कीवर्डहरू -

डिजिटल भुक्तानीमा उत्साह, एक महिनामा साढे ५२ खर्बको कारोबार

डिजिटल भुक्तानीमा उत्साह, एक महिनामा साढे ५२ खर्बको कारोबार

मुलुुकमा विभिन्न डिजिटल माध्यमबाट भुक्तानी सुरु भइरहेको बेला गएको वर्ष उत्साहजनक कारोबार भएको छ ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएएल)का विभिन्न डिजिटल प्लेटफर्म, बैंकका डिजिटल प्लेटफर्म, मोबाइल वालेटका प्रयासबीच गत आर्थिक वर्ष २०७७/७८ को अन्तिम महिनामा  मुलुकमा ५२ खर्ब ६६ खर्ब ६७ करोड २० लाख रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरणअनुसार विभिन्न १५ वटा माध्यमबाट उक्त कारोबार भएको हो ।

डिजिटल कारोबारमा सबैभन्दा ठूलो भूमिका एनसीएचएएलका विभिन्न प्लेटफर्मले खेलेका छन् । एनसीएचएलद्धारा सञ्चालित आरटीजीएस, इसीसी, कनेक्ट आइपीएस, आइपीएसबाट ठूलो मात्रामा विद्युतीय कारोबार भएको छ ।

बैंकहरुले ल्याएका डिजिटल भुक्तानी सेवाहरु मोबाइल बैंकिङ, मोबाइल वालेट, क्युआर पेमेन्टलगायबाट डिजिटल भुक्तानीमा वृद्धि भएको छ ।

बैंकबाट बैंकमा डिजिटल भुक्तानी गर्न सकिने आरटीजएसबाट वर्षभरीमा ठूलो कारोबार भएको छ । गएको वर्ष असारमा मात्र ३५ खर्बको आरटीजीएस भएको छ । त्यसअघिको वर्षको असारमा आरटीजीएसबाट १५ खर्ब ६७ अर्बको कारोबार भएको थियो ।

आईपीएसबाट हुने कारोबार पनि वृद्धि भएको छ । गत वर्षको असार महिनामा २ खर्ब २३ अर्ब ६५ करोड ५१ लाखको कारोबार भएकोमा गत वर्षको असारमा आइपुग्दा झन्डै ३ खर्ब पुगेको छ ।

त्यस्तै, इसीसीको कारोबार पनि झन्डै ८ खर्बबाट झन्डै १० अर्ब पुुगेको छ । डेभिड कार्डबाट हुने कारोबार २५ अर्ब ८९ करोडबाट ६६ अर्ब ४१ करोड पुुगेको छ । क्रेडिट कार्ड, प्रिपेड कार्ड, प्वाइन्ट अफ सेल (पीओएस) को कारोबार पनि वृद्धि भएको छ ।

कनेक्ट आईपीएसको कारोबार ३६३ प्रतिशतले वृद्धि

मुलुकमा विद्युुतीय भुक्तानीमा एनसीएचीद्धारा सञ्चालित कनेक्ट आईपीएसले ठूलो सफलता पाएको छ । एक वर्षमा कनेक्ट आईपीएसबाट डिजिटल भुक्तानीको कारोबार ३६३ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरणअनुसार असार महिनामा कनेक्ट आइपीएसबाट २ खर्ब ३७ अर्ब ७५ करोड ८० लाखको कारोबार भएको छ । गत वर्ष सोही महिनामा कनेक्ट आईपीएसबाट कारोबार हुने रकम ५१ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबर थियो ।

गत आर्थिक वर्षको अन्तिम महिना असारमा कनेक्ट आईपीएसबाट हुने कारोबार अहिलेसम्मकै उच्चमा पुगेको छ । जेठ महिनामा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाखको कारोबार भएको असार महिनामा ५० प्रतिशतले वृद्धि हुदै २ खर्ब नाघेको हो ।

मोबाइल बैंकिङ करोबार २९१ प्रतिशतले वृद्धि

गत आर्थिक वर्षभरीमा मोबाइल बैंकिङ कारोबारमा २९१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार गएको असार महिनामा मोबाइल बैंकिङ कारोबार ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुुगेको छ । जब कि अघिल्लो वर्षको सोही अवधिमा भने मोबाइल बैंकिङ कारोबार १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

यस हिसाबले हेर्दा वर्षदिनमा मोबाइल बैंकिङ कारोबारमा २९१ प्रतिशतले वृद्धि भएको देखिन्छ । कोरोना संक्रमणका कारण लकडाउन र बैंकहरुले भौतिक उपस्थितिलाई सकेसम्म कम गरेसँगै मोबाइल बैंकिङ कारोबार उच्च भएको हो । गत आर्थिक वर्षका हरेक महिना मोबाइल बैंकिङ कारोबार तीव्र रुपमा बढेको छ ।

क्युआर पेमेन्टबाट महिनामा साढे ३ अर्बबढी भुक्तानी

मुलुकमा क्युआरमा आधारित भुक्तानी सुरु भएका धेरै भएका छैन । पहिला फाट्टफुट्ट हुने भए पनि गत आर्थिक वर्षमा यसको प्रयोग व्यापक भएको हो ।

नेपाल राष्ट्र बैंकले क्युुआर पेमेन्टलाई प्राथमिकतमा राखेर काम गर्न थालेपछि यसको चर्चा र भुक्तानी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार असार महिनामा मात्र ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको क्युुआरमा आधारित भुक्तानी भएको छ ।

यो भुक्तानी अहिलेसम्म कै धेरै हो । राष्ट्र बैंकको विवरणमा अघिल्लो वर्षको विवरण नभए पनि गत आर्थिक वर्षको पहिलो महिनामा ५८ करोड ९० लाख रुपैयाँको क्युुआर पेमेन्ट भएको थियो ।

यस हिसाबले हेर्दा एक वर्षको अवधिमा ५१९ प्रतिशतले क्युआर भुक्तानीमा वृद्धि एको छ । गत आर्थिक वर्षको हरेक महिना क्युआर पेमेन्ट भुक्तानी वृद्धि भएको छ ।

कार्ड प्रयोग गरेर भुक्तानी गर्ने स्वात्तै घटे

मुलुकमा डिजिटल भुक्तानीका विभिन्न माध्यम आइरहेको बेला कार्ड प्रयोग गरेर किनमेलको लागि भुुक्तानी गर्नेको संख्या स्वात्तै घटेको छ ।

गत आर्थिक वर्षको असार महिनामा कार्ड प्रयोग गरेर सामान किन्न भुुक्तानी रकम २९ करोड ६० लाख रुपयाँ भएको छ । जब कि गत आर्थिक वर्षको पहिलो महिनामै कार्ड प्रयोग गरेर किनमेल गरेको रकम १ अर्ब २० करोड १० लाख रुपैयाँ थियो ।

ट्रान्जेक्सन संख्या पनि गत वर्षको पहिलो महिनामा १ लाख ६८ हजार रहेकोमा अन्तिम महिनमा ५२ हजारमा झरेको छ ।
यस हिसाबले हेर्दा वर्षदिनभित्रमा कार्ड प्रयोग गरेर सामान किन्ने रकम ७५ प्रतिशतले घटेको छ । गत वर्षका हरेक महिनमा कार्डबाट भुक्तानी रकम उतरचढाव देखिन्छ ।

साउनमा १ अर्ब माथि भुक्तानी भएकोमा भदौमा ५६ करोडमा झरेको छ । त्यसपछिका महिनामा पनि थपघट हुदै फागुनमा १ अबै नाघेको छ भने त्यसपछि स्वात्तै घटेर १६ करोड १० लाखमा झरेको छ ।