बुधबार, १९ असोज, २०७९
Wednesday, 05 October, 2022

नेपालमा सूचना प्रविधिको भविष्य राम्रो छ, त्यसका लागि हामीले नयाँ नयाँ सिप सिक्नुपर्छः पन्थी 

युवा उमेरले होइन्, माइन्डसेटले हुन्छ
कोविद पन्थी

भक्तपुरका कोविद पन्थी उमेरले १८ वर्ष भए । १८ वर्षकै उमेरमा उनले २ वटा कम्पनी सञ्चालन गर्दै आएका छन् । एउटा टेक समाज नामक सूचना प्रविधि कम्पनी र अर्को ट्रेनिङ कम्पनी, इम्प्याक्ट एस एलएलसी ।

उनले देश विदेशका थुप्रै मानिसहरूलाई पाइथन प्रोग्रामिङ र मार्केटिङ सम्बन्धि तालिम पनि प्रदान गर्दै आएका छन् । कक्षा ११ मा पढ्दा पढ्दै विद्यालयको छाडेका कोविदले ‘सेल्फ स्टिडी’ लाई बढी महत्व दिन्छन् । जीवनभर सिक्नुपर्छ भन्ने उनको धारणा छ । 

उनी स्पीकरको रूपमा वर्डक्याम्प, नेपाल इन्जिनियरिङ एशोसिएसन, राष्ट्रिय युवा सम्मेलन लगायतमा समेत सहभागी भइसकेका छन् । 

सानै उमेरमा धेरै काम गरिसकेका प्रोग्रामर, मार्केटर तथा उद्यमी कोविद पन्थीसँग आइसिटी समाचारका लागि कमल केसीले गरेको कुराकानीः 


सानै उमेरमा तपाईले धेरै प्रगति गरिसक्नु भएको छ । तपाईको बाल्यकाल कसरी बित्यो ? 

आजभन्दा १८ वर्ष अघि म भक्तपुरमा जन्मिएको हुँ । मेरो पुर्खौली घर भने लमजुङ हो । मेरो बाल्यका पनि अरू जस्तै सामान्य नै बित्यो । मध्यम परिवारमा मेरो जन्म भएको हो ।

सानैदेखि कम्प्युटरमा रूची थियो तर कक्षा ६ मा हुँदा प्रोग्रामिङ सिक्न थाले । कक्षामा ‘एचटीएमएल’ शीर्षक थियो । तर त्यसलाई कसरी लेख्ने पाठ्यक्रममा थिएन् । त्यसपछि कम्प्युटर शिक्षकलाई सोधे । तर शिक्षकले ८-९ मा जाँदा सिक्छौं भन्नुभयो ।

मैले आफै सिक्ने निधो गरे र घरबाट पाउने ‘पकेट मनि’ जम्मा गर्न थाले । जम्मा गरे पैसाबाट साइबरमा गएर एचटीएमएल, सीएसएस प्रोग्रामिङ सिक्थे । सिकेर पहिलो प्रोजेक्टको रूपमा विद्यालयको वेबसाइट बनाएको थिए । यसरी प्रोग्रामिङ पछि मेरो यात्रा मार्केटिङ र ट्रेनिङतर्फ मोडियो । 

सानै उमेरमा तपाईले एक किसिमको सफलता हात पारिसक्नु भएको छ । तपाईले २ वटा कम्पनी पनि सञ्चालन गर्दै आउनु भएको छ । सानै उमेरमा सफलता पाउँदा कस्तो अनुभव हुँदो रहेछ ? 

सफलतालाई उमेरले निर्धारण गर्दैनन् । सफलता भनेको मानिसले परिभाषित गर्ने चीज मात्रै हो । व्यक्ति अनुसार सफलता फरक फरक हुन्छ । बिल गेट्सका लागि मानिसहरूलाई सहयोग गर्नु सफलता हो भने एउटा गरिबका लागि बिल गेट्स जस्तो बन्नु सफलता हो ।

जीवनमा सफलता पाउन सुरूमा आफ्नो जीवनको उद्देश्य पहिचान गर्नु जरूरी छ । मेरो उद्देश्य भनेको अरूलाई ‘इम्प्याक्ट’ अर्थात प्रभाव पार्नु हो । जति मैले प्रभाव पार्न सके त्यति मेरो लागि सफलता हो ।

सानै उमेरमा उद्देश्य पत्ता लगाउनु नै सफलता हो, जस्तो लाग्छ मलाई । अहिलेसम्मको सफलतामा मलाई कुनै फरक अनुभव हुँदैन् सामान्य जस्तै अनुभव हुन्छ । आफ्नो उद्देश्य थाहा पाउँदा त्यसमा काम गर्न मज्जा आउँछ ।   

कतिपय आफ्नो उद्देश्य खोज्दै भौतारिरहेका हुन्छ । आफ्नो उद्देश्य कसरी पत्ता लगाउन सकिन्छ ? 

के चीजले तपाईलाई खुसी दिन्छ, के चीजले तपाईलाई सन्तुष्टि दिन्छ, त्यो हो तपाईको उद्देश्य । एउटा भनाइ छ, ‘यदी तपाईलाई के गर्ने थाहा छैन् भने के गर्नु छैन् त्यो पत्ता लगाउनुहोस् ।’ त्यसकारण यदी तपाईलाई पनि के गर्ने थाहा छैन् भने विभिन्न चीजहरूमा प्रयास गर्नुहोस् ।

प्रयास गर्दै जाँदा तपाईलाई कुन चीजले खुसी दिन्छ त्यो नै तपाईको जीवनको उद्देश्य हो । ‘ट्रायल एण्ड एरर’ गरेरै जीवनको उद्देश्य थाहा पाउन सकिन्छ । 

६ कक्षामा पढ्दा तपाईले प्रोग्रामिङ पढ्न सुरू गर्नु भयो । पाइथन बारे किताब पनि लेख्नु भएको छ । प्राइथनको तालिम पनि दिनुहुन्छ । पाइथनप्रति तपाईको रूची कसरी बढ्यो ? 

कक्षा ८-९ मा राज नाम गर्नुभएको एकजना कम्प्युटर शिक्षक हुनुहुन्थ्यो । उहाँले गुरू जसरी नै मेरो सबल पक्ष पहिचान गर्नुभयो  । उहाँले मलाई तिमी हरेक दिन कम्प्युटर ल्याबमा गएर पाइथन सिक भन्नुभयो ।

सुरूमा मलाई त्यति इच्छा लागेन तर उहाँले एक हप्तासम्म भनिरहँदा के रहेछ त भनेर जान्न मन लाग्यो । कम्प्युटर ल्याबमा म्याक र डेस्कटप कम्प्युटर थियो । सरले मलाई सधैं म्याकमा राख्नुहुन्थ्यो । किनभने म्याकमा इन्टरनेट थियो र फास्ट पनि थियो । अरूलाई क्युबेसिक गर्न र मलाई गूगल गर्न भन्नुहुन्थ्यो ।

शिक्षकले विद्यार्थीलाई सिक्ने स्वतन्त्रता दिनुपर्छ । मेरो बुबा आमा पनि शिक्षक हुनुहुन्छ । नेपालमा पाठ्यक्रममा बसेर सिके राम्रो र पाठ्यक्रमभन्दा बाहिर गएर सिके नराम्रो भन्ने ठप्पा लगाइन्छ ।

एकेडेमिक एकेडेमिक भन्दा पनि विद्यार्थी सबल पक्षलाई पहिचान गर्न शिक्षा प्रणालीले सहयोग गर्नुपर्छ । शिक्षकले मलाई सिक्ने स्वतन्त्रता दिएसँगै पाइथन सम्बन्धि ज्ञान र रूची बढ्दै गयो । त्यसपछि मैले प्राइथनको किताब लेखे । त्यति बेला अमेजनको बेस्ट सेलिङ सूचीमा समेत पर्न सफल भएको थियो । 

तपाई नेपालको एकमात्र आईबीएम च्यापियन हुनुहुन्छ । आईबीएम च्याम्पियनको यात्रा कस्तो थियो ?

आईबीएमले थट लिडर, उद्यमी, वक्ताहरूलाई आईबीएम च्याम्पियन भनेर अवार्ड दिन्छ । सुरूमा आवेदन दिदा रिजेक्ट भए तर अर्को वर्ष जसरी पनि हुन्छु भनेर युट्युब भिडियो बनाउन थाले, विभिन्न विद्यालयमा गएर पाइथन सम्बन्धि वर्कशप गर्न थाले ।

यो सबै डकुमेन्टेसन गरेर आईबीएममा पठाए । त्यसपछि आईबीएम च्याम्पियन भए । आईबीएमले विभिन्न गिफ्टहरू पनि पठाएको थियो । नेपालमा अहिलेसम्म म बाहेक अरू आईबीएम च्याम्पियन भनेर सुनेको छैन् ।  

सूचना प्रविधिको क्षेत्रमा कम्प्युटर प्रोग्रामिङबाट प्रवेश गर्नुभयो । तर केही वर्षपछि तपाई मार्केटिङमा जानुभयो । प्रोग्रामिङबाट मार्केटिङमा कसरी आकर्षित हुनु भयो ? 

आफ्नो रूची अनुसार प्रोग्रामिङबाट म मार्केटिङमा सिफ्ट भए । उद्यमशीलताका पाइला अगाडि बढाउँदै गर्दा मार्केटिङमा रूची बढ्न थाल्यो । त्यसपछि प्रोग्रामिङको प्रतिको रूचीको कम हुँदै गयो ।

मैले पूर्ण रूपमा प्रोग्रामिङ भने छोडेको होइन् । म अझै पनि पाइथनको तालिम दिदै आएको छु । उद्यमीमा रिस्क लिने क्षमता बढी हुन्छ । मार्केटिङमा जाँदा मलाई डर लागेको थियो । तर पनि मेरो रूची मार्केटिङमा भएका कारण म मार्केटिङमा आए ।

रूची अनुसार नयाँ नयाँ कुरा सिक्दा तपाईको ज्ञानको दायरा बढ्छ । अरूको लहलहैमा भन्दा पनि आफ्नो रूची अनुसार अगाडि बढ्नु भयो भने तपाईलाई सफलता अवश्य मिल्नेछ । 

प्रोग्रामिङ ल्याङ्वेज भनेको  के हो ? कसरी सिक्ने ? 

कम्प्युटरमा सफ्टवेयर र हार्डवेयर गरेर दुई भाग हुन्छ । प्रोग्रामिङबाट सफ्टवेयर बनाउन सकिन्छ । हार्डवेयरलाई कसरी चल्ने भनेर सफ्वेयरले गाइड गर्छ । हामीले लेखेको कोड बाइनरी भाषामा परिवर्तन हुन्छ र कम्प्युटरले बुझ्छ । प्रोग्रामिङ ल्याङवेज फरक फरक छन् ।

विभिन्न कामका लागि विभिन्न प्रोग्रामिङ ल्याङवेज प्रयोग हुन्छन् । प्रोग्रामिङ सिक्न सुरूमा तपाईले एउटा ल्याङवेज छनोट गर्नुपर्ने हुन्छ ।

आफ्नो आवश्यकता अनुसार प्रोग्रामिङ ल्याङवेज छनोट गर्न सकिन्छ । प्रोग्रामिङ सिक्न निःशुल्क र सःशुल्क माध्यम छ । सुरूमा तपाई युट्युबबाट प्रोग्रामिङ सिक्नुहोस् ।

एउटै भिडियो धेरै पटक दोहोराएर हेर्नुहोस् । त्यसले दिमागमा न्युरोनहरू सिर्जना हुन्छन् । यदी पैसा खर्च गर्न सक्नुहुन्छ भने पेड कोर्ष पनि लिनुहोस् । सिकिसकेपछि प्रोजेक्टहरू गर्नुहोस् । अनि गिटहबमा गएर कोडहरूलाई डाइसेक्ट गर्नुहोस् । त्यसपछि जब, फ्रिल्यान्सिङ वा आफ्नै व्यवसाय पनि सुरू गर्न सक्नुहुनेछ । 

कुनै एउटा प्रोग्रामिङ ल्याङ्वेजमा कसरी मास्टर हुन सकिन्छ ?

मानिसलाई जो देख्यो, त्यही राम्रो लाग्छ । जुन प्राग्रामिङ ल्याङ्वेज थाहा पायो, त्यही सिक्न मन लाग्छ । यसलाई ‘साइनी सिन्ड्रम’ पनि भनिन्छ । यस्तो हुँदा सबैलाई छुन त सकिन्छ तर कुनैमा पनि राम्रो हुन सकिदैन् ।

उत्कृष्ट १० प्रोग्रामिङ ल्याङ्वेज गूगलमा खोज्नुस र त्यहाँबाट एउटा छनोट गर्नुहोस् । त्यसलाई नै समय दिनुहोस् । अरू प्रोग्रामिङमा धेरै ध्यान नदिनुहोस् । त्यसैमा मास्टर गर्नुहोस् । 

तपाईले नेपालमा टेक समाज र अमेरिकामा इम्प्याक्ट एस एलएलसी कम्पनी स्थापना गर्नुभएको छ । के के सेवा दिनुहुन्छ र कतिले रोजगारी पाएका छन् ? 

टेक समाज सूचना प्रविधि कम्पनी हो । टेक समाजले वेबसाइट डेभलपमेन्ट, सफ्वेयर डेभलपमेन्ट, एप डेभलपमेन्ट लगायतका आईटी सेवा प्रदान गर्दै आएका छौं ।

हामी धेरै आउटसोर्सिङमा केन्द्रित छौं । इम्प्याक्ट एसले मार्केटिङ सम्बन्धि सेवा र तालिम प्रदान गर्दै आएको छ ।

अहिले टेक समाजमा हामीले १० जनालाई रोजगारी दिएका छौं । कोरोना महामारी अघि यो संख्या ३५ जना थियो । इम्प्याक्ट एसका लागि चाहिने कर्मचारी आवश्यता परेको बेला मात्रै लिन्छौं ।    

नेपालमा सूचना प्रविधिको भविष्य कस्तो छ ? 

अमेरिका, यूरोपमा जे आयो, त्यो नेपालमा आउन १० देखि २० वर्ष लाग्छ । नेपाल प्रविधिमा अरू भन्दा केही पछाडि छ । इन्टरनेटले त्यसलाई कम गरेको छ । स्रोत अझै पनि कमी छ ।

स्रोत साधनको कमीलाई युवाहरूले पूरा गर्न सक्छौं । नेपालमा सूचना प्रविधिको भविष्य राम्रो छ । त्यसका लागि हामीले नयाँ नयाँ स्किल सिक्नुपर्छ । यसको बारे सबैलाई जानकारी गराउनु पर्छ । 

अन्त्यमा युवाहरूलाई के भन्न चाहनुहुन्छ ? 

युवा भनेको उमेरले होइन्, माइन्डसेटले हुन्छ । युवाहरूले जीवनको उद्देश्य पहिचान गर्नुहोस् । समाजले के भन्छ, त्यसको पछाडि नलाग्नुहोस् । आफ्नो खुसी र सन्तुष्टिमा दौडिनुहोस् । कुनै पनि कामको नतिजामा होइन्, प्रक्रियामा रमाउनुहोस् ।  


यो पनि पढ्नुहोस्ः नेपालकै पहिलो आईबीएम च्याम्पियन १७ वर्षिय नेपाली युवा, जसले दिएका छन् ३५ जनालाई रोजगारी


 

सम्बन्धित समाचार