कीवर्डहरू -

यस्ता छन् नेपाली डिजिटल लर्निङ प्लेटफर्म

यस्ता छन् नेपाली डिजिटल लर्निङ प्लेटफर्म

प्रविधिको विकासँगै अहिले एक क्लिकमै विश्वस्तरीय शिक्षा लिन सकिन्छ । विश्वका लोकप्रिय कोर्षहरू हामी घरबाटै अध्ययन गर्न सक्छौं । यो सहजता प्रविधिको देन हो ।

एडटेक बजारमा हरेक वर्ष बढीरहेको छ । पछिल्लो समय नेपालमा पनि डिजिटल लर्निङको प्रयोग बढ्दै गएको छ । कोरोना महामारीपछि झन यसको आवश्यकता बढेर गएको छ ।

शिक्षामा प्रविधिको प्रयोग बढ्न थालेपछि नयाँ नयाँ स्टार्टअप आउन थालेका छन् , जसको असर नेपालमा पनि देख्न सकिन्छ । सरकारले पनि ई-लर्निङ प्लेटफर्म बनाएको छ ।

नेपाली बजारमा अहिले विभिन्न डिजिटल लर्निङ प्लेटफर्म बजारमा उपलब्ध छन् । डिजिटल लर्निङ डेको अवसरमा आज हामी तपाईलाई नेपालमा सञ्चालित निजी क्षेत्र र सरकारी क्षेत्रका केही डिजिटल लर्निङ प्लेटफर्म बारे जानकारी दिदैछौं ।

मिदास

मिदास ई-क्लास नेपालको  एउटा डिजिटल एजुकेशन प्रदान गर्ने  कम्पनी हो । यसमा नर्सरी देखि  १० कक्षासम्मका पाठ्यक्रमहरू रहेका  छन् ।  यसमा पाठ्यक्रममा आधारित कोर्ष तयार पारिएको छ ।

मिदासबाट विद्यार्थीले भिडियो  हेर्दै सिक्न सक्छन् । मिडास ई-क्लासको  मोबाइल एप पनि उपलब्ध रहेको छ ।

निमा एकेडेमी

निमा एकेडेमीमा १  कक्षा देखि १२ कक्षाकासम्मका कोर्षहरू उपलब्ध छन् । निमा एकेडेमीको अन डिमाण्ड भिडियो, थ्रीडी एन्ड एनिमेसन, गेम, टेक्स्टमा आधारित पाठ्यक्रम अनुसार बनाइएको छ ।

निमा  एकेडेमीले विद्यालय र विद्यार्थीहरूलाई  भिडियो, टेक्स्ट, पिडिएफ तथा विभिन्न  रिसोर्स कन्टेन्टहरू दिँदै आएको  छ । निमा एकेडेमीले विद्यार्थीलाई स्टिम कोर्ष ‘जुनियर मेगामाइन्ड’, ई-बुक, बच्चाका लागि कथा बुक पनि उपलब्ध गराउँदै आएको छ ।

ई-पुस्तकालय

यो एउटा निःशुल्क तथा खुल्ला  डिजिटल लाइब्रेरी हो । ई-पुस्तकालयबाट  पढ्न, सुन्न, हेर्न तथा अभ्यास गर्न  सकिन्छ । यसमा एसईईको सहयोगी  सामग्रीहरू पनि रहेको छ । यसैगरी धेरै  पुस्तकहरू यसमार्फत बढ्न सकिन्छ ।

बालबालिकाका लागि आवश्यक शैक्षिक  सामग्रीहरू पनि यसमा उपलब्ध छन् । ई-पुस्तकालयमा ६८५२ पुस्तक संग्रह, २३१९  अडियो संग्रह तथा ५६४ भिडियो संग्रह  शैक्षिक सामग्रीहरू उपलब्ध छन् । यसमा  पाठ्यक्रममा आधारित अन्तरक्रियात्मक ई- पाठ क्रियाकलाप समेत समावेश गरिएको  छ ।

हाल ई-पुस्तकालयमा नेपाली अंग्रेजी  भाषाहरूको साथै नेपालभित्र बोलिने अन्य  राष्ट्रिय भाषाका सामग्रीहरू समेत राखिएको छ । ई-पुस्तकालयको एन्ड्रोइड  एप डाउनलोड गरेर समेत अध्ययन गर्न  सकिन्छ । ई-पुस्तकालयमा साहित्य  कला, विषयगत सामग्री, शिक्षण सामग्री,  अन्य शिक्षामूलक सामग्री, पत्रपत्रिकाहरू  अध्ययन गर्न सकिनेछ ।

कुल ल्याब्स

कुल ल्याब्स पनि डिजिटल  लर्निङको एउटा माध्यम हो । कुल  ल्याब्समा कक्षा ६ देखि १२ कक्षा सम्मका  शैक्षिक सामग्रीहरूका साथै नोट, भिडियो  तथा गेमहरूको व्यवस्था पनि रहेको छ ।

सन् २०१२  देखि नेपालमा यसले सेवा  दिइरहेको छ । यसमा सबै  सामग्रीहरू निःशुल्क  उपलब्ध रहेका छन् ।

डियरवाक लर्निङ सेन्टर

डियरवाक लर्निङ सेन्टरमा कक्षा ४  देखि कक्षा १२ सम्मका पाठ्यक्रमहरू  राखिएको छ । यसबाट कक्षा ४ देखि  कक्षा १२ सम्मका विभिन्न पाठ्यक्रमहरू  भिडियोको माध्यमबाट निःशुल्क अध्ययन  गर्न सकिन्छ ।

मोबाइल एपबाट समेत  अध्ययनको सुविधा पाउन सकिनेछ । डियरवाक लर्निङ सेन्टरमा उपलब्ध कन्टेन्ट पाठ्यक्रम विकास केन्द्र अनुसार तयार पारिएको छ ।

सीईएचआरडी ई-लर्निङ पोर्टल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा मानव स्रोत तथा विकास केन्द्रले सञ्चालन गरिरहेको छ  । विद्यार्थीको लागि उपयोगी ई-लर्निङ पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका विद्यालयमा पढाइ हुने सामग्रीलाई समावेश गरिएको छ ।

साथै यस ई-लर्निङ पोर्टलमा कथा संग्रह पनि समावेश गरिएको छ, जसबाट कथा पढ्न र सुन्न सकिनेछ । यस ई-लर्निङ पोर्टलमा गएर आफ्नो कक्षा तथा विषय छनौट गरी विद्यार्थीले पढ्न सक्नेछन् । यसबाट विद्यार्थीहरूले श्रव्य दृश्य सामग्री मार्फत सजिलै अध्ययन गर्न सक्नेछन् ।

रमाइलो पढाइ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ३ कक्षासम्मका विद्यार्थीको लागि ‘रमाइलो पढाइ’ नामक मोबाइल एप हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को आर्थिक सहयोगमा अडियो भिडियो सामग्री सहितको मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

यसमा कथा, कविता, भिडियो, रेडियो कार्यक्रम, रेडियो सन्देश तथा पीडीएफ फाइल लगायतका अध्ययन सामग्रीहरू उपलब्ध रहेका छन् । कथा र कविताहरू अडियो तथा पीडिएफ दुवै माध्यममा उपलब्ध रहेका छन् । त्यस्तै रेडियो कार्यक्रम अन्तर्गत शिक्षकलाई सहयोगी उपाय, कथा तथा नाटक जस्ता सामग्री उपलब्ध रहेका छन् ।

यस एपभित्रका विषयवस्तु र सामग्रीहरू शिक्षा, विज्ञान तथाप्र विधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा तयार पारिएको हो ।

मेरो शिक्षा

मेरो शिक्षा पर्सनलाइज्ड डिजिटल लर्निङ एप हो । यसमा नवीन तथा अन्तर्क्रियात्मक अध्ययन र अभ्यास सामग्री, निःशुल्क भिडियो लाइब्रेरी र डिजिटल कन्टेन्ट राखिएको छ ।

शैक्षिक अनुभवलाई उत्कृष्ट र सजिलो बनाउन मेरो शिक्षा बजारमा ल्याएको कम्पनीले जनाएको छ । मेरो शिक्षामा ५० हजार बढी विद्यार्थी जोडिएका छन् । मेरो शिक्षामा कक्षा ५ देखि कक्षा १२ सम्मको शैक्षिक सामग्री राखिएको छ ।

एम्बिसन गुरू

एम्बिसन गुरू एआईमा आधारित अनलाइन लर्निङ प्लेटफर्म हो । एम्बिसन गुरूले नेपालमा प्लस टु साईन्स पढेका विद्यार्थीलाई केन्द्रित गरेर काम गरिरहेको छ ।

एम्बिसन गुरूमा हाल एकीकृत प्रवेश परीक्षा, कक्षा १२ को परीक्षा, प्लस टु ब्रिज कोर्ष, नर्सिङ लाइसेन्स परीक्षा, बीबीएस पहिलो वर्षको अकाउन्ट र बिजनेस स्ट्याटिक्स लगायतका कन्टेन्ट राखिएको छ । यसमा मक टेस्टको समेत सुविधा रहेको छ ।

माई सेकेन्ड टिचर

माइ सेकेण्ड टिचरमा भएका कोर्ष पाठ्यक्रम विकास केन्द्र (सिडिसी) को कोर्षअनुसार शैक्षिक सामग्री डिजाइन भइरहेका छन् ।

यसमा प्रयोग भएको भाषा पनि बोलिचालीको छ । सबै विद्यार्थीले बुझ्न सकुन् भनेर अंग्रेजी र नेपाली भाषा दुवै मिसाएर कोर्ष डिजाइन गरिएको छ ।

यसमा अंग्रेजी, गणित, विज्ञान र अर्थशास्त्र विषयको कोर्ष उपलब्ध छन् भने ११ र १२ को कोर्ष पनि राखिएको छ ।