कीवर्डहरू -

एफवान सफ्टः वेब होस्टिङदेखि फिनटेक लिडरसम्म, १४ सहायक कम्पनी, १ हजार बढीलाई रोजगारी

नेपाललाई डिजिटल भुक्तानीको संसारमा डोर्‍याउन एफवान सफ्टको योगदान उल्लेखनीय र महत्वपूर्ण छ

एफवान सफ्टः वेब होस्टिङदेखि फिनटेक लिडरसम्म, १४ सहायक कम्पनी, १ हजार बढीलाई रोजगारी

आजभन्दा एक दशक अघि विद्युतको बिल तिर्न, खानेपानीको बिल तिर्न कार्यालयमा जानुपर्थ्यो । त्यो पनि लामो लाइन बसेपछि मात्रै बिल तिर्ने पालो आउथ्यो । त्यो बेला नेपालमा डिजिटल पेमेन्टको परिकल्पना एकदम कमैले गरेका थिए होला ।

त्यही परिकल्पना गर्ने मध्येको एक थियो, एफवान सफ्ट इन्टरनेसनल । सन् २००४ मा वेब डेभलपमेन्ट, वेब होस्टिङ गर्ने कामबाट स्थापना भएको एफवान सफ्ट इन्टरनेसल आज एउटा ग्रुपमा परिणत भएको छ ।

वार्षिक अर्बौंको कारोबार गर्छ । एफवान सफ्ट नेपालको फिनटेक क्षेत्रको अग्रणी कम्पनी हो । जसले डिजिटल भुक्तानीका लागि मोबाइल बैंकिङ सिस्टमदेखि मोबाइल वालेटसम्म बजारमा ल्याएको छ । डिजिटल भुक्तानी सेवा शुरूवात गरेर कम्पनीले सहज र सजिलो बनाइ दियो ।

अझ मानिसको अमूल्य समय बचत गरिदियो । एफवान सफ्ट सानो पृष्ठभूमिबाट आएको कम्पनी भएको एफवान सफ्टका संस्थापक सुवास शर्मा बताउँछन् । नेपालमा विभिन्न अवसरहरू खोज्ने क्रममा सन् २००६ बाट वित्तिय क्षेत्रमा काम गर्ने योजना अनुरूप कम्पनी वित्तिय क्षेत्रमा केन्द्रीत भएको उनी सम्झन्छन् ।

हाल एक दर्जन बढी कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत छन् । भने ३ जनाले शुरू गरेको कम्पनीमा आज हजारबढीले रोजगारी पाएका छन् । एफवान सफ्टलाई नेपालको फिनटेक क्षेत्रमा कखरा सिकाएको कम्पनीभन्दा फरक पर्दैन् । नेपाललाई डिजिटल भुक्तानीको संसारमा डोर्‍याउन एफवान सफ्टको योगदान उल्लेखनीय र महत्वपूर्ण छ ।

एसएमएस बैंकिङबाट फिनटेक क्षेत्रमा हात हालेको कम्पनीले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधि निर्माण गरेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । फिनटेक क्षेत्रको ‘पायोनियर’ हो एफवान, सफ्ट ।

वेब होस्टिङ देखि फिनटेक सम्म

सन् २००४ मा एफवान सफ्ट इन्टरनेसनल वेबसाइट डेभलपमेन्ट, होस्टिङ र नेटवर्किङ सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको थियो । शुरूमा विश्वास ढकालले स्थापना गरेको एफवान सफ्टमा पछि अस्गर अलि र सुवास शर्मा जोडिए ।

डोमेन दर्ता, वेब होस्टिङ जस्ता काम गर्दा गर्दै सन् २००७ मा एसएमएसमा आधारित नेपाल टेलिकमको भास (भ्यालु एडेड सर्भिसेस) प्रदायकको रूपमा काम गर्न थाल्यो ।

कम्पनी खासै नाफामा नगएपछि उनीहरूले नयाँ नयाँ अवसरहरू खोजी गर्न थाले । त्यो अवसर खोतल्दै जाँदा ‘फिनटेक’ क्षेत्रमा काम गर्ने योजना बनाए । त्यो बेला नेपालमा फिनटेक सेवा कसैले पनि दिएको थिएन् । कम्पनीले बैंकलाई लक्षित गर्‍यो र सन् २००७ मा एसएमएस बैंकिङ तयार पार्‍यो ।

शुरूमा यो सेवा लक्ष्मी बैंकले प्रयोग गर्‍यो अनि अन्य बैंकले पनि यो सेवा शुरू गरे । एमएसएम बैंकिङ पछि कम्पनीले बैंक अफ ग्लोबल र बैंक अफ एशियाका लागि इन्टरनेट बैंकिङ विकास गर्‍यो ।

\"\"

त्यसपछि डिजिटल पेमेन्टका लागि एफवान सफ्टले सन् २००९ मा ‘इसेवा’ सार्वजनिक गर्‍यो । इसेवाको अवधारणा सन् २००६ बाट नै आएको थियो । आज इसेवालाई नै देखेर नेपालको वालेट उद्योगमा धेरै कम्पनी प्रवेश गरिसकेका छन् ।

सन् २०१० मा इसेवा औपचारिक रूपमा सार्वजनिक भएको थियो भने सन् २०१२ मा छुट्टै कम्पनीको रूपमा स्थापना भएको थियो । जुन एफवान सफ्ट अन्तर्गतको पहिलो पूणर् स्वामित्वको सहायक कम्पनी थियो । कम्पनीको रूपमा दर्ता भएसँगै इसेवाले डिजिटल पेमेन्टको सेवा र जनचेतना पुर्‍याउन एजेन्ट मोडेल पनि शुरूवात गरेको थियो । हाल इसेवाका ५० लाख भन्दा बढी ग्राहक छन् ।

दक्षिण एशियामै इसेवा पहिलो मोबाइल वालेट हो । संसारमा लोकप्रिय भइरहेको प्रविधिलाई नेपाल ल्याउने क्रममा इसेवा शुरू गरेको शर्मा बताउँछन् । उनी भन्छन्, ‘त्यो ट्रेन्डलाई पछ्याउन हामी सफल पनि भएका छौं ।’

बाहिर चलेको प्रडक्ट नेपालमा पनि चल्न सक्छ, नेपाली कन्जुमरलाई पनि आवश्यक पर्न सक्छ भनेर आफुहरूले प्रडक्ट बनाउने उनको भनाइ छ ।

एफवान सफ्टले सिरान टेक्नोलोजी, दर्शन टेक, लोजिका बिन्स, एक्सटेन्सो डेटा, कोजेन्ट हेल्थ स्वस्तिक कलेज, फिट इन्टरनेसनल लगायत एक दर्जन कम्पनीमा लगानी गरिसकेको छ ।

पछिल्लो समय धेरै लोकप्रिय भएको कम्पनीको प्रविधि हो फोनपे । डिजिटल पेमेन्ट नेटवर्कमा काम गर्ने उद्देश्यले फोनपे एफवान सफ्टको सहायक कम्पनीको रूपमा दर्ता भएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालकको अनुमति पाएको संस्था समेत फोनपे हो ।

एफवान सफ्टले नेपालका अधिकांश बैंकलाई मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । फोनपेमा ५५ बढी बैंक तथा वित्तिय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार बढी व्यवसायी आवद्ध भएका छन् । १ लाख बढी मर्चेन्टले फोनपेको क्युआर कोड पेमेन्ट एसेप्ट गर्छन् ।

वार्षिक अर्बोंको कारोबार

एफवान सफ्ट ग्ररुपले वार्षिक अर्बो कारोबार गर्दै आएको छ । कम्पनीका एक दर्जन बढी कम्पनीबाट वार्षिक अर्बोमा कारोबार हुन्छ । एफवान सफ्टले वार्षिक ५० देखि ६० करोडको सफ्टवेयर विक्री गर्दै आएको सुवास बताउँछन् ।

‘म पनि एफवान सफ्टको सफ्टवेयर डिभिजन लिड गर्छु । जहाँबाट वार्षिक ५०-६० करोडको सफ्टवेयर विक्री हुन्छ,’ उनी भन्छन्, ‘ग्रुप लेभलको कुरा गर्दा फोन पेले दिनमै २ अर्बको कारोबार गर्छ । इसेवा एक्लैले १ अर्बको कारोबार गर्ने भइसक्यो ।’

फोनपेका एक करोड ४० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता छन् । फोनपेको क्युआर कोडबाट मात्रै दैनिक ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ । फोनपे नेपालका सातै प्रदेशमा पुगिसकेको छ । कम्पनीले फोनपे र इसेवाको आईपीओ समेत ल्याउने योजना बनाएको छ ।

चुनौतीलाई पार गर्दै सफलताको सिढीमा

एफवान सफ्ट कुनै ठूलो लगानी वा कुनै ठूलो तामझामका साथ स्थापना भएको कम्पनी होइन । सानो पुँजी र एउटा कोठाबाट शुरू भएको कम्पनी हो । जुन बेला नेपालमा प्रविधिको ज्ञान खासै थिएन् त्यो बेला प्रविधि भित्र्याएर एउटा दुस्साहस मोलेको थियो ।

प्रविधिको महत्व बुझाउँदै, प्रविधि बारे कखरा सिकाउदै एफवान सफ्ट आज नेपालको ठूलो फिनटेक कम्पनी बन्न सफल भएको छ ।

\"\"

काम गर्दै गर्दा देखिएका विभिन्न चुनौतीलाई पार गर्दै एफवान सफ्ट नेपालको ठूलो फिनटेक कम्पनी बन्न सफल भएको छ ।

‘चुनौती सधैं आइरह्यो । कहिले आर्थिक रूपमा गार्‍हो पर्थ्यो । कहिले कर्मचारीको टर्न ओभरले गार्‍हो पर्थ्यो,’ सुवासले विगतका दुख सम्झिदै भने । उनका अनुसार कम्पनीले मुख्य गरी आर्थिक समस्या चाँहि धेरै भोगेको छ ।

नेपालमा ट्यालेन्टलाई लामोसमयसम्म राख्न नसकेको उनको गुनासो छ । ‘यो एफवान सफ्टको मात्रै समस्या पनि होइन । यो नेपालको आइटी उद्योगकै समस्या हो,’ उनले भने, ‘हामीले ट्रेन गर्छौं । काम गर्न भइसकेपछि उनीहरू विदेशमा जान्छन् । उनीहरूको एम्बिसन पनि ठूलो हुन्छ ।’

जनशक्तिको अभाव सधैं खड्किरहेको उनी बताउँछन् । हाम्रो समाजले कुनै पनि नयाँ कुरालाई छिटो स्वीकार्न नसक्ने उनको भनाइ छ । विभिन्न समयमा इन्नोभेसन पहिला की कानून पहिला भन्ने विवाद पनि सतहमा आइरहेका हुन्छन् । कानून समयमा नबन्दा वा परिमार्जन नहुँदा अहिले धेरै स्टार्टअपहरूले समस्या भोगिरहेका छन् ।

सरकारबाट स्टार्टअप र इन्नोभेसनलाई हतोत्साहित गराउने काम पनि हुन्छ । हामीले यसको एउटा उदाहरण टुटल र पठाओलाई लिन सक्छौं । कतिपय अवस्थामा कानून निर्माण भएपनि त्यसको कार्यान्वयन हुँदैन् ।

कति कुरा नियमन हुनभन्दा पहिला शुरू गर्नुपर्ने अवस्था हुने सुवासले बताए । तर फिनटेक क्षेत्रमा नियामककै कारण दुख नभोगेको उनको भनाइ छ । फिनटेक क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले सही सयमा सही नियम ल्याएको सुवासको बुझाइ छ ।

नेपालमा अझै स्वेदेशमा बनेको सफ्टवेयर भनेपछि नाक खुम्च्याउने चलन छ । यो चलनलाई विस्तारै स्वेदेशी सफ्टवेयर कम्पनीले चिर्दै गएका छन् भने नेपालीले पनि नेपालमा बनेको सफ्टवेयरको गुणस्तर विदेशी जस्तै हुन्छ भनेर बुझ्न थालेका छन् ।

विदेशी र स्वदेशी सफ्टवेयमा कुनै भिन्नता नै नभएको उनको बुझाइ छ । बाहिर बनाएको भन्दा नेपालमै बनाएको सफ्टवेयर कष्ट इफेक्टिभ र अप टु डेट हुने भएकाले आफुहरू स्थापित हुन सफल भएको उनको धारणा छ ।

नेपालमा अवसरै अवसरै

नेपालमा अवसर भएन भनेर वर्षेनी हजारौं जनशक्ति विदेश जान्छन् । तर नेपालमा अवसरै अवसर देखेको शर्माको भनाइ छ ।

‘हाम्रोमा केही भएको छैन् । हामी भर्खर शुरूवात गर्दैछौं । यहाँ डिमान्डिङ कन्जुमर छैनन्,’ उनी भन्छन्, ‘नेपालमा नयाँ आइडिया ल्याउने वित्तिकै पहिलो पटक गरेको हुन्छ । यहाँ यति धेरै आईडियालाई ठाउँ छ । हामी त यहाँ अवसरै अवसर देख्छौं ।’

व्यवस्थापनमा छैन् समस्या

एफवान सफ्टले अहिले एक दर्जनभन्दा बढी कम्पनी सञ्चालन गरिरहेको छ । यस्तो अवस्थामा फरक फरक विचार आउनु पनि स्वभाविक हो । तर एक दर्जन कम्पनी सञ्चालन गर्दा पनि व्यवस्थापनमा खासै गार्‍हो नभएको शर्मा सुनाउँछन् ।

‘हाम्रो ग्रुपभित्र आउने कम्पनी एउटा भिजन र मिसनसहित आएको हुन्छ,’ उनले भने, ‘हामीले सबै नेपालीलाई फिनटेक सेवा दिने एउटा गोल राखेका छौं । त्यो गोलमा काम गर्दा व्यवस्थापनमा त्यति गार्‍हो हुँदैन् ।’

ग्रुप लेभलमा भइसकेपछि साझा गोल र स्ट्याण्डर्डमा काम गर्नुपर्ने हुन्छ । त्यसका लागि कम्पनीले ग्रुप लेभलमै टिम बनाएको छ ।

डिजिटल नेपाललाई सहयोग

सरकारले डिजिटल नेपाल बनाउने उद्देश्यले ‘डिजिटल नेपाल फ्रेमवर्क’ २०७६ सालमा गरेको थियो । जसमा ८ सेक्टर र ८० सब सेक्टर छन् । जसमा फिनटेक पनि एउटा क्षेत्र छ । डिजिटल नेपाललाई आफुहरूले सहयोग गरिरहेको सापकोटाले बताए ।

‘डिजिटल नेपालको पेमेन्टलाई डिजिटाइज गर्ने कुरामा सहयोग गरेका छौं,’ उनले भने, ‘त्यसमा हाम्रो भूमिका महत्वपूर्ण हुन्छ ।’नेपालको पेमेन्ट क्षेत्रलाई डिजिटाइज गरिरहेको र अझै गर्न तयार रहेको कम्पनीले जनाएको छ ।

स्टार्टअपलाई सहयोग

एफवान सफ्टले स्टार्टअपलाई कसरी प्रवर्द्धन गरिरहेको भन्ने प्रश्नमा सुवास भन्छन, ‘एफवान सफ्टले स्टार्टअपलाई सहयोग गर्ने भनेर त्यस्तो कुनै छुट्टै कार्यक्रम ल्याएको छैन् ।’ तर पनि कम्पनीको इकोसिस्टममा आवश्यक पर्ने कुनै आइडिया वा स्टार्टअप आए त्यसलाई सहयोग गर्ने उनले बताए ।

‘स्टार्टअपमै काम गर्ने भनेर त्यस्तो स्टार्टअप कार्यक्रम केही पनि ल्याएका छैनौं’ उनले भने, ‘तर हाम्रो इकोसिस्टममा आवश्यक पर्ने सेवा कुनै कम्पनी वा उद्यमीले लिएर आउछ भने हामी सपोर्ट गर्छौं । त्यसलाई स्थापित गराउने हाम्रो उद्देश्य हुन्छ ।’

यस्ता छन ग्रुप अन्तर्गतका १४ कम्पनीहरु

विगत १८ वर्षदेखि नेपाली आईटी उद्योगमा दिनरात खटिएको कम्पनी हो एफवान सफ्ट । विशेष गरी फिनटेक क्षेत्रमा कम्पनी केन्द्रित छ र त्यसैअनुसार सहायक कम्पनी स्थापना गरिरहेको छ ।

१८ वर्षे दौरानमा एफवान सफ्ट ग्रुपले १४ वटा सहायक कम्पनी स्थापना गरेको छ । रोजगारी पनि १ हजारलाई बढीलाई दिएको छ ।

\"\"

आईटी उद्योगमा धेरै रोजगारी सिर्जना गर्ने नाममा एफवान सफ्ट अग्रणी स्थानमा छ । यहाँ अब हामीले तपाईलाई एफवान सफ्ट ग्रुप अन्तर्गतका १४ कम्पनीको बारेमा जानकारी दिदैछौं ।

एफवान सफ्ट इन्टरनेसनल
एफवान सफ्ट सफ्टवेयर डेभलपमेन्ट र इन्भेष्टमेन्ट कम्पनी हो । विगत १७ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले विभिन्न कम्पनीमा लगानी (इन्भेष्टमेन्ट) गरिरहेको छ ।

अधिकांश बैंकहरूमा एफवान सफ्टले विकास गरेको अनलाइन र मोबाइल बैंकिङ सेवाहरू सञ्चालनमा छ । यसले नेपाल बाहिर पनि आफ्नो सेवा प्रदान गर्दछ ।

ई-सेवा

ई-सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । सन् २००९ मा बेटा भर्सन रिलिज गरी सन् २०१० जनवरी २५ बाट सेवा शुरु गरेको ई-सेवाले हाल झण्डै ५० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनतालाई भुक्तानी सेवा दिइरहेको छ ।

ई-सेवाबाट हाल दैनिक १ अर्बभन्दा बढीको कारोबार हुन्छ । हाल ई-सेवा मार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

फोनपे

राष्ट्र बैंकबाट अनुमति प्राप्त फोनपे भुक्तानी प्रणाली सञ्चालक हो । फोन पेको नेटवर्कमा १ करोड ४० लाख बढी रजिष्टर्ड युजर, ५ लाख बढी मर्चेन्ट नेटवर्क र ५५ बढी पार्टनर आबद्ध रहेका छन् ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।

फोन पे अन्तर्गत फोनपे अफर, फोनपे मर्चेन्ट, फोनपे डाइरेक्ट, क्युआर पेमेन्ट, कर्पोरेट फोन पे, हब पेमेन्ट, थर्डपार्टी पेमेन्ट सेवा उपलब्ध रहेका छन् ।

कोजेन्ट हेल्थ

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूणर्रूपमा डिजिटलाइज गर्ने प्रविधि निर्माण गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ई-सेवाद्वारा निर्मित ई-अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरू नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन् ।

दियालो टेक्नोलोजिज

दियालो टेक्नोलोजीज पनि एफवान सफ्ट अन्तर्गतकै कम्पनी हो । कम्पनीले ‘वाटरमार्क’ नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्न महत्वपूणर् भूमिका खेलेको छ ।

कम्पनीले नेपालमै पहिलो पटक क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका अन्य सफ्टवेयर पनि निर्माण गर्दै आएको छ ।

दर्शन टेक

दर्शन टेकले नेपालको बिमा क्षेत्रलाई डिजिटलाइज गरिरहेको छ । आई सोलुसन नामक सफ्टवेयर निर्माण गरी बीमा क्षेत्रलाई डिजिटलाइज गर्ने अभियानमा कम्पनी अगाडि बढेको छ ।

बीमा क्षेत्रमा विदेशी सफ्टवेयरलाई विस्थापित गरी स्वेदेशी सफ्टवेयर स्थापित गर्नुमा दर्शन टेकको ठूलो हात रहेको छ । हाल नेपालका अधिकांश जीवन बीमा कम्पनीले दर्शन टेकको सफ्टवेयर प्रयोग गरिरहेका छन् । यो प्रडक्टले सन् २०१८ मा प्रडक्ट आइसिटी अवार्ड पनि प्राप्त गरेको थियो ।

ई-सेवा मनी ट्रान्सफर

रेमिट्यान्सलाई सहज र सरल रूपमा नेपाल भित्र्याउन सहयोग गर्ने उद्देश्यका साथ ई-सेवा मनि ट्रान्सफरको शुरु भएको हो । ई-सेवा मनि ट्रान्सफरको सेवा २२ देशमा विस्तार भइसकेको छ ।

विदेशबाट पठाएको रेमिट्यान्स ई-सेवा मनी ट्रान्सफरका ८ हजार बढी एजेन्ट तथा ई-सेवा वालेटबाट प्राप्त गर्न सकिने छ । त्यस्तै नेपालमा कुनै पनि बैंक खातामा पठाइएको रकम तत्कालै जम्मा हुनेछ ।

एक्सटेन्सो डेटा

एक्सटेन्सो डेटा भनेको एफवान सफ्ट ग्रूप अन्तर्गतको डेटा एनालाइटिक्स कम्पनी हो । कम्पनीको एआई, डेटा एनालाइटिक्स, प्रेडिक्टिभ एनालाइसिस र बिग डेटामा दक्षता रहेको छ ।

कम्पनीले बिजनेस एनालाइटिक्स, फ्युचर फोरकास्टिङ, प्रोसेस अप्टिमाइजेसन, डेटा इन्जिनियरिङ तथा प्रोसेस अटोमेसन सेवा प्रदान गर्दै आएको छ ।

लजिका बिन्स

लजिका बिन्स एफवान सफ्ट ग्रुप अन्तर्गतकै एउटा कम्पनी हो । लजिका बिन्सले माउ कम्पनीलाई ‘रिसर्च एण्ड डेभलपमेन्ट’मा सघाउनेसँगै आउटसोर्सको काम, सफ्टवयर डेभलपमेन्ट कन्सल्टिङ फर्म र स्थानीय बजारमा विभिन्न प्रोजेक्टमा काम गरिरहेको छ ।

सिरान टेक्नोलोजिज

सिरान टेक्नोलोजिज पनि एफवान सफ्ट ग्रुप अन्तर्गतकै कम्पनी हो । कम्पनीले इन्टरप्राइजमा आधारित सेवाहरू प्रदान गर्दै आएको छ ।

सिरान टेक्नोलोजिजले म्यानेजमेन्ट सिस्टम, डेस्कटप तथा वेबमा आधारित एप्लिकेसन, मोबाइल एप्लिकेसन लगायतका सेवा प्रदान गर्दछ ।

स्वस्तिक कलेज

स्वस्तिक कलेज एउटा आईटी कलेज हो । स्वस्तिक कलेजमा ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) र ब्याचलर इन कम्प्युटर एप्लिकसेन (बीसीए) विषय पढाइ हुन्छन् । यो कलेजमा पढेका विद्यार्थीलाई एफवान सफ्टमा जब प्लेसमेन्टको सुविधा समेत हुने जनाइएको छ ।

बस सेवा

बस सेवा डटकम नेपालको पहिलो अनलाइन रियल टाइम टिकट बुकिङ प्लाटफर्म हो । बस सेवाको मोबाइल एप र वेबसाइट प्रयोग गरी घरमै बसेर सहज रूपमा अनलाइनबाटै बसको टिकट काट्न सकिन्छ । साथै टिकटको पैसा पनि अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ ।

ई-सेवा ट्राभल

ई-सेवा ट्राभल पनि एफवान सफ्ट ग्रुप अन्तर्गतको कम्पनी हो । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकेटिङको काम गर्छ । डिजिटल टिकेटिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यसको स्थापना भएको हो ।

फिट इन्टरनेसनल

फिट इन्टरनेट एफवान सफ्ट ग्रुप अन्तर्गतको डिजिटल मार्केटिङ एजेन्सी कम्पनी हो । फिट इन्टरनेशनलले व्यवसायहरूलाई मार्केटिङ र ब्रान्डिङ सम्बन्धी विविध सेवा तथा परामर्श दिँदै आएको छ ।

फिट इन्टरनेशनल फेसबुक विज्ञापनको आधिकारिक विक्रेता हो । साथै ओहो डोमेन, भाइबर बिजनेस म्यासेजेज र साउटआउटको पनि विक्रेता हो ।