नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले एकपटक एउटा सरकारी निकायमा पेस गरेको डकुमेन्ट पुनः अर्को ठाउँमा पेस गर्नु नपर्ने व्यवस्था मिलाउने बताएका छन् ।
बुधबार पदबहालीसँगै विभिन्न मन्त्रालय, आयोग तथा निकाय सचिव तथा कर्मचारीलाई सम्बोधन गर्दै अर्यालले सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरूको अनलाइन सेवाबीच अन्तर-आबद्धता कायम गरी सेवाग्राहीलाई एकपटक एउटा सरकारी निकायमा पेस गरेको डकुमेन्ट पुनः अर्को ठाउँमा पेस गर्नु नपर्ने व्यवस्था मिलाउने बताएका हुन् ।
सरकारी कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवालाई थप चुस्त र सूचना प्रविधिमा आधारित बनाउँदै लैजाने उनको भनाइ छ ।
सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र बकपासिङलाई नियन्त्रण गर्न बढी भिडभाड हुने कार्यालयमा सम्भव भएसम्म टोकन प्रणाली वा रिपोर्ट कार्ड लागू गरी कामलाई समयमै चुस्त रूपमा सम्पादन हुने व्यवस्था मिलाउने उनको तयारी छ ।
कार्यक्रममा बोल्दै उनले हाल सीमित मन्त्रालय/निकायमा सञ्चालनमा आएको एकीकृत कार्यालय व्यवस्थापन प्रणालीलाई सबै मन्त्रालय तथा विभागहरूले अनिवार्य रूपमा चालु आर्थिक वर्षभित्रमा कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाउन सचिवहरूलाई आग्रह गरेका छन् ।
साथै सबै सरकारी कार्यालयका महत्त्वपूर्ण सूचना र अभिलेखहरूलाई डिजिटलाइजेसन गरी दीर्घकालसम्म सुरक्षित राख्ने व्यवस्था मिलाउन पनि उनको अनुरोध छ ।
आईसीटी समाचार