कीवर्डहरू -

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट, नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट, नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’

नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’ नेपालको इन्टरनेटमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कयौं कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । शुक्रवारसम्म कम्तीमा १० वटा रिट निवेदन दर्ता भएका हुन् । रिट निवेदकहरूले टिकटक बन्द गर्ने निर्णय मौलिक हकविरुद्ध रहेको र यसले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको दाबी गरेका छन् ।

नेपालमा लोकप्रिय बनेको टिकटक बन्द हुँदा यसको पक्ष र विपक्षमा व्यापक बहस भइरहे पनि नेपाली इन्टरनेटमा बन्द गरिएको यो मात्रै चाहिँ होइन । नेपालमा इन्टरनेटको नियामक निकायको रूपमा काम गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा पाँच लाखवटा भन्दा बढी वेबसाइट र मोबाइल एप बन्द भइसकेका छन् ।

नेपालमा कुनकुन साइट खोल्न सकिँदैन ?

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा बन्द गरिएका सबैभन्दा धेरै वेबसाइट र अनलाइन एप्लिकेशनहरूमा ‘पोर्नोग्राफिक’ भनिने अश्लील वा यौन सामग्रीसँग सम्बन्धित छन् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै देशभरि प्रदर्शनहरू भइरहेका बेला विसं २०७५ सालमा सरकारले “इन्टरनेटमा उपलब्ध हुने अश्लील सामग्रीका कारण यौन हिंसाका घटना बढेको“ भन्दै त्यस्ता वेबसाइटहरू बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसयता यस्ता वेबसाइटहरूको निरन्तर अनुगमन भइरहेको र अहिलेसम्म ५ लाख भन्दा बढी त्यस्ता सामग्री उपलब्ध हुने वेबसाइटहरू बन्द भइसकेका प्राधिकरणको भनाई छ ।

प्राधिकरणका अनुसार नेपालमा क्रिप्टोकरेन्सी र अनलाइन जुवासम्बन्धी पनि १०० वटा भन्दा बढी वेबसाइट बन्द गरिएका छन् । तर केही प्रयोगकर्ताहरूले भीपीएन र विशेष प्रकारका ब्राउजर प्रयोग गरेर प्रतिबन्धित साइट र एप खोल्ने गरेको पाइएको छ ।