कीवर्डहरू -

नेपालमा पोष्टग्रे एसक्युएल कम्युनिटी विकास गर्न खोज्दै छौः बालकृष्ण बाल (अन्तर्वाता)

नेपालमा पोष्टग्रे एसक्युएल कम्युनिटी विकास गर्न खोज्दै छौः बालकृष्ण बाल (अन्तर्वाता)

आउँदो वैशाख २८ र २९ गते अर्थात मे ११ र १२ तारिखमा धुलिखेलको काठमाडौं विश्वविद्यालयमा पोष्टग्रे कन्फेरेन्स आयोजना हुँदैछ ।

सन् २०१८ मा पहिलो पटक नेपालमा आयोजना भएको कन्फेरेन्स करिब ५ वर्ष पुनः हुँदैछ । कन्फेरेन्स अगाडि पोष्टग्रे एसक्युएल सम्बन्धि तालिम पनि आयोजना हुने बताइएको छ ।

यसै सन्दर्भमा काठमाडौं विश्विद्यालयका असिस्टेन्ट प्रोफेसर तथा कन्फेरेन्सका संयोजक डा. बालकृष्ण बाल सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको छोटो कुराकानीको सम्पादित अंशः


पोष्टग्रे कन्फेरेन्स के हो ?

नेपाल पोष्टग्रे एसक्युएल युजर ग्रुपले पोष्टग्रे कन्फेरेन्स आयोजना गर्दैछ । पोष्टग्रे कन्फेरेन्स भनेको पोष्टग्रे एसक्युएल ओपन सोर्स डेटाबेस प्लेटफर्म सम्बन्धि कार्यक्रम हो ।

नेपालमा दोस्रोपटक कन्फेरेन्स हुँदैछ । यसअघि सन् २०१८ मा पहिलो पटक गरेका थियौं । त्यसपछि कोरोना महामारीले गर्दा केही ग्याप भएको थियो । यस पटक ८-९ जना अन्तर्राष्ट्रिय वक्ता आउँदै हुनुहुन्छ ।

कन्फेरेन्समा उद्योग, शैक्षिक, संस्था सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । आगामी मे ९ र १० मा तालिम आयोजना हुनेछ ।

तालिमको शुल्क १० हजार नेपाली रूपैयाँ निर्धारण गरिएको छ । त्यससैगरी मे ११ र १२ मा काठमाडौं विश्वविद्यालय धुलिखेलमा मुख्य कन्फेरेन्स हुनेछ ।

प्रोष्टग्रे एसक्युएल भनेको के हो ?

डेटा स्टोर गर्ने, रिट्राइभ गर्ने रोबोष्ट प्लेटफर्म हो । पछिल्लो समय नेपालको हकमा प्रोष्टग्रे एसक्युएल जीआईएस एप्लिकेसनमा बढी प्रयोग भएको पाइन्छ ।

कन्फेरेन्सको प्रि-ईभेन्टको रूपमा तालिम पनि आयोजना गर्दै हुनुहुन्छ । तर त्यसको शूल्क महंगो भएन र ?

तालिमको शुल्क झट्ट हेर्दा अलि धेरै जस्तो देखिन्छ । १० हजार शुल्क किट, तालिम सामग्री र अकोमोडेसन सबै गरेर हो । त्यसमाथि विद्यार्थीहरूलाई २ हजार छुट दिएका छौं ।

झट्ट सुन्दा महंगो देखिए पनि सुविधा अनुसार शुल्क न्योचित नै छ । ट्रेनिङमा हामी आधारभूतदेखि एडभान्ससम्म सिकाउँछौं । अनुभवी व्यक्तिले प्रशिक्षण दिनु हुनेछ । तालिममा सहभागीले प्रमाणपत्र पनि पाउनु हुनेछ ।

कन्फेरेन्समा कस्ता कस्ता व्यक्ति सहभागी हुन सक्छन् ?

कन्फेरेन्समा डेटाबेस एडमिनिष्ट्रेटर, डेटाबेस डेभलपर, आईटी एडमिन, सिस्टम एडमिन, सरकारी आईटी अधिकारी, विद्यार्थी लगायतका सहभागी हुन सक्छन् ।

कसरी सहभागी हुन सकिन्छ पोष्टग्रे कन्फेरेन्समा ?

कन्फेरेन्सको आफ्नै वेबसाइट छ । pgconf.org.np मा गई रजिष्ट्रेसनमा क्लिक गरी तालिम वा कन्फेरेन्स कुनमा सहभागी हुन चाहनुहुन्छ त्यसअनुसार आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।

तालिमका लागि शुल्क १० हजार रूपैयाँ तोकिएको छ भने कन्फेरेन्समा सहभागी हुन नेपालीका लागि ५ हजार रूपैयाँ शुल्क तोकिएको छ तर पहिलो १५ जनाले अर्लि बड अफरको रूपमा ४ हजार रूपैयाँ शुल्क भुक्तानी गरे पुग्ने छ । विदेशीका लागि शुल्क १०० अमेरिकी डलर तोकिएको छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

नेपालमा हामीले पोष्टग्रे एसक्युएल कम्युनिटी विकास गर्न खोजेका छौं । दोस्रो पटकसम्म कन्फेरेन्स आयोजना गर्न अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भएको छ ।

तेस्रो पटकदेखि यो हामीले नै गर्नुपर्ने जरूरी छ । पोष्टग्रेमा लाग्नु भएका र यसमा इच्छुक सबैलाई यस कम्युनिटीमा गोलबद्द हुन म आह्वान गर्दछु ।