कीवर्डहरू -

अनलाइनबाट सवारी कर भुक्तानी परीक्षण सुरु, साउनदेखि सेवा सुरु गर्ने बागमति सरकारको तयारी 

अनलाइनबाट सवारी कर भुक्तानी परीक्षण सुरु, साउनदेखि सेवा सुरु गर्ने बागमति सरकारको तयारी 

बागमति प्रदेशले साउनदेखि सवारी साधनको कर भुक्तानी अनलाइनबाट गर्ने तयारीस्वरुप वेबसाइट परीक्षण सुरु गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) नागरिक एप बाट सवारी साधनको कर तिर्ने व्यवस्था मिलाने गरी परीक्षण कार्य सुरु गरेको जनाएको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै सवारी साधनको विवरण आद्यावधि गर्न यातायात व्यवस्था सूचना प्राणालीको वेब पोर्टल र नागरिक एपको ‘सवारी कर’मा गएर आफ्नो मोबाइल नम्बर भेरिफाइ गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिने जनाएको थियो  ।

मन्त्रालयले आफ्नो वेबसाइटमा सूचनाका आधारमा सवारी साधनको विवरण अद्यावधि गर्दा भने सफल हुन सकेको छैन ।

मन्त्रालयको वेब पोर्टलमा गएर अद्यावधि गर्दा कतिपयको ‘कुनै सवारी लिंक गरिएको छैन’ भन्ने देखिएको छ भने कतिको कर तिर्न बाँकी रहेको र तुरुन्त यातायात कार्यालयमा सम्पर्क गर्न भनेको सूचना आएको छ । \"\"

प्रदेश सरकारले तत्कालको लागि परीक्षण कार्य सुरु गरेकाले यस्तो हुन गएको भौतिक पूर्वाधार विकास मन्त्रालय का सूचना अधिकारी राजन पोखरेलले बताए ।

‘कतिपयको डाटा अपलोड भइसकेका छन् भने कतिको डाटा अपलोड हुन बाँकी छ,’ पोखरेलले भने, ‘यो महिनाभरी परीक्षण गर्ने र साउन महिनादेखि यो लागु गर्न खोजेका छौं ।’

अहिले सूचना जारी गरेर वेबसाइटमा उपभोक्ताले विवरण अद्यावधि गर्दा कस्तो प्रतिकृया आउँछ भनेर परीक्षण गरिरहेको उनको भनाइ छ ।

यसमा अझै पनि कमजोरी रहेको र यसलाई हेरिरहेको उनले बताए । ‘अहिले यातायात कार्यलयहरुमा मात्र युजर आइडी दिएका छौं,’ उनले भने, आन्तरिक रुपमा डाटा अपलोड भइरहेको छ ।’

सकेसम्स साउन १ देखि नै सवारी साधनको कर तिर्ने व्यवस्था अनलाइनबाट गर्ने योजना रहेको पोखरेलले बताए ।

परीक्षण सकिएपछि यसको सुरुवातको औपचारिक उद्घाटन गर्ने र सर्वसाधरणलाई लाइभ गएको जानकारी गराउने योजना प्रदेश सरकारको छ । यसको लागि अझै केही दिन लाग्ने उनी बताउँछन् । परीक्षण कति चाँडो सफल हुन्छ, त्यसमा भरपर्ने उनले बताए ।

तत्कालका लागि सवारी करमात्र तिर्न सक्ने व्यवस्था हुनेछ । बिल बुक र सवारी अनुमति पत्र नवीकरणसहित गाडी दर्ता, नामसारी गर्नेलगायतका काम आफ्नो घरबाटै फर्म भर्ने व्यवस्था मिलाउने योजना प्रदेश सरकारको छ । त्यसरी फर्म भनेर नम्बर लिने  र त्यही नम्बरका आधारमा यातायात कार्यलयमा गएर आफ्नो काम गर्ने व्यवस्था मिलाउन लागेको पोखरेलले बताए ।

तत्कालको लागि कर तिर्ने व्यवस्थामात्र गर्न सकियो भने पनि ठूलो उपलब्धि हुने उनी बताउँछन् । मन्त्रालयको वेबसाइटसँगै नागरिक एपमा पनि ‘सवारी कर’ अप्सन अपडेट हुन पनि बाँकी नै छ ।

एक पटक यातायातत कार्यलय पुग्नु पर्ने

अनलाइनबाट सवारी कर भुक्तानी गर्ने भए पनि एक पटकको लागि भने करदाता यातायात कार्यलय पुग्नु पर्ने भएको छ ।

अनलाइन भुक्तानी सम्बन्धी कार्यविधिअनुसार करको रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ र उक्त बिल बुकको अद्यावधि, भेरिफाइ गर्नको लागि एक महिनाभित्र यातायाता कार्यलय पुग्नु पर्नेछ  ।

एक पटक भेरिफाइ गरिसकेपछि भने अर्को आर्थिक वर्षदेखि यातायात कार्यालय पुग्नुपर्ने छैन ।

‘पहिलो आर्थिक वर्षको हकमा डकुमेन्ट अद्यावधि गर्न, बाँकी केही कुरा भएमा र भेरिफाइ गर्ने काम गर्न यातायात कार्यालय पुग्नु पर्नेछ,’ पोखरेलले भने, ‘त्यसपछि भने दोहोराएर भेरिफाइ गर्नुपर्ने छैन।’

खानेपानीको पैसा तिरेजस्तो एक पटक पनि यातायात कार्यालयमा जान नपर्ने बनाउन खोजिरहेको भए पनि सम्बन्धि सम्पूर्ण डकुमेन्ट डिजिटाइज नहुन्जेल यातायात पुग्नु पर्ने उनको भनाइ छ ।