कीवर्डहरू -

प्रदेश प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउछु : मुख्यमन्त्री कार्की

प्रदेश प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउछु : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका प्रदेश प्रहरीलाई प्रविधि मैत्री बनाउने बताएका छन् ।

३४ कोठे तीनतले नवनिर्मित वडा प्रहरी कार्यालय विराटनगर–७ स्थित भवनको उद्घाटन गर्दै उनले  शान्ति सुरक्षा अनिवार्य राख्‍न प्रविधिमैत्री प्रहरी हुनु पर्ने बताएका हुन् । उक्त भवन भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालयद्वारा रु चार करोड चार लाख ६३ हजार हजार आठ सय ४२ को लागतमा बनेको हो ।

उनले भने, 'सुरक्षालगायत महत्त्वपूर्ण कार्यका लागि नेपाली जनताले खोज्ने पहिलो साथी भनेको प्रहरी हो। यसलाई सुदुढ बनाउने कार्यमा थप प्रविधिमैत्री पनि हुनुपर्छ प्रहरी।'

मुख्यमन्त्री कार्कीले चाँडै प्रहरी समायोजन कानूनको व्यवस्थापनपछि प्रदेश प्रहरीलाई कानून बनाएर काम सञ्चालन गर्ने आशामा बसिरहेको जानकारी दिए ।

उनले प्रदेश सरकारले प्रहरीका ५१ भन्दा वढी नयाँ भवनबाहेक अन्य भौतिक संरचना निर्माण गरेको जानकारी दिँदै प्रहरीका ब्यारेक, महिला ड्रेस चेन्जिङ रुम, स्तनपान कक्षहरू, सेवाग्राही बस्ने स्थान, ३० थान चार चक्के र छ सय मोटर साइकल दिएको बताए ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले गरिब, पिछडिएका र सीमान्तकृत क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दीपक पाखेरेल र सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्रले नवनिर्मित भवनको माध्यमले नागरिकको सुरक्षामा गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे ।