काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान र नवप्रवर्तनको क्षेत्रमा पर्याप्त लगानी र अवसर सिर्जना गर्न सके युवाको विदेश पलायन न्यूनीकरण गर्न सकिने बताएका छन् ।
मंगलबार राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले नवप्रवर्तनलाई रोजगारी र उद्यमसँग जोडेर अघि बढाउने सरकारको लक्ष्य रहेको बताए ।
उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय गठन हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यस क्षेत्रको बजेट क्रमशः बढ्न थालेको बताए ।
विगतमा विज्ञान र प्रविधिलाई पर्याप्त प्राथमिकता नदिइएको स्मरण गर्दै उनले त्यसकै कारण आफू नीति निर्माणको तहमा पुगेर काम गर्न राजनीतिमा आएको बताए ।
मन्त्री पुनका अनुसार मन्त्रालयका लागि पुँजीगत खर्चअन्तर्गत करिब चार अर्ब रुपैयाँ विनियोजन गरिएको छ । बजेट प्रस्तुत हुँदा मन्त्रालयले नेतृत्व नपाएकाले तीन अर्ब ४० करोड रुपैयाँ भने हाललाई अबण्डा शीर्षकमा राखिएको जानकारी उनले दिए ।
उनले विज्ञान र प्रविधिको विकास संघीय सरकारको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै प्रदेश र स्थानीय तहलाई पनि आफ्नो पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत यस क्षेत्रमा विनियोजन गर्न आग्रह गरिएको बताए ।
मन्त्रालय गठनपछि आवश्यक कानुनी तथा संस्थागत संरचना निर्माणको काम अघि बढाइएको जानकारी दिँदै उनले नियमावली तयार पार्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने तथा अनुसन्धान र नवप्रवर्तनलाई व्यवस्थित बनाउने तयारी भइरहेको बताए ।
साथै, युवा वैज्ञानिकबाट अनुसन्धान प्रस्ताव आह्वान गरी उनीहरूको अनुसन्धानलाई प्रोत्साहन गरिने उनले बताए । मन्त्री पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ संसदमा विचाराधीन रहेको जानकारी दिँदै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बजेट समेत बढाउने तयारी रहेको बताए ।
नेपालमा हालसम्म करिब ९० वटा मात्रै पेटेन्ट दर्ता भएको उल्लेख गर्दै उनले आविष्कार र बौद्धिक सम्पत्तिको संरक्षणलाई सुदृढ बनाउने प्रतिबद्धता जनाए ।
विज्ञान र प्रविधिमा गरिने खर्चलाई खर्च नभई दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै उनले विकसित राष्ट्रहरूले यही क्षेत्रमा निरन्तर लगानी गरेर आर्थिक समृद्धि हासिल गरेको उदाहरण दिए ।
विदेशमा रहेका नेपाली वैज्ञानिक तथा दक्ष जनशक्तिलाई स्वदेश फर्काएर अनुसन्धान र नवप्रवर्तनमा सहभागी गराउने दिशामा मन्त्रालयले काम गरिरहेको पनि मन्त्री पुनले बताए ।
आईसीटी समाचार