कीवर्डहरू -

चिप अभावले नेपाली बजार पनि प्रभावित, स्मार्टफोनको माग धान्नै गाह्रो

चिप अभावले नेपाली बजार पनि प्रभावित, स्मार्टफोनको माग धान्नै गाह्रो

गत आर्थिक वर्षमा ठूलो मात्रामा मोबाइल सेट आयात भए पनि बजारको मागअनुसार भने प्रयाप्त हुन सकेको छैन । बजारमा स्मार्टफोनको मागअनुसार आपूर्ति हुन सकेको छैन ।

बजारमा स्मार्टफोनको मागलाई पुरा गर्न नसकिएको सम्बन्धित व्यवसायीहरु बताउँछन् । नेपाल मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले बजारको माग पुरा गर्न गाह्रो भइरहेको बताए ।

‘अहिले बजारको मागलाई पुरा गर्न सकिएको छैन,’ मल्होत्राले भने, ‘जति आयात भए पनि अर्को दिन नै सकिन्छन् । जुन दिन दश हजार मोबाइल आउँछन्, त्यसैदिन सकिन्छन् ।’

यसको प्रमुख कारण विश्वभरी रहेको मोबाइल चिपको अभाव हो । पछिल्लो केही महिनादेखि विश्वबजार मोबाइल चिपको अभाव रहेको छ । विश्व बजारमा स्मार्टफोनको माग धेरै भएपछि चिप उत्पादन मागअनुसार हुन सकेको छैन ।
त्यसको प्रभाव नेपालमा पनि परेको मल्होत्राले बताए । ‘नेपालमा मागअनुसारको मोबाइल आपूर्ति नहुनुको प्रमुख कारण चिप अभाव भएर नै हो,’ मल्होत्राले भने, ‘मागअनुसारको मोबाइल ल्याउन सकिएको छैन ।’

केही दिनअघि नेपालमा चिनिया ब्रान्ड रियलमीको आधिकारिक बिक्रेताका रुपमा शंकर ग्रुपलाई नियुक्ती गर्दै रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सीईओ माधव शेठले पनि विश्व बजारमा चिपको अभावका कारण मागअनुसारको आपूर्ति गर्न नसकिएको बताएका थिए । उनले विश्व बजारमा अझै केही समयसम्म चिप अभाव रहिरहन सक्ने पनि बताए ।

एकातिर आपूर्ति कम भइरहेको बेला नेपालमा स्मार्टफोनको माग अझ बढेको छ । कोभिड संक्रमणको कारण घरबाटै काम गर्ने, अनलाइन कक्षा, जुम मिटिङले स्मार्टफोनको माग बढेको हो ।

स्वभाविक रुपमा बढ्ने बजारसँगै कोभिड संक्रमणका कारण स्मार्टफोनको बजार वृद्धि भएको मल्होत्राले बताए ।  साथै, पुराना र बार फोन प्रयोगकर्ताले पनि अहिले स्मार्टफोन प्रयोग गर्न थालेका छन् । स्मार्टफोन बिना सामाजिक संजालदेखि विदेशमा रहेको आफन्तसँग भिडियोमा कुरा गर्न नसक्ने भएपछि यसको माग बढेको हो ।

त्यस्तै, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अवैध मोबाइल बन्द गर्ने घोषणा गरेपछि पनि स्मार्टफोनको बिक्री बढेको उनको भनाइ छ ।

अहिले नेपालमा चलेका हरेक ब्रान्डले आफ्ना मोबाइलको माग धान्न नसकेको उनी बताउँछन् । नेपाली बजारमा सामसङको एकछत्र बजार थियो । पछिल्लो समय भने अन्य ब्रान्डले सामसङसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

साओमीले सामसङसँग राम्रै प्रतिस्पर्धा गरिरहेको छ । ओपो, रियलमी, ह्वावे जस्ता मोबाइल पनि नेपालमा धेरै बिक्री हुनेमा पर्छन् ।

माग धान्न सकस भइरहेको बेला गत आर्थिक वर्षमा भने मुलुकको मोबाइल व्यवसाय धेरै राम्रो भयो । उक्त वर्ष मोबाइल व्यवसायमा नयाँ रेकर्ड राख्दै मुलुकमा ३७ अर्बका मोबाइल भित्रिएका थिए ।

गत आर्थिक वर्ष २०७७÷७८ को तथ्यांकअनुसार ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ बराबरका मोबाइल हेन्डसेट भित्रिएका छन् ।

यो मुलकको मोबाइल व्यवसायको अहिलेसम्मको सबैभन्दा धेरै हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष मोबाइल आयात १०३ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष मुलुकमा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँ बराबरका मोबाइल भित्रिएका थिए ।