमा काम पनि काम गरे । साथै विभिन्न समुदायमा आईटीको पहुँच विस्तारका लागि समेत स्वम्सेवकको भूमिकामा काम गरे ।
यसरी उनी नेपालमा २ वर्ष बसेपछि थप अध्ययनका लागि २०१६ मा उनी फेरी अष्ट्रेलिया गए । यसपटक पनि उनलाई अष्ट्रेलियाली विश्वविद्यालयको इन्डिभियर अवार्ड अन्तर्गत युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा पीएचडीका लागि पूर्ण छात्रावृति दिइएको थियो ।
हाल उनी अष्ट्रेलियामै पीएचडी गर्दै विभिन्न शैक्षिक संस्थाहरुमा अध्यापन गरिरहेका छन् । यसबाहेक उनको कम्पनी टेक इनोभेटर्स पनि अहिले अष्ट्रेलियामा सक्रिय छ । यस कम्पनीले अष्ट्रेलियाली क्लाइन्टहरुलाई विभिन्न सफ्टवेयर सोल्युसन प्रदान गर्दै आईरहेको छ भने विभिन्न प्रोडक्टहरु पनि विकास गरिरहेको छ ।
‘अहिले अष्ट्रेलियाको हाम्रो कम्पनी टेक इनोभेटर्सले त्यहाँकै नागरिकलाई विभिन्न सफ्टवेयर सोल्युसनहरु प्रदान गरिरहेको छ,’ उनी भन्छन्, ‘यसबाहेक हामीले धेरै यस्ता प्रोडक्ट पनि निर्माण गरेका छौं जसलाई आगामी दिनमा स्टार्टअपको रुपमा नै लन्च गर्ने हाम्रो योजना छ ।’
अध्यापन, उद्यमशिलता बाहेक लामा आईसीटी अनुसन्धानको क्षेत्रमा पनि सरिक छन् । पीएचडीको क्रममा उनले ‘आईसीटी फर डी’ अर्थात् ‘आईसीटी फर डिभलेपमेन्ट’ विषयमा अनुसन्धान गरेका थिए । अहिले उनी लगायत केही विद्यार्थीहरु नेपालका लागि केही गर्ने भनी टिम बनाएरै अष्ट्रेलियाको विश्वविद्यालयबाट अनुसन्धान गरिरहेका छन् ।
विशेषगरी विकशिल मुलुकको पर्यटनमा आईसीटी कहाँ र कसरी प्रयोग गरी कस्तो फाइदा लिन सक्छन् भन्ने विषयमा अध्ययन गरिरहेको छ लामा सुनाउँछन् ।
‘२००४ तिर हामीले पर्यटनको क्षेत्रमा धेरै भन्दा धेरै पोर्टलहरु बनायौं । विकास भनिसक्दा पर्यटन मूख्यरुपमा जोडिएर आउने हुँदा हामीले पर्यटनमै आईसीटीको प्रयोगबारे अनुसन्धान थालेका छौं ।’ लामाले भने ।
लामा समय समयमा नेपाल आएर विभिन्न फोरममा उपस्थित हुने तथा गेष्ट लेक्चररको रुपमा नेपाली शैक्षिक संस्थाहरुमा धाईरहने गर्छन् ।
आईसीटीको प्रकृति नै क्रसकटिङ भएको कारण कोडिङ, प्रोग्रामिङ जस्ता कोर टेक्नोलोजीभित्र मात्र सिमित नरहन लामा नयाँ पुस्तालाई सुझाव दिन्छन् ।
आईसीटीलाई प्राज्ञिकमा मात्र सिमित नबनाएर यसका विभिन्न आयामहरुसँग प्रयोग गर्दै जानु पर्ने उनको धारणा छ । यसैले उनी आफूलाई प्रोग्रामर, डेभलपर वा प्राज्ञ भन्दा पनि प्राकएकेडेमिक्स भनेर चिनाउन रुचाउने बताउँछन् ।
‘नेपालमा आईसीटीको प्राविधिक पक्ष एकदमै राम्रो छ हामी कोडिङ, प्रोग्रामिङ गर्ने कुरामा अब्बल छौं तर उद्यमशिलताको कुरामा भने हामी कमजोर भयौं ।’ उनले भने ।
‘हामीले प्रोटोटाइप बनाउनमा सक्षम भइसक्यौं तर प्रोडक्ट बनाउन भर्खरै सिक्दैछौं ।’
यसका लागि विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुले पनि समानुकूल पाठ्यक्रमलाई परिमार्जन तथा अद्यावधिक गर्दै, उद्योगहरुसँग सहकार्य गर्नुपर्ने उनको सुझाव छ ।