महालेखापरीक्षकको कार्यालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रशासनिक कार्यमा बढी तथा कार्यक्रम र अनुसन्धान कार्यमा कम खर्च गर्दा विज्ञान तथा प्रविधिको क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको बताएको छ ।
महालेखापरीक्षकको ५८ औं प्रतिवेदनमा प्रतिष्ठानले प्रशासनिक कार्यमा बढी तथा कार्यक्रम तथा अनुसन्धान कार्यमा कम खर्च गर्दा विज्ञान तथा प्रविधिको क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको हुँदा अध्ययन, अनुसन्धान, कार्यलाई प्राथमिकता प्रदान गरी खर्च गर्ने तर्फ ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।
प्रतिष्ठानको कुल खर्चमध्ये तलब, भत्ता, ज्याल एवं प्रशासनिक तथा अन्य खर्च २०७४/७५ मा ६९.११ प्रतिशत, २०७५/७६ मा ७६.६२ र २०७६/७७ मा ७१.१६ प्रतिशत रहेको छ भने अध्ययन अनुसन्धान खर्च कुल खर्चको तुलनामा क्रमशः ३०.८९ प्रतिशत, २३.३८ प्रतिशत र २८.८४ प्रतिशत रहेको छ ।
नेपालमा विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान र प्रवर्द्धन प्राविधिक क्रियाकलापको लागि उपयुक्त वातावरण सिर्जना गर्न बिक्रम संबत २०३९ सालमा स्थापना भएको थियो । नास्टमा हाल १०४ जना कर्मचारी कार्यरत रहेका छन् ।
आईसीटी समाचार