कीवर्डहरू -

निमा एकेडेमी र विस्टिम बीच सहकार्य

निमा एकेडेमी र विस्टिम बीच सहकार्य

निमा एकेडेमी र विस्टिम (वुमन इन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स एण्ड म्याथम्याटिक्स) बीच सहकार्य भएको छ l सहमति पत्रमा हस्ताक्षर गर्दै निमाका सिओओ नेहा जोशी र विस्टिमका संस्थापक बिनिता श्रेष्ठले एक-अर्काको सहयोगमा अगाडी बढ्ने दृढता जनाएका हुन् l

सहकार्यसँगै निमा एकेडेमीले विस्टिमका शैक्षिक सामग्री तथा कोर्सहरु आफ्नो वेबसाइट र एपमा उपलब्ध गराएको छ l योसंगै अब स्टिमका शैक्षिक सामग्रीहरु निमामा निशुल्क पाइनेछ l

विस्टिमले कम्प्युटर करियरमा महिलाहरुको सक्रियता बढाउन र यस क्षेत्रमा महिलाहरुको संलग्नता बढाउन विभिन्न डिजिटल साक्षरता र स्टिमका कार्यक्रमहरु गर्ने गरेको छ l

कम्प्युटर क्षेत्र र डिजिटल प्रबिधिमा महिला र पुरुषहरुको लैङ्गिक भिन्नता घटाउन विस्टिम अग्रसर छ l विस्टिमले किशोरीहरुका लागि विभिन्न किसिमका अबसरहरु, आत्मविश्वास बढाउने अनि रचनात्मकता उर्जागर गर्ने खालको कार्यक्रमहरु लिएर आउने गरेको छ l धेरै भन्दा धेरै महिला तथा किशोरीहरुलाई कम्प्युटर क्षेत्रमा आफ्नो करियर बनाउन विस्टिमले प्रोत्साहन गरेको छ l

विज्ञान, प्रविधि, इन्जिनीयरिंङ्ग, कला र गणित क्षेत्रमा महिलाहरुको संख्या दोब्बर गराउने उदेश्य विस्टिमको रहेको छ l यसैको लागि विस्टिमले महिलाहरुलाई लक्षित गरी उनीहरुको कला, सिप र ज्ञानलाई बढावा दिने किसिमको शैक्षिक कार्यक्रम र सामाग्रीहरु पस्किने गरेको छ l

निमा एकेडेमी सन् २०१८ मा स्थापित एउटा नविन ई-शिक्षा प्रणाली हो जसले विद्यार्थी र शिक्षकहरुको लागि डिजिटल शिक्षण सामग्री प्रदान गर्दछ l

हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु पाइन्छ र आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको छ । निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइन्मेन्ट तथा गेमहरू समावेश गरिएको छ l