कीवर्डहरू -

७५ प्रतिशत सरकारी इमेल लग–इन नै भएनन्, प्रति इमेल १० हजार खर्च 

७५ प्रतिशत सरकारी इमेल लग–इन नै भएनन्, प्रति इमेल १० हजार खर्च 

सरकारी निकायमा कार्यरत कर्मचारीको लागि भनेर हजारौं इमेलको लाइसेन्स र सुरक्षामा वर्षेनी करोडौं खर्च भए पनि ति इमेलको उचित प्रयोग नभएको पाइएको छ ।

सरकारले आफ्ना कर्मचारीको लागि [email protected] [email protected] प्रयोग गर्न भनेर २० हजार लाइसेन्स लिएको छ । उक्त इमेलको लाइसेन्स, सपोर्ट र सेक्युरिटीको लागि प्रति इमेल झन्डै वार्षिक झन्डै १० हजार रुपैया शुल्क तिरिरहेको छ ।

सरकारले २० हजार लाइसेन्सबाट १२ हजार १७८ मात्र इमेल अकाउन्ट बनाएको छ । बनाइएका यि युजरमध्ये ७५ प्रतिशत लामो समयदेखि प्रयोग नभएको महालेखाको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

१२ हजार १७८ मात्र इमेल एकाउन्ट बनाएकोमा सोमध्ये करिब २५ प्रतिशत सक्रिय रहेको र बाँकी ७५ प्रतिशत इमेल आईडी लामो समयदेखि प्रयोग भएका छैनन् ।

१ हजार ८८ प्रयोगकर्ताले पछिल्लो १ वर्षदेखि, १ हजार ९ सय ६० जनाले तीन महिनादेखि र ३ हजार ७९३ जनाले ३० दिनदेखि इमेल लगइन गरेका छैनन ।

सरकारले प्रति इमेल अकाउन्टका लागि ९ हजार ८८७ रुपैयाँका दरले शुल्क बुझाउनु पर्छ । प्रयोगमा नआएका ७ हजार ८ सय २२ युजरको लागि वार्षिक ७ करोड ७३ लाख ३९ हजार रुपैयाँ अनावश्यक खर्च भइरहेको महालेखाको वार्षिक प्रतिवेदनले उल्लेख गरेको छ ।

सरकारी निकायमा कार्यरत कर्मचारीहरका लागि आधिकारिक सरकारी ईमेल आईडी निःशुल्क उपलब्ध हुदै आएकोमा २०७६ वैशाखदेखि जिम्ब्राको इन्टरप्राइजेज इमेल सिस्टम प्रयोग गर्न सुरु गरेको थियो ।

२०७५÷७६ मा १० हजार इमेलको लाइसेन्स, सपोर्ट र सेक्युरिटीको लागि ९ करोड ९० लाख ४४ हजार रुपैयाँ खर्च भएको थियो । त्यसपछि २०७६÷७७ मा थप १० हजार लाइसेनसको लागि उक्त सिस्टमको इमेल तथा सुरक्षा र सपोर्ट सर्भिस खरिदको लागि ९ हजार ८७ लाख ५ हजार खर्च भएको थियो ।

दुई आर्थिक वर्षमा २० हजार इमेलको लागि हालसम्म १९ करोड ७७ लाख ४७ हजार खर्च भएको छ । यसमा प्रति इमेल ९ हजार ८८७ खर्च हुन जान्छ ।

सरकारी इमेल प्रयोगमा सरकारी डोमेनको प्रयोग पनि सहित र मितव्ययी तरिकाले नभएको महालेखाकाले उल्लेख गरेको छ । एउटै कर्मचारीको लागि [email protected] मा र सम्बन्धित कार्यालयको डोमेन [email protected] मा २ वटा अकाउन्ट बनाउने र सरुवा भएर जाँदा पछिल्लो कार्यालयको डोमेनमा पनि थप अकाउन्ट बनाउने सक्ने भएकाले यसरी प्रत्येक पटक सुरुवा हुँदै जाँदा अकाउन्ट थप हुदै जान्छ ।

यस किसिमको व्यवस्थाले ठूलो संख्यामा ईमेल आईडी आवश्यक पर्ने र ठूलो रकम अपव्यय हुने महालेखाको ठहर छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले २०७७/७८ मा ३ करोड ७७ लाख ९९ हजारमा १५ हजार इमेलको सपोर्ट एण्ड सब्सक्रिप्सन रिन्यु गरेको छ भने ५ हजार इमेल हाल आवश्यक नपर्ने उल्लेख गरी ति इमेलको लागि सेवा खरिद गरेको छैन ।

महालेखाले सार्वजनिक स्रोतको उपयोग मितव्ययी तवरले भएको नदेखिएको र सम्बन्धित निकायबीचको समन्वयको कमीका कारणले सार्वजनिक स्रोतको अनाश्यक खर्च भएको उल्लेख गरेको छ ।
निजामती किताबखानाको सूचना प्रणालीसँग आवद्धता स्थापित गरी सेवामा नरहेका कर्मचारीको इमेल आफै हट्ने बनाउनु पर्ने सुझाब दिएको छ ।

साथै, इमेल अकाउन्ट बनाइसकेपछि निश्चित अवधिसम्म प्रयोग नभएमा आफै निष्क्रिय हुने, त्रुटी भएका इमेल मेटाएर वा त्रुटी सच्याएरर इमेल सर्भरलाई नियमति रुपमा अद्यावधिक गर्ने र खरिद भएको इमेल लाइसेन्स उपभोग भएपछि मात्र थप खरिद गर्न निर्देशन दिएको छ ।