भैरहवा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐनलाई भविष्यको आवश्यकतालाई सम्बोधन गर्ने र दीर्घकालीन प्रभाव पार्ने गरी निर्माण गरिने बताउनुभएको छ ।
शिक्षा विभागको आयोजनामा लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिका लागि आयोजित आर्थिक वर्ष २०८३/८४ का नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो ।
उहाँले विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग आवश्यक छलफल गरी प्राप्त सुझावका आधारमा ऐनलाई अन्तिम रूप दिइने बताउनुभयो ।
“विद्यालय शिक्षा ऐन वर्तमान आवश्यकतामा मात्र सीमित नभई भविष्यलाई समेत ध्यानमा राखेर निर्माण गरिनेछ,” उहाँले भन्नुभयो, “ऐन वास्तविक धरातलमा आधारित र दीर्घकालीन प्रभाव पार्ने खालको हुनेछ ।”
मन्त्री पोखरेलले शिक्षा क्षेत्रको नीतिगत सुधारका लागि विद्यालय शिक्षा ऐनसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत अघि बढिरहेको जानकारी दिनुभयो । ऐन निर्माण र पाठ्यक्रम परिमार्जनको प्रक्रियाले नेपालको शिक्षा क्षेत्रलाई दीर्घकालीन रूपमा सुधार र रूपान्तरण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा अभिमुखीकरण तथा छलफल गरिएको थियो ।
आईसीटी समाचार