काठमाडौं । अध्यागमन विभागले विदेशी नागरिकका लागि मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, भिसा तथा अन्य अभिलेखलाई आधिकारिक मान्यता दिने व्यवस्था अघि बढाएको छ ।
विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विदेशी पर्यटकले नेपालमा रहँदा विभिन्न सेवाका क्रममा भौतिक राहदानी तथा भिसा बोक्नुपर्ने झन्झट हटाउने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको जनाएको हो ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार होटलमा चेक–इन, सुरक्षा जाँच, मनी एक्सचेन्ज तथा आन्तरिक हवाई टिकट काट्ने क्रममा विदेशी नागरिकले भौतिक राहदानी वा भिसा साथमा नभए पनि मोबाइल एपमा रहेको डिजिटल अभिलेख देखाउन सक्नेछन् । त्यस्तो डिजिटल विवरणलाई आधिकारिक कागजातका रूपमा मान्यता दिने प्रस्ताव गरिएको उनले बताए ।
नेपाल प्रवेश गरेका विदेशी नागरिकले विभागको मोबाइल एपमा लगइन गरी आफ्नो राहदानी विवरण प्रविष्ट गरेपछि उक्त विवरण अध्यागमन विभागको केन्द्रीय सर्भरसँग जोडिनेछ । यसका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्क स्थापना गरी विदेशी नागरिकलाई एप डाउनलोड तथा प्रयोगमा सहजीकरण गर्ने तयारी भइरहेको महानिर्देशक तिवारीले जानकारी दिए ।
उनका अनुसार विपद्का समयमा विदेशी नागरिकको अवस्था पहिचान गर्न समेत यो प्रणाली उपयोगी हुनेछ । हालैको एक विपद्का क्रममा करिब एक हजार विदेशी नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएपछि विभिन्न कूटनीतिक नियोगले उनीहरूको खोजीका लागि आग्रह गरेको उनले बताए ।
तर अध्यागमनको प्रणालीमा प्रवेश तथा प्रस्थानको विवरण भएका र विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा दर्ता भई होटलमा बसेका व्यक्तिबाहेक अन्य विदेशी नागरिकको तत्कालीन अवस्थाबारे यकिन जानकारी पत्ता लगाउन कठिन हुने गरेको तिवारीले बताए ।
मोबाइल एपलाई अध्यागमनको प्रणालीसँग जोडिएपछि विपद् वा अन्य संकटका समयमा विदेशी नागरिकको अवस्थाबारे तत्काल जानकारी लिन, उनीहरू कहाँ छन् भनेर खोजी गर्न तथा आवश्यक परे उद्धार कार्यमा समेत सहज हुने विभागको अपेक्षा छ ।
आईसीटी समाचार