कीवर्डहरू -

क्यूआर कोडसहितको खोप कार्डका लागि १७ हजारको आवेदन, चार हजारलाई वितरण

क्यूआर कोडसहितको खोप कार्डका लागि १७ हजारको आवेदन,  चार हजारलाई वितरण

सरकारले साउन २१ गतेदेखि कोरोना भाइरस कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थाले पनि  एकैपटक धेरैले आवेदन गरेका कारण यस्तो कार्ड उपलब्ध गराउन समस्या भएको छ ।

विद्युतीय प्रमाणीकरण खोप समयमै उपलब्ध गराउन नसक्दा वैदेशिक रोजगारमा जानेहरुले सास्ती खेप्नुपरेको छ । क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र विना विदेश प्रवेशमा रोक लगाएपछि खोप प्रमाणीकरण कार्ड लिन एक सातादेखि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा लाइन लाग्ने गरेको छ ।

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार चार दिनमा १७ हजार जनाले आवेदन दिएकाले वितरणमा ढिलाइ भएको जानकारी दिए ।

एकै पटकमा धेरै जना आएपछि वितरणमा समस्या भएको स्वीकार गर्नु हुँदै उनले सहज रुपमा पाउने गरी व्यवस्थापनमा जुटेको बताए । कर्मचारीको थप व्यवस्थापन र अनलाइन फारम भर्न सहयोग गरेर छिटो सेवा दिने गरी काम सुरु गरेको उनले जानकारी दिए ।

मन्त्रालयले हालसम्म करिव चार हजार जनालाई क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गरिसकेको जनाएको छ ।

मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।

अनलाइन रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरु अपलोड गरी प्रमाणपत्र लिन सकिन्छ भने अनलाइन पोस्ट् रजिस्ट्रेसन गर्न असमर्थ भएकाहरुले राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा उपस्थित भएर कागजात पेश गरी खोप प्रमाणपत्र लिन सक्ने गरी व्यवस्था गरेको छ ।

मन्त्रालयले खोप प्रमाणपत्र लिनका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपि, खोप कार्डको फोटोकपी जस्ता कागजातहरु पेश गर्न भनेको छ ।

तीन दिनभित्र विदेश जानेहरुले भिसा र टिकटको फोटोकपीसमेत पेश गर्नु पर्ने मन्त्रालयले जनाएको छ । गाेरखापत्र