कीवर्डहरू -

आउँदै छ नयाँ ई-कमर्श कम्पनी बिज बजार, आईपीओ पनि जारी गर्ने 

आउँदै छ नयाँ ई-कमर्श कम्पनी बिज बजार, आईपीओ पनि जारी गर्ने 

नेपालको अनलाइन बजार फराकिलो बन्दै गएको छ । एकपछि अर्को गर्दै कम्पनी थपिदै गएका छन् भने प्रतिस्पर्धा पनि तीव्र छ ।

यही प्रतिस्पर्धाको बीचमा अर्को ई-कमर्श प्लेटफर्म आउँदै छ, बिज बजार । असोज १ गतेदेखि सुरु हुन लागेको बिज बजार पब्लिक कम्पनी हो, जसले निकट भविष्यमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने योजनासमेत बनाएको छ ।

१८ महिनाको तयारी पछि बिज बजार सुरु हुन लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश राज गौतमले बताए।

‘हाम्रो स्लोगन नै छ ‘जे चाहिन्छ, त्यो पाइन्छ’, गौतमले आइसिटी समाचारसँग भने, ‘त्यसअनुसार ग्रोसरी, हार्डवेयर, इलेक्ट्रोनिक्स, फेसन, ज्वेलरी लगायतका सबै सामानहरु पाइन्छन् ।’

कम्पनीले अहिले बेटा परीक्षण शुरू गरेको छ । कम्पनीले सुरूवातको अवसरमा भेन्डर र ग्राहकका लागि अफर ल्याएको छ । यस अफर अन्तर्गत भेन्डरलाई ३ महिना जिरो प्रतिशत कमिसन सुविधा उपलब्ध हुने जनाइएको छ । साथै २४ घण्टा भित्रमा पेमेन्ट सेड्युल भइसक्ने छ । भेन्डर बन्नका लागि वेबसाइट मा गएर रजिष्ट्रेसन गर्न सकिने छ ।

\"\"

त्यस्तै ग्राहकका लागि पनि विभिन्न ओपनिङ अफर ल्याउने लागेको गणेश बताउँछन् । कम्पनीले रिफरल अफर पनि ल्याउँदै छ । जसमा ५० रूपैयाँको रिफरल कुपन पाइने छ । त्यो कुपन सामान खरिद गर्दा प्रयोग गर्न सकिने छ । त्यस्तै ग्राहकले २५ प्रतिशत सम्म छुुट अफर ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको वेबसाइट र मोबाइल एपबाट सामान खरिद गर्न सकिने छ । मोबाइल एप अहिले एप स्टोर र प्ले स्टोरमा रिभ्युको चरणमा रहेको छ ।

बिज बजारबाट सामान खरिद गर्दा खल्ती र कनेक्ट आईपीएसबाट पैसा तिर्न सकिने छ । अन्य पेमेन्ट गेटवे पनि जोड्ने कम्पनीको योजना रहेको छ । क्यास अन डेलिभरीको सुविधा समेत रहेको छ ।

७७ जिल्लामै सेवा

कम्पनीले ७७ वटै जिल्लामा सेवा दिने छ । त्यसका लागि सातै प्रदेशमा कार्यालय खोलिसकेको छ । बिज बजारबाट देशभरीले डेलिभरीको सुविधा पाइने उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा ४८ घन्टाभित्रमा सामान डेलिभरी गर्ने र उपत्यका बाहिर ३ दिनभित्रमा डेलिभरी हुने कम्पनीले जनाएको छ । बिज बजारमा अथेन्टिक प्रडक्टमात्रै राख्ने दावी उनले गरे ।

अहिले सञ्चालनमा रहेका ई-कमर्श कम्पनी सेवामुखीभन्दा पनि नाफामुखी भएकाले ग्राहकले विश्वास जित्न नसकेको उनको भनाइ छ ।

‘बिज बजारमा सूचीकृत भएको प्रडक्टको अथेन्टिसिटी जाँच गर्छौं,’ उनले भने, ‘डिस्कृप्सन अनुसारको प्रडक्ट हो की होइन भनेर जाँच गर्ने हाम्रो छुट्टै टिम छ । अथेन्टिक प्रडक्ट हो भन्ने भएपछि मात्र हामी डिसप्याच गर्छौं ।’

\"\"

रिटर्नको प्रक्रियालाई पनि सजिलो बनाएको उनले बताए । यदी सामान चित्त बुझेन भने अर्डरबाट नै रिटर्न प्रक्रिया थाल्न सकिन्छ । ४८ घण्टादेखि ७२ घण्टाभित्र रिटर्न प्रक्रिया सम्पन्न हुन्छ । रिटर्न गरेको प्रडक्ट लिन कम्पनीको ग्राहकको घरमा जानेछ । कम्पनीले सातदिनको रिटर्न पोलीसी राखेको छ ।

३ वर्षमा आईपीओ

बिज बजार प्राथमिक शेयर (आईपीओ) जारी गर्ने योजना सहित पब्लिक लिमिटेड कम्पनी भएको छ । प्राथमिक शेयर (आईपीओ) ल्याउने उद्देश्य अनुरूप कम्पनी शुरूमै पब्लिक कम्पनीमा दर्ता भएको उनी बताउँछन् ।

अबको ३ वर्षभित्रमा आईपीओ ल्याउने तयारी गरेको उनले बताए । ‘आईपीओ ल्याउने तयारी स्वरूप हामीले यसलाई शुरूमै पब्लिक कम्पनीको रूपमा सञ्चालन गरिरहेका छौं,’ गौतम भन्छन् ।

२ वर्षमा १६ सयलाई रोजगारी

अहिले बिज बजारमा करिब ९० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । काठमाडौंको कार्यालयमा ५६ जना कार्यरत रहेका छन् भने प्रदेश कार्यालयमा जनघन्त्व हरेर २ देखि ६ जनासम्म कार्यरत छन् । आगामी २ वर्षभित्रमा करिब १६ सयलाई रोजगारी दिने योजना अनुसार कम्पनी अगाडि बढेको उनले सुनाए ।