कीवर्डहरू -

बायोमेट्रिकको विकल्प : अब मोबाइल एपबाटै हाजिरी

बायोमेट्रिकको विकल्प : अब मोबाइल एपबाटै हाजिरी

पहिले पहिले ढड्डामा हाजिरी गर्ने चलन थियो। त्यसपछि ढड्डाको विकल्पमा बायोमेट्रिक मेसिन आयो। बायोमेट्रिक मेसिन आए पनि अझै ढड्डामा हाजिरी गर्ने चलन पूर्ण रूपमा हटिसकेको छैन ।

निजी तथा सरकारी कार्यालयहरूमा हाजिरीका लागि बायोमेट्रिक मेसिन प्रयोग भइरहेको छ। तर, प्रविधिको विकास र विस्तारसँगै बायोमेट्रिकको विकल्पमा अब मोबाइल एपबाटै हाजिरी गर्न मिल्ने सुविधा समेत आइसकेको छ।

अहिले प्राय सबैको हात हातमा स्मार्टफोन छ। धेरैजसो काम मोबाइलबाटै हुन थालेको छ भने हाजिरीका लागि छुट्टै डिभाइस किन चाहियो? काठमाडौंका प्रशन्न धरेलको दिमागमा यो प्रश्नले डेरा जमायो । अनि जन्मियो, ‘ स्मार्ट हाजिर ’ ।

स्मार्ट हाजिर मोबाइल एपमा आधारित ‘अटेन्डेन्स सिस्ट’म भएको संस्थापक प्रशन्न धरेलले बताए। ‘कुनै पनि कार्यालयमा ढड्डा वा बायोमेट्रिकबाट हाजिरी हुँदै आएको थियो। त्यो प्रक्रिया लामो पनि थियो,’ स्मार्ट हाजिरका संस्थापक धरेलले भन्छन्, ‘त्यसकारण छिटो र सजिलो हाजिरी गर्न मिल्ने प्रविधिको रूपमा स्मार्ट हाजिर मोबाइल एप ल्याएका हौं।’

स्मार्ट हाजिर मोबाइल एप सन् २०१९ बाट सुरू भएको हो। यसमा कुनै पनि हार्डवेयर चाहिँदैन तर स्मार्टफोन भने चाहिन्छ। अहिले नेपालमा वर्षेनी लाखौंको बायोमेट्रिक मेसिन भित्रिरहेको छ।

आयातका लागि करोडौं रकम विदेशिएको छ। त्यसलाई रोक्ने उद्देश्यले स्मार्ट हाजिर सुरू भएको उनको भनाइ छ।स्मार्ट हाजिरबाट हाजिरी गर्न लाइन लाग्नु पर्दैन। आफ्नो स्मार्टफोनबाटै हाजिरी गर्न सकिन्छ। यदि तपाईले हाजिरी गर्न बिर्सनुभयो भने एपले आफै सम्झाउँछ पनि।

\"\"

प्रशन्न धरेल

स्मार्ट हाजिरको अर्को गज्जबको सुविधा भनेको इन्टरनेट नभएपनि हाजिरी गर्न मिल्ने हो। इन्टरनेट नभएपनि क्युआर स्क्यान गरेर हाजिरी गर्न सकिने उनी बताउँछन्।

अफलाइन हाजिरीका लागि एडमिन एउटा क्युआर जेनेरेट गरिदिन्छ अनि त्यसलाई स्क्यान गरेर हाजिरी गर्न सकिन्छ। तर, सेवा चलाउन इन्टरनेट भने चाहिन्छ।

वेबसाइटमा गएर वा फोन गरेर स्मार्ट हाजिरको सेवा लिन सम्पर्क गर्न सकिने छ। स्मार्ट हाजिरको एक वर्षको शुल्क ७ हजार रूपैयाँ तोकिएको छ। त्यसमा २५ जनासम्मले हाजिर गर्न पाउँछन्। तर, २५ जनाभन्दा बढीको हाजिर गर्न भने प्रतिवयक्ति २०० रूपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ।

कुनै पनि कार्यालयले उपलब्ध गराएका लगइन आईडी प्रयोग गरेर कर्मचारीले एपबाटै हाजिर गर्न सक्ने धरेलको दाबी छ । 'स्मार्ट हाजिर प्रयोग गर्न कम्पनीलाई तालिम समेत दिन्छौं। चलाउन गार्‍हो छैन्, एकदमै सजिलो छ,' उनी दाबीका साथ भन्छन्।

\"\"

स्मार्ट हाजिर आईओएस एन्ड्रोइड मा उपलब्ध छ। हाजिरीको रिपोर्ट पनि एपबाटै हेर्न सकिन्छ।यसका साथै कम्पनीको आवश्यकता अनुसार कस्टमाइजेसन सुविधा समेत उपलब्ध गराउँदै आएको छ।

यसमा एटेन्डेन्स बाहेक, छुट्टि व्यवस्थापन, इभेन्ट्स नोट, ट्याकिङ, पे स्लिप हेर्न मिल्ने लगायतका सुविधा छन्। छुट्टिका लागि एपबाटै निवेदन पठाउन सकिन्छ।

आफूले पठाएको कर्मचारी ठाउँमा गए की गएनन्, अफिसमा कुन बेला आए भनेर ट्याकिङ समेत गर्न सकिने स्मार्ट हाजिरले जनाएको छ।

नेपालमा नेपाली प्रडक्टलाई विश्वास नगर्ने समस्या एउटा चुनौतीको रूपमा देखिएको धरेलको भनाइ छ ।‘नेपालमा नेपाली प्रडक्टलाई विश्वास नगर्ने बानी छ। विदेशीको राम्रो भनेर वा वा भनिरहेका छौं,’ उनी भन्छन्, 'तर नेपाली प्रडक्ट प्रयोग गर्न नाक खुम्च्याउ छौं। तपाईहरू हाम्रो सेवा प्रयोग गर्नुस्, राम्रो लागेन भने हामीलाई भन्नुहोस्। हामी सुधार गर्न तयार छौं।’

हाल स्मार्ट हाजिर ५०० बढी कम्पनीले ट्रायल गरिरहेका छन् भने ३५० बढी कम्पनीले सेवा प्रयोग गरिरहेका छन्। प्रयोगकर्ताको राम्रो प्रतिक्रियाले काम गर्न झन बढी ऊर्जा मिलेको कम्पनीले जनाएको छ।

बजारमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको बताउँदै उनी भन्छन्, ‘प्रतिपर्धा हुनु राम्रो हो । तर अरूलाई मर्कामा पारेर आफू मात्रै अगाडि बढ्नु राम्रो होइन।’

स्मार्ट हाजिरले सेवाग्राहीको डेटा सुरक्षा र साइबर सुरक्षामा समेत उत्तिकै ध्यान दिएको छ। साइबर सुरक्षाका लागि अन्य कम्पनीसँग सहकार्य गरेको छ भने आईएसओ प्रमाणपत्रका लागि पनि आवेदन दिएको छ।

धेरै डेटा संकलन नगरे पनि साइबर सुरक्षालाई उत्तिकै प्राथमिकतामा राखेको संस्थापक धरेल स्पष्ट पार्छन् । आगामी दिनमा कुनै पनि कार्यालयलाई आवश्यक पर्ने फिचर ल्याउने कम्पनीको योजना छ। उनी भन्छन्, ‘कम्पनीलाई सजिलो र पारदर्शी बनाउने गरी काम गरिरहेका छौं।’