कीवर्डहरू -

नेपालमै पहिलो पटक भित्रियो ‘हाइड्रोजन कार’, पूरा होला त प्रधानमन्त्रीको चढ्ने सपना ?

नेपालमै पहिलो पटक भित्रियो ‘हाइड्रोजन कार’, पूरा होला त प्रधानमन्त्रीको चढ्ने सपना ?

नेपालमै पहिलो पटक हाइड्रोजन इन्धनबाट चल्ने गाडी भित्रिएको छ । काठमाडौं विश्वविद्यालय (केयु) को ग्रीन हाइड्रोइन ल्याबले शनिबार नेपालमै पहिलो पटक हाड्रडोजनबाट चल्ने कार भित्र्याएको हो । 

केयुको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापाले शनिबार नेपालमै पहिलो पटक हाइड्रोजनबाट चल्ने कार र रिफिलिङ स्टेशन नेपाल ल्याएको बताए । ‘शनिबार कार र रिफिलिङ स्टेशन नेपाल आइपुगेको छ । यो एउटा नयाँ सुरूवात हो,’ उनले आइसिटी समाचारसँग भने, ‘दक्षिण कोरियामा हाइड्रोजन कार र रिफिलिङ स्टेशन तयार भएको हो । अब छिट्टै परीक्षण सुरू हुन्छ ।’ 

ल्याबले हाइड्रोजन कार र रिफिलिङ स्टेशनका लागि आफ्नै डिजाइन तयार पारेको छ । तर आफ्नै डिजाइनमा तयार भएको कार बनाउन महंगो पर्ने भएपछि हाल हुन्डाइले बनाएको कार किनिएको हो भने रिफिलिङ स्टेशन चाँहि ल्याबकै डिजाइन अनुसार निर्माण भएको हो । 

केही वर्ष अगाडि नेपाल आयल निगमले ग्रीन हाइड्रोजन ल्याबलाई हाइड्रोजन बारे अध्ययन गर्न पाँच करोड रूपैयाँ अनुदान दिएको थियो । त्यही रकमबाट अहिले कार र रिफिलिङ स्टेशन ल्याइएको हो । 

आफ्नै डिजाइन अनुसार बनाउने कार महंगो पर्ने भएपछि हुन्डाइले बनाएको कार नै किनेर ल्याएको उनले बताए । ‘हामीले कार र रिफिलिङ स्टेशनको डिजाइन आफै गरेका थियौं । तर हाम्रो डिजाइन अनुसारको कार बनाउन धेरै महंगो पर्ने भयो,’ थापा भन्छन्, ‘त्यसकारण हाम्रो डिजाइनसँग मिल्ने हुन्डाइको नेक्सो कार किनेका हौं । दोस्रो चरणमा पैसा खोजेर आफ्नै डिजाइनको कार बनाउने योजना छ । तर रिफिलिङ स्टेशन भने हाम्रै डिजाइनमा बनेको हो ।’ 

नेपाल भित्रिएको हाइड्रोजन कारसँग थापा

केयुले अहिले ल्याएको कार र रिफिलिङ स्टेशनमा करिब अढाइ करोड खर्च भएको छ । यसमा धेरै खर्च रिफिलिङमा भएको छ । त्यस बाहेक यातायात र भन्सारमा पनि खर्च भएको छ । सम्पूर्ण मूल्य एकीन नभएपनि कार र रिफिलिङ स्टेशनको लागत अढाइ करोडसम्म परेको आफुहरूको अनुमान भएको थापाले बताए । 

‘सबैको कस्ट आइसकेको छैन् । करिब अढाइ करोड भएको हुन सक्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘धेरै पैसा रिफिलिङ स्टेशनमा खर्च भएको छ । कार लगभग ३५ लाखसम्म परेको छ । यस बाहेक यातायात र भन्सारमा समेत खर्च भएको छ ।’

करिब एक हप्तामा काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन कारको परीक्षण सुरू हुनेछ । अन्य केही आवश्यक सामग्री अझै आउन बाँकी रहेकाले परीक्षण हुन केही ढिलाइ हुने भएको हो । 

के हो रिफिलिङ स्टेशन र हाइड्रोजन कार ? 

सामान्यतया गाडीलाई हाइड्रोजनबाट चलाउनको लागि हाइड्रोजन इन्धन राख्ने प्रविधि हो, रिफिलिङ स्टेशन । कारमा हाइड्रोजन हाल्न रिफिलिङ आवश्यक पर्छ । रिफिलिङ स्टेशनमा पानी हालेर बिजुली जोडेपछि हाइड्रोजन इन्धन उत्पादन हुन्छ । त्यसपछि गाडीमा तेल हाले, जसरी हाइड्रोजन राखिन्छ । 

विश्व बजारमा एकटपक रिफिलिङ गर्दा १२ सयदेखि २ हजार किलोमिटरसम्म रेञ्ज दिने हाइड्रोजन कार उपलब्ध भएपनि केयुको ल्याबले ल्याएको कारले ८ सय किलोमिटरसम्म रेञ्ज दिने थापा बताउँछन् । केयुले परीक्षणका लागि सस्तो मूल्य पर्ने ६ सयदेखि ८ सय रेञ्जसम्म दिने मिड रेञ्जको कार ल्याएको हो । 

हाइड्रोजनबाट चल्ने कारलाई हाइड्रोजन कार भनिन्छ । यो कार पनि अन्य बिजुली कार जस्तै हो । तर ब्याट्रीमा इन्धन भन्डार गर्ने क्षमता कम हुन्छ । ब्याट्रीको तौल पनि कम हुन्छ । हाइड्रोजनले पनि बिजुली गाडीको जस्तै घुमाउने मोटर नै हो । मोटर घुमाउन आवश्यक पर्ने बिजुली विद्युतीय कारले ब्याट्रीबाट निकाल्छ भने यसले हाइड्रोजनबाट निकाल्छ । 

विद्युतीय गाडीको ब्याट्रीमा भण्डार भएको बिजुली चाँडै सकिन्छ । त्यसमाथि थोरै मात्र भण्डार गर्न सकिन्छ । चार्ज गर्न पनि लामो समय लाग्छ । तर हाइड्रोजन गाडीमा ३ देखि ५ मिनेटमै हाइड्रोजन रिफिल गर्न सकिन्छ । एक पटक हाइड्रोजन हालेपछि ८०० देखि १२ सय किलोसम्म पनि रेन्ज दिन सक्छ । 

null

विदेशमा बिजुली र हाइड्रोडजन गाडीको चार्ज गर्ने स्थान प्राय एकै ठाउँमा हुन्छ । त्यहाँबाट बिजुली आवश्यक पर्ने गाडीले चार्ज गरेर जान्छन् भने हाइड्रोइन आवश्यक गाडीले हाइड्रोजन राखेर जान्छन् । 

नेपालमै रिफिलिङ स्टेशन र हाइड्रोजन कार बनाउन सम्भव छ ? भन्ने हाम्रो प्रश्नमा थापा भन्छन्, ‘रिफिलिङ स्टेशन नेपालमै बनाउन सकिन्छ । तर कारका धेरै कुराहरू आवश्यक पर्ने भएकाले अहिलेको अवस्थामा सकिदैन् । कुनै कम्पनी नेपाल आएर बनाए त्यो फरक कुरा भयो ।’ 

ग्रीन हाइड्रोजन ल्याबको डिजाइनमा कोरियामा बनेको रिफिलिङ स्टेशन अब परीक्षण हुने र केही त्रुटी देखिए समाधान गर्दै लैजाने उनीहरूको योजना छ । 

नेपालको कानुनले चिन्दैन् हाइड्रोजन कार

विश्वबजारमा हाइड्रोजन कारको चर्चा हुन थालिसकेको छ । गत फागुनमा सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका थिए । त्यसपछि नेपालमा पनि हाइड्रोजन कारको चर्चा धेरै हुन थालेको थियो । प्रधानमन्त्रीले हाइड्रोजन कार चढ्ने भनेपनि नेपालको कानुनले भने हाइड्रोजन कारलाई चिन्दैन् । 

नेपालको कानुनले हाइड्रोजनलाई यातायातको इन्धनको रूपमा नचिन्ने र त्यस्ता कारलाई नम्बर प्लेट दिने व्यवस्था नभएको थापाको भनाइ छ । ‘हाइड्रोजन कारलाई नेपालको कानुनले चिन्दैन् । तर यसका लागि पनि हामी अध्ययन गर्दै छौं,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीले यसअघि हाइड्रोजन कार चढ्छु भन्नु भएको थियो । सम्भवतः उहाँ नै चढेर यसलाई उद्घाटन गर्नुहोला ।’ 

हाइड्रोजनले खोल्न सक्छ संवृद्धिको ढोका 

कुनै समय गरिवीको भूमरिमा रूमलिएका खाडी मुलकहरू ग्यास, पेट्रोल, डिजेल जस्ता इन्धनको बिक्री गरेर विकसित मुलुकको दर्जामा आइसकेका छन् । अहिले नेपालले वर्षमा करिब ४ खर्ब बराबरको जीवाश्म इन्धन (ग्यास, पेट्रोल, डिजेट, कोइला) खरिद गर्छ । 

जीवाश्म इन्धन आयात कम गर्दै खेर गएको बिजुलीबाट हाइड्रोजन निकालेर विस्तारै इन्धन खरिद गर्न विदेशिएको ४ खर्ब रकम नेपालमा राख्न सकिन्छ । नेपालमा अहिले पनि बिजुली खेर गइरहेको छ । दशैंमा मात्रै ५०० मेगावाट विद्युत खेर गएको समाचार बाहिर आएको थियो । अझै पनि विद्युत खेर जान प्रक्षेपण गरिएको छ । 

null

नेपालसँग भएको पानी र बिजुली प्रयोग गरेर हाइड्रोजन उत्पादन गरेमा जीवाश्म इन्धन खरिदका लागि बाहिरिएको रकम स्वदेशमै राख्न सकिने थापाले बताए । ‘हामीसँग हाइड्रोजन उत्पादन गर्ने पानी र बिजुली प्रशस्त छ । हाइड्रोजन उत्पादन गरेर नेपालले विश्वलाई हाइड्रोजन बेच्न सक्छ,’ थापा विश्वस्त हुँदै भने, ‘जसरी पेट्रोल, डिजेबाट खाडी मुलुक धनी भए, त्यसरी नै नेपाल हाइड्रोजन इन्धन बेचेर धनी हुन् सक्छ ।’

यतिबेला विश्व नै विद्युतीय इन्धनमा जान खोज्दै छ । जीवाश्म इन्धनको प्रयोगलाई घटाउँदै गइरहेका छन् । नेपालले यसको फाइदा उठाएर हाइड्रोजन इन्धन बेच्न सके समग्र देशलाई अर्को दिशामा लैजान सक्छ । यसले सम्वृद्धिको नयाँ ढोका खोल्न सक्छ । तर त्यसका लागि अहिलेदेखि नै काम गर्नुपर्छ । हाइड्रोजनले देशलाई सम्वृद्धिको दिशामा लैजान सक्छ भनेरै देशलाई झकझकाउनका लागि अनुसन्धान गर्न थालेको थापा बताउँछन् । 

हाइड्रोजनबाटै देशलाई सम्वृद्ध मार्गमा लैजान सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । यसका लागि आवश्यक सहुलियत र सहजीकरणको व्यवस्था गर्नमा जोड दिनुपर्नेछ । विदेशतिर इन्धनको रूपमा हाइड्रोजन प्रयोग गर्नका लागि सरकारले बिजुली सब्सिडाइज दरमा दिन्छ । खेर गएको बिजुली वा सोलारबाट हाइड्रोजन निकालिन्छ । नेपालले पनि अहिले खेर गएको विद्युतबाट हाइड्रोजन निकाल्ने काम अगाडि बढाउन सक्छ । 

अहिले विश्व बजारमा औसत हाइड्रोजनको मूल्य प्रतिकिलो ५ अमेरिकी डलर छ । एक किलोग्राम हाइड्रोजनले २ सय किलोमिटरसम्म चल्छ । नेपालमा कति लाग्छ भन्ने कुरा एकीन छैन् । थापा अनुसार अनुसार नेपालमा ५ डलरभन्दा तलमा हाइड्रोजन निकाल्न सकिने अनुमान छ । तर राज्यले कस्तो नीति लिन्छ, त्यसमा पनि भर पर्छ ।