काठमाडौं । कुनै समय कम्प्युटर भनेको नेपालमा केही सीमित कार्यालय, विदेशी संस्था वा प्रविधिमा विशेष रुचि राख्ने मानिसहरूको पहुँचमा मात्र रहेको वस्तु थियो । कम्प्युटरमा नेपाली टाइप गर्नु त झन् कल्पनाभन्दा बाहिरको कुरा थियो । कम्प्युटरको स्क्रिनमा नेपाली अक्षर देखाउने, त्यसलाई टाइप गर्ने र प्रिन्ट निकाल्ने कुरा आफैंमा ठूलो प्राविधिक चुनौती थियो ।
आज हामी नेपाली भाषामै कम्प्युटर चलाउँछौं, मोबाइलमा नेपाली टाइप गर्छौं, अनुवाद गर्छौं, आवाजबाट लेख्छौं र एआईसँग नेपालीमै संवाद गर्ने दिशामा अघि बढिरहेका छौं । यो परिवर्तनको यात्रामा धेरै मानिसको योगदान छ । तीमध्ये एउटा उल्लेखनीय नाम हो, डा. एलन बैलोचन तुलाधर ।
उनको प्रविधि यात्रा केवल कम्प्युटर व्यवसाय वा सफ्टवेयर निर्माणको कथा होइन । यो एउटा यस्तो यात्राको कथा हो, जसको केन्द्रमा सुरुदेखि नै एउटा प्रश्न रह्यो; ‘कम्प्युटरलाई मानिसका लागि कसरी अर्थपूर्ण बनाउने ?’
तुलाधरका लागि प्रविधि आफैं लक्ष्य होइन । प्रविधिमार्फत समस्या समाधान गर्नु, मानिसलाई पहुँच दिनु र सम्भावनाको नयाँ ढोका खोल्नु नै उनको मूल सोच हो । यही सोचले उनलाई नेपाली भाषाको कम्प्युटिङदेखि माइक्रोसफ्ट, ग्रामीण डिजिटल पहुँच, क्लाउड कम्प्युटिङ, क्रस-बोर्डर पेमेन्ट र अहिले एआईमा आधारित पर्यटन प्रविधिसम्म पुर्याएको छ ।

कम्प्युटरमा माउस समेत नआइसकेको समय
सन् १९९२ मा अमेरिका फर्केर नेपाल आएपछि तुलाधरले कम्प्युटिङको संसारलाई नजिकबाट बुझ्ने अवसर पाए । त्यो आजको जस्तो विन्डोज, माइक्रोसफ्ट वर्ड, एक्सेल र ग्राफिकल इन्टरफेसको संसार थिएन ।
त्यतिबेला सीपीएम (CP/M) जस्ता अपरेटिङ सिस्टम, वर्डस्टार (WordStar) जस्ता वर्ड प्रोसेसिङ सफ्टवेयर र भिसिकल्क (VisiCalc) जस्ता स्प्रेडसिट प्रयोगमा थिए । कम्प्युटरमा माउस थिएन, ग्राफिकल युजर इन्टरफेस थिएन र कम्प्युटर आजको जस्तो सानो, सहज र व्यक्तिगत उपकरण पनि थिएन । तर तुलाधरले त्यही प्रारम्भिक अवस्थामै एउटा सम्भावना देखे, स्थानीय भाषामा कम्प्युटिङ ।
कम्प्युटर मानिसको जीवनमा उपयोगी बन्ने हो भने मानिसले कम्प्युटरको भाषा मात्र सिकेर पुग्दैन, कम्प्युटरले पनि मानिसको भाषा बुझ्नुपर्छ भन्ने उनको सोच थियो । त्यसैले उनको ध्यान नेपाली भाषालाई कम्प्युटरमा ल्याउनेतर्फ केन्द्रित भयो । नेपाली देवनागरी फन्टमा देखाउने, टाइप गर्ने, प्रिन्ट गर्ने र त्यसलाई प्रयोग योग्य बनाउने काम सुरु भयो ।
त्यो काम आजको जस्तो तयार प्रविधि प्रयोग गरेर गरिएको थिएन । सीमित स्रोत, कठिन प्राविधिक वातावरण र निकै सानो बजारका बीचमा स्थानीय भाषाको कम्प्युटिङको आधार तयार पार्नुपर्ने अवस्था थियो ।

‘टाइपशाला’देखि नेपाली विन्डोजसम्म
नेपालीमा कम्प्युटर चलाउने प्रयास केवल फन्ट निर्माणमा रोकिएन । मानिसले नेपाली टाइप गर्न सिक्नुपर्छ भन्ने आवश्यकता देखिएपछि ‘टाइपशाला’ जस्तो समाधान विकास गरियो । टाइपशालाको उद्देश्य नेपाली टाइपिङ सिकाउनु थियो । त्यसमा टाइपिङसँगै खेलको स्वरूप समेत जोडिएको थियो, ताकि मानिसले प्रविधि सिक्दा त्यसलाई बोझका रूपमा होइन, रुचिका रूपमा लिन सकून् ।
त्यसपछि तुलाधरको यात्रा अझ ठूलो चरणमा प्रवेश गर्यो; माइक्रोसफ्ट विन्डोज, माइक्रोसफ्ट अफिस र अन्य सफ्टवेयरलाई नेपाली भाषामा स्थानीयकरण गर्ने । पछि नेपाली विन्डोज, अफिस, स्पेल चेकर, टेक्स्ट-टु-स्पिच र स्पिच-टु-टेक्स्टजस्ता काममा उनको भूमिका जोडियो । माइक्रोसफ्टको नेपाली स्थानीयकरणसँग उनको कामको सार्वजनिक उल्लेख समेत विभिन्न स्रोतमा भेटिन्छ ।
यो कामको एउटा रोचक पक्ष थियो; माइक्रोसफ्टले नेपालका लागि यी सबै काम आफैं अघि बढाएको थिएन । तुलाधरका शब्दमा, धेरैपटक ‘नेपालका लागि चाहिन्छ’ भनेर नेपालबाटै माग, दबाब र पहल गर्नुपरेको थियो ।
मिडियालाई प्रविधिसँग जोड्ने अर्को अध्याय
एलन बैलोचन तुलाधरको प्रविधि यात्राको अर्को रोचक पाटो मिडियासँग पनि जोडिएको छ । उनी प्रविधि प्रयोग गर्ने व्यक्ति मात्रै थिएनन्, त्यसलाई बुझाउन र सार्वजनिक पहुँचमा पुर्याउन आफैं सामग्री निर्माण गर्ने काममा समेत सक्रिय थिए । कम्प्युटर र नयाँ प्रविधिबारे नेपाली भाषामा सामाग्री तयार पार्ने, त्यसलाई सामान्य पाठकले बुझ्ने शैलीमा प्रस्तुत गर्ने र प्रविधिको प्रयोगलाई विस्तार गर्ने उनको रुचिले उनलाई त्यस समयका अन्य प्राविधिक व्यक्तिभन्दा फरक बनायो ।
यही क्रममा उनले गोरखापत्रलाई समेत डिजिटल युगतर्फ अघि बढाउन सहयोग गरे । परम्परागत छापा माध्यमको कार्य प्रणालीलाई नयाँ प्रविधिसँग जोड्ने क्रममा उनको प्राविधिक ज्ञान उपयोग भयो । नेपाली भाषामा कम्प्युटिङको आधार तयार पार्ने प्रयाससँगै सञ्चार माध्यमको सामाग्री र कार्य प्रक्रियालाई डिजिटल प्रविधिसँग जोड्ने उनको भूमिका नेपालको सूचना प्रविधि र सञ्चार इतिहासबीचको एउटा महत्वपूर्ण सेतुका रूपमा देखिन्छ ।
बिल गेट्ससँगको भेट र एउटा असामान्य आग्रह
सन् १९९७ मा तुलाधरले बिल गेट्सलाई भेटे । भेटमा गेट्सले नेपालमा भइरहेको उनको कामबारे सुनेर सहयोग गर्न सक्ने कुरा राखे । तुलाधरले त्यसलाई तत्काल एउटा मागमा परिणत गरे, नेपालका लागि नेपाली भाषाको विन्डोज चाहियो ।
त्यो माग पूरा हुन तत्काल सम्भव भएन । लामो समयसम्म संवाद र प्रयास चल्यो । तर अन्ततः नेपाली भाषामा विन्डोज र माइक्रोसफ्टका अन्य उत्पादन ल्याउने दिशामा काम अघि बढ्यो ।
“बिल गेट्सले ‘म कसरी सहयोग गर्न सक्छु ?’ भनेर सोध्दा मैले भनेँ, नेपालका लागि नेपाली विन्डोज बनाइदिनुस् ।”
तुलाधरका लागि यो केवल एउटा सफ्टवेयरको स्थानीयकरण थिएन । उनको दृष्टिमा यो भाषाको अवरोध हटाएर प्रविधिलाई बढी मानिससम्म पुर्याउने काम थियो ।
उनको सोचमा कम्प्युटरको ‘लास्ट मिटर’ भनेको स्क्रिनदेखि मानिसको दिमागसम्मको दूरी हो । कम्प्युटर नेपाली भाषामा चलाउन नसक्ने मानिसका लागि अत्याधुनिक कम्प्युटर भएर पनि त्यो प्रविधि पूर्ण रूपमा पहुँच योग्य हुँदैन । त्यसैले नेपालीकरण उनको करियरको एउटा महत्वपूर्ण धागो बन्यो ।
“माइक्रोसफ्टले चाहेर मात्र नेपाली विन्डोज बनेको होइन; हामीलाई नेपालका लागि त्यो चाहिएको थियो, त्यसैले हामीले निरन्तर पहल गर्यौं ।” तुलाधार बताउँछन् ।
कम्प्युटरको भाषा मात्र होइन, कम्प्युटरको पहुँच पनि
तुलाधरको काम भाषामै सीमित रहेन । उनले ग्रामीण क्षेत्रमा कम्प्युटरको पहुँच पुर्याउने अभियानमा पनि काम गरे । अन्तर्वार्तामा उनले १०८ ग्रामीण सरकारी विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्नेदेखि देशका दर्जनौं जिल्लामा पुगेर नेपाली विन्डोज, स्पेल चेकर र कम्प्युटर प्रयोगसम्बन्धी प्रशिक्षण दिएको स्मरण गरेका छन् ।
कतिपय ठाउँमा कम्प्युटरका बाकस विद्यालयसम्म पुर्याउन विमानबाट ओर्लिएपछि घण्टौं पैदल हिँड्नुपर्थ्यो । कतै घोडा वा खच्चडको सहारा लिनुपर्थ्यो । तर ती यात्रामा उनको एउटा आग्रह भने समान थियो; कम्प्युटर विद्यालयको प्रदर्शनका लागि होइन, विद्यार्थीले प्रयोग गर्नका लागि हो ।
उनले विद्यालयका विद्यार्थीलाई कहिले काहीँ भन्ने गरेको प्रसंग पनि सुनाए, यदि कम्प्युटर प्रयोग गर्न दिइएन भने त्यसलाई ताल्चा लगाएर राख्नुको अर्थ छैन । “यी कम्प्युटर विद्यालयले देखाउनका लागि होइनन्, विद्यार्थीले प्रयोग गर्नका लागि हुन् ।” तुलाधारले विद्यार्थीहरुलाई सम्झाएको थिए ।
यसले उनको कामको मूल दर्शन देखाउँछ । प्रविधि स्थापना गर्नु मात्र पर्याप्त होइन; त्यसलाई प्रयोगमा ल्याउनु आवश्यक छ ।

‘क्याटरपिलर’लाई ‘बटरफ्लाई’ बनाउने अभियान
माइक्रोसफ्टसँगको उनको यात्रा पछि माइक्रोसफ्ट इनोभेसन सेन्टर (MIC) लगायतका विभिन्न कार्यक्रमसम्म पुग्यो । विद्यार्थी, युवा र नयाँ पुस्तालाई प्रविधिमा जोड्ने क्रममा उनले ह्याकाथन, बुटक्याम्प, विद्यार्थी कार्यक्रम, तालिम तथा नवप्रवर्तन केन्द्रित गतिविधिमा काम गरे ।
उनी यसलाई एउटा सुन्दर रूपकमा व्याख्या गर्छन्, ‘क्याटरपिलरलाई बटरफ्लाईमा परिवर्तन गर्ने ।’ अर्थात्, प्रविधिको क्षेत्रमा केही पनि नजाने वा अवसर नपाएका विद्यार्थीलाई ज्ञान, तालिम र अवसर दिएर नयाँ क्षमतामा रूपान्तरण गर्नु ।
उनीसँग काम गरेका वा उनका कार्यक्रमबाट लाभान्वित भएका धेरै विद्यार्थी अहिले आफ्नै करियरमा स्थापित भइसकेका छन् । तुलाधरका लागि उनीहरूको सफलता नै सबैभन्दा ठूलो प्रतिफल हो ।
“मैले धेरै विद्यार्थीको जीवन पूरै परिवर्तन गरेको नहुन सक्छ, तर उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सकेँ भन्ने सन्तुष्टि मलाई छ ।”
उनी भन्छन्, सबैले धन्यवाद भन्नुपर्छ वा हरेक कामको पुरस्कार आउनुपर्छ भन्ने होइन । वर्षौंअघि तालिम दिएका विद्यार्थीहरू अहिले परिवार, करियर र आफ्नै जीवनमा स्थापित भएको देख्नु नै पर्याप्त सन्तुष्टि हो ।
“मेरो करियरको मूल उद्देश्य भनेकै कम्प्युटरलाई मानिसका लागि काम गर्ने बनाउनु हो, प्रविधिलाई अझ अर्थपूर्ण बनाउनु हो ।”
अवार्डभन्दा ठूलो उनको सन्तुष्टि
उनको योगदानलाई औपचारिक रूपमा पनि सम्मान गरिएको छ । २०२५ को आईसीटी अवार्डमा उनलाई ‘पायोनियर आईसीटी अवार्ड’ प्रदान गरिएको थियो । तर तुलाधरका लागि अवार्ड नै उनको यात्राको उद्देश्य होइन ।
उनको भनाइको सार छ, काम पुरस्कारका लागि गरिएको होइन, पैसा कमाउनका लागि मात्र गरिएको होइन र अरूले ‘तपाईंले राम्रो काम गर्नुभयो’ भनून् भनेर पनि गरिएको होइन । उनको लागि महत्वपूर्ण कुरा हो, आफूले कसैको जीवनमा सकारात्मक प्रभाव पार्न सकेँ कि सकिनँ ?
सायद यही कारणले उनको करियरको धेरै हिस्सा तत्काल ठूलो आर्थिक प्रतिफल नदिने काममा बित्यो । “मैले कहिल्यै पैसालाई आफ्नो कामको मुख्य चालक बनाइन । मेरो आधारभूत आवश्यकता पूरा हुन्छ भने म त्यसैमा सन्तुष्ट छु ।” तुलाधर भन्छन् ।
नेपाली भाषाको कम्प्युटिङ, ग्रामीण विद्यालयमा कम्प्युटर, विद्यार्थी तालिम, स्थानीय प्रविधि र डिजिटल पहुँचजस्ता काम तत्काल नाफा कमाउने परियोजना थिएनन् । तर तुलाधरको दृष्टिमा प्रविधिको सामाजिक प्रभाव पनि आर्थिक प्रतिफल जत्तिकै महत्वपूर्ण थियो ।
कम्प्युटर एसोसिएसनदेखि आईटी नीतिसम्म
नेपालमा कम्प्युटर उद्योग विस्तार हुँदै गर्दा निजी क्षेत्रलाई एउटै प्लेटफर्ममा ल्याउने आवश्यकता पनि बढिरहेको थियो । तुलाधर नेपाल कम्प्युटर एसोसिएसनको प्रारम्भिक संस्थागत यात्रामा जोडिए । त्यतिबेला कम्प्युटर व्यवसायीहरूबीच समेत सहकार्यको संस्कृति बलियो थिएन ।
उनले ‘को-अपिटिसन (Co-opetition)’ को अवधारणा अघि सारे; व्यवसायमा प्रतिस्पर्धा गर्न सकिन्छ, तर उद्योगको साझा हितका लागि सहकार्य पनि आवश्यक छ । “हामीले प्रतिस्पर्धा गर्न सक्छौं, तर उद्योगको हितका लागि सहकार्य पनि गर्नुपर्छ । त्यसैले मैले ‘को-अपिटिसन’को कुरा गर्थें ।” त्यही सोचबाट कम्प्युटर व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास भयो । पछि क्यान इन्फोटेक जस्ता गतिविधिले पनि आकार लिन थाले ।
स्रोत र बजेटको अभावका बीच सुरु भएको त्यो यात्राले विस्तारै निजी क्षेत्र र सरकारबीच संवादको आधार तयार गर्यो । आईटी नीति निर्माणमा निजी क्षेत्रको आवाज पुर्याउने, सरकारी निकायसँग प्रविधिसम्बन्धी विषयमा छलफल गर्ने र नेपालमा आईटी उद्योगको सम्भावनाबारे राज्यलाई बुझाउने काममा उनी सक्रिय रहे ।
आज नेपालमा प्रविधि उद्योग, स्टार्टअप, डिजिटल सेवा र आईटी निर्यातबारे व्यापक चर्चा हुन्छ । तर तुलाधरको पुस्ताले काम सुरु गर्दा यी शब्दहरू नै धेरैका लागि नयाँ थिए ।
‘मेक कम्प्युटर्स वर्क फर यु’
तुलाधरको सम्पूर्ण यात्रालाई एउटा वाक्यमा समेट्नुपर्दा उनले प्रयोग गर्ने अवधारणा निकै अर्थपूर्ण छ; ‘मेक कम्प्युटर्स वर्क फर यु ।’ अर्थात्, कम्प्युटर मानिसका लागि काम गर्नुपर्छ । त्यही दर्शन उनको अर्को यात्रामा पनि देखिन्छ; क्रस-बोर्डर पेमेन्ट ।
“मेरो सोच सरल थियो, भ्वाइस इन्टरनेट प्रोटोकलबाट जान सक्छ भने पैसा पनि इन्टरनेट प्रोटोकलमार्फत किन जान सक्दैन ?”
रेमिट्यान्स व्यवसायमा प्रवेश गर्दा उनले परम्परागत प्रणालीभन्दा फरक मोडलको कल्पना गरे । विदेशबाट आएको पैसा एजेन्टको हातमा लामो समय राख्ने होइन, सीधै लाभग्राहीको बैंक खातामा पुर्याउने ।
त्यतिबेला यो सोच असामान्य थियो । मानिसहरू नगदमै पैसा लिन चाहन्छन् भन्ने तर्क थियो । तर तुलाधरको तर्क थियो, भोलिको संसार बैंक खाता र डिजिटल प्रणालीतर्फ जान्छ ।
“म मानिसको पैसा एजेन्टको हातमा राख्न चाहन्नँ; पैसा सीधै उसको बैंक खातामा पुग्नुपर्छ र त्यसको स्वामित्व उसकै हुनुपर्छ ।”
समयसँगै त्यो परिवर्तन आयो । उनले रेमिट्यान्स कम्पनीलाई बहुराष्ट्रिय संरचनामा विस्तार गर्दै विभिन्न देशमा लाइसेन्स र कार्यालयको नेटवर्क बनाउने प्रयास गरे । अहिले उनको दृष्टिमा रेमिट्यान्स मात्र पर्याप्त अवधारणा होइन । व्यवसाय क्रस-बोर्डर पेमेन्ट, बैंकिङ एज अ सर्भिस (Banking as a Service) र अन्तर्राष्ट्रिय वित्तीय सेवातर्फ अघि बढिसकेको छ ।
उनको उद्यमशीलताको अर्को विशेषता भनेको ‘मुख्य धारविपरीत’ हिँड्ने साहस हो । उनी स्वीकार्छन्, उनले धेरै असफलता पनि भोगेका छन् । असफलताले उनलाई दुई कुरा सिकाएको छ, धैर्य र कहिले बाहिरिने भन्ने निर्णय ।
“मेरो असफलताले मलाई दुई कुरा सिकायो; धैर्य चाहिन्छ र कुनै काम चल्दैन भने त्यसबाट बाहिरिन पनि जान्नुपर्छ ।” उनका अनुसार नेपालमा सफल व्यवसाय देखेपछि त्यसकै नक्कल गर्ने प्रवृत्ति बलियो छ । त्यसैले सजिलै ‘कपी’ गर्न सकिने क्षेत्रमा मात्र निर्भर हुनु जोखिमपूर्ण हुन्छ ।
अब उनको नयाँ यात्रा : पर्यटकले आफ्नै भाषामा नेपाल बुझून्
चार दशकको यात्रापछि पनि तुलाधरको ‘स्टार्टअप’ गर्ने ऊर्जा सकिएको छैन । उनको पछिल्लो सोच पर्यटनसँग जोडिएको छ, नेपाल आउने पर्यटकले अंग्रेजीलाई बीचको भाषा बनाएर मात्र नेपाल बुझ्न नपरोस् । यही सोचबाट उनी एआई (AI), जियो-लोकेसन (Geo-location) र जियो-फेन्सिङ (Geo-fencing) प्रयोग हुने अडियो गाइडमा काम गरिरहेका छन् ।
पर्यटक बसमा यात्रा गरिरहेको छ । बस कुनै निश्चित स्थानमा पुग्छ । त्यसको जियो-लोकेसन पहिचान हुन्छ र सोही स्थानसँग सम्बन्धित जानकारी पर्यटकको आफ्नै भाषामा अडियोमार्फत सुनिन्छ । यस प्रणालीमा करिब ३० भाषासम्म अडियो गाइड उपलब्ध गराउने उनको योजना/प्रयोग रहेको उनले अन्तर्वार्तामा बताएका छन् ।
यहाँ पनि मूल समस्या उही हो, भाषाको अवरोध हटाउने ।
हिजो नेपालीलाई कम्प्युटरमा टाइप गराउन भाषा अवरोध हटाउनुपर्थ्यो । आज एआईलाई नेपाली, नेपालभाषा वा अन्य मातृभाषा बुझाउनुपर्ने भएको छ । प्रविधि बदलियो, समस्या नयाँ स्वरूपमा आयो; तर तुलाधरको दृष्टिकोण बदलिएन ।
नेपाली भाषाको भविष्यप्रति चिन्ता
यही ठाउँमा तुलाधरको सबैभन्दा ठूलो चिन्ता पनि देखिन्छ । नेपालमा नेपाली भाषाभन्दा अंग्रेजीको प्रयोग बढ्दै गएकोप्रति उनी चिन्तित छन् । उनको बुझाइमा नेपाल औपचारिक रूपमा कहिल्यै उपनिवेश बनेन, तर अंग्रेजी भाषाको प्रभावले हाम्रो भाषिक व्यवहारमा गहिरो असर पारेको छ ।
“हामी कहिल्यै औपचारिक रूपमा उपनिवेश भएनौं, तर अंग्रेजी भाषाले हामीलाई उपनिवेश बनाएको जस्तो लाग्छ ।” उनलाई डर छ, यदि अहिलेको प्रवृत्ति यस्तै रह्यो भने १०, १५ वा २० वर्षपछि नेपाली भाषा विद्यालयमा पढिने एउटा विषयमा मात्र सीमित हुन सक्छ र दैनिक जीवन तथा प्रविधिमा यसको प्रयोग घट्दै जान सक्छ ।
यसकारण उनी अहिले मल्टिलिङ्गुअल कम्प्युटिङ (Multilingual Computing) लाई अझ महत्वपूर्ण ठान्छन् । पहिले चुनौती नेपालीमा टाइप गर्नु थियो । अब चुनौती एआईले नेपाली बुझ्नु हो । भोलि चुनौती नेपालीसहित नेपालका अन्य कम प्रतिनिधित्व भएका भाषालाई एआई, मेसिन लर्निङ र डिजिटल सेवामा समेट्नु हुनेछ ।
“यदि अहिलेको प्रवृत्ति यस्तै रहिरह्यो भने १०–२० वर्षपछि नेपाली भाषा विद्यालयमा पढिने एउटा विषयमा मात्र सीमित हुने खतरा छ ।” उनका लागि यो केवल भाषाको प्रश्न होइन । यो सांस्कृतिक संरक्षण र डिजिटल अधिकारको प्रश्न पनि हो ।
एआईलाई रोक्ने होइन, सिकाउने समय
एआईको नियमनबारे तुलाधरको धारणा केही हदसम्म उदार छ । उनका अनुसार नयाँ प्रविधि आउँदा सरकारको पहिलो प्रतिक्रिया त्यसलाई नियन्त्रण गर्ने हुनुभन्दा पहिले त्यसको सही प्रयोग सिकाउने हुनुपर्छ ।
विद्यार्थीलाई एआई प्रयोग गर्न रोक्ने होइन, एआईमा दक्ष बनाउने उनको धारणा छ । उनको तर्क सरल छ, एआई संसारभरका मानिसका लागि उपलब्ध हुँदैछ भने नेपाली विद्यार्थीलाई मात्र त्यसबाट टाढा राख्नुको अर्थ छैन ।
“विद्यार्थीलाई एआई प्रयोग गर्न रोक्ने होइन, उनीहरूलाई एआईमा विशेषज्ञ बनाउनुपर्छ ।” गलत सामाग्री, अपराध वा हानिकारक गतिविधि नियन्त्रण गर्नुपर्छ । तर प्रविधि आफैंलाई रोक्नु समाधान होइन ।
आज उनी आफ्नै व्यवसायमा एआई प्रयोग गरिरहेका छन्; सफ्टवेयर निर्माणमा, सामाजिक सञ्जालका सामग्रीमा, पर्यटकका प्रश्नको उत्तर दिन, आवाज निर्माण गर्न र बहुभाषिक अडियो गाइड तयार गर्न । उनका लागि एआई भविष्य होइन, अहिले नै प्रयोग गर्नुपर्ने एउटा उपकरण हो ।
भोलिको कम्प्युटर खल्तीमा होइन, शरीरमै हुन सक्छ
तुलाधरको प्रविधि दृष्टि वर्तमानभन्दा धेरै अगाडि पुगेको देखिन्छ । उनका अनुसार अहिले हामीसँग स्मार्टफोन छ, स्मार्टवाच छ, स्मार्ट ग्लासेस छन् । तर भविष्यमा प्रविधि हाम्रो खल्ती वा हातमा मात्र रहने छैन । त्यो हाम्रो शरीरसँग अझ नजिक हुनेछ ।
उनी आफैं भाषान्तरण गर्न सक्ने स्मार्ट चस्मा प्रयोग गरिरहेका छन् । जापानी वा स्पेनिसजस्ता भाषा सुन्दा त्यसलाई आफूले बुझ्ने भाषामा सुन्न सकिने प्रविधि अहिले नै सामान्य उपभोक्ताको पहुँचमा आउन थालेको उनको अनुभव छ ।
यसबाट उनको अर्को विश्वास पनि स्पष्ट हुन्छ; प्रविधि धनी मानिसका लागि मात्र होइन । प्रविधिको मूल्य घट्दै जाँदा एआई, सेन्सर, स्मार्ट डिभाइस र डिजिटल सेवाहरू सामान्य मानिसको पहुँचमा पुग्नेछन् ।
प्रश्न प्रविधि कसले किन्न सक्छ भन्ने होइन, कसले त्यसलाई राम्रोसँग प्रयोग गर्न सक्छ भन्ने हो ।
शिक्षा प्रणाली बदल्नुपर्ने उनको सपना
चार दशकको अनुभवपछि पनि तुलाधरले पूरा गर्न नसकेको कामबारे सोच्दा सबैभन्दा धेरै शिक्षा क्षेत्रतर्फ फर्किन्छन् । उनको एउटा परिकल्पना छ; नेपालमा अध्ययन गर्ने विद्यार्थीले एउटै पाठ्यक्रमबाट नेपाली र विदेशी विश्वविद्यालयको डुअल डिग्री (Dual Degree) लिन सकून् ।
विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जानैपर्ने बाध्यता कम होस् । नेपालमै अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम, प्रविधि र डिग्रीको अवसर सिर्जना होस् । त्यसैगरी विद्यालय शिक्षामा पनि डिजिटल उपकरणलाई अझ गहिरो रूपमा समेट्नुपर्ने उनको धारणा छ ।
उनका अनुसार विद्यार्थीलाई केवल स्मार्टबोर्ड देखाएर विद्यालय डिजिटल हुँदैन । विद्यार्थी आफैंले ल्यापटप, ट्याबलेट वा अन्य डिजिटल उपकरण प्रयोग गर्ने, एआईलाई सहायकका रूपमा प्रयोग गर्ने र कक्षाकोठाभन्दा बाहिर पनि डिजिटल सिकाइसँग जोडिने वातावरण आवश्यक छ ।
“हामीले यस्तो शिक्षा प्रणाली बनाउनुपर्छ जहाँ विद्यार्थीले कक्षामा मात्र होइन, कक्षाबाहिर पनि डिजिटल प्रविधिमार्फत निरन्तर सिक्न सकून् ।”
आजको विद्यार्थीले कक्षामा सिकेको कुरा मात्र पर्याप्त हुँदैन । इन्टरनेट, एआई र डिजिटल सामग्रीमार्फत सिकाइ २४ घण्टा जारी रहन सक्छ । उनको दृष्टिमा अबको शिक्षा प्रणालीले ‘के याद गर्यौ ?’ भन्दा पनि ‘प्रविधि प्रयोग गरेर के समाधान गर्न सक्छौ?’ भन्ने प्रश्न सोध्नुपर्छ ।
चार दशकपछि पनि उही प्रश्न
सन् १९९२ मा नेपाल फर्कँदा तुलाधरले कम्प्युटरलाई नेपाली भाषामा बोलाउने सपना देखे । आज, करिब चार दशकपछि, उनी एआईलाई नेपाली र अन्य मातृभाषा बुझाउने विषयमा सोचिरहेका छन् ।
बीचमा कम्प्युटर स्थानीयकरण भयो । माइक्रोसफ्ट विन्डोज नेपालीमा आयो । विद्यालयमा कम्प्युटर पुगे । विद्यार्थीले प्रविधि सिके । इन्टरनेट आयो । क्लाउड आयो । मोबाइल आयो । डिजिटल पेमेन्ट आयो । एआई आयो । तर तुलाधरको मूल प्रश्न भने धेरै बदलिएन-प्रविधिलाई मानिसका लागि कसरी अझ अर्थपूर्ण बनाउने ?
सायद यही प्रश्नले उनलाई अरू धेरै प्रविधि उद्यमीभन्दा अलग बनाउँछ । उनको यात्रामा पैसा कमाउने व्यवसाय छन्, असफल स्टार्टअप छन्, अन्तर्राष्ट्रिय कम्पनीसँगको सहकार्य छ, सरकारी नीतिमा हस्तक्षेप छ, पुरस्कार छन् । तर यी सबैभन्दा माथि एउटा निरन्तरता छ; समस्या देख्ने, समाधान सोच्ने र त्यसलाई सम्भव बनाउने प्रयास ।
‘मेरो लागि पर्याप्त छ’
तुलाधरको जीवनदृष्टिको एउटा सरल पक्ष पनि छ । उनका अनुसार आफूलाई बस्न घर छ, चलाउन गाडी छ, काम गर्न ल्यापटप छ, राम्रो इन्टरनेट छ र काम गर्ने राम्रो टिम छ भने थप सम्पत्तिको पछाडि दौडिनुपर्ने आवश्यकता छैन ।
सायद यही सोचले उनलाई पैसा नआउने तर समाजका लागि आवश्यक काममा पनि लागिरहन सक्ने स्वतन्त्रता दियो । नेपाली भाषाको कम्प्युटिङदेखि ग्रामीण विद्यालय, विद्यार्थी तालिमदेखि डिजिटल पहुँचसम्मका धेरै कामबाट तत्काल ठूलो आर्थिक लाभ नआए पनि उनले ती काम गरे ।
किनकि उनका लागि प्रविधि केवल ‘बिजनेस’ थिएन । यो एउटा ‘मिसन’ पनि थियो । त्यसैले आज पायोनियर आईसीटी अवार्ड हातमा पर्दा पनि उनी त्यसलाई यात्राको अन्तिम बिन्दु मान्दैनन् । उनको यात्रा अझै जारी छ; एआईमा, बहुभाषिक प्रविधिमा, पर्यटनमा, वित्तीय प्रविधिमा र शिक्षामा ।
चार दशकअघि उनले कम्प्युटरलाई नेपाली बनाउने प्रयास गरेका थिए । अब उनको चुनौती एआईलाई नेपाली र नेपालका अनेकौं मातृभाषा बुझाउने हो ।
“समस्या देख्नु, त्यसको समाधान सोच्नु र कम्प्युटरलाई त्यस समाधानका लागि काम गराउनु; मेरो सम्पूर्ण यात्रा यही हो ।”
समय बदलिएको छ । प्रविधि बदलिएको छ । उपकरण बदलिएका छन् । तर एलन बैलोचन तुलाधरको मूल दर्शन उही छ- प्रविधि मानिसका लागि काम गर्नुपर्छ । र मानिसको भाषा नबुझ्ने प्रविधि अझै पूर्ण प्रविधि होइन ।
स्नेहा झा