कीवर्डहरू -

थुप्रै डटकमबाट अब पुस्तक पढ्न मात्र होइन सुन्न पनि सकिने

थुप्रै डटकमबाट अब पुस्तक पढ्न मात्र होइन सुन्न पनि सकिने

विगत साढे दुई वर्षदेखि पुस्तकलाई प्रविधिसँग जोड्दै पुस्तकको उपलब्धताको प्रवर्द्धनमा लागेको थुप्रै डट कमले पढ्न सकिने ईबुकका साथै सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । थुप्रै डट कमको वेबसाइट र थुप्रै नामक मोबाइल एपबाट यस्ता पुस्तक कम मूल्यमा खरिद गरी सुन्न सकिनेछ ।

सुन्ने पुस्तक विगतमा सिडी, रेडियो, युट्युब लगायतका माध्यमबाट उपलब्ध भए पनि प्रकाशक, लेखक तथा वाचकहरूलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमा पुर्याउने उपाए थिएन ।

थुप्रै डट कमले शुरु गरेको वास्तविक अडियोपुस्तक (अडियोबुक) को परिकल्पना नेपालमा अडियोबुकको प्रवर्द्धनको लागि कोशेढुङ्गा सावित हुने विश्वास कम्पनीले गरेको छ ।

अनलाइन अर्डर लिएर ढोकैमा पुस्तक पुर्याउने सेवाबाट सुरु भएको थुप्रै डटकमले अघिल्लो लकडाउनमा ईबुकको सेवा सुरु गरेको थियो ।

यसपटक ‘थुप्रै’ले सुन्न मिल्ने पुस्तकको प्रकाशन र खरिद गर्न मिल्ने व्यवस्था आफ्नो वेबसाइट तथा एपमा थपेको छ । यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्नेछ भने पाठकहरूका लागि पनि सहज माध्यम बन्नेछ ।

कम्पनीका अनुसार अडियोबुक भविष्यको पठन संस्कृतिको बलियो पाटो हुने निश्चित छ । कामको व्यस्तताले पुस्तक पढ्न चाहे पनि समय निकाल्न नसक्नेहरूका लागि अडियोबुक उपयुक्त हुनेछ । छापिएका पुस्तक किन्नुभन्दा अडियोबुक सस्तो पर्ने र अनलाइन माध्यमबाट किन्नासाथ तुरुन्तै सुन्न सकिन्छ ।

कार्यालय आउजाउ गर्दा वा भ्रमणका बखत गाडी चलाउँदा होस् वा बसमा यात्रा गर्दा होस् समयको उपयोग गरेर अडियो पुस्तक आरामले सुन्न सकिन्छ ।

घरायसी काम वा व्यायाममा व्यस्त हुनेहरूको लागि पनि अडियोबुक त्यत्तिकै सुविधाजनक छ । दृष्टिविहीन र आँखाका समस्या भएकाहरूका लागि पनि अडियोबुक उपयुक्त विकल्प हुनसक्दछ ।

नेपाली भाषा बोल्न र बुझ्न सक्ने तर नेपाली पढ्न र लेख्न नसक्ने आप्रवासी नेपालीका लागि पनि अडियोबुक गज्जबको माध्यम बन्न सक्दछ ।

अडियोबुकका रूपमा सुरूवातमा केही पुस्तक तयार गरिएका छन् । माधवप्रसाद घिमिरे, इश्वर वल्लभ, दिनेश अधिकारी, दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, श्यामल, सुजीव शाक्य र जीवन कुमार प्रसाईंजस्ता लेखकहरूले आफ्नै आवाजमा आफ्नो कृतिहरू वाचन गरेका छन् ।

प्रख्यात रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा सिद्दिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला,  रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका चर्चित कृतिहरु पनि उपलब्ध छन् ।

‘थुप्रै’ ले यो सेवा नेपालय, दृश्य, कथालय, किताब पब्लिशर्स, सांग्रिला बुक्स, फिनिक्स बुक्स, बुल्बुल पब्लिकेशन, अक्षर क्रिएशन लगाएतका प्रकाशन गृहसँगको सहकार्यमा सुरु गरेको हो ।

यस सहकार्यलाई अगाडि बढाउँदै निरन्तर रुपमा नयाँ अडियोबुक थप्दै जाने योजना रहेको ‘थुप्रै’का सहसंस्थापक दिपेश आचार्यले बताए । उनले हाललाई प्रति अडियोबुक एक सय रूपियाँको हाराहारी पर्ने जानकारी दिए ।

नेपालमा रहेका पाठकहरुले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिगमार्फत अडियोबुक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् ।

यसरी खरिद गरेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्पुटरबाट सुन्न सकिने छ । यात्राको बेला ब्लुटुथ वा एण्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारी साधनमा पनि अडियोबुक सुन्न सकिनेछ ।

अडियोबुकहरू थुप्रैको वेबसाइट र मोबाइल एपमा उपलब्ध छन् । थुप्रैको मोबाइल एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।  साथै ह्वावे एप ग्यालरीबाट थुप्रै एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।