कीवर्डहरू -

‘मिनी बैंक’ बन्दै आईएमई पे, एटीएम कार्डदेखि ब्याजसम्मको सुविधा 

‘मिनी बैंक’ बन्दै आईएमई पे, एटीएम कार्डदेखि ब्याजसम्मको सुविधा 

५ वर्ष अघि स्थापना भएको नेपालको लोकप्रिय डिजिटल वालेट आईएमई पे यतिबेला आफ्नो दायरा फराकिलो बनाउने चरणमा छ ।

यसअघि नै रिचार्ज, बिल भुक्तानी लगायतका विभिन्न डिजिटल भुक्तानी सेवा दिइरहेको आईएमई पेले अब भने धेरै नयाँ सुविधा थप गर्दैछ ।

केही समयपछि आईएमई पेमा ऋण लिन सकिने, बैंकमा खाता खोल्न सकिने, डिम्याट खाता खोल्न सकिने, टीएमएस खाता खोल्न सकिने लगायतका सुविधा आउँदै छन् ।

विशेष गरी बैंकको पहुँचमा नभएका ग्राहकलाई डिजिटल वालेटबाटै बैंकिङ सुविधा प्रदान गर्ने गरी आईएमई पेले ‘मिनी बैंक’को अवधारणामा काम गरिरहेको छ ।

मिनी बैंकको अवधारणा अन्तर्गत बैंकको पहुँच नभएका ग्राहकलाई वित्तिय लगायत बैंकिङ सुविधा दिने योजनाका साथ काम गरिरहेको आईएमई पेका निमित्त प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले बताए ।

‘आईएमई पेको अहिलेको भिजन भनेको बैंकको पहुँचमा नभएका ग्राहकलाई वित्तिय र बैंकिङ सेवा दिने हो,’ उनले अगाडि भने, ‘उक्त भिजन अन्तर्गत एपबाटै धेरैभन्दा धेरै बैंकिङ सुविधा दिने तयारी छ ।’

आईएमई पे नेपालको अग्रणी डिजिटल वालेट सेवा प्रदायक हो । ३० लाख बढी डाउनलोड भएको आईएमई पेका मासिक ३ लाख सक्रिय प्रयोगकर्ता छन् ।

कोरोना महामारीपछि डिजिटल कारोबार गर्ने प्रयोग गर्ने प्रयोगकर्ताको संख्या पनि बढेको छ । यसको लाभ आईएमई पेले पनि पाएको छ ।

‘कोरोना महामारी अघि पनि आईएमई पेको अवस्था राम्रो थियो । नेपालको अग्रणी वालेटमा पर्थ्यो,’ भट्टराई भन्छन्, ‘कोरोना महामारीपछि आईएमई पे अझै बलियो भएको छ । ग्राहक पनि बढेका छन् । कारोबार पनि बढेको छ ।’

\"\"

निमित्त सीईओ भट्टराई


प्रयोगकर्ताको डेटा सुरक्षाका लागि निरन्तर अनुगमन गरिरहेको कम्पनीको भनाइ छ । ‘हामीले ग्राहकको डेटा सुरक्षामा ध्यान दिएका छौं । सिस्टम लगातार अनुगमन गरिरहेका हुन्छौं,’ उनले भने, ‘समय समयमा बाहिरबाट पनि सुरक्षा अडिट गराइरहेका छौं । आईएमई पे आफैमा पीसीआई डीएसएस प्रमाणित संस्था हो ।’

अब केही समयपछि आईएमई पेबाट ५ लाखसम्म ऋण लिन सकिने छ । राष्ट्र बैंकले करिब १ वर्ष अगाडि विद्युतीय कर्जासम्बन्धि मार्ग निर्देशन जारी गर्दै ५ लाखसम्म अनलाइनबाटै ऋण लिन सक्ने व्यवस्था गरेको थियो । उक्त नीति अन्तर्गत नै रहेर एपबाटै ऋण प्रदान गर्ने भट्टराईले जानकारी दिए ।

बैंक तथा वित्तिय संस्थामा तलवी खाता खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेको ग्राहकको हकमा अधिकतम ५ लाख र अन्य ग्राहकको हकम अधिकतम २ लाख रूपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध हुनेछ ।

यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । साथै कर्जा प्रदान गर्दा/फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने छ ।

आईएमई पेका एजेन्टका लागि आउँदो डिसेम्बरमा यो सेवा सुरू हुनेछ । सुरूमा एजेन्टका लागि ऋण लिन सक्ने सेवा सुरू हुने त्यसपछि अन्य ग्राहकमा विस्तार गर्ने योजना रहेको उनी बताउँछन् ।

यसका साथै विद्युतीय सामग्री खरिदका लागि पनि प्रयोगकर्तालाई फाइनान्सिङ सुविधा पनि दिने तयारी गरेको छ । जनवरी/फ्रेबुअरीमा फाइनान्सिङ सुविधा सुरू हुनेछ ।

आईएमईको पेको अर्को सुविधा भनेको वालेटमा राखेको पैसामा ब्याज दिने हो । ब्याज दिने नेपालको एक मात्र वालेट हो ‘आईएमई पे’ । आईएमई पेले हाल ७.१३ प्रतिशत ब्याज दिदै आएको छ ।

प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा १ हजार रूपैयाँ राखेपछि अकाउन्ट सुपरवालेटमा रूपान्तरण हुनेछ । त्यसपछि ब्याज आउन सुरू गर्नेछ ।

यस्तै आईएमई पेले प्रयोगकर्तालाई अहिले निःशुल्क भिसा कार्ड समेत प्रदान गर्दै आएको छ । बैंकले प्रदान गर्दै आएको एटीएम कार्ड बिना कुनै झन्झट आईएमई पेले एक केही समयमै दिन्छ ।

आईएमई पेको भौतिक भिसा कार्ड भनेको एटिएम कार्ड जस्तै हो । भिसा कार्डबाट कारोबार गर्न आईएमई पे वालेटमा पैसा भने हुनुपर्नेछ । उक्त भिसा कार्डमार्फत अनलाइन कारोबार, पोस मेसिन र एटिएमबाट पैसा झिक्न सकिने छ ।

नेपालमा अझै पनि धेरै जनाले क्युआरबाट वा मोबाइलबाट कारोबार गर्न जान्दैनन् । विशेष गरी अनलाइनमा कारोबार गर्न नजान्ने व्यक्तिहरुलाई लक्षित गर्दै भिसा कार्ड ल्याएको उनले बताए ।

यसका साथै आईएमई पेले भर्चुअल भिसा कार्ड समेत प्रदान गर्दै आएको छ । भर्चुअल कार्डबाट भने नेपालमा मात्रै अनलाइन भुक्तानी गर्न सकिन्छ ।

आईएमई पेले इन्स्योरेन्स प्रिमियम तिर्ने मात्रै होइन्, पोलिसी समेत खरिद गर्न सेवा सुरू गरेको छ । बीमा पोलिसी किन्न इन्स्योरेन्स  रेमिट्यान्स वालेटमा ल्याउन सकिन्छ ।

हाल आईएमई जनरल इन्स्योरेन्सको बीमा पोलिसी एपबाट किन्न सकिन्छ । लाइफ इन्स्योरेन्सको बीमा पोलिसी पनि छिट्टै आउने भट्टराईले जानकारी दिए । पोलिसी किन्ने सुविधा ल्याउन अन्य बीमा कम्पनीसँग सहकार्य गर्ने तयारी छ ।

\"\"

नेपालमा पछिल्लो समय हरेक क्षेत्र डिजिटाइजेसन हुने लहरमा छन् । अरू भन्दा वित्तिय क्षेत्र अझै बढी डिजिटाइज भएको छ । नेपालमा डिजिटल भुक्तानीको बजार बढ्दो रहेको उनको धारणा छ ।

‘नेपालमा अझै पनि धेरै क्षेत्र डिजिटलाइज हुन बाँकी छ,’ उनले भने, ‘राष्ट्रिय परिचयपत्रलाई छिटो भन्दा छिटो वितरण, केन्द्रिय केवाईसी स्थापना गर्न र डिजिटल हस्ताक्षरलाई लागु भए डिजिटाइजेसन तीब्र गतिमा बढ्ने छ ।’

यसका साथै आईएमई पेले यो वर्ष विद्यालय र कलेजमा डिजिटल प्लेटफर्म कसरी सुरक्षित प्रयोग गर्ने बारे जनचेताना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

विद्यालय र कलेजका साथै स्थानीय तहसँग पनि मिलेर साक्षरताका कार्यक्रम गर्न लागेको उनले जानकारी दिए ।