कीवर्डहरू -

डेढ वर्षमा तयार भएको शेयर बजार र वित्तीय ज्ञान दिने प्लेटफर्म मनि मित्र

शेयर बजारको विश्लेषण गर्छ र लगानी गर्नसम्म सिकाउँछ

डेढ वर्षमा तयार भएको शेयर बजार र वित्तीय ज्ञान दिने प्लेटफर्म मनि मित्र

पछिल्लो समय शेयर बजारमा लगानी गर्नेको जमात बढ्दो छ । कतिले अरूको लहलहमै लगानी गर्छन् भने कति आफैले जानेर बुझेर लगानी गर्छन् ।

शेयर बजार सम्बन्धि सिक्न चाहनेलाई बजारमा प्लेटफर्म त उपलब्ध छ । कुनै प्लेटफर्म जटिल छन् भने कुनै महंगा छन् । सबै सुविधा एउटै प्लेटफर्ममा उपलब्ध पनि छैनन् । यसले गर्दा सबै नेपालीले वित्तीय ज्ञान पाउन सकेका छैनन् ।

यही समस्यालाई समाधान गर्न मनि मित्र नामक प्लेटफर्म बजारमा उपलब्ध भएको छ । १ महिना अगाडि सार्वजनिक भएको मनि मित्र आइडियाप्रेनर नेपालको प्रडक्ट हो ।

सबै नेपालीलाई शेयर बजार र वित्तीय सम्बन्धि ज्ञान दिने उद्देश्यले डेढ वर्षको मिहिनेतपछि मनि मित्र तयार पारिएको मनि मित्रका संस्थापक तथा सीईओ सञ्जोग कोइरालाले बताए ।

‘मनि मित्र वित्तीय सुपर एप हो । यसमा फाइनान्स (वित्त) लाई सजिलो र सहज बनाएका छौं,’ कोइरालाले आइसिटी समाचारसँग भने, ‘वित्त पढेको वा नपढेको दुबैले बुझ्ने गरी विकास गरिएको छ ।’

त्यसो त कलाकार समेत रहेका कोइराला केही वर्षदेखि व्यवसायमा आवद्ध छन् । भारतबाट सीए अध्ययन गरेका उनी कन्टेन्ट क्रियटर समेत हुन् । सन् २०२० मा उनले वित्तीय ज्ञान दिने उद्देश्यले आइडियाप्रेनर नेपाल नामक युट्युब च्यानल सुरू गरेका थिए ।

युवाहरूलाई लक्षित गर्दै वित्तीय सम्बन्धि भिडियो बनाइरहेका थिए । छोटो समयमै धेरै रोजाइमा समेत च्यानल परेको थियो । भिडियो बनाउँदै जाँदा कमेन्टमा दर्शकले भोगेका अनेकौं समस्या आउन थाले । त्यसपछि कोइरालालाई लाग्न थाल्यो, ‘नेपालमा फाइनान्स सम्बन्धि धेरैलाई ज्ञान रहेनछ ।‘ अनि समस्या समाधान गर्न तर्फ अग्रसर भए । भनिन्छ नि समस्या र समाधानको बिचमा व्यवसाय हुन्छ । त्यसैको प्रतिफल हो, मनि मित्र

\"\"

संस्थापकः सञ्जोग कोइराला

युट्युबको भिडियोमा आएको कमेन्टबाट मनि मित्रको आइडिया आएको कोइराला बताउँछन् । कमेन्टबाट फुरेको आइडिया अहिले लाखौं नेपालीको सारथी हुने वाला छ । शेयर बजारमा मान्छेहरू लगानी गर्न इच्छुक भएपनि उचित ज्ञानको अभाव छ ।

बजारमा अहिले भएका सबै सफ्टवेयर अलि जटिल भएको उनको भनाइ छ । उनी अगाडि भन्छन्, ‘अहिले भएका सफ्टवेयर अलि जटिल छन् । सबै डेटा ड्रिभन छ । फाइनान्स थाहा नभएको मान्छे डेटा हेर्दा तिरिमिरी हुन्छ ।’

तर मनि मित्र सबैले डेटा बुझ्ने गरी तयार पारिएको छ । डेटालाई चार्ट र ग्राफिक्समा पनि देखाइएको छ । मनि मित्रमा शेयर बजारको विश्लेषण, ब्रोकर चिरफार, व्यक्तिगत वित्तीय परामर्श, कोर्ष, लेख लगायतका सुविधा छन् । अर्को कुरा मनि मित्रको सबैभन्दा सबल पक्ष युजर इन्टरफेस (युआई) हो । प्रयोग गर्न लालाहित हुने गरी आकर्षक रूपमा युआई डिजाइन गरिएको छ ।

मनि मित्रमा शेयर बजारको दैनिक डेटा, प्राविधिक विश्लेषण, वित्तीय व्यवस्थापन र सल्लाह, अलर्ट, न्युजलेटर, प्रतिवेदन, बोक्रर कमिसन, ब्रोकरको शेयर खरिद बिक्री, होल्ड लगायतका सबै सुविधा उपलब्ध छन् ।

मनि मित्रमा के के छन् सुविधा ?

मनि मित्र सपिङ मल जस्तै हो । सपिङ मलमा जसरी आफुलाई आवश्यक पर्ने सामानहरू खरिद गर्न सकिन्छ, त्यसैगरी मनि मित्र वित्त सम्बन्धि सबै जानकारी पाइन्छ । त्यसैले एउटै प्लेटफर्ममा धेरै सुविधा भएकाले यसलाई ‘सुपर एप’ भनिएको हो ।

मनि मित्रमा हाल गुरूमन्त्र, ब्रोकर चिरफार, वृद्धि, आइडियाप्रेनर ज्ञान र आइडियाप्रेनर कोर्ष गरी ५ प्रकारका सुविधा उपलब्ध छन् । आफ्नो आवश्यकता अनुसार मनि मित्रका सुविधा प्रयोग गर्न सकिने कोइराला बताउँछन् ।

शेयर बजारको प्राविधिक विश्लेषण गरेर लगानी गर्न सघाउने काम गुरूमन्त्रको हो । गुरूमन्त्रमा १६ वटा स्टक बास्टेक पनि राखिएको छ ।

विश्लेषण नगरेरै क्षेत्र अनुसारका राम्रा कम्पनीमा लगानी गर्ने चाहनेलाई उपयोगी हुने कोइराला बताउँछन् । गुरूमन्त्रले कम्पनीका सबै विवरण अध्ययन गरेर बास्टेक बनाएको छ ।

गुरूमन्त्र अन्तर्गत दैनिक डेटा, पोर्टफोलियो, स्टक बास्टेक, लाइभ मार्केट, आईपीओको जानकारी, अलर्ट, कारोबारको विवरण, म्युचुअल फन्ड, ट्रेडिङ चार्ट, एउटै क्षेत्रका फरक कम्पनीबीच तुलना लगायतका सुविधा छन् ।

अलर्ट सुविधामा कुनै पनि कम्पनीको आफुले चाहेको मूल्य (घट/बढ) हुँदा तपाईलाई जानकारी आउने छ । अलर्ट इमेल, एसएमएस वा नोटिफिकेसनमा आउने बनाउन सकिने छ ।

यस्तै ब्रोकर सम्बन्धि जानकारी दिने काम ब्रोकर चिरफारले गर्छ । ब्रोकर चिरफारले ब्रोकरको तुलनादेखि छनौट गर्नसम्म सिकाउँछ ।

\"\"

त्यस्तै मनि मित्र भएको अर्को सुविधा हो, वृद्धि । वृद्धि तपाईको व्यक्तिगत फाइनान्स म्यानेजर हो । वृद्धिले खर्चको ट्याक गर्न सकिनुका साथै गाडी, घर, छुट्टी, सेवा निवृत्त लगायतका लागि बजेटको योजना बनाउन मद्दत गर्छ । समग्रमा तपाईको वित्तीय व्यवस्थापनमा वृद्धिले ठूलो भूमिका खेल्नेछ ।

यदी तपाई फाइनान्सको क्षेत्रमा प्रवेश गर्न चाहनुहुन्छ । त्यसकारण सुरूमा फाइनान्स सम्बन्धि ज्ञान बटुल्न चाहनुहुन्छ भने तपाईका लागि उपयोगी हुन सक्छ, आइडियाप्रेनर कोर्ष र ज्ञान । यसमा वित्त र लगानी सम्बन्धि कोर्ष, लेख र अन्य जानकारीमूलक ज्ञान पाउन सक्नुहुन्छ ।

अहिले ५ वटा सेवा उपलब्ध भएको मनि मित्रमा थप २ वटा नयाँ सेवा समेत आउँदै छन् । केही समययता कृतिम बौद्धिकता (एआई) चर्चामा छ । मनि मित्रले पनि एआई सुविधा थप गर्ने तयारी गरेको छ । कोइरालाका अनुसार केही समयपछि मनि मित्रमा एआई सुविधा आउने छ, अहिले काम भइरहेको छ । एआईले विश्लेषनलाई अझै सजिलो बनाउने छ ।

कसरी गर्ने प्रयोग ?

मनि मित्र मोबाइल एप (एन्ड्रोइड र आईओएस) र वेबसाइट दुबै माध्यमबाट प्रयोग गर्न सकिन्छ । दुबै माध्यमबाट प्रयोग गर्न फरक फरक अकाउन्ट बनाइराख्न पर्दैन् । एउटै युजेर नेम र पासवर्डले एप पनि चलाउन सकिन्छ र वेबसाइट पनि चलाउन सकिन्छ ।

मनि मित्र निःशुल्क र सःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ । निःशुल्क रूपमा सिमित सुविधा मात्रै उपलब्ध छन् । सःशुल्कमा पनि दुईवटा प्लान छन् । पहिलो बुल र दोस्रो शार्क ।

बुलको शुल्क प्रतिमहिना २९९ रूपैयाँ तोकिएको छ भने शार्कको प्रतिमहिना ४९९ रूपैयाँ तोकिएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले हाल प्लान खरिदमा १५ प्रतिशत छुट दिइरहेको छ ।

सुरूमा तपाई सेवा परीक्षण गर्न चाहनुहुन्छ भने मनि मित्रले ३ दिनको ट्रायल सुविधा समेत दिएको छ, जसमा सबै प्रिमियम सुविधा पाइन्छ । त्यसपछि ३ दिनपछि स्वतः निःशुल्क प्लानमा जानेछ ।

सःशुल्क प्लान अन्तर्गत बुल सब्सक्रिप्सनकर्ताले केही सुविधा र शार्क सब्सक्रिप्सनकर्ताले सबै सुविधा उपभोग गर्न पाउने छन् ।

मनि मित्रमा उपलब्ध सबै सुविधाका लागि फरक फरक प्लान लिइरहनु नपर्ने कोइराला बताउँछन् । ‘मनि मित्रमा हाल ५ वटा सुविधा छन् । प्रत्येक सुविधाका लागि फरक फरक सब्सक्रिप्सन लिनु पर्दैन्,’ उनी भन्छन्, ‘बुल प्रयोगकर्ताले ५ वटा सेवाका सिमित सुविधा प्रयोग गर्न पाउँछन् भने शार्क प्रयोगकर्ताले सबै फिचर प्रयोग गर्न पाउँछन् ।’

निःशुल्क रूपमा ३ बजेपछिको शेयरको मूल्य, आधारभूत कम्पनी सर्च, २ वटा स्टक बास्केट, वाचस्टक, पोर्टफोलियो, क्यालकुलेटर जस्ता सुविधा पाउने छन् ।

बुल सब्सक्रिप्सन लिएकाले नेप्सेको लाइभ अपडेट, कम्पनी सर्च, स्क्रिनर, १२ वटा स्टक बास्केट, पेपर ट्रेडिङ, प्रतिमहिना १५ एसएमएस, प्रतिमहिना १०० पपअप, ३० वटासम्म स्टक वाचलिष्ट, पोर्टफोलियो, १०० अलर्ट पपअप, ब्रोकर चिरफारको सबै सुविधा, वृद्धि र ज्ञानको सबै सुविधा पाउने छन् ।

\"\"

मनि मित्र १ महिनाको अवधिमा १७ हजार बढी डाउनलोड गरेका छन । १५ हजार बढीले सब्सक्रिप्सन लिएका छन् । एप वा वेबबाट जोबाट चलाउन सकिन्छ । सुरू सुरूमा प्रणालीमा बगहरू देखिएका थिए तर अहिले स्टेबल भएको छ । पछिल्लो समय प्रयोगकर्ताको प्रतिक्रिया पनि सकारात्मक आएको उनले बताए ।

‘सुरू सुरूमा सिस्टममा बगहरू देखिएका थिए । बगहरूलाई समाधान गरिसकेका छौं,’ उनले भने, ‘छोटो समयै धेरैले प्रयोग गर्न थाल्नु भएको छ । प्रयोगकर्ताको प्रतिक्रिया उत्साहजनक छ ।’

साइबर सुरूक्षाका चुनौती बढ्दै जाँदा मनि मित्रले ग्राहकको डेटा सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ । बाह्य अडिट र भीएपिटी गराइरहेको छ । मनि मित्रले आईएसओ सर्टफिकेटका लागि आवेदन दिएको छ । छिट्टै आईएसओ प्रमाणपत्र आउनेमा कोइराला विश्वस्त देखिन्छन् ।

मनि मित्रमा अहिले १८ जनाको टिम छ, जो मनि मित्रलाई सफल बनाउन रातदिन लागिरहेको छ । नेपालमा स्टार्टअप गर्न अनेकौं चुनौती तथा कठिनाइ भएपनि आगामी दिनमा भ्यालु एड गर्न सक्ने र वित्तीय क्षेत्रलाई सहज बनाउने प्रडक्ट ल्याउने कोइरालाको भनाइ छ ।