सोमबार, १९ मङ्सिर, २०७९
Monday, 05 December, 2022
Skip Advt.

सन् २०२२ का १० इमर्जिङ प्रविधि

पछिल्लो समय प्रविधिको विकास तीब्र रूपमा भइरहेको छ । हरेक दिन प्रविधिमा केही न केही नयाँ भइरहेको हुन्छ । केही वर्ष यता एआई, डेटा साइन्स, थ्रिडी प्रिन्टिङ, क्लाउड कम्प्युटिङ लगायतका इमर्जिङ प्रविधिहरू लोकप्रिय हुन थालेका छन् । केही वर्षमै यस्ता इमर्जिङ प्रविधिको प्रयोग व्यापक हुने निश्चित छ । 

साथै यसले मानवीय आवश्यकता समेत कम गर्नेछ । आज हामी तपाईलाई सन् २०२२ का १० इमर्जिङ प्रविधिको बारेमा जानकारी दिदैछौं ।

क्लाउड कम्प्युटिङ 

सन् २०२२ मा पनि क्लाउड कम्प्यूटिङ एकदमै विस्तृत हुँदै जानेछ । इन्टरनेटबाट भर्चुअल स्पेसमा सफ्टवेयर, सूचना, तथ्यांक र अन्य फाइलहरु शेयर गर्नुलाई क्लाउड कम्प्युटिङ भनिन्छ । आज साना साना कम्पनीदेखि ठूला ठूला कम्पनीमा क्लाउड कम्प्युटिङको प्रयोग हुने गरेको छ ।  क्लाउड कम्प्युटिङमा स्टोर गरेको कुनै पनि फाइल इन्टरनेट प्रयोग गरेर जहाँबाट पनि पहुँच पाउन सकिन्छ । उक्त फाइललाई एडिट र शेयर पनि गर्न सकिन्छ । गूगल ड्राइभ, ड्रपबक्स, जीमेल, फेसबुक, अमेजन वेब सर्भिसेस, आईबीएम क्लाउड लगायत क्लाउड कम्प्युटिङका उदाहरण हुन् ।   
क्लाउड कम्प्युटिङ सस्तो पनि हुन्छ । क्लाउड कम्प्युटिङको प्रयोग गर्न हार्डवेयर, सफ्टवेयर, सेटअप आदी बनाउनु पर्दैन् । 

सिक्सजीको विकास 

सिक्सजी भनेको वाइड एरिया वायरलेस प्रविधिको छैठौँ संस्करण हो । वायरलेस पुस्तालाई हरेक एक दशकमा अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनले मानकीकृत गर्ने गर्दछ र अहिले हाम्रो संसार फाइभजीमा रहेको छ । यसलाई एयर इन्टरफेस पनि भनिन्छ, जसको अर्थ ट्रान्समिसन वा इनकोडिङमा परिवर्तन ल्याउनु हो । फाइभजी सन् २०१७ मा आएको पछिल्लो प्रविधि हो ।

आगामी सन् २०३० सम्ममा सिक्सजी आउने अनुमान गरिएको छ । फाइभजी भर्खर भर्खर सुरू भएका बेला विश्व भनेको सिक्सजीको विकासमा अगाडि बढेको छ । सिक्सजीमा चीन, दक्षिण कोरिया र जापानले चासो देखाउँदै आएका छन् । त्यस्तै एप्पल, नोकिया, एरिक्सन, ह्वावे, सामसङ र एलजी जस्ता कम्पनीले पनि यसको विकासमा काम गरिरहेका छन् । तर पनि अहिले विश्वका धेरै देशहरुले थ्रीजी र फोरजी नै प्रयोग गरिरहेका छन् ।

अहिले पनि धेरै प्रयोगकर्ताको पहुँचमा फाइभजी छैन् । तर विकसित देशहरु सिक्सजीको बाटोमा हिडिसेकका छन् । यसलाई सिक्सजी नभनेर फाइभजी एडभान्सड वा फाइभ जी इन्ह्यान्सड पनि भनिन सक्ने विज्ञहरु बताउँछन् । 

क्वान्टम कम्प्युटिङ 

क्वान्टम कम्प्युटर परम्परागत कम्प्युटर भन्दा धेरै शक्तिशाली हुन्छ । क्वान्टम कम्प्युटिङ विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स, औषधी, साइबर सेक्युरिटी, क्रिप्टोग्राफी, मौसम पूर्वानुमान, बिग डेटा विश्लेषण, एरोस्पेश डिजाइन लगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ । 

क्वान्टम कम्प्युटिङ क्वान्टम सिद्धान्तमा आधारित रहेको छ । क्वान्टम कम्प्युटिङले क्वान्टम बिट वा क्यूबिट प्रयोग गर्ने गर्दछ । मुख्यतः धेरै जटिल समस्याहरू समाधान गर्न कवान्टम कम्प्युटिङको प्रयोग गरिन्छ ।

क्वान्टम कम्प्युटिङ अहिले भएका सुपर कम्प्युटरभन्दा १५८ मिलियन फास्ट हुन्छ । सुपर कम्प्युटरले १० हजार वर्षमा गर्न सक्ने काम क्वान्टम कम्प्युटिङले ४ मिनेटमा गर्न सक्छ । सन् २०१९ मा आईबीएमले सर्किटमा आधारित पहिलो व्यवसायिक क्वान्टम कम्प्युटिङ सार्वजनिक गरेको थियो । त्यस्तै गूगल र चिनियाँ वैज्ञानिकले समेत क्वान्टम कम्प्युटर निर्माण गरेका छन् । 

डाटा साइन्स

पछिल्लो समय डाटाको प्रयोग बढ्दै गएको छ । डाटालाई २१ औं शताब्दीको खनिज तेल पनि भनिन्छ । डेटा साइन्समा विभिन्न स्रोतबाट प्राप्त भएका डाटालाई एडभान्स्ड उपकरण प्रयोग गरी प्रोसेसिङ गरिन्छ । डाटाको प्रयोगले पहिले समाधान गर्न नसकिएका समस्याहरुलाई पनि सजिलै समाधान गर्न सकिन्छ । डाटा साइन्स अटोमेसन, स्वास्थ्य, मार्केटिङ, ट्राभल, सेल्स, सामाजिक सञ्जाल, बिजनेस लगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ ।

डाटा साइन्समा जटिल मेसिन लर्निङ अल्गोरिदमहरु प्रयोग हुन्छ । हार्भड विश्वविद्यालयले पनि डाटा साइन्सलाई एकाइसौं शताब्दीको ‘सेक्सिएस्ट जब’ रूपमा परिभाषित गरेको छ । 

अहिले पनि नेपाल लगायत विश्वमा लाखौं डाटा साइन्टिस्टको माग छ । भविष्यमा पनि डाटा साइन्टिस्टको माग बढ्ने निश्चित छ ।

साइबर सुरक्षा

साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम वा नेटवर्कलाई क्षति हुन या चोरी हुनबाट बचाउनु हो । यसले डाटा, सिस्टम र सफ्टवेयरको सुरक्षा गर्छ । 

पछिल्लो समय जति जति प्रविधिको विकास हुँदै गइरहेको छ, त्यति त्यति साइबर सुरक्षा पनि जटिल बन्दै छ । साइबर सुरक्षा जति मजबुत भएपनि ह्याकरले नयाँ नयाँ तरिका अपनाएर सिस्टममा घुस्ने प्रयास गरिरहेका हुन्छन् । त्यसकारण त दिनदिनै साइबर अपराधका घटना बढिरहेका छन् । 

साइबर क्राइम म्यागजिनका अनुसार सन् २०२५ सम्ममा साइबर सुरक्षामा वार्षिक १०.५ ट्रिलियन खर्च हुनेछ । अनलाइनमा हुने साइबर अपराधबाट सुरक्षित हुन बलियो पासवर्ड राख्ने, ओटीपी कोड, पीन कोड कसैलाई शेयर नगर्ने, शंकास्पद लिंक नखोल्ने, टु फ्याक्ट अथेन्टिकेसनको प्रयोग लगायतका काम गर्न सकिन्छ । त्यस्तै सिस्टमलाई सुरक्षित पार्न बेला बेला आईटी अडिट गर्ने, मापदण्ड अनुसार पूर्वाधार बनाउने जस्ता काम गर्नुपर्छ । 

ब्लकचेन र एनएफटी

पछिल्लो समय ब्लकचेन र एनएफटी प्रविधि लोकप्रिय हुँदै गइरहेका छन् । ब्लकचेन प्रविधि धेरै जसो कारोबारोको लागि प्रयोग गरिन्छ । ब्लकचेन भनेको पियर टु पियर (सहकर्मीहरु) बीचको नेटवर्क हो । ब्लकचेनभित्र विभाजित डाटाबेसहरु रहन्छन् । अर्थात् धेरैवटा कम्प्युटरहरुमा डाटाबेस धेरैवटा कपीमा अवस्थित हुन्छन् । र, तिनै कम्प्युटरहरुले पियर टु पियर नेटवर्क सिर्जना गर्दछन् ।

यसको मतलब यहाँ डाटाबेस तथा सर्भर सिंगल अथवा  सेन्ट्रलाइज्ड हुँदैन । बरू ब्लकचेन डाटाबेस मेसिनको नेटवर्कभित्र छरिएर रहेको हुन्छ । त्यस्तै हरेक डाटाबेसले त्यो नेटवर्कमा नोडको भूमिका निर्वाह गर्ने गर्दछन् । ब्लकचेनमा ट्रान्जेक्सन पब्लिक की क्रिप्टोग्राफीको प्रयोगद्वारा डिजिटल्ली साइन गरिएको हुन्छ ।

यसमा कारोबार गर्दा शुल्क पनि कम लाग्छ । यो बिटकोइन जस्तै हो । ब्लकचेनबाट पैसा पठाउन कुनै पनि बैंकको आवश्यकता पर्दैन । ब्लकचेन बिटकोइनको लागि सुरु भएको हो । ब्लकचेन ह्याक गर्न पनि गार्‍हो छ । किनभने यसलाई ह्याक गर्न एकैपटक हजारौ कम्प्युटरलाई ह्याक गर्नु पर्छ ।

ब्लकचेनमा डिजिटल लेजर राखिएको हुन्छ, जसलाई मानिसका विभिन्न कुराहरु रेकर्ड गर्न मिल्ने गरी प्रोग्राम्ड गरिएको हुन्छ । मानिसको जन्म तथा मृत्यु दर्ता, विवाह दर्ता, मेडिकल सर्टिफिकेट, इन्स्योरेन्स क्लेम, एजुकेसनल डिग्री, इम्प्लोयमेन्ट कन्ट्र्याक्टलगायत अन्य थुप्रै आवश्यक डकुमेन्ट उक्त डिजिटल लेजरमा संग्रह गर्न सकिन्छ । 

त्यस्तै एनएफटी नन फन्जिबल टोकन (एनएफटी) भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो । यसले कुनै पनि डिजिटल कुरा कसको हो भनेर बताउन सक्छ । यो एक नौलो डिजिटल सर्टिफिकेट हो, जसले कुनै फोटो, भिडियो तथा डिजिटल एसेट कसको हो भनेर प्रमाण दिने गर्दछ ।

यो एउटा स्वामित्वको टोकन हो, जसको भ्यालु रहन्छ । त्यसको मतलब, जब मानिसहरू एनएफटीमा किन्ने र बेच्ने गर्छन्, तब तीनीहरू केवल केही चीजहरूमा आफ्नो भर्चुअल स्वामित्वको खरिद र बिक्री गरिरहेका हुन्छन् ।

यो डुप्लिकेट वा स्वाप गर्न मिल्दैन् । अरु मान्छेहरुले स्क्रीनसट लिने, ट्वीट वा डिजिटल कपी निःशुल्क डाउनलोड  गर्ने जस्ता कार्य गर्न सक्छन् तर स्वामित्व अधिकारको डिलिटल कपी एनएफटीको मालिकसँग मात्रै हुने गर्दछ । 

एआई र मेसिन लर्निङ्ग 

एआई एउटा यस्तो प्रविधि हो, जसले आफै निणर्य लिन सक्छ । एआईको माध्यमबाट ग्राहकसँग अन्तरक्रिया गर्न व्यवसायमा सजिलो हुन्छ । एआई प्रविधि उद्योगमा सबैभन्दा ‘ग्रो’ भइरहेको प्रविधि हो । एआईले डाटा सुरक्षा, छिटो डिसिजन गर्न र शुद्घता सुधारमा विशेष भुमिका खेल्छ । 

कुनै पनि मेसिन, जसले निणर्य लिन सक्छ र मान्छेलाई मद्दत पुर्‍याउन सक्छ, त्यसलाई एआई भनिन्छ । पहिलेको समयमा एआई प्रणाली नियमहरुमा आधारित हुने गर्दथ्यो । तपाईले ट्रान्सलेटर प्रयोग गर्नु हुन्छ भने त्यो पनि मानिसले बनाएको नियममै आधारित छ । तर मेसिन लर्निङ भने नियममा आधारित हुँदैन् ।

मेसिन लर्निङ प्रणाली विशेषगरी गणितमा आधारित हुने र तथ्यांकीय हुने गर्दछ । यसमा मेसिनले नै निणर्य लिनका लागि डाटामा प्याटर्न खोज्छ । तथ्यांकीय मोडेल बनाउनका लागि विभिन्न अल्गोरिदम हुन्छ, यो एआईको एउटा अल्गोरिदम मात्रै हो । एआईका विभिन्न प्रकार हुन्छन् र त्यसको एउटा भाग मेसिन लर्निङ हो । 

एआइका धेरै सकारात्मक पक्षहरु रहेका छन् । तपाईको फोनदेखि कुरा सुरु गर्ने हो भने पक्कै पनि तपाईसँग एन्ड्राईड फोन वा आईओएस फोन भएको हुनुपर्छ । त्यसको प्रयोगले तपाईले मौसमको जानकारी लिनुहुन्छ भने त्यो पनि एउटा एआई प्रणाली हो । फोन, टेक्स्टमा पनि एआईकै प्रयोग हुने गर्दछ ।

एआईले हाम्रो समय बचत गर्ने र कार्यक्षमतालाई प्रभावकारी बनाउँछ । एआईलाई शिक्षा, चिकित्सा, मौसम पुर्नानुमान जस्ता कार्यका लागि प्रयोग भइरहेको छ । सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुने गर्दछ । उदाहरणका लागि ड्रोनमा क्यामेरा प्रयोग गरेर मानवलाई हानी पुर्‍याउन खोज्ने, निजी डाटा लान खोज्ने जस्ता कार्यहरु भइरहेका छन् । प्रविधिले राम्रो र नराम्रो दुवै प्रभाव पार्न सक्छ । 

भर्चुअल रियालिटी र अगुमेन्टेड रियालिटी

भर्चुअल रियालिटी र अगमेन्टेड रियालिटीमा तपाई जुन चिज देख्नुहुन्छ, त्यो चिज वास्तविक जस्तो लाग्छ । तर त्यो चिज वास्तविक हुँदैन । एआर, भीआर भनेको मिक्स्ड रियालिटी हो । यसमा केही वास्तविकता हुन्छ भने केही हुँदैन ।

भर्चुअल रियालीटीले नक्कली वातावरणको सिर्जना गर्छ भने अगमेन्टेड रियालीटीले वास्तविक वातारणलाई ओभरल्याप गरेर त्यसमा नयाँ सूचना थप्ने गर्दछ ।

अगमेन्टेड रियालिटी प्रयोग गरेर भौतिक संसारमै डिजिटल भिजुअल कुरा थप गरिन्छ । भर्चुअल रियालिटी एक सिमुलेटेट अनुभव हो, जहाँ हामीले भौतिक संसारभन्दा बेग्लै अनुभव पाउन सक्छौँ । भर्चुअल रियालिटीमा भर्चुअल रियालिटी हेडसेट प्रयोग गरिन्छ । यसमा अडिटरी र भिडियो प्रतिक्रिया दिन सकिन्छ ।

थ्रिडी प्रिन्टिङ

थ्री डाइमेन्सिनल (थ्रिडी)  प्रिन्टिङ भनेको कुनै पनि वस्तुलाई प्रिन्ट गर्दा वास्तविक जस्तो देखिन्छ । त्यसलाई हामी छुन सक्छौ । विश्वमा यस प्रविधिको प्रयोग दिनानुदिन बढिरहेको छ । यसको प्रयोग चिकित्सा, शिक्षा लगायत अन्य विभिन्न क्षेत्रमा हुन्छ । आपूर्तिको समस्या कम गर्न थ्रीडी प्रिन्टिङ प्रविधिको विकास गरिएको हो । यसले थोरै समयमा धेरै उत्पादन गर्न सक्छ र उत्पादन खर्च पनि घटाउँछ । 

रोबोट र ड्रोन

रोबोट आजको विश्वमा धेरै प्रयोग भइरहेको छ । रोबोटको सहायताबाट व्यवसायलाई छिटो, कम लागत तथा धेरै दक्षता ल्याउन सकिन्छ । रोबोट एक मानव निर्मित यन्त्र हो । रोबोटको सफ्वेयरमा जुन प्रोग्राम राखिन्छ, त्यही मात्र काम गर्न सक्छ । विश्वमा रोबोट समाचार वाचकदेखि वेटरको कामको लागि प्रयोग भएका छन् ।

साउदी अरबले सोफिया रोबोटको लागि नागरिकता समेत प्रदान गरेको छ । रोबोट हिड्न सक्छ, बोल्न सक्छ, लेन्स जस्तो आखाँले स्क्यान गरेर हेर्न सक्छ । रोबोटले कुनैपनी काम लगातार गर्न सक्ने भएकाले पनि धेरै क्षेत्रमा यसको प्रयोग बढेको छ । त्यस्तै अर्को प्रविधि भनेको ‘ड्रोन’ हो ।

ड्रोन पनि एउटा चालकरहित विमान हो, जसले मानिसको कामलाई सजिलो पार्छ । नेपालमा पनि औषधि पुर्‍याउने, विषादी छर्ने लगायतका काममा ड्रोनको प्रयोग भइरहेको छ । भौगलिक विकटता भएको ठाउँमा ड्रोन सबैभन्दा बढी उपयोगी हुन्छ ।
 

सम्बन्धित समाचार