काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढिरहेको छ । कक्षा १२ पूरा गरेपछि उच्च शिक्षाका लागि हजारौं विद्यार्थी दैनिकजसो बाहिरिने अवस्थाले अभिभावक, विद्यार्थी र शैक्षिक संस्थाहरूलाई पनि गम्भीर रूपमा सोच्न बाध्य बनाइरहेको छ । यही परिवेशबीच केएमसी एजुकेसनल नेटवर्कले एउटा नयाँ शैक्षिक विकल्पको परिकल्पना गर्यो, विदेशी गुणस्तरको शिक्षा नेपालमै उपलब्ध गराउने । त्यसैको परिणामस्वरूप सन् २०२३ मा मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेज सुरु भयो, जसले अहिले ‘नेपालमै अमेरिकन डिग्री’ भन्ने अवधारणालाई संस्थागत रूप दिन खोजिरहेको छ ।
यो यात्रा अचानक सुरु भएको होइन । केएमसी ग्रुपले आफ्ना विद्यार्थी र उनीहरूका अभिभावकमा विदेशी डिग्रीप्रति बढ्दो आकर्षणलाई नजिकबाट नियालेको थियो । धेरै अभिभावक र विद्यार्थीले नेपालमै बसेर विदेशी शिक्षाको अनुभव गर्न सकिने वातावरण बनाइयोस् भन्ने अपेक्षा राखेपछि एमआईटी सञ्चालनमा आएको हो । कलेज अध्यक्ष सुरेन्द्र सुवेदीका अनुसार एमआईटी, केएमसी एजुकेसनल नेटवर्कको सबैभन्दा कान्छो सदस्य हो र यसको उद्देश्य विद्यार्थीलाई विदेशिनैपर्ने बाध्यताबाट केही हदसम्म मुक्त गर्दै नेपालमै अन्तर्राष्ट्रिय स्तरको अध्ययन उपलब्ध गराउनु हो ।
नेपालमै विश्वस्तरीय मान्यता पाएको अमेरिकन डिग्री प्रदान गर्न एमआईटी कलेज सुरू भएको कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले बताए । ‘एमआईटी कलेज केएमसी एजुकेसनल नेटवर्कको सबैभन्दा कान्छो सदस्य हो,’ सुवेदीले आईसीटी समाचारसँग भने, ‘अमेरिकन डिग्री नेपालमै पढ्न केएमसीले भूमिका खेलिदिनु पर्यो भन्ने इच्छा विद्यार्थी र अभिभावकबाट प्रकट भएपछि एमआईटी सञ्चालनमा ल्याएका हौं ।’
एमआईटीको पहिचान नै यसको अन्तर्राष्ट्रिय सम्बन्धनबाट बनेको छ । कलेजले अमेरिकाको लस एन्जलसस्थित इन्टरनेशनल अमेरिकन विश्वविद्यालयसँग सहकार्य गरेको छ । वेबसाइटमा पनि एमआईटीलाई अन्तर्राष्ट्रिय अमेरिकन विश्वविद्यालयसँगको सशक्त साझेदारीमार्फत अमेरिकन डिग्री प्राप्त गर्ने माध्यमका रूपमा प्रस्तुत गरिएको छ । कलेजले नेपालमा बसेर क्रेडिट ट्रान्सफरको सुविधा दिने, विभिन्न कार्यक्रमको विकल्प उपलब्ध गराउने र विद्यार्थीलाई अन्तर्राष्ट्रिय उपलब्धितर्फ अघि बढाउने लक्ष्य स्पष्ट रूपमा राखेको देखिन्छ ।
एमआईटीको मूल सन्देश नै स्पष्ट रूपमा देखाउँछ; “Study in Nepal, Graduate from USA।” यसले नेपालमै अध्ययन गरेर अमेरिकी डिग्रीतर्फको बाटो खोल्ने दाबी गरेको छ । एमआईटीले आफ्नो शैक्षिक यात्रालाई केवल कक्षा कोठामा सीमित राखेको छैन; केस स्टडी, व्यावहारिक कम्प्युटर तालिम, समूह प्रस्तुतीकरण, टर्म पेपर, अतिथि व्याख्यान, र शैक्षिक क्षेत्र भ्रमणहरू जस्ता अभ्यासमार्फत शिक्षालाई व्यवहारसँग जोड्ने प्रयास गरिएको छ ।
‘अमेरिकन प्रणाली थाहा भएपछि विद्यार्थीलाई अमेरिका गएर पढ्दा पनि सहज हुन्छ,’ सुवेदी थप्छन्, ‘हाम्रो चाहना भनेको सकेसम्म ब्याचलर्स नेपालमै गरून भन्ने हो ।’
स्थापनाकालदेखि नै एमआईटीले आफूलाई “foreign-affiliated” र “US-affiliated” पहिचानसँग जोड्दै आएको छ । वेबसाइटका अनुसार कलेजको सम्बन्धन इन्टरनेशनल अमेरिकन विश्वविद्यालयसँग छ, र यसको संरचना तथा कार्यप्रणाली उक्त विश्वविद्यालयको नियमसँगै नेपाल सरकारको नियमनअन्तर्गत सञ्चालन हुने उल्लेख छ । Accreditation पृष्ठमा Ministry of Education, Science & Technology र Government of Nepal को approval section पनि देखिन्छ, जसले संस्थागत स्वीकृतिको औपचारिकता देखाउँछ ।
अहिले एमआईटीमा बीबीए, बीआईटी र एमबीए कार्यक्रम सञ्चालनमा छन् । बीबीए चार वर्षे १२०-क्रेडिट कार्यक्रम हो, जसमा कम्तीमा दुईवटा इन्टर्नसिप अनुभव अनिवार्य गरिएको छ । बीआईटी पनि चार वर्षे १२०-क्रेडिट कोर्ष हो, जसले आईटीको विस्तृत र समग्र बुझाइ दिने उद्देश्य राखेको छ ।
एमबीए भने दुई वर्षे ६०-क्रेडिट स्नातकोत्तर कार्यक्रम हो, जसले व्यवसायिक सिद्धान्तलाई वास्तविक चुनौतीसँग जोडेर नेतृत्व विकासमा जोड दिन्छ । एमबीए पृष्ठमा करियर प्रोस्पेक्ट्स अन्तर्गत बिजनेस म्यानेजमेन्ट, मार्केटिङ, फाइनान्स, ह्युमन रिसोर्स, उद्यमशीलता, डेटा एनालाइसिस र बिजनेस इन्टेलिजेन्स लगायतका क्षेत्रहरू पनि सूचीबद्ध छन् ।
यही शैक्षिक मोडेललाई एमआईटीले ‘credit transfer’ को नाममा अघि सारेको छ। कलेजको वेबसाइटका अनुसार विद्यार्थीहरूले नेपालमै अध्ययन सुरु गरेर पछि IAU वा अन्य अन्तर्राष्ट्रिय संस्थामा आफ्नो अध्ययन अघि बढाउन सक्ने बाटो उपलब्ध गराएको छ । यसले समय र खर्च दुवै बचाउने दाबी गरिएको छ ।
यस्तै कलेजले दुई वर्ष नेपाल र बाँकी दुई वर्ष अमेरिका पढ्ने विकल्प पनि खुला राखेको छ, जसले विद्यार्थीलाई अमेरिकन प्रणालीसँग परिचित बनाएर विदेश पढाइ सहज बनाउने लक्ष्य बोकेको छ । भर्ना प्रक्रियामा पनि कलेजले अन्तर्राष्ट्रिय मापदण्ड अपनाएको छ । कक्षा १२ उत्तीर्ण विद्यार्थीले आवेदन दिन सक्छन्, तर पढाइ अंग्रेजी माध्यममा हुने भएकाले IELTS, TOEFL वा Duolingo जस्ता प्रमाणपत्र, अथवा प्लस टु अंग्रेजी माध्यममा पढेको आधिकारिक प्रमाण आवश्यक पर्छ । त्यसपछि डकुमेन्टहरू कम्पाइल गरेर विश्वविद्यालयमा फाइल पठाइन्छ र विश्वविद्यालयले पुनः जाँच गर्छ । कलेजका अनुसार भर्ना प्रक्रिया चलिरहेकै अवस्थामा मात्र होइन, अन्य समयमा पनि विद्यार्थीले सम्पर्क गरेपछि करिब तीन महिनाभित्र प्रक्रिया सुरु हुने व्यवस्था छ ।
विद्यार्थीलाई पढाइसँगै सीपमा पनि बलियो बनाउने एमआईटीको रणनीति हो । कलेजले हप्ताको चार दिन नियमित कक्षा र एक दिन प्रोफेसनल स्किल डेभलपमेन्टका लागि छुट्याएको छ । यस अवधिमा हार्ड स्किल्ससँगै सफ्ट स्किल्स विकासमा जोड दिइन्छ । नन-क्रेडिट कोर्समार्फत वेब डेभलपमेन्ट, साइबर सेक्युरिटी, एआई, डिजिटल मार्केटिङ जस्ता बजारमा माग भएका सीप सिकाइन्छ । कलेजको भनाइमा एमआईटी “डिग्रीका लागि मात्र होइन, व्यक्ति बन्न” पनि हो, र विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने बाटो तयार पार्न खोजिएको छ ।
कलेजको विद्यार्थीलाई उद्योगसँग जोड्न विभिन्न आईटी कम्पनीसँग सहकार्य गरेको छ । केएमसी ग्रुपका आफ्नै २ वटा आईटी कम्पनी समेत छन् । उद्योगमा काम गरिरहेका विशेषज्ञबाट गेष्ट लेक्चर र मेन्टरिङ सुविधा प्रदान गरिरहेको छ । यसले विद्यार्थी पढ्ने मात्र नभएर उद्योग एक्सपोजर पनि सँगसँगै पाइरहेको छन् । ‘विद्यार्थीको ग्रुमिङमा हामीले अलग ढंगबाट काम गरिरहेका छौं,’ सुवेदी भन्छन् ।
यो अवधारणालाई व्यवहारमा उतार्न एमआईटीले आफ्नै प्लेसमेन्ट सेल, इन्टर्नसिप रिक्वायरमेन्ट, करियर म्यापिङ र गाइडेन्स प्रणाली पनि अघि सारेको छ । कलेजले विद्यार्थीको रुचि र क्षमता अनुसार कोर्ष सलेक्शनमा सहयोग पुर्याउने दाबी गरेको छ । इन्टर्नसिपबाट फर्केका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि बूस्ट-अप कोर्ष र एडिसनल ट्रेनिङ पनि दिने व्यवस्था छ । अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै नेपालबाटै विदेशी उद्योगमा काम गर्न सकिने सम्भावनाबारे पनि कलेजले प्रक्रिया अघि बढाएको छ ।
एमआईटीमा पढ्ने विद्यार्थी बिहान पढेर दिउँदो उद्योगमा काम गर्न सक्ने उनले बताए । ‘कलेजले थप पैसा नलिएर सुरूवात देखि नै विद्यार्थीलाई सीपमुलक बनाउँछ, उनी भन्छन्, ‘त्यही सीपको प्रयोग गरेर पढ्दै कमाउँदै गर्न सक्छन् ।’
कलेजको शैक्षिक दृष्टिकोणसँगै यसको पूर्वाधार पनि बलियो देखिन्छ । एमआईटीले स्टेट-अफ-द-आर्ट इन्फ्रास्ट्रक्चरमा जोड दिएको छ । कक्षा कोठा २५ विद्यार्थी अट्ने गरी डिजाइन गरिएको छ, जहाँ ह्वाइटबोर्ड, पोडियम, मल्टिमिडिया प्रोजेक्टर र स्क्रिन राखिएका छन् । कम्प्युटर ल्याबमा हाई-ब्यान्डविथ इन्टरनेट, एलसीडी कम्प्युटर, युनिक लगइन आईडी र क्लाउड स्टोरेज सुविधा छ । लाइब्रेरीमा डिजिटल रिसोर्स, जर्नल, समाचारपत्र, डाटाबेस र आवश्यक पुस्तक माग गर्ने सुविधा उपलब्ध छ । अडिटोरियम १०० जना अट्ने क्षमतासहित सञ्चालनमा छ, जहाँ अकादमिक, सांस्कृतिक र सामाजिक कार्यक्रम गर्न सकिन्छ ।
यसैगरी, इन्क्युबेसन ल्याब एमआईटीको अर्को महत्वपूर्ण पक्ष हो । यसलाई उद्यमशीलता र रचनात्मकता विकास गर्ने डेडिकेटेड स्पेस भनेर प्रस्तुत गरिएको छ । विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्टार्टअप डेभलपमेन्ट, इनोभेसन प्रोजेक्ट, मेन्टरिङ र पार्टनर इन्स्टिच्युट्सबाट रिसोर्स आउटसोर्सिङ गर्ने अवसर दिइएको छ ।
राइटिङ सेन्टरमार्फत लेखन सीप, ग्रामर, सिटेसन स्टाइल र अकादमिक राइटिङमा सहयोग गरिने व्यवस्था पनि उल्लेख छ। फिजिकल एक्टिभिटी सेन्टरले खेलकुद र शारीरिक अभ्यासलाई पनि संस्थागत भाग बनाएको देखिन्छ ।
एमआईटीले अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत आफ्नो भविष्यको हिस्सा बनाउने योजना अघि सारेको छ । उपलब्ध सामग्रीअनुसार कलेज विदेशी विद्यार्थी ल्याएर नेपालमै अमेरिकन डिग्री पढाउने र एजुकेशनल टुरिजमलाई पनि प्रोत्साहित गर्ने दिशामा अघि बढिरहेको छ । दक्षिण एशियाली देशहरूबाट सुरु गरेर विस्तारै अन्तर्राष्ट्रिय सञ्जाल बनाउने लक्ष्य पनि प्रस्तुत गरिएको छ । त्यसमाथि छात्रवृत्तिको व्यवस्था, अन्तर्राष्ट्रिय एक्सपोजर, आईएयू सँगको स्टुडेन्ट एक्सचेन्ज सम्भावना र ट्रान्सकल्चरल वातावरणलाई कलेजले आफ्नै विशेषता मानेको छ ।
अन्ततः एमआईटी कलेजको कथा केवल एउटा नयाँ कलेज सुरु भएको कथा होइन । यो विदेशिने विद्यार्थीको मनोविज्ञानलाई नेपालमै चुनौती दिने प्रयास हो । यो शिक्षा, सीप, उद्यमशीलता र अन्तर्राष्ट्रिय मान्यतालाई एउटै ढाँचामा उभ्याउने खोज हो ।
केएमसी एजुकेसनल नेटवर्कको छातामुनि सुरु भएको यो संस्थाले “नेपालमै बसेर अमेरिकन डिग्री” भन्ने नारालाई व्यवहारमा बदल्न खोजिरहेको छ । यदि उसले आफ्नो दाबीअनुसार गुणस्तर, पहुँच, सीप र अन्तर्राष्ट्रिय अवसरलाई निरन्तर जोगाइरह्यो भने, एमआईटी नेपाली उच्च शिक्षामा एउटा वैकल्पिक मात्रै होइन, प्रभावशाली मोडेल पनि बन्न सक्छ ।
स्नेहा झा