कीवर्डहरू -

नेपाल टेलिकमको ११र्औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल टेलिकमको ११र्औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७४।७५ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आ. व. २०७५÷७६ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले एघारौं वार्षिक प्रतिवेदन पेश गर्दै अगामी दिनमा समेत अझ बढी ग्राहकमुखी सेवा प्रदान गरी मुलुकको अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा रही रहने बताए ।

उनले २०७५ असार सम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको जानकारी दिए  ।साथै उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

उनले डाटा सेवाको माग बढदै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा नै देशैभरी चौथौ पुस्ताको मोबाइल सेवा फोरजी विस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको फोरजी एलटिई उपकरणलाई ५जी स्तरोन्नति गर्ने लक्ष्य रहेको बताए ।

ग्राहकहरूको घरसम्म अप्टिकल फाइबर मार्फत द्रूत गतिको ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा सञ्चालन गर्न सकिने र नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवा एफटिटिएचको विस्तार लाई समीक्षा वर्षमा पनि निरन्तरता दिइने समेत जानकारी दिए ।

एघारौँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २०७५ माघ १ गते देखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको छ ।