कीवर्डहरू -

साइबर आक्रमणबाट जोगिन अपनाउनुहोस् यी १० उपाय

साइबर आक्रमणबाट जोगिन अपनाउनुहोस् यी १० उपाय

काठमाडौं । डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर सुरक्षाको जोखिम पनि बढिरहेको छ । मोबाइल, कम्प्युटर, सामाजिक सञ्जाल, इमेल तथा अनलाइन बैंकिङजस्ता सेवा प्रयोग गर्दा सामान्य सावधानी अपनाउन सके साइबर जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

साइबर सुरक्षाका लागि व्यक्तिगत उपकरणदेखि पासवर्ड र संवेदनशील तथ्यांकको सुरक्षासम्म विभिन्न विषयमा ध्यान दिन आवश्यक हुन्छ । यसका लागि निम्न १० असल बानी अपनाउन सकिन्छ:

उपकरणलाई सुरक्षित राख्ने
मोबाइल, ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटर प्रयोग गर्दा सकेसम्म बेवारिसे अवस्थामा नछोड्ने । केही समयका लागि छोड्नुपर्ने भए उपकरणलाई ‘लक’ गरेर राख्ने ।

बलियो पासवर्ड प्रयोग गर्ने
अंक, ठूला तथा साना अक्षर र विशेष चिन्ह समावेश भएको बलियो पासवर्ड प्रयोग गर्ने । पासवर्ड सकेसम्म १० अक्षरभन्दा लामो राख्नुका साथै समय समयमा परिवर्तन गर्ने ।

पासवर्ड, ओटीपी र पिन कसैलाई नदिने
आफ्नो पासवर्ड, ओटीपी तथा पिन कोड अरू कसैसँग साझा नगर्ने । यस्ता गोप्य विवरण सुरक्षित रूपमा राख्ने र अनधिकृत व्यक्तिको पहुँचमा पुग्न नदिने ।

बहु-तह प्रमाणीकरण प्रयोग गर्ने
इमेल, सामाजिक सञ्जाल, फेसबुक, मोबाइल बैंकिङलगायतका खातामा पासवर्डसँगै थप सुरक्षाको व्यवस्था गर्ने । मोबाइल नम्बर, इमेल, फिङ्गरप्रिन्ट वा अन्य माध्यमबाट बहु-तह प्रमाणीकरण (Multi-Factor Authentication) सक्रिय राख्ने ।

शंकास्पद लिङ्क र असुरक्षित वेबसाइटबाट जोगिने
चिनजान नभएका वा शंकास्पद स्रोतबाट प्राप्त लिङ्कमा क्लिक नगर्ने । असुरक्षित वेबसाइट नखोल्ने तथा अनधिकृत वा पायरेटेड सामग्री र सफ्टवेयर डाउनलोड वा स्थापना नगर्ने ।

सफ्टवेयर नियमित रूपमा अद्यावधिक गर्ने
अपरेटिङ सिस्टम, एप्लिकेसन सफ्टवेयर र एन्टिभाइरसलाई नियमित रूपमा अद्यावधिक गर्ने । साथै, आफ्नो उपकरणलाई समय समयमा स्क्यान गरी सम्भावित सुरक्षा जोखिम पहिचान गर्ने ।

सार्वजनिक वाइफाइबाट संवेदनशील कारोबार नगर्ने
सार्वजनिक वाइफाइ वा सार्वजनिक कम्प्युटर प्रयोग गर्दा अनलाइन बैंकिङ तथा अन्य आर्थिक कारोबार नगर्ने । यस्ता नेटवर्कमा संवेदनशील व्यक्तिगत विवरण प्रयोग गर्नबाट समेत सावधानी अपनाउने ।

महत्वपूर्ण तथ्यांकको ब्याकअप राख्ने
महत्वपूर्ण तथा संवेदनशील तथ्यांकको नियमित रूपमा ब्याकअप राख्ने । यसले उपकरण बिग्रिएको, हराएको वा साइबर आक्रमण भएको अवस्थामा आवश्यक तथ्यांक पुन: प्राप्त गर्न सहयोग गर्छ ।

अपरिचित यूएसबी प्रयोग नगर्ने
बेवारिसे अवस्थामा भेटिएको यूएसबी ड्राइभ, पेनड्राइभ वा अन्य बाह्य उपकरणलाई जाँच नगरी आफ्नो कम्प्युटरमा प्रयोग नगर्ने । प्रयोग गर्नुअघि त्यस्ता उपकरणलाई सुरक्षा सफ्टवेयरबाट स्क्यान गर्ने ।

पुराना उपकरणबाट तथ्यांक पूर्ण रूपमा हटाउने
पुरानो कम्प्युटर, मोबाइल, पेनड्राइभ वा अन्य विद्युतीय उपकरण विसर्जन वा अरूलाई दिनुअघि त्यसमा रहेका व्यक्तिगत तथा संवेदनशील तथ्यांक पूर्ण रूपमा हटाइएको सुनिश्चित गर्ने ।

सामान्य देखिने यी सावधानी अपनाउँदा व्यक्तिगत विवरण, अनलाइन खाता तथा महत्वपूर्ण तथ्यांकलाई अनधिकृत पहुँच र साइबर जोखिमबाट जोगाउन सहयोग पुग्छ। त्यसैले प्रविधिको प्रयोगसँगै साइबर सुरक्षालाई पनि दैनिक बानीकै रूपमा विकास गर्नु आवश्यक छ ।