कीवर्डहरू -

एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सञ्चालन

एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सञ्चालन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरूका लागि नेपालमै पहिलो पटक Apple Pay र Google Pay मार्फत भुक्तानी प्राप्त गर्न सकिने सेवा सुरु गरेको छ ।

डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकले यो सुविधा ल्याएको हो । यस अन्तर्गत बैंकको CyberSource Payment Gateway मा आबद्ध भएका तथा हुन चाहने व्यावसायिक ग्राहकहरूले विश्वभर रहेका Apple Pay र Google Pay का Visa तथा Mastercard प्रयोगकर्ताहरूबाट आफ्नो ई-कमर्स प्लेटफर्ममार्फत सुरक्षित रूपमा भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

Apple Pay र Google Pay विश्वव्यापी रूपमा मान्यता प्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन् । यसमा अन्तर्राष्ट्रिय ग्राहकहरूले भौतिक रूपमा कार्ड प्रयोग गरिरहनु पर्ने झन्झट बिना नै आफ्ना कार्डको विवरणलाई मोबाइलमा सुरक्षित (Tokenize) गरी सजिलै भुक्तानी गर्न सक्छन् ।

विशेष गरी होटल, टुर्स एन्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई-कमर्स तथा आईटी क्षेत्रका मर्चेन्टहरूले बैंकको CyberSource गेटवेमार्फत अन्तर्राष्ट्रिय ग्राहकहरूबाट यो भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस सुविधाले नेपाली व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि परिचित भुक्तानी अनुभव प्रदान गर्न मद्दत पुर्‍याउनेछ । साथै पर्यटन, आतिथ्य, सामान निर्यात तथा विदेशी मुद्रा आर्जन गर्ने व्यवसायहरूको अन्तरदेशीय व्यापार विस्तारमा समेत यसले टेवा पुर्‍याउने बैंकले जनाएको छ ।

नेपालमै पहिलो पटक सुरु भएको यस सेवाले समग्र डिजिटल भुक्तानीलाई सरल बनाउँदै देशको अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने बैंकको विश्वास छ ।