बुधबार, १९ असोज, २०७९
Wednesday, 05 October, 2022

स्टार्टअपका लागि १५ प्रतिशतको लगानी पोर्टफोलियो बनाउँदैछौंः डा. मनिष थापा

सन् २०१९ मा स्थापना भएको ग्लोबल इक्विटी फण्ड, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति प्राप्त गरेको नेपालकै पहिलो कम्पनी हो ।

साना तथा स्वपूँजी लगानी प्रदान गर्ने पीईभीसीलाई नेपाली स्टार्टअपहरुका लागि लगानीको मूख्य स्रोतको रुपमा हेरिएको छ ।

देशकै प्रथम पीईभीसीको रुपमा ग्लोबल इन्विटि फण्डले आगामी दिनमा लिने कार्यदिशा र लगानी अभावले ग्रस्त नेपाली स्टार्टअपका लागि कम्पनीले तय गर्नेे रणनीतिका बारेमा कम्पनीका म्यानेजिङ पार्टनर डा. मनिष थापासँग आइसिटी समाचारका लागि युजु खालिङले गरेको कुराकानीको सम्पादित अंशः


तपाईंहरुले भर्खरै प्राइभेट इक्विटी भेन्चर क्यापिटलको अनुमतिपत्र प्राप्त गर्नु भएको छ । अब लगानी परिचालनका लागि के कसरी अगाडी बढ्नु हुन्छ ? 

हामी सेवनबाट अनुमतिप्राप्त देशकै पहिलो पाइभेट इक्विटी भेन्चर क्यापिटल फण्ड बन्न सफल भयौं । सेवनबाट लाइसेन्स लिनु हाम्रा लागि पहिलो खुड्किला थियो, अहिले हामी सेवनबाट फण्ड स्किम अनुमोदन गराउन काम गरिरहेका छौं । 

यो पहिलो फण्ड करिब २ देखि ४ अर्बबीचको बनाउने भनेर हाम्रो योजना छ । अबको दुई हप्तामा यो फण्ड स्किम सेवनमा दर्ता गरी त्यसको अनुमोदनको प्रक्रिया गराउने छौं । सेवनले फण्ड स्किमलाई अनुमतिपत्रभन्दा चाढै अनुमोदन गर्देला भन्ने हाम्रो अपेक्षा छ । यो अनुमोदन भएपछि मात्र हामी फण्ड संकलन गर्न थाल्नेछौं । 

फण्ड संकलनमा पनि हामी तीन वर्षदेखि लागिरहेको हुँदा धेरै नै काम गरिसकेका छौं । पैसा लगानी गर्न धेरै संस्था, धनाढ्य व्यापारीहरु अगाडी देखि नै पाइपलाइनमा हुनुहुन्छ । लगानी माग गर्ने धेरै कम्पनीहरु पनि पाइपलाइनमै छन् । 

नेपालमा पीईभीसीका लागि अहिले कूल कति लगानी आउँदैछ ?

नेपालमा विदेशी लगानीको कुरा गर्दा यो आर्थिक वर्षको अन्तिमसम्म करिब ६ सय मिलियन डलरको लगानी आउने हाम्रो प्रक्षेपण छ । प्रत्यक्ष वैदेशिक लगानी एफडीआई र विशेषगरी विकास वित्तिय संस्थाहरु बेलायतको ब्रिटिस इन्टरनेश्नल इन्भेस्टमेन्ट बीआईआई, अमेरिकाको डीएफसी, फ्रान्सको प्रोपार्को र स्विडिसहरुले नेपालमा आर्थिक वर्षको अन्त्यसम्म ६ सय मिलियन डलर लगानी गर्ने भनेका छन् ।

तर यो सबै विशूद्ध पीईभीसीमा मात्र लगानी आउने भने होइन । अहिले हामी आफै २ अर्ब फण्ड संकलन गर्दैछौं यदि अहिले अनुमतिपत्रका लागि आवेदन दिएका अन्य १० ओटाले स्विकृति पायो भने २, २ अर्ब गरेर  करिब २० अर्ब जतिको लगानी योग्य फण्ड पीईभीसी क्षेत्रका लागि उठाउन सक्ने सम्भावना छ ।

धेरै स्टार्टअपहरु लगानीको अभावले बन्द हुने अवस्थामै पुगिसकेका छन् । लगानी स्रोतको रुपमा पीईभीसीमाथि उनीहरुको ठूलो अपेक्षा छ । यसलाई कसरी सम्बोधन गर्नुुहुन्छ ? 

अवश्य पनि स्टार्टअपप्रति हाम्रो ध्यानाकर्षण छ । फण्ड उठाईसकेपछि हाम्रो पहिलो काम भनेकै लगानी गर्ने हो । हाम्रो लगानी स्टार्टअप र ग्रोइङ विजनेस दुबैतिर हुनेछ । 

विशेषगरी हामीले दिने प्राइभेट इक्विटि फण्ड अलिक ग्रोथ स्टेजको फण्ड हो । जुन कम्पनीले बजारमा आफ्नो ब्राण्ड बनाएर, बस्तु तथा सेवालाई स्थापित गराई, आम्दानी, नाफा कमाएको वा नाफा कमाएर ब्रेकइभनमा पुगेको छ त्यस्ता कम्पनीले प्राइभेट इक्विटि फण्ड पाउँछन् ।

तर भेन्चर क्यापिटल फण्ड भनेको कुनै सोच वा सोचमा आधारित रहेर बनेको प्रोटोटाइप, जसको बजार परिक्षण भएर सम्भावना बोकेको छ त्यस्ता ग्रोइङ स्टेजका स्टार्टअपमा गरिने लगानी हो ।

अहिले हामीले ग्लोबल इक्विटि फण्डको लगानी विविधिकरण अन्तर्गत करिब १५ प्रतिशतको पोर्टफोलियो भेन्चर क्यापिटलको बनाउने योजना बनाएका छौं । जसमा हाम्रो १५ प्रतिशत लगानी विशूद्ध स्टार्टअप व्यवसायका लागि हुनेछ ।

यदि हामीले अहिले २ अर्बको फण्ड ल्याएर आयौं भने २० देखि ३० करोडसम्म भेन्चर क्यापिटलमा लगाउने योजना हो । यति कोष भनेको पक्कै पनि भेन्चर क्यापिटलमा अहिलेको लागि ठूलै फण्ड हो । 

तर हामी मात्र होइन, पछिल्लो समयमा लाईसेन्स लिन आउने कतिपाय कम्पनीले आफूलाई विशूद्ध भेन्चर क्यापिटलमा मात्र लगानी गर्ने भनी दर्ता गराएका छन् । त्यसकारण अबका आउने दिनमा स्टार्टअप व्यवसायमा धेरै भन्दा धेरै लगानी आउने पक्का छ । 

अहिले ग्लोबल इक्विटि फण्डमा लगानी माग गर्न स्टार्टअपहरुको कत्तिको भीड छ ?

लगानी माग गर्न अहिले धेरै व्यवसायहरु हामीकहाँ आउन थालेका छन् । २, ३ ओटामा हामीले फण्डिङका लागि घोषणा नै गरीसकेका छौं ।

सीएनआइईएफले केही समय अघि आयोजना गरेको स्टार्टअप फेस्टमा हाम्रो ग्लोबल इक्विटि फण्डले ५ ओटा स्टार्टअपलाई फण्ड दिने घोषणा त्यहीँ बेला गरेका थियौं, अहिले त्यो प्रक्रिया विभिन्न चरणमा पुगिसकेको छ ।

कुनैको ड्यु डिलिजेन्स भइसरहेको छ । कुनैको डकुमेन्टेसन भइरहेको छ भने, कुनैसँग चहिँ शेयरहोल्डर अग्रिमेन्ट गर्न अन्तिम चरणमा पुगेका छौं । यसैगरी हामीले सम्भावना भएका स्टार्टअपमा लगानी गर्छौं र गर्न हाम्रो तिब्र इच्छा पनि छ । 

स्टार्टअप भनेको जोखिमले भरिएको व्यवसाय भनिन्छ, यस्तो अवस्थामा तपाईंहरुको यो लगानी रिस्की पोर्टफोलियो हो त ?

पक्कै पनि भेन्चर क्यापिटल भनेको अलिक रिस्की पोर्टफोलियो नै हो । त्यसैले नै हामीले १० देखि १५ प्रतिशत लगानी मात्र यसका लागि छुट्याएका हौं । 

संसारभर नै हेर्ने हो भने पनि सय मध्ये १० ओटा स्टार्टअप मात्र सफल भएका देखिन्छन् । तर कस्ता किसिमका स्टार्टअप मात्र सफल भएका छन् भनेर हेर्दा, लगानी जुटाउन सकेका, पीईभीसीले लगानी गरेका स्टार्टअप मात्र सफल भएको पाइन्छ ।

वास्तवमा स्टार्टअपमा हामी लगानी मात्र गर्दैनौं, उनीहरुको क्षमता अभिवृद्धि गर्न प्राविधिक तथा व्यवस्थापकीय सहयोग पनि प्रदान गर्छौं ।

पीईभीसीलाई आकर्षित गर्न सक्ने स्टार्टअपको सफलताको सम्भावना सधै उच्च हुन्छ । त्यस्ता स्टार्टअप असफल हुने एकदमै कम सम्भावना हुन्छ ।

स्टार्टअपलाई अन्य व्यवस्थापकीय सहयोग चहिँ कसरी प्रदान गर्नुहुन्छ ?

हामीले कुनै पनि स्टार्टअपमा लगानी गर्दा फण्ड मात्र लिएर जाँदैनौं । त्यो स्टार्टअप हाम्रो पनि साझा व्यवसाय भएको कारण, संस्थापक सहित उसकको टिमलाई कसरी अगाडी बढाउन सक्छौं, प्रोडक्टलाई कसरी राम्रो बनाउन सक्छौं भनेर आफ्नो पनि भिजन लिएर गएका हुन्छौं ।

स्टार्टअपसँग आफ्नो सेवा तथा प्रोडक्टलाई कसरी बजारमा लैजाने, बजारीकरण गर्ने, ब्राण्ड बनाउने, संस्थालाई व्यवस्थित पार्ने भन्ने लगायतका ज्ञान र अनुभव हुँदैन । हामी त्यसलाई सिकाउने र सहयोग गर्ने छौं । 

उनीहरुको आईडियामा हाम्रो लगानी र व्यवस्थापन क्षमताले त्यो स्टार्टअपलाई राम्रो कम्पनीमा विकास गर्न सक्छ । खाली पैसा लगानी मात्र गर्ने होइन, क्षमता पनि हस्तानतरण गरी सफल व्यवसायमा परिणत गर्न सहयोग गर्छौं । 

स्टार्टअपहरु सधै पीईभीसीले लगानी गर्दा ठूलो हिस्सा लिन खोजेर पेलेको आरोप लगाउँछन् नी, के यो सही हो ?

यसमा केही सत्य छ तर धेरै यो असमझदारीको परिणाम हो । किनभने, हरेक कम्पनी वा व्यवसायमा लगानी गर्न अघि हामी त्यसको मूल्यांकन गर्छौं जसको आफ्नै विधि हुन्छ ।

ठूला कम्पनीहरुको सम्पत्ति मूल्यांकन गर्न सजिलो हुन्छ उनीहरुको कलकारखानामा धेरै ठूलो सम्पत्ति भवन, जग्गा जमिन, मालबस्तु, स्टक आदी हुन्छ । 

तर एउटा आईटीमा आधारित व्यवसायमा लगानी गर्ने हो भने त्यहाँ खाली एउटा कम्प्युटर र सफ्टवेयरको बौद्धिक सम्पत्ति मात्र देखिन्छ । जुन आफैमा ‘इन्ट्यान्जिबल एसेट’ हो । 

यस्ता ट्यान्जिबल र इन्ट्यान्जिबल एसेटको भ्याल्युएसन गर्ने विधि नै फरक हुन्छ । इन्ट्यान्जिबल एसेटलाई मूल्यांकन गर्न एकदमै गाह्रो हुन्छ, किनभने त्यस्ता सम्पत्तिको ब्याकअप पनि हुदैँन । 

यसैकारण मूल्यांकनको विधि र बुझाईको पनि समस्या रहन्छ । लगानीकर्ताले कम्पनीको संस्थापक वा टिमलाई बुझाउन नसक्नु पनि समस्या हो । मूल्यांकन कसरी गर्ने र त्यसलाई कसरी लिने भन्ने बीच बुझाई नहुँदा कहिलेकाँही यस्ता समस्या देखिन्छन् । 

तपाईंले भनेको जस्तै भ्याल्युएसनको विधि, प्रक्रिया थाहा नहुँदा कति कम्पनीका संस्थापकहरु लगानीकर्ताको पेलाईमा परेका छन् र लगानीकर्ताको रुपमा कम्पनीलाई पेल्न खोज्ने प्रवृति पनि देखा पर्न सक्छन् । 

तर यहाँका हाम्रा कम्पनीका संस्थापकहरुमा पनि एउटा प्रवृति देखिन्छ । हामी सार्कट्यांक हेर्छौं, ड्राइगन्स डेन जस्ता रियालिटी सोहरु हेर्छौं, भारत र सिलिकन भ्याल्लीका ठूला ठूला व्यवसायहरु हेर्छौं । त्यहाँको व्यापार व्यवसायको जसरी मूल्यांकन भएको छ हाम्रो पनि त्यसै अनुसार हुनपर्छ भन्छौं । 

भारतमा एक अर्बको जनसंख्या छ, बजार धेरै ठूलो छ, हामीकहाँ यहाँ ३ करोड जनसंख्या छ बजार सानो र नयाँ छ, यस्तोमा भारत सिलिकन भ्याल्लीको भ्याल्युएसन हेरेर नेपालमा त्यहीँ अपेक्षा गर्नु मिल्दैन । 

रियालिटी सो हेरेर आफ्नो कम्पनीको भ्याल्युएसनलाई अचाक्ली बढाउन यहाँका संस्थापकहरु प्रवृत छन् । तर रियालिटी सो र रियल लाइफमा हुने भ्याल्युएसन आकाश जमिनको फरक छ । 

आईडियाकै फेजमा हुन्छन्, तर भारतमा र सिलिकन भ्याल्लीमा यहीँ आईडियालाई यति भ्याल्यु दिएको छ हामी किन कममा गर्ने भनेर अर्बौंको भ्याल्यू राख्ने गरेको पनि देखिएको छ ।  रियालिटी सो हेरेर आफ्नो मूल्य आफै तोक्ने र हिसाब किताब आफै गर्ने परिपाटीका कारण यस्तो समस्या धेरै देखिन्छ  ।

अहिले नेपाली स्टार्टअपहरुबाट पीईभीसीहरुको सफल एक्जिटको अवस्था कस्तो छ ?

नेपालमा यो बजार नै एकदम नयाँ छ । भर्खरै सुरुवात हुँदैछ । विजनेस अक्सिजन, डोल्मा इम्प्याक्टहरुले पनि आफ्नो पहिलो फण्डको बल्ल पहिलो एक्जिट लिदैँछन् । उद्योग नै भर्खरै बामे सर्ने अवस्थामा छ ।

हामीभन्दा पहिले आएका डोल्मा इम्प्याक्ट, विजनेस अक्सिजन, टिम भेन्चर्स, ट्रु नर्थ अशोसिएट्सहरुलाई हेर्दा, उहाँहरुको एक दुईओटाबाट एक्जिट भएको अवस्था छ ।

विजनेस अक्सिजनलाई हेर्ने हो भने उहाँहरुले सफलता पूर्वक ३, ४ ओटामा एक्जिट लिएको देखिन्छ, यसैगरी डोल्मा इम्प्याक्टले पनि २, ३ ओटा पोर्टफोलियामा आंशिक एक्जिट लिएको छ । प्राइभेट इक्विटी भेन्चर क्यापिटलले एक्जिट लिनु भनेको यो उद्योगको फ्रेटरनिटी बढ्नु हो ।

भारतमा हेर्ने हो पीईभीसीमा तीन किसिमको एक्जिट हुन्छ । एउटा भनेको आईपीओमा लिएर जाने हो । त्यो ठूला कलकारखानामा मात्र सम्भव हुने भएकोले प्राइभेट इक्विटीमा हुनसक्छ तर भेन्चर क्यापिटलमा सम्भव छैन ।

दोस्रो एक्जिट भनेको स्ट्राटेजिक सेल भनिन्छ , यसमा चहिँ एउटा पीईभीसीको शेयर अर्को पीईभीसीलाई बिक्री गर्ने हो । यस किसिमको एक्जिट विशेषगरी भारत तथा बंगलादेशमा धेरै देखिन्छ ।

नेपालमा बल्ल त हामी जस्ता खेलाडीहरु आउँदैछन् । अस्ति ३, ४ ओटा थिए भने अब लाईसेन्स पाएपछि अरु १०, १५ ओटा प्लेयर्सहरु आउने छन् । यसरी हामीले पनि यहाँ एकले अर्कोलाई एक्जिट दिन सक्छौं ।

कुनै पनि भीसी भनेको आजको १० वर्षमै एकदमै सफल व्यवसाय हुँदैन । उनीहरुलाई वित्तिय आवश्यकता पर्दै जान्छ र उसले नयाँ आउने पीईभीसीलाई बिक्री गरेपछि यसरी नै निरन्तरता पाउँदै जान्छ । 

यो भएको अवस्थामा अबको ५, ६ वर्षमा सजिलै हाम्रा सबै पीईभीसीले पोर्टफोलियोबाट एक्जिट गरेको देख्न सक्ने छौं । 

अब डोल्मा र विजनेस अक्सिजनले पनि फण्डबाट एक्जिट लिनपर्ने आवश्यकता भएको कारणले गर्दा, हामी जस्तो नयाँ आएको पीईभीसीले उहाँहरुलाई एक्जिट दिएने छौं र यसरी नै बजार अगाडी बढ्नेछ । 

लगानीका लागि तपाईंहरु कुन आधारमा स्टार्टअप छनौट गर्नुहुन्छ ?

हामी ग्लोबल इक्विटि फण्डले कुनै पनि आईडिया वा स्टार्टअपमा लगानी गर्न ५ ओटा मापदण्ड तोकेका छौं । 

पहिलो मापदण्ड अन्तर्गत व्यवसाय वा आईडियाको सम्भाव्यता र बजार कतिको छ भन्ने कुरा हेर्छौं । 

दोस्रोमा त्यसको संस्थापकको संलग्नता, प्रतिबद्धता र उसले बनाएको टिम कस्तो छ भनेर हेर्छौं । नेपाल जस्तो देशमा त संस्थापकलाई हेरेर नै हामी लगानी गर्छौं । 

तेस्रो भनेको कम्प्लायन्स (अनुपालन) नै हो । हामीले पनि सार्वजनिक पैसा संकलन गरेको हुँदा जथाभावी लगानी गर्न पाउँदैनौं । हाम्रो पनि निश्चित मापदण्ड हुन्छ । कम्प्लाइन्समा उहाँहरुको ब्यालेन्स सिट र नेपाल सरकार सम्पूर्ण नियम र कानुनको अनुपालन गरी काम गर्दै आएको छ की छैन ती कुरा र अवस्थाहरु हेछौं । 

चौंथो मापदण्डमा हामीले जुन स्टार्टअप वा व्यवसायमा लगानी गर्छौं त्यसमा हामीले पनि केही योगदान दिनसकौं भन्ने हाम्रो धारणा हो । कुनै व्यवसायमा हाम्रो भूमिका हुँदैन र हामी संलग्न  हुने ठाउँ हुदैँन भने हामी त्यस्ता संस्थामा लगानी गर्दैनौं । यो समझदारीमा तय हुने कुरा हो ।

पाँचौं भनेको हाम्रो एक्जिट हो । हामीले दीर्घकालसम्म त लगानी गरिरहन सक्दैनौं यस्तो अवस्थामा हामीले यो विजनेसबाट कसरी एक्जिट लिने भनेर पहिलो दिनदेखि योजना बनाइरहेका हुन्छौं ।

यदि हाम्रो योजना अनुसार एक्जिट गर्न सकिने तपाईंको व्यापार व्यवसायको रणनीति छ र एक्जिट सजिलो देख्यौं भने मात्र हामी लगानी गर्छौं । 

अर्थतन्त्र संकटग्रस्त छ, बजारमा तरलता अभाव छ यस्तो बेला तपाईंहरु आफैलाई चहिँ लगानी जुटाउन कतिको समस्या पर्छ ?

तरलता अभाव हुँदा पनि हामीलाई लगानी जुटाउन गाह्रो पर्दैन । हाम्रो लगानीकर्ता धेरै जसो, बैंक तथा वित्तिय संस्था, पेन्सन फण्ड, इन्स्योरेन्स कम्पनी आदी हुने भएको कारणले लगानी उठाउन गाह्रो पर्दैन । 

तर हामीलाई कता समस्या पर्छ भने, तरलता संकटले गर्दा अहिले ब्याजदर बढेको छ, सामान्यरुपमा फिक्स्ड डिपोजिटमा ११ प्रतिशत ब्याजदर पाउन सकिन्छ, त्यस्तै इन्स्यारेन्स कम्पनीले फिक्स्ड डिपोजिट गर्छ भने १० प्रतिशत ब्याजदर दिन्छ यस्तो बेला हामीलाई पनि लगानी उठाउँदा उच्च प्रतिफल दिने  दबाब रहन्छ । 

तरलता संकट नभएको समय, दुई वर्ष अघि इन्स्यारेन्स कम्पनी, पेन्सन फण्डबाट हामीले६ देखि ८ प्रतिशतको हडल रेटमा लगानी उठाउँथ्यौं भने अहिले ब्याजदर बढ्दा, हामीले उहाँह्रुलाई दिने हडलरेट नै १० देखि १२ प्रतिशतसम्म पुग्न गयो । 

हामीलाई यो क्यापको भार छ । लगानी उठाउने भन्दा पनि कति रिटर्न दिएर उठाने भन्नेमा अहिले हाम्रो समस्या छ । 

 

सम्बन्धित समाचार