राष्ट्रिय वाणिज्य बैंक बिं.स. २०२२ माघ १० गते स्थापना भएको सरकारी बैंक हो । यसमा सरकारको पूर्ण स्वामित्व रहेको छ । राष्ट्रिय वाणिज्य बैंकका देशभर बैंकका २५० भन्दा बढी शाखा छन् ।
बैंकले हाल आफ्ना सेवाहरू डिजिटल माध्यमबाट प्रदान गर्दै आएको छ । आज भन्दा ३० वर्ष अगाडि बैंकलाई डिजिटाइज बनाउन सोचे जस्तो सजिलो थिएन् ।
अहिले जस्तो प्रविधिमा सहज पहुँच थिएन भने प्रविधि सर्वसुलभ पनि थिएन । आज हामी नेपालको बैंकिङ क्षेत्रमा एउटा गर्भिलो इतिहास बोकेको सरकारी बैंकको डिजिटल यात्रा बारे चर्चा गर्दैछौं ।
५ वटा कम्प्युटरबाट शुरू भएको डिजिटल यात्रा
राष्ट्रिय वाणिज्य बैंकको डिजिटाइजेनसन यात्रा २०४४-४५ सालतिर शुरू भएको हो । २०४४-४५ सालतिर विश्व बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई ५-७ वटा कम्प्युटरहरू दिएको थियो । जुन बेला सीबी पास भनेर विश्व बैंकले प्रोजेक्ट ल्याएर ब्यालेन्सिङ काम गराएको थियो ।
उक्त कम्प्युटरलाई इन्टरब्रान्च रिकन्सिलेसनको पार्टमा प्रयोग गरिएको बैंकका डेपुटी कार्यकारी अधिकारी देबेश लोहनीले बताए । ३-४ वटा कम्प्युटरबाट डेटाहरू स्टोर गर्ने र रिकन्सिलेसनको काम अगाडि बढेको थियो ।
बैंकले २०५१ सालमा नेपाल राष्ट्र बैंकको सहयोगमा केही कम्प्युटरहरू किन्यो । जसमा ५० प्रतिशत राष्ट्र बैंक र ५० प्रतिशत वाणिज्य बैंकको लगानी थियो ।
‘त्यो बेला ठूलो मात्रामा कम्प्युटर किनियो र केही शाखाहरूमा पठाइयो,’ लोहनीले भने, ‘त्यसरी कम्प्युटर पठाउने भएपछि वाणिज्य बैंकमा मान्छे नै छैन् किन त्यहाँ कम्प्युटर पठाउने भन्ने कुरो नेपाल राष्ट्र बैंकमा उठेपछि ७ जना स्टाफहरू वाणिज्य बैंकको हायर गर्यो ।’
७ जना मध्ये ५ जना कम्प्युटर प्रोग्रामर भनेर र २ जना कम्प्युटर व्यवस्थापक भनेर हायर गरिएको उनले बताए । ५ जनालाई सातौं तह र २ जनालाई आठौं तहमा हायर गरिएको थियो । २ जना कम्प्युटर व्यवस्थापक मध्ये एकजनालाई हार्डवेयर हेर्नका लागि र एकजनालाई सफ्टवेयर हेर्ने जिम्मेवारी दिइएको थियो ।
उनले भने, ‘त्यो बेला अहिलेको जस्तो विभिन्न डिजिटल क्षेत्रहरू थिएनन् । कम्प्युटरमा पनि हार्डवेयर र सफ्टवेयर भन्ने थियो ।’
५ जना प्रोग्रामरले बनाएको सफ्टवेयर
राष्ट्रिय वाणिज्य बैंकले ५ जना प्रोग्रामसँगै २ जना कम्प्युटर व्यवस्थापक पनि हायर गरेको थियो । त्यसमा एक जनालाई सफ्टवेयर हेर्ने जिम्मेवारी दिइयो । सफ्टवेयर हेर्नेको मातहत ५ जना प्रोग्रामरलाई राखिएको थियो ।
आठौं तहमा लिएका इन्जिनियर थिए भने सातौं तहमा लिएका ग्राजुएट थिए । कम्प्युटर प्रोग्रामरलाई २ वर्ष प्रोग्रामिङमा काम गरेको अनुभव हुनुपर्ने योग्यता तोकिएको थियो ।
त्यसपछि आन्तरिक व्यवस्थापनमा कम्प्युटरको कार्यान्यवन शुरू भएको उनी बताउँछन् । ‘५ जनालाई सफ्टवेयर म्यानेजरको रोहबरमा ५ वटा क्षेत्रमा प्रोग्रामहरू बनाउन लगाइयो,’ उनी भन्छन्, ‘त्यो चाहिँ अन्तारिक कामका लागि जस्तो इन्टरब्रान्च रिकन्सिलेसन, एचआर, स्यालरी अटोमेसनको पार्टमा थियो । एसेट र लायबलिटिज व्यवस्थापनका लागि प्रोग्रामहरू बनाउन लगाइयो ।’
त्यसभन्दा अगाडि बैंकले २०४८ सालतिर एक जना प्रोग्रामर लिएको थियो, विशाल बजारमा । त्यसबेला पुमोरी सफ्टवेयर प्रयोग गरिएको थियो । जुन डसमा आधारित भएर बनेको थियो ।
‘नबिल बैंकले र मर्कन्टाइलसँग मिलेर न्यापसिस भन्ने सफ्टवेयर बनाएको थियो । न्यापसिस कै अर्को भर्सन हो पुमोरी । पुमोरी सफ्टवेयर मर्कन्टाइलले विभिन्न बैंकलाई दिएको थियो’ उनले भने ।
कम्प्युटर नहुँदा चेक साट्ने, पैसा दिने काम हातले लेखेर हुन्थ्यो । त्यसको रेकर्ड ढड्डामा हुन्थ्यो । तर बैंकले कम्प्युटर ल्याएपछि पनि हातले लेखेर रेकर्ड राख्ने काम निरन्तर भयो । २०६०-६१ साल पछि मात्रै बैंकले कम्प्युटरमा रेकर्ड गर्न शुरू गरेको लोहनीले बताए ।
ढ्ड्डा पल्टाउने काम २०६७ सम्म
२०६०-६१ सालतिरबाट कम्प्युटरमा रेकर्ड राख्न शुरू गरेको भएपनि ढ्ड्डा पल्टाउने काम २०६७ सम्म चल्यो । २०६०-६१ तिर केही शाखामा कम्प्युटरको प्रयोग गरिएको थियो । त्यो पनि काठमाडौंका सिमित शाखामा ।
बैंकले विशालबजार भोटाहिटी र टेकुमा कम्प्युटर राखेको थियो । २०५३ सालमा सानोठिमीमा शाखा खोल्ने भएपछि तत्कालिन कार्यकारी अध्यक्षले शाखालाई कम्प्युटराइज गर्नुपर्यो भनेपछि ती ५ जना प्रोग्रामरहरू मिलेर एउटा बैंकिङ सिस्टम बनाए ।
सिस्टम बनाइसकेपछि सानोठिमी, त्रिभुवन विमानस्थल, थापाथली, महारागंज, टंगाल, कलंकी लगायतमा शाखाहरूमा प्रयोग गरियो । त्यस सिस्टमले चल्ती, बचत मुद्धति र गोल्डेन सिल्भर लोनको काम गर्न सक्थ्यो ।
२०५७ सालमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल राष्ट्र बैंकलाई पुनर्संरचना गर्ने भनेर विश्व बैंकको सहयोगमा वित्तिय क्षेत्र सुधार कार्यक्रम आएको उनले बताए ।
‘त्यसको एउटा मोटो थियो एकाउन्टिङलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र एमआईएसलाई स्ट्याण्डर्ड बनाउने,’ उनले भने, ‘त्यो अनुसार एमआईएस म्यानेजरको रूपमा क्यानेडियन नागरिक आउनु भएको थियो ।’
त्यही बीचमा विराटनगरको एउटा शाखामा कम्प्युटराइज गर्नुपर्ने भयो । आन्तरिक रूपमै बनाएको सिस्टम लगेर त्यहाँ लगाएको उनी बताउँछन् । काठमाडौं उपत्यकामा बाहिर त्यसरी शाखालाई कम्प्युटराइज गरेको पहिलो पटक थियो ।
वित्तिय सुधार कार्यक्रम अन्तर्गत राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई पुमोरी प्लस सफ्टवेयर किनेर दिएको थियो । तर त्यो कार्यान्वयन गर्न साह्रै गाह्रो थियो । ६१ सालतिर आन्तरिक रूपमा बनाएको सफटवेयर बानेश्वर र पुतलिसडक शाखामा (तत्कालिन अवस्थामा सिंहदरबार शाखा भनेर चिनिन्थ्यो) मा लागु गरिएको थियो ।
त्यसपछि बैंकले आफै बनाएको सफ्टवेयलाई मोडिफाइ गरियो । त्यसमा मल्टिपल प्रकारको डिपोजिट लिन सकिने, मल्टिपल प्रकारको लोन लिन सकिने, सरकारी कारोबार, क्लियरिङको पार्ट अटोमेसन हुने लगायतका सुविधा थप गरिएको थियो ।
पुमोरी प्सलको पाइलट टेष्टिङ
पुमोरी प्लसको पाइलट टेस्टिङ विशालबजार र बानेश्वर शाखामा गरिएको थियो । लगनखेल शाखामा पुमोरी प्लस इनस्टल गर्दा ६ महिना समय लागेको उनले बताए ।
उनले अगाडि भने, ‘यसरी कम्प्युटराइज गर्न थालियो भने त १० वर्षमा नि नसकिने भयो भनेर हामीले सोच्यौं । त्यो बेला हामीसँग १२४ वटा शाखा थियो । २०५८-१९ तिर शुरूमा २३२ शाखा थिए तर विदेशी व्यवस्थापन आईसकेपछि त्यसलाई घटाइएको हो ।’
त्यसपछि शुरूमा काठमाडौं उपत्यकाका शाखामा आफैले बनाएको सफ्टवेयर लागु गरेको उनले बताए । त्यसमा काम गर्न सजिलो भएको उनी बताउँछन् ।
‘दिउँसो ढड्डामा कारोबार भइरहेको हुन्थ्यो । सबै ढड्डा एकैपटक चल्ने थिएनन्,’ उनी भन्छन्, ‘तर साइडमा बसेर ढड्डाका डेटाहरू होम ग्रोन सफ्टवेयरमा राख्थ्यो ।’
ढड्डाहरूको जानकारी होम ग्रोन सफ्टवेयरमा राख्दै गएपछि जुन दिन लेजर र कम्प्युटरको सूचना बराबर स्थितिमा आयो त्यसपछि २०६०-६१ सालदेखि कम्प्युटरलाई फ्रन्टमा राख्न शुरू गरिएको उनले बताए ।
बैंकले शुरूमा काठमाडौं उपत्यकाका शाखा र त्यसपछि बाहिरका शाखामा यस्तो व्यवस्था गर्दै गएको हो । बैंकले उक्त होम ग्रोन सफ्टवेयरमा राखेको डेटालाई पुमोरी कन्भर्ट गर्दै गएको उनी बताउँछन् । ‘किनभने हाम्रो उद्देश्य त पुमोरी प्लसमा जानु थियो ।’ दिनमा शाखा चल्ने र राती कन्भर्ट हुने काम हुन्थ्यो ।
२०६७ साल बैशाखमा राष्ट्रिय वाणिज्य बैंकको सबै शाखाबाट ढड्डा प्रणालीको अन्त्य भएको थियो । त्यो बेला केही शाखामा बैंकले बनाएको सफ्टवेयर प्रयोग भएको थियो भने कुनै शाखामा पुमोरी प्लस प्रयोग गरिएको थियो ।
‘राष्ट्र बैंकले पुमोरी प्लसका ४० वटा लाइसेन्स दिएको थियो । जसमा ३ वटा लाइसेन्स केन्द्रीय कार्यालयमा चलेको थियो,’ लोहनीले भने, ‘बाँकी लाइसेन्स ठूल ठूला शाखालाई दिइएको थियो ।’
त्यसपछि बैंक आफैले पुमोरी प्लस सफ्टवेयर किनेर शाखामा लगाउँदै गएको थियो । २०६३ सालतिर सुनसरीको इनरूवामा एक दिन बैंकको सर्भर खुलेन । अनि केन्द्रबाट सिधैं एयरलिप्ट गरेर गएर सर्भर खुलाइएको थियो ।
त्यो बेलामा शाखा शाखामै सर्भरहरू राखिएको थियो । २०७० सालको पुसदेखि सबै शाखाहरू केन्द्रमा जोडिएको उनले बताए । त्यो बेलामा बैंकका १६६ वटा शाखा थिए ।
पछिल्लो समय डिजिटल बैंकिङमा केन्द्रित, कुल कारोबारको ६५ प्रतिशत डिजिटल
पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंक डिजिटल सेवामा केन्द्रित भएको छ । बैंकले अहिलेसम्म शाखा अटोमेसनका नाममा वा अटोमेसनका नाममा कहिलेपनि सेवा बन्द नगरेको लोहनी बताउँछन् ।
कम्प्युटराइज गर्दा अलि अलि हडलहरू खेपेको उनी बताउँछन् । हाम्रै स्टाफहरूमा पनि केहीमा कम्प्युटर आएपछि जागिर जान्छ भन्ने डर थियो,’ उनले भने, ‘तर व्यवस्थापन र युनियनहरूको सहयोगले समाधान भयो ।’
अहिले कुल कारोबारको ६५ प्रतिशत डिजिटलबाट हुन्छ । झन यसअघि लकडाउनको बेला ७५ प्रतिशतसम्म कारोबार डिजिटलबाट भएको थियो । राष्ट्रिय वाणिज्य बैंकसँग अहिले साढे ५ लाख डेबिट कार्ड प्रयोगकर्ता र १३ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् ।
बैंकको मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर, बिल भुक्तानी, रिचार्ज लगायतका विभिन्न सेवाहरूको भुक्तानी गर्न सकिन्छ ।
बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठ नियुक्त भएदेखि बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको छ । साथै नयाँ नयाँ प्रविधिलाई आत्मसात गर्दै ग्राहकलाई सो अनुरूप सेवा दिइरहेको छ ।
बैंकलाई डिजिटल बैंकिङको युगमा लैजाने बैंकका सीईओ श्रेष्ठको भूमिका उल्लेखनीय रहेको छ । बैंकले डबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पीओएस, ब्रान्चलेस बैंकिङ लगायतका डिजिटल सेवा प्रदान गर्दै आएको छ । साथै नेपाल टेलिकमसँग मिलेर बैंकले नमस्ते पे वालेट समेत सञ्चालनमा ल्याइसकेको छ ।